सत्तरी वर्षसम्म अत्तर बेचेको बेच्यै
- गोपाल पोखरेल / उदयपुर
जीवनभर एउटै पेसा गर्ने मान्छे समाजमा कमै भेटिने गर्छन् । त्यस्तै मान्छेको सूचिमा पर्छन् राजविराज नगरपालिका ३ दर्जिटोलका अलाउद्धिन मियाँ । १५ बर्षको उमेरदेखि जडिबुटिको अत्तर (सेन्ट) व्यापारमा लागेका उनको पेसा अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । मियाँ अहिले ६९ बर्ष पुगेका छन् ।
भारतको लखनउबाट खरिद गरेर ल्याएको अत्तर सप्तरी, सिरहा, उदयपुर, सुनसरीलगायतका जिल्लामा पुगेर विक्री गर्नु मियाँको दैनिकी नै बनेको छ । विशेष गरेर सरकारी कर्मचारीले मियाँको अत्तर खरिद गर्छन् । धेरै वर्ष अघिदेखि निरन्तर यही काम गरिरहेकाले मियाँलाई अत्तर व्यापारीका रुपमा सबै कर्मचारीले चिनेका पनि छन् ।
“दैनिक तिन देखि चार सय रुपैयाँसम्म कमाइ हुन्छ” मियाँ भन्छन्“ जसोतसो यही पेसाबाट गुजारा चलिरहेको छ ।” उनको श्रीमती सहित ५ जनाको परिवार छ । विवाह पछि गरेकाले जेठो छोरो भर्खर २० बर्षको भएको छ ।
“यो बाकसमा लगभग पाँच हजार रुपैयाँ पूँजिको अत्तर होला” उदयपुर सदरमुकाम गाईघाटमा विक्री गरिरहेका मियाँले बाकस देखाउँदै भने,“ पहिले पहिले कमै मानिसहरुले मात्र प्रयोग गर्थे ” पहिलेको तुलनामा हिँजो आज राम्रै व्यापार हुने गरेको मियाँले बताए ।
राजविराजमा उनको थोरै खेती पनि छ । खेतीको आम्दानीले छ महिना बढी खान पुग्दैन । “ बाँकी छ महिनाको खाना देखि लिएर बर्षभरिको सम्पूर्ण खर्च यही व्यापारले धानेको छ ” उनले भने ।
अहिलेको युवा पुस्ताले हाल बजारमा पाइने चलानी अत्तर प्रयोग गरेपनि त्यो भन्दा आफूले बिक्री गर्ने अत्तर स्तरीय रहेको उनको दावी छ ।“ यो सस्तो र राम्रो पनि छ ” मियाँले भने,“ एक पटक लगाएपछि कम्तिमा दुइ दिन लगाउनु पर्दैन” ।
लखनउमा मात्रै बन्ने र थोक मूल्यमा त्यहीँ मात्र पाइने भएकाले खरिद गर्न जाँदा आउँदा बढी खर्च लाग्ने उनको भनाइ छ । “ म बाहेक अन्य डेढ दर्जन बढी ब्यक्ती यही पेसा गरेर बाँचिरहेका छन् ” उनले थपे“ म जम्मा छ कक्षा पढेको मान्छे अरु के गर्न सक्थे र ?” हात गोडा चलुन्जेल यही पेसा गरिरहने मियाँको भनाइ छ ।
जिल्ला विकास समिति उदयपुरका पूर्व लेखापाल हिरामान मोते मियाँलाई आफूले २०४० सालमा अत्तर व्यापारीका रुपमा चिनेको बताउँछन् । “ मैले सुरुमा देख्दा उहाँ खाइलाग्दो र आकर्षक हुनुहुन्थ्यो” मोतेले भने“ त्यही बेलादेखि मैले उहाँकै अत्तर प्रयोग गरिरहेको छु” ।
घुमुवा व्यापार भएकाले घरको बसाइ भने महिना दिनमा १० दिन पनि नहुने मियाँ बताउँछन् । “यही कामकै कारण मैले साना देखि ठूलासम्म सबै मान्छे चिनेको छु” उनले थपे“ ६९ बर्षसम्म जीवन यसरी नै चल्यो, अब बाँकी जीवन कसो नचल्ला ?”





