पढाइखर्च जुटाउन भारी बोक्दै बालबालिका
● गोपाल पोखरेल / उदयपुर
जिल्लाको बिकट क्षेत्रमा पर्ने दर्जन बढी गाबिसका अधिकांस बिध्यालयका कक्षा कोठा बुधबार र आइतबार खाली हुन्छन् । बिद्यालय आउने गरिव बालबालिका फलफूल, तरकारी र अन्य भारी बोकेर शहर बजार जाने भएकाले कक्षा कोठा खाली हुने गरेका हुन् ।
कमाई गरेर परिवारमा आर्थिक सहयोग गर्नु पर्ने र आफ्नो बर्षभरिको पढाई खर्च जुटाउनु पर्ने भएकाले बिद्यालय जाने रहर भएरपनि भारी बोक्नुपर्ने बाध्यता उनीहरुको छ । कतिपय बालबालिकाले विरामी बोकेर समेत पढाई खर्चको जोहो गर्ने गरेका छन् ।
साउनदेखि माघको अन्त्यसम्म तरकारी र सुन्तलाको सिजन भएकाले गाँउमा खरिद गरी शहरमा लगेर बिक्री गर्ने काममा उनीहरु लाग्ने गर्छन् । यो समयमा सुन्तला बिक्री गरेर पढाई खर्च जुटाउनुका साथै घर परिवारमा समेत आर्थिक मद्धत गर्नु पर्ने भएकाले बिद्यालय जान नपाएको बालबालिका बताउँछन् ।
जिल्लाकै विकट भनेर चिनिने नामेटार, वाराहा, आँपटार, बलम्ता, जाँते, लाफागाँउ, लिम्पाटार, रौतालगायतका एक दर्जन गाविसका बालबालिकाले कलिलो उमेरमै ढाकर बोकेर हिँड्नु पर्ने बाध्यता छ । घरको आर्थिक अबस्था कमजोर भएकाकारण आमाबाबुले पढ्नका लागि खर्च नदिने बरु उल्टै भारी बोकेर आर्थिक सहयोग गर्नुपर्ने भएकाले ढाकर बोक्नु परेको आँपटार माद्यमिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत नविन राईले बताए ।
“साउन महिनादेखि माघको अन्तिमसम्म तरकारी र सुन्तलाको सिजन भएकोले हप्तामा तीन दिन मात्र बिद्यालय जाने गर्छु” उनले भने “आँपटारबाट सुन्तला लिएर गाईघाट पुग्दा र बिक्री गरेर फर्किदा पूरा चार दिन लाग्छ ।”
बलम्ता माद्यमिक बिद्यालयको कक्षा ९ मा अध्ययन गरिरहेका दिपकुमार राईका अनुसार गाउँमा किनेको तरकारी गाईघाट बजारमा ल्याएर बिक्री गर्दा १ पटकमा ५ सय रुपैयाँ कमाउन सकिन्छ । कहिलेकाँही आफूले भनेको मूल्यमा र समयमै बिक्री नहुँदा दुई दिनसम्म बजारमा बसेर सस्तो भाउँमा दिएर फर्किनु पर्ने समस्या रहेको आँपटारकी सरिता राईले बताइन् ।
आँपटार माद्यमिक बिद्यालयकी शिक्षिका कला राईका अनुसार त्यस गाउँका ११ देखि १६ बर्ष सम्मका अधिकांस बालबालिकाले घरको आर्थिक अबस्था कमजोर भएकै कारण पढ्ने रहर हुँदाहुँदै पनि बाध्यताबस भारी बोक्नुपरेको बताइन् । “आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु पुरै समय अध्ययन गर्न नपाएकै कारण परीक्षामा फेल हुने गर्छन् ” उनले भनिन् “ बिद्यार्थीका हातमा किताव हुनुपर्नेमा खकन र टेकुवा छ, अनि कसरी पास हुने ?”
बिद्यालय आउने बालबालिकाले सिजन अनुसार सुन्तला, अलैची, तेजपात, निबुवा, कागती, नासपाती, आलुलगायतका पहाडि क्षेत्रमा उत्पादित बस्तूहरु बिक्री गर्न लैजाने भएकाले पहाडी क्षेत्रका अधिकाँस बिद्यालयले बुधबार बिदा दिने र शनिबार बिद्यालय संचालन गर्ने गरेको उच्च माद्यमिक बिद्यालय खाँबुका निबर्तमान प्राचार्य कूलबहादुर खत्रीले बताए । बिद्यार्थीहरुलाई रोक्ने प्रयास गरेपनि आर्थिक अबस्था दयनीय भएका कारण रोक्न नसकिएको उनको तर्क छ ।






