बाँसको जरामा भरिन्छ चम्पकको कला

गोपाल पोखरेल / उदयपुर

T3

सीप र जाँगर भए पाखोबारीमा त्यसै खेर गइरहेका बाँसका जरा पनि बहुमुल्य बन्नसक्दारहेछन् र त्यसैबाट पनि परिवारको पालनपोषण गर्न सकिने रहेछ । त्रियुगा नगरपालिका १ बोक्सेका चम्पक राई त्यस्तै व्यक्ति हुन्, जसले त्यसै खेर गइरहेका बाँसका जरामा आफ्नो कला भरेर सोचेभन्दा बढी आम्दानी गरिरहेका छन् ।

नेपाल प्रहरीको जागिरबाट अबकास पाएपछि राईले बाँसका सामग्री बनाएर आम्दानी गर्ने बाटो रोजेका हुन् । पुरानो घर खोटाङ भएपनि दुई दशक अघि उदयपुर झरेका उनले अहिले आफ्नै घरलाई सीप विकाउने स्थल बनाएका छन् ।

“काम खोजेर धन कमाउने आशामा भौतारिँदै गर्दा संजोगले नेपाल प्रहरीमा भर्ति भएँ” उनले भने “ १७ वर्ष नेपाल प्रहरीमा विताएपछि अहिले आफ्नै घरमा बाँस र बाँसका जराबाट बन्ने सामग्रीहरु बनाएर बिक्री गरिरहेको छु” । प्रहरी सेवामा कार्यरत हँुदा समेत फुर्सदको समयमा बाँसका सामग्री बनाउने अबसर पाएकाले अहिले त्यसैलाई पेसाको रुपमा अगाडि बढाएको उनले बताए ।

पैसा कमाउन लागि नेपाल प्रहरीमा भर्ती भएपनि उनको रहर भने विभिन्न किसिमका आर्ट गर्नमै सिमित रहेको राईले बताए ।“ दैनिकरुपमा बाँसका सामग्री बनाउन थालेपछि मेरो सानैदेखिको रहर पुरा भएको छ” उनले भने “ यसले मलाई आर्थिकरुपमा पनि बलियो बनाएको छ ” । सबै खर्च कटाएर मासिक १५ हजार रुपैयाँ आम्दानी लिइरहेको पनि उनले सुनाए ।

राईले बाँस र त्यसका जराबाट लङ्गचियर, फोल्डिङ्ग स्टाईल कुर्सी, टी टेवल, राउण्ड टेवल, हाते ब्याग, हाते कुर्सी, टेवल, ऐना घडी, चुरी स्टेन, सजावट घर, फुलदानी, पेन होल्डर, पुजा बाकस, माछा, ब्रसदानीलगायतका सामग्री बनाउँछन् । उनका सामानहरु सदरमुकाम गाईघाट, प्रमुख व्यापारीक केन्द्र कटारी, बेल्टार र वढी मात्रामा धरान र बिराटनगरमा बिक्रीका लागि निर्यात हुने गरेका छन् ।

पछिल्लो समयमा काठका सामग्रीको मुल्य आकासीएपछि बाँसका सामानले राम्रो बजार पाएको उनको अनुभव छ । “ यही सामग्री बेचेर मेरो ६ जनाको परिवार पालिरहेको छु ” उनले भने “ बाँसकै कमाईबाट ४ जना छोराछोरीपनि पढिरहेका छन् । ”

चम्पकले आफ्नो घर वरिपरि बाँस रोपेका छन् । श्रीमानको सीप विस्तारिँदै गएकोमा श्रीमती कमलसरी पनि खुसी छिन् भन्छिन् “कुनै समय महिनाको तीस रुपैयाँ पनि कमाई हुदैनन्थ्यो, जेनतेन खेतीबाट गुजारा चलाउनु पर्दथ्यो, तर अहिले अबस्था फेरिएको छ ।”

बाँसका सामान बनाउने कलामा निपूर्ण भएकाले उनले एक महिना अगाडि ईलाम गएर उद्यमीहरुलाई १० दिने बाँसका सामाग्री बनाउने तालीम दिएका थिए ।  विकास सहजकिरण संजाल डिफण्ड र  घरेलु तथा साना उद्योग विकास समिति उदयपुरले आफुलाई समय समयमा सहयोग सहयोग गरेकाले पेसा अझ बढाएर लैजान लागेको उनले बताए । “ सडेर खेर जाला र नबिक्ला भन्ने चिन्ता छैन, त्यसैले यसको उत्पादनसँगै बजार बिस्तार गर्ने सोच बनाएको छु ” उनले भने ।

तपाइँको प्रतिक्रिया