सुन्तला बोकेर भुटान गएका करवीर विश्व युद्दको लडाकू

गोपाल पोखरेल / उदयपुर

unnamed

नेपालको बिकट गाँउमा जन्मिएको एउटा १६ बर्षे ठिटो सुन्तला बोकेर पैसा कमाउन भुटान पुग्छ । भुटानमा सुन्तला बोक्दा बोक्दै एउटा गल्लावाल लाहुरेले हेर्दा सरल, नम्र बोलिचाली र खाइलाग्दो त्यो युवकलाई बिश्वयुद्धमा लड्नजाने लाहुरे बन्ने प्रश्ताब राख्छ । सुन्तला बोकेर हैरान जुझारु युवकलाई गल्लावाल लाहुरेको प्रश्ताब मन पर्छ र लाहुरे बनेर लडाईमा जानका लागि उ तयार हुन्छ ।           

झट्ट सुन्दा कुनै सिनेमाको कहानी झैं लागेपनि खोटाङ जिल्लाको डुम्रे धारापानी गाँउ बिकास समितिमा जन्मिएका करवीर रानामगरले आफ्नो जीवनमा भोगेको बास्तबिक घटना हो यो । दोस्रो बिश्वयुद्धको लडाई र लाहुरे जीवन समाप्ति संगै बिसं २०२२ सालमा उदयपुर जिल्लाको हडिया गाबिसमा बसाई सराई गरेका रानामगर आफनो ९० बर्षे बुढ्यौली उमेर अहिले गाई भैसी चराएर बिताइरहेका छन् ।

बिसं १९७७ सालमा जन्मिएका रानामगर घरको आर्थिक अबस्थाले धान्न नसकेर सुन्तला बोकेर पैसा कमाउने उद्धेश्यले १६ बर्षको कलिलै उमेरमा भुटान पुगेका थिए । दोस्रो बिश्वयुद्धमा लड्ने लडाकु खोज्दै त्यहा आएका एकजना गल्लावाल लाहुरेले सुन्तलाको भारी बोकिरहेका रानामगरलाई भेटे र पहिलो बटालियनको हेल्थ केयर कम्पनीमा हालेर रोवर्टसन नामका कमाण्डरका साथ सन १९४४ मा भएको जापान जर्मन युद्धमा जर्मनका पक्षमा लड्न पठाए ।

१३ रुपैयाबाट जागिर सुरु गरेका रानामगरले युद्धको समयमा बहादरी गरेबापत  ४५ जना नेपालीको कमाण्डर र लेसनायक हुने मौका पाए । आराम र खानाको कहिल्यै टुङ्गो नभएको , रातभरि हिड्नुपरेको र दिनभरि बंकरमा लुक्नुपरेको लगाएतका दर्जनौ स्मरणहरु रानामगरका मानसपटलमा अझै ताजा छन् । एक ग्यालिन पानीले एकहप्ता बिताएका र अजिङ्गर मार्दा जर्नेल रोबर्टसनबाट १० हजार रुपैयाँ पुरस्कार पाएका घटना उनी कहिल्यै भुल्न सक्दैनन् ।

सन १९४८ मा युद्ध सकिएपछि घर फर्किएका करवीर रानामगरलाई त्यसपछि भने आफ्रनो देश छाडेर कहिजान मन लागेन ।  बरु उनलाई अर्काको लहैलहैमा लागेर उमेरमा आफ्नो देशको सेवा गर्न नपाएकोमा अहिले पछुतो लागेको छ । बेलायत सरकारले पटकपटक स्थायी बसोबासका लागि बोलाउदा समेत उनी गएनन् । बरु यही प्लाष्टिकले झ्याल टालेको आफ्नो सानो घरलाई रुघेर बसिरहे ।

बिदेश भन्ने बित्तिकै खुट्टा उचाल्ने नेपालका राजनीतिक दलका नेता तथा आम नेपालीलाई यी करवीर रानामगरले जीवनको उत्तरार्धमा आएर गतिलो पाठ पढाएका छन् । यिनको जति देशप्रेम र राष्ट्रभक्ति सबै नेपालीको भइदिए यहाँ  कसैले पनि बिदेशीकासामु घुडा टेक्नुपर्ने थिएन ।

 

तपाइँको प्रतिक्रिया