कस्तो मरण ? अलपत्र लासको चरी कि श्रीक्रिष्णको जस्तो रुवाउने धरधरी ?
यसै हप्ता नेपाली समजमा साह्रै नाम सुनिएका दुई पात्रको म्रित्यु भयो । दिनेश अधिकारी । ‘चरी’ भनेर चिनिएका एमालेका डन नेताको । गैंडाको खागदेखि लूटपाट, चन्दा असुली, काटमार, धाकधम्कीमा नामुद मानिएका । एमालेका धेरै नेतालाई चुनावमा साथ दिएका । समाजमा गन्हाएका । तर सरकारमा सम्मिलित एमाले पार्टीमा वासना छरेका । अर्का पात्र थिए, नायक श्रीक्रिष्ण श्रेष्ठ । बिभिन्न सिनेमामा सुन्दर न्रित्य गरेका । कलाको माध्यमले गुन लगाएका । मिठा गितमा नाचेका । नेपाली कला र सिनेमालाई उच्च बनाउन आफ्नो सिप, जाँघर र मेहनत दिएका । एकातिर चरीको लास असपत्तालको भुइँमा अलपत्र छ । डङडगी गन्हाउँने तयारीमा छ । प्रहरीहरुले चरी ढालेबापत ढाल्नेलाई पुरस्कार दिनुपर्ने माग गरिरहेका छन् । अर्कोतिर नायक श्रीक्रिष्ण श्रेष्ठको शवलाई प्रहरीले १० सलामी दिएको छ । चरी जस्ता डनलाई तह लगाउनु पर्छ भन्दै एकातिर राष्ट्रिय चर्चा छ । अर्कोतिर राष्ट्रिय सम्मान दिइएको छ नायक श्रीकृष्ण श्रेष्ठलाई ।
एकातिर श्रीक्रिष्णलाई अन्तिम बिदाई गर्न लाखौं मानिस सडकमा उत्रिएका छन् । आँसुका भेल बगेका छन् उनलाई सम्झेर रुँदै । अर्कोतिर चरी मारिएको लाखौं मानिस खुशि छन् । रमाएका छन् । चरीको लास कुहिन लाग्दापनि कसैले आवाज उठाउन्न । कोहि बोल्दैन अन्याय भयो भनेर । चरी ढल्दा अब शान्त हुने भो, ढुक्क हुने भो भनेर आनन्द मान्ने धेरै छन् । श्रीक्रिष्णको शव देखेर एक असल कलाकार, देशको होनाहार सम्पत्ती, गहना गयो भनेर रुनेहरु लाखौं छन् । उनको बिदाइले धेरैको मन फुटाएको छ, गह्रुंगो भारी बोकाएको छ । चरीको लासले धेरैलाई हलुको पारेको छ । गह्रुंगो भारी बिसाए जस्तो भएको छ ।
नेपाली त दुबै नेपालीनै हुन् । दुबै नेपाल आमाका सन्तान् । दुबैलाई जन्माउने आमाहरुले कत्रो सपना देखेका हुँदा हुन्, एक दिन मेरो छोरोले सुख र शान्ति दिन्छ । पाल्छ । इज्जत कमाउँछ । असल नागरिक बन्छ भनेर । तर ति सपना सबै आमाका पुरा हुँदैनन् । सार्थक म्रित्यु र बेफ्वाँकको म्रित्युमा यहि फरक छ । चिन्न त सायद चरीले पो धेरै चिन्थे होला राजनितिक नेता । श्रीक्रिष्ण सधैं नेताहरुबाट टाढा रहे । चरी सधैं नेता, पार्टी र शक्तिको वरिपरि रहे । धेरै नेतालाई सत्ता र शक्तिमा पुर्याउन पाखुरा सुर्काए, जोखिम लिए, गुन लगाए । तर आज श्रीक्रिष्णको बिदाई गर्दा सबै दलका मुख्य नेता समाहित भएर अन्तिम श्रद्दान्जली दिए, रोए, भक्कानिए । तर आफूलाई अनेक गुन लाएका चरीकोपक्षमा बोलिदिनेपनि सिमित रहे । त्यसरि समर्थनमा बोल्नपनि डराउनुपर्ने अवस्था रह्यो ।
मानिसले कस्तो जिवन जिउने, कस्तो जिवन मरण गर्ने ? यि दुई पात्रको जिवन र मरण हेरेर मानिसले धेरै बुझ्न सक्छ । श्रीक्रिष्णको जस्तो मरणकालागि त्याग, तपस्या, मेहनत, इमान्दारिता र समाजकालागि केहि योगदान दिनसक्नुपर्छ । चरीको जस्तो मरणकालागि बलिया पाखुरा, समाजमा आतंक, घ्रिणा, हिंसा र आबेग र त्रास फैलाउन सक्नुपर्छ । सम्पत्ती, शक्ति र मोजमस्तीकालागि तल्लिन हुनुपर्छ । यि दुई पात्रको जिवन र मरण हेरेर सायद अहिलेको युवा पुस्ताले आफ्नो जिवनको दिशा कता लैजाने केहि शिक्षा लिन सक्छ कि ?






