डम्मरलाइ मान नपुगेको
● आनन्दराम पौडेल
“तपाईंले त पत्रकार विरुद्ध नै मुद्दा हाल्नुभएछ त ?” नन्दरामले सोधे । “पत्रकार सीताराम अधिकारी विरुद्ध मुद्दा हालेको बिषयमा सोध्नुभएको ? हो, त्यस्का विरुद्ध मैले मुद्दा हालेकै हुँ ।” डम्मर ढकालले भने । “मुद्दै हाल्नुपर्नेसम्मको स्थिति के पर् यो ?” “त्यस्ले मेरो इज्जत, प्रतिष्ठामा आँच पुग्ने समाचार प्रकाशित गर्यो ।” “कुन समाचार थियो त्यस्तो ?” “तपाईंले पढ्नुभएन ? यही साउन १४ गते हुनुपर्छ, ‘डम्मर ढकालले श्रीमतिलाइ पिट्यो’ भन्ने समाचार काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो ।”
“के तपाईंले आफ्नी श्रीमतिलाइ कुट्नुभएको थियो र ?” “श्रीमतिलाइ त कुटिन्छ नि ! कस्ले कुट्दैन ? यी श्रीमतिहरु नकुटी तह लाग्दैनन् । कुटेपनि मैले आफ्नी श्रीमतिलाइ न कुटें । त्यस्को श्रीमतिलाइ कुट्न गएको थिइनक्यार ! आफ्नी श्रीमतिलाइ बेला-बेलामा कुटिन्छ । कहिलेकाहीं मायापनि गरिन्छ । जस्ले माया गर्छ त्यसैले कुट्छपनि । के त्यो सीतारामले मेरी श्रीमतिलाइ कहिल्यै माया गरेको छ र अहिले कुटाई खाएकोमा यत्रो चित्त दुःखाउनुपर्ने ? मैले आफ्नी श्रीमतिलाइ कुटेको बिषयमा यो सीताराम अधिकारीले किन टाउको दुःखाउने ? मेरो खास प्रश्न यो हो ।” डम्मर ढकालजीले आफ्नो दुःखेको चित्त नै पगालेर अगाडी राखे ।
“के तपाईंकी श्रीमति कुटाइ खाएर चुपचाप सहेर बस्छिन् ?” नन्दरामले अझै कोट्याए । “पहिले-पहिले त चुपचाप सहन्थिन् । जति कुटेपनि, चुटेपनि घरकै एउटा कुनामा गुँडुल्किएर बसिरहेकी हुन्थिन् । तर अस्ति साउन १२ गतेको साँझभने कुटाइ खाएर चुपचाप बसिनन् । त्यस साँझमा लात्तैलात्ताले भकुरेको थिएँ र दुइचार मुक्कापनि हानेको थिएँ । लगाएको लुगा च्यातच्युत पारेर घरबाट निकाली मूलढोका बन्द गरिदिएको थिएँ । सरासर गएर प्रहरीमा उजुरी हालिछन् ।” डम्मर ढकालले घटनाबिबरण राखे ।
“सधैं कुटाई सहेर बस्ने श्रीमति त्यस दिनचाहीं कसरी प्रहरीमा उजुरी गर्न पुगिछन् ?” “यस्मा दुइ-तीनवटा कारण म देख्छु । एउटा, कुटाईको अतिरिक्त थप उस्को लुगा च्यातिदिएँ । दोश्रो, घरबाट निकालिदिएँ । तेश्रो, केही दिन अघिदेखि मेरी श्रीमतिको मानवअधिकार रक्षकको जिल्ला सञ्जाल, धादिङका कार्यकर्ताहरुसँग उठबस भैरहेको चाल पाएको थिएँ । उनीहरुले नै दिमाग भरिदिएको हुनुपर्छ । प्रहरीमा उजुरी गरेर त्यही मानवअधिकार रक्षकको जिल्ला सञ्जालकोसुरक्षाघरमै बस्न पुगे को हिसाबले पनि मेरो अनुमानको पुष्टी हुन्छ । नत्र, मेरी श्रीमति त ‘गौप्राणि’ थिई ।” डम्मरले विश्लेषणात्मक व्याख्या गरे ।
“प्रहरीमा उजुरी गरिछन् भन्नुभयो। प्रहरीले कुनै कार्यवाही गरेन ?” “कार्यवाही गर्दैगरेन त नभनौं । मुद्दासुद्दा लगाउनेतिर गएन । यो धादिङ जिल्लामा मेरो ठूलो इज्जत छ । नेकपा एमाले, जिल्ला कमिटीको पूर्वसदस्य हुँ । मेरो आफ्नै बसेरी गाविसमा पनि अध्यक्ष भएर काम गरेको थिएँ । बसेरी सामुदायिक केन्द्रको अहिलेपनि म अध्यक्ष नै छु । मेरो हैसियत हेरेरपनि उनीहरुले मेरो विरुद्ध परेको उजुरीलाइ मुद्दाको प्रकृयामा नलगेका हुन् । तैपनि, केहीपनि गरेन भन्दा प्रहरीका हाकीमहरुलाइ गाल पर्नसक्ने भएकोले, उजुरीकर्तालाइ देखाउनकै लागि भएपनि केही गरेजस्तो त गरे नि ।”
बोल्दाबोल्दै डम्मरले भित्री रहस्यसमेत् खोल्न थाले । “तपाईं पहिले कानुन व्यवसायीको कामपनि गर्नुहुन्थ्यो नि, ह्वैन र ? तपाईं अधिवक्ता हो ?” नन्दरामले छुटेको पाटो अगाडी सारे । “अधिवक्ता होइन । त्यत्तिकै अधिवक्ताको काम गरेको थिएँ ।”
“अधिवक्ता नभैकन कानुनव्यवसायी भएर काम गर्नुभयो त ?”
“यो पापी पेटको सवाल हो। तपाईं वुझ्नुहुन्न ।” यो पाटोलाइ डम्मरले खोल्न चाहेनन् ।
“प्रहरीका हाकिमले केही गरेजस्तो गरे भन्नुभयो। के गरे त ?” सोध्नैपर्ने प्रश्न नन्दरामले सोधे ।
“१२ गते राती डिएसपी कार्यालयमै राखे । उहाँहरुसँगै खानेसुत्ने व्यवस्था भयो । भोलिपल्ट उजुरीकर्तालाइ चित्त वुझाउन र मानवअधिकार रक्षकको जिल्ला सञ्जालका कार्यकर्तालाइ देखाउनको लागि एउटा सामान्य कागज गराए; त्यत्ति हो ।” डम्मरले कार्यवाहीलाइ सामान्यीकरण गरे ।
“धादिङ जिल्लामा ठूलै हैसियत र पहूँच भएको मान्छे हुँ भन्नुभयो । यस्तो मान्छेले श्रीमति कुट्नुहुन्छ त ?” नन्दरामले अझै खोतल्न चाहे । “यही त बिडम्बना छ । घरबाहिर मेरो त्यत्रो मानमनितो छ । यो मेरी श्रीमतिले वुझ्नुपर्छ कि पर्दैन ? घरमा पनि त्यही अनुसार मानमनितो हुनुपर्ने हैन ?
ल तपाईं नै भन्नुहोस् त ?” यस्पालि डम्मरले नै उल्टै प्रश्न राखे ।
“के घरमा तपाईंको मानभाउ राख्दैनन् ?” “नराखेर त यो बबाल भयो । छोराले समेत् मेरो विरुद्ध अंशमुद्दा हालेको छ । आफैंले जन्माएको, हुर्काएको छोरोसमेत् मेरो विरुद्ध उभिएपछि मलाइ झोक चल्दैन त ? ल, तपाईं नै भन्नुहोस् ?”
नन्दरामसँग भन्नेकुरा केही केही थिएन । चुपचाप खिस्कनुमा उचित ठाने । र, विदा भएर हिंडे ।





