नानीको नागपञ्चमी

आनन्दराम पौडेल 

anandaram-paudel-33434साउन १६ गते बिहान दुइजनाले, ‘नागपञ्चमी आजै हो र ?’ भनेर शङ्का गरे । ‘हो’, र ‘होइन’ मा विवाद परेपछि नानीले कान्तिपुर (राष्ट्रिय दैनिक) किनेर ल्याइन् । ‘आज नागपञ्चमी होभने कान्तिपुरले भनिहाल्छ नि’  भन्नथाले । कान्तिपुरको हरेक पन्नाको प्रत्येक पेज पल्टाए । छापिएका समाचारका शीर्षकहरु पढ्दैगए । त्यहाँ ८ महिनाअघि ऋत्विक रोशनसँग छुट्टिएकी र ४ महिनाअघि डाइभोर्स गरेकी सुजैनले ऋत्विकसँग रकम माँगिन् भन्ने समाचार ठूलै स्पेस दिएर फोटोसहित् प्रकाशित भएको छ । हेरिरहुँजस्ती राम्री देखिनका लागि बिहान यस्तो दल्नुपर्छ,  दिउँसो यो घस्नुपर्छ र साँझ यो लोपर्नुपर्छ भनेर दिपाश्री निरौला,  इन्दिरा जोशी,  करिश्मा मानन्धरहरुले सुनाएका अनुभवका वर्णनले एकतिहाइ पेज ढाकेको छ ।

अर्को पेजमा ठट्टामस्करी गरिरहेकी ल्हाक्पा शेर्पा र सन्ध्या केसी नामकी दुइटी नवयुवतीको फोटो छ । त्यही पेजमा हातले मोवाइल खेलाइरहेकी,  तर नजर अन्तै लगाएकी जेनिशा मोक्तान नामकी नवयुवतीको ठूलो फोटो छ । धनाढ्य व्यापारी सुरेन्द्र मालाकार र रामकृष्ण प्रसाईं दुइजना सँगै उभिन आइपुगेको बेलामा खिंचिएको फोटो छ ।

तर, फोटोमात्रै छ, यी फोटाहरुसँग कुनै समाचार छैन । चौवीश पेज पुरै पढे । नागपञ्चमीको बिषयमा कहीं, कतै, केही भेटेनन् । छक्क परे । नवलपुर (हेटौंडा) की नानीलाइ अझै चित्त वुझेन । फेरि दोहोर्याएर कान्तिपुरको कुनाकानी सबैतिर नजर लगाइन् । चौथो पेजको दाहिनेपटी,  त….ल, कुनामा दुइटा वाक्य भेटिन् । धन्न, नागपञ्चमीको बिषयमा दोटा वाक्य लेखिएछ । अन्तरकुन्तर कुनामै भएपनि छापिएछ । नागपञ्चमी आजै रहेछ भन्ने पुष्ट्याईं गर्नको लागि त प्रमाण पुग्यो । सँगसँगै उनको दिमागमा अर्को प्रश्न खडा भयो । पल्लो छेउमा नन्दराम खडा थिए। गएर सोधिन्,  “आज कति घरमा नागको फोटो टाँसेर पूजा गर्छन् ?”

“२० लाखभन्दा बढी नै घरमा नागपञ्चमी मनाउँछन् ।”  नन्दरामले भने । “नवयुवतीहरुलाइ कसरी राम्री बनाउने भन्ने चिन्तामा कान्तिपुरले एकतिहाइ पेज खर्च गरेको छ । ऋत्विककी भुतपूर्व श्रीमतिले अस्ति के बोलिन् भनेर आधा चौथाइ भाग ओगटेको छ । कुनै समाचारै नभएको असम्बन्धित फोटाहरुले भरिएको छ । तर, २० लाख घरपरिवारले मनाएको चाडपर्वको बिषयमा जम्मा दुइटा वाक्य, त्यहीपनि चौथो पेजको त…ल कुनामा छ । किन यस्तो भयो ?”
“हजुरबाले चिनेको चौतारो हामीलाइ भद्दा लाग्छ । हाम्रा बाउले बनाएको पँधेरो भन्न शरम लाग्छ । होलीमा पुरातनको गन्ध आएकोले आधुनिकताको स्वाद चाख्न भ्यालेण्टाइन पुग्छौं । हाम्रा मूल्यमान्यता निख्रिएका छन् ।

मौलिकताको रङ्ग खुइलिईसकेको छ । मानवीय मूल्यहरु खोटासिक्का भएका छन् । राष्ट्र, समाज, समुदायको लक्ष हराएको छ । जीवनयात्राको बाटो र दिशा भुलिसकेका छौं । भूईंफुट्टा वर्गको विकास भएको छ र टपर्टुईंयाँ संस्कृति स्थापित भएको छ । यो स्थिति वुझेपछि यसैको आलोकमा यी बिषयहरु आफसेआफ वुझिन्छ ।”  नन्दरामले भित्रैसम्म केलाएर विश्लेषण गरिदिए । “यो भाँडभैलोको जिम्मेवार को हो ?”  “राज्यव्यवस्था बिग्रेर भाँडभैलो मच्चिनुको कारण हाम्रा नेता र शासकहरु हुन् । त्यस्तै, समाज बिग्रनुको कारण र जिम्मेवार बाहुनहरु हुन् । किनभने, उनीहरु नै समाजका अगुवा हुन् ।”  नन्दरामले इङ्गित गरे । “नेता र शासकहरुको कारणले राष्ट्र बिग्रेको त सबैलाइ थाहा छ । बाहुनहरुको बिषयमा अलि प्रष्ट पारिदिनुहोस् न ?” “हाम्रा बाहुनबाजेहरुले गहीरो अध्ययन गर्न छाडे ।  खोज, अनुसन्धान, उत्खनन त गर्दैगर्दैनन् ।

आत्मविश्वास हराएको छ । बाहुनहरुमा आत्मविश्वास नभएकोले समाज रूढी र अन्धविश्वासले ग्रस्त छ । यिनीहरु फेरि आफूलाइ अति जान्नेसुन्ने ठान्छन् । अहङ्कार र घमण्ड चर्को छ । मै हुँ भन्छन् । यिनीहरुमा टीम स्पिरिट र टीम कल्चर छैन । छलफल, विमर्शको सम्भावना न्युन छ । आफ्नै कारणले यी बाहुनहरुको पतन भएको छ । यिनीहरुको पतनसँगै रीतिरिवाजहरु पनि अनाथ बनेका हुन्।”  नन्दरामले भित्र्याँस (आन्द्रा,भुँडी, कलेजो) सबै निकालिदिए ।   नानीको चित्त वुझेछ । गम्भीर बनिन् र अभिवादन गरेर विदा भइन् ।

 

तपाइँको प्रतिक्रिया