विश्व कपमा नेपाल ? नपुगेकै राम्रो

world-cup-football

विश्वकप फूटबल खेलमा नेपाल पुग्ला ? पुगेपनि कति वर्षपछि पुग्ला ? नेपाल् विश्व कपमा पुगे कस्तो होला ? एशियाका भारत, चिन जस्ता देश त पुग्ने छनकसम्म छैन । पुगेका जापान, कोरिया जस्ता देशको हालत कमजोर छ । पहिलो दोस्रो खेलबाटै मनग्गे गोल खाएर बाहिरिन्छन् । धेरै नेपालीहरु नेपाल विश्वकपमा नपुगेकामा दुखि हुन्छन् । रहर गर्छन्, कहिले पुग्ला भनेर । तर विश्व कपमा नेपाल अहिलेकै स्थितिमा नपुगेकै राम्रो । यहि मानसिकतामा नेपाल विश्व कपमा पुग्यो भने क्षती नै क्षती ब्यहोर्नुपर्ने छ । कसरि ? त्यसका केहि कारण छन् । 

बुधबार विहान भएको खेलमा ब्रजिल जर्मनीसँग पराजित भएपछि सुनसरी भरौल ९ की १५ वर्षीया किशोरी प्रज्ञा थापाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरिन् । आफ्नो पढाईमा ध्यान दिनुपर्ने यो उमेरका वालवालिका अनावश्यक रुपमा कुनै न कुनै देशको समर्थन् वा बिरोधमा बिभाजित छन् । ब्राजिलको समर्थन गर्दै आएकी प्रज्ञालाई ब्राजिलले हारेपछि अरुले जिस्क्याएछन् । सहन नसकेर उनले आत्महत्या गरेको प्रहरी रिपोर्टले भन्छ ।

यहि विश्व कपमा ब्राजिलको समर्थन गर्दै सडक बन्द गरेर मोटर साईकल र्याली निकाल्ने नेपाली छन् । धेरै नेपालीले कामै छोडेर विश्वकप हेर्ने पेशा झैं बनाएका छन् । ब्राजिलमा जुन समयमा खेल हुन्छ त्यो समय अधिकांश मध्यरात पछि पर्छ नेपालमा । अनिँदै बसेर हेर्दा कति बिरामी परेका छन् । जान्ने बुझ्ने र पाकाले सबै छोडेर विश्वकपमा ज्यान फालेको देख्दा वालवालिकालेपनि त्यहि सिकेका छन् । तिनको पढाई र स्वास्थ्यमा असर परेको छ ।

ब्राजिलमा विश्व कप भैरहेको छ । विश्व कपमा जाने देशलाई यो कमाउने अवशरपनि हो । तर हाम्रो देशलाई यसबाट केहि फाईदा छैन । हाम्रो देशको आर्थिक, सामाजिक, शैक्षिक र खेलको अवस्था लाजै मर्दो छ । फूटबल खेलमा नेपाल १५६ औं स्थानमा छ । सन् २००३ मा भएको एशियाली गेम क्वालिफाईङमै नेपालले उत्तर कोरियासित खेल्दा १६ गोल खाएर विश्व रेकर्ड बनायो, बेइज्जत भयो नेपालको । तर हामी हाम्रो खेल कसरि उकास्ने, कसरि हाम्रो देशका खेलाडी गतिला बनाउने, कसरि हाम्रो देशको खेलको स्तरलाई विश्वमा इज्जतपूर्ण बनाउन सकिन्छ भनेर बहस सम्म गर्दैनौं । त्यसमा हाम्रो चासोनै छैन । तर नत हाम्रो सामाजिक र सांस्क्रितिक समानता भएको, न आर्थिक संवन्ध दह्रो भएको ब्राजिल, अर्जेन्टिना, चिली लगायतका देशको समर्थनमा नेपाली नेपाली बिभाजित हुन्छौं । समर्थन वा बिरोध गरेकै आधारमा  झगडा गर्छौं, बैमनश्यता साँध्छौं ।

नेपालीहरुले काम र धन्दानै छोडेर लागेका छन् विश्व कपमा । हारेको वा जितेको नाममा रक्सीको खोलो बगेको छ । घरको धान चामल बेचेरपनि बाजी थाप्ने गरेका छन्, कुन देशले जित्छ र हार्छ भन्दै । विश्व कपलाई एउटा खेलका रुपमा, रमाईलो र मनोरन्जनका रुपमा नलिएर सान देखाउने, ब्यापार गर्ने, अरुलाई हेप्ने र आफू ठूलो देखाउने साधनका रुपमा विकास गरिरहेका छन् । हाम्रा वालवालिकाले त्यहि सिकेका छन् ।

यता विश्वकप खेलिने देशका नागरिक बरु आफ्नो देशको जर्सीमा सडक र सार्वजनिक स्थलमा सजिएर हिँड्दैनन् । काम छोडेर विश्व कप हेर्दैनन् । विश्व कपका नाममा हामी नेपालीलाई झैं लत लाग्दैन । आर्कको देशको समर्थनमा र्या्ली निकाल्ने कुरो त झन सोच्नपनि सकिन्न । टिभी अगाडी बसेर अर्काको मुलुकको समर्थन गर्न  जर्सी किनीकिनी बिदेशका नागरिक हजारौं खर्च गर्दैनन् । तर हाम्रो देशबाट भने आर्काको मुलुकको समर्थन गर्न जर्सी किन्दा करोडैं रुपियाँ बाहिरिएर आर्थिक घाटा परेको छ । हामी नेपाली औधी महान, पारखी, जानकार, जान्नेसुन्ने र सक्षम छौं । हामीलाई नै लाग्छ धेरै विश्व कप । हामीलाईनै मनाउनुपर्छ क्रिस्मस र पश्चिमी देशका सबै चाडपर्व । जताबाट हुन्छ क्षती ब्यहोर्न रुचाउँछौं हामी ।

नेपाल विश्व कपमा पुग्यो भने के होला ? हार्दापनि गाउँ र शहरका सडक, बाटाघाटा सबै बन्द गरिने छन् । देशमा कुनै काम कसैले गर्ने छैन । सडक जाम गरेर नाचगान, बाजागाजा र न्रित्य हुन्छ । जाँड जुवाले शहरदेखि गाउँसम्म तहननहस पार्छ । घरमा खाने चामल नहोस् तर भएको सबै बेचेरपनि विश्व कपको भोज भतेर चल्छ । गाउँगाउँ सम्मै कुटाकुट र हानाहान हुन्छ । विश्व कपका नाममा सास्ति भोग्नुपर्छ । हार्नेहरुलाई होच्याउने, वालवालिकालाई खेलमा हार्नु भनेको म्रित्यु हुनु जस्तै हो, ईज्जतै हुन्न हार्नेको भनेर सिकाइन्छ । वालवालिकाको मनोबल झन बढि गिराईने छ । र अझ धेरै वालवालिकाले आत्महत्या गर्ने छन् । प्रज्ञा थापाका परिवार जस्तो बियोग अझ धेरै नेपाली बाउ आमाले भोग्नुपर्ने दिन आउँछ । नेपालले जित्दा खुशियालीमा उपद्रो मच्चाइने छ भने हार्दा हारेको झोंकमा भवन फोर्ने, आगो झोंस्ने र मारमुंग्री मच्चिन्छ । त्यसैले नेपाल अहिलेकै मानसिकता रहुन्जेल विश्वकपमा नपुगेकै जाति ।

तपाइँको प्रतिक्रिया