भुटानी युवाको प्रगती उत्तरी नर्वेमा चर्चाको विषय
● टेक बहादुर गिरि / ट्रोम्सो, नर्वे
(आमा, बहिनी र उनका दुई शिक्षिकासित देवी चरण)
छ बर्ष अघि नेपालबाट पुनर्स्थापनाको लागि नर्वे आइपुगेका थिए उनी । एक भुटानी शरणार्थी युवकका रुपमा । नर्वेली माध्यमको सामाजिक अध्ययन अन्तर्गत स्नातक तहको अन्तिम परिक्षामा उत्कृष्ट स्थान हासिल गरे । आफू त खुशि भए भए परिवार र आफ्ना शिक्षकहरुलाईपनि खुशि बनाए ।
उतरी नर्वेको आर्कटिक बिश्व बिद्यालय ट्रोम्सो अन्तर्गत आल्टा यूनिवर्सिटी कलेज बाट “सोसिओनोम” बिषयमा ३० बर्षिय भुटानी युवक देवी चरण चम्लागाई यस बर्षको उत्कृष्ट श्रेणी सहित प्रथम भए । उनलाई एक समारोहका बीच हालै उक्त कलेजले सम्मान तथा पुरस्कृत गर्योष । उक्त परिक्षामा नियमित र प्राइवेट गरि झन्डै ५० जना थिए । ति मध्ये तिन जना बिदेशी मुलका परीक्षार्थी सामेल थिए ।
पुरा समय काम (फुल टाइम जब), पारिवारिक जिम्मेवारी र सामाजिक रुपमा समेत उतिकै सक्रिय रहँदै आएका छन् उनी । नेपाली भाषी यि भुटानी युवाले छोटो समयमा गरेको प्रगति यतिखेर उत्तरी नर्वेमा चर्चाको बिषय बनेको छ ।” छ बर्ष अघि नर्वे भित्रिएर नर्वेली साउ अक्षरबाट अध्ययन प्रारम्भ गरेका हुन उनले । मेहनेती र जेहेन्दार बिद्यार्थी चम्लागाईले नर्वेली मुलका सबै विद्यार्थीलाई उछिन्दै हामीलाई अचम्मित तुल्याएका छन्” सो कलेजकी समाज शास्त्र बिभाग प्रमुख निना हेर्मान्सनले भनिन् ।
अंग्रेजी र अन्य युरोपेली भाषा मातृ भाषा नभएकाहरुका लागि नर्वेली भाषा सिक्न संसारकै कठिन भाषा मानिन्छ । झापाको बेलडाँगी शरणार्थी शिविरमा झन्डै दुई दशक कष्टपूर्ण जिवन बिताएका चम्लागाई परिवारका जेठो छोरो देवी चरणले सानै छँदा क्यान्सरका कारण आफ्ना बुबा गुमाए । उनले ढुक्कले पढ्न पाएनन् । तैपनि बृद्धा आमा, दिदी र ससाना भाइ बहिनीको लालनपालन र शिक्षाको जिम्मेवारी लिँदै आफ्नो पढाइलाइ निरन्तरता दिए ।
नेपाल छँदा चम्लगाइले ग्लोबल कलेज दमकबाट उत्कृष्ट श्रेणीमा उच्च माबि उतिर्ण गरेका थिए । उनले पढाइ खर्च जुटाउन पश्चिम नेपालको अर्घाखाचीको एक निजि बिद्यालयमा समेत केहि समय अध्यापन गराएको बताए । “आफ्नो नयाँ देशमा आज मेरो सपना पुरा भएको छ” उनले भाबुक र हर्षित हुँदै भने । नर्वेको सरकारी संचार संस्था (एन।आर।के) लाइ अन्तर्वार्ता को क्रममा भुटानबाट लखेटिनुलाइ सांस्कृतिक विभेदको शिकार भएको मान्ने चम्लागाइले आफु एसिमिलेसन् होइन, आफ्नो मूल जातीय पहिचानलाइ कायम राख्दै समृद्ध र बहुसांस्कृतिक नर्वेली समाजमा इन्तिग्रेसन हुने इच्छा जाहेर गरे । भुटानी शरणार्थी पुनर्स्थापना कार्यक्रम अन्तर्गत नर्वेमा ५ सय ५० जना भुटानी शरणार्थी बसोबास गर्छन ।






