यति बेलै किन आयो पारसको अन्तर्वार्ता ?

दिप महत “कुर्मी”

 

पूर्व राजा ज्ञानेन्द्र भारत जाने हल्ला निकै समय देखि चल्यो । तर राजनितिक दबाब खेप्नु पर्ला भनेर उनी जान सकेनन् । अन्तत पारिवारिक बिवाहको अवसर जुर्‍यो र ज्ञानेन्द्र गए । वैवाहिक समारोह त उनको लागि निहुँ र अवसर न थियो । उनले राजनितिक यात्राका रुपमा बिताए भारतमा । सत्ताबाट गहल्हत्याइएका उनको त्यो भ्रमण नितान्त पारिवारिक होइन भन्ने किन स्पष्ठ हुन्छ भने उनले त्यहाँका प्रधानमन्त्रीसम्मलाई भेटे । भारत जस्तो मूलुकको प्रधानमन्त्रीलाई कुनैपनि देशका नागरिकले त्यसरि मन लाग्नसाथ भेट पाउँदैनन् । र भारतिय प्रधानमन्त्री नेपालका प्रधानमन्त्री जस्तै सस्ता पनि छैनन् कोटीहोम उद्घाटन देखि एसएलसीको प्रमाणपत्र बितरण गर्नपनि पुग्ने । त्यसैले भारतिय प्रधानमन्त्री सँग ज्ञानेन्द्रको भेट पूर्व योजना बमोजिम हो भन्नेमा कुनै शंका छैन ।

 

त्यसैले त्यो ज्ञानेन्द्रको राजनितिक भ्रमण थियो ।  त्यसबाहेक पनि उनले त नेपालमा हिन्दू राज्य र हिन्दू राजाको डटेर मुकाबिला गर्ने भारतिय जनता पार्टीका नेताहरुलाई धेरै भेटे । जो नेपालमा राजतन्त्र कायम गर्न नेपाली जनताको आन्दोलनलाई दबाउन भारतिय सैनिक भित्राउनुपर्नेसम्म वकालत गर्थे । ज्ञानेन्द्रले तिनै राजततन्त्रका हिमायतीहरुलाई नै खोजि खोजि भेट्नुपर्ने किन ? लिगलिग कोटमा दौडेकै आधारमा राजा हुने चलन चलाएका आफ्ना पूर्खाको राज्य चलाउने एकलौटी बिरासत सकेसम्म कसले छोड्छ ? त्यो हत्याउने प्रयास कसले गर्दैन ? ज्ञानेन्द्रले त्यो प्रयास गर्दैनन् र गरेका छैनन् भनेर सोच्नुनै मूर्खता हो ।

 

माओवादीहरुकै कारण प्रमुख छ नेपालबाट राजतन्त्र समाप्त हुनुमा । त्यहि राजतन्त्र समाप्त गर्ने प्रमुख माग उठाएर नै उनीहरुले जनयुद्द गरेका थिए । माओवादीहरु जब सरकारमा गए तर दरबार हत्याकाण्डबारे पूर्व अडानमा उनीहरु कतै देखिएनन् । तर जब ज्ञानेन्द्रले भारतमा गएर राजनितिक भेटघाटलाई तिब्र पारे तब प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्ड पुन छानबिन गर्ने सार्वजनिक गरे । जबसम्म ज्ञानेन्द्र चुप लागेर रानीबनमा थन्किएका थिए तबसम्म दरबार हत्याकाण्ड छानबिनको प्रसंग चलेन । जब ज्ञानेन्द्रले भारतमा गएर भारतिय नेता खासगरि नेपालमा गणतन्त्र नरुचाउनेहरुसित भेटघाट गरे तब दरबार हत्याकाण्डको प्रसंग निकाले किन ? खासगरि दरबार हत्याण्ड छनबिनकै लागि नभएर यो ज्ञानेन्द्रलाई धम्की दिनकै लागि हुन सक्छ । यदि नेपालको शिशु गणतन्त्रमाथि षडयन्त्र गर्ने चेस्टा गरिन्छ । माओवादी नेत्रित्वको सरकारप्रति अनुदार भ्इन्छ भने दरबार हत्याकाण्ड छानबिन गरेर सजाएँ दिइनेछ भन्ने प्रचण्डको चुनौती हो भन्ने विश्लेषकहरुपनि छन् ।

 

माओवादी नेत्रित्वको सरकार प्रति भारतिय सरकार अनुदार र शसंकित रहेको, बेखुशी रहेको, सरकार परिवर्तनको पक्षमा रहेको भन्ने समाचारपनि आइरहेका छन् । भारत नेपालमा आफ्नै नीति, निर्देशन, चाख र प्रभावमा चल्ने कठपूतली सरकारको खोजि अनि प्रयासमा छ भन्नेहरुपनि छन् । त्यसैले, गोप्यरुपमा अहिले भारतीय शासकले दरबारियासँग साँठगाँठ गरेको, अहिलेको सरकार असफल बनाएर अस्थिर बनाउने योजनामा लागेको, नयाँ संबिधान बनाउन सकभर भाँड्न खोजेको र अन्तत माओवादीलाईपनि असफल बनाएर पुन राजतन्त्रलाई राज्य सञ्चालनको आफ्नो शर्तमा स्थापित गराउने स्वार्थ रहेको भनेर तर्क गर्नेहरुपनि नभएका होइनन् । यहि भित्रि साँठगाँठकै सुइँको पाएरनै दरबार हत्याकाण्ड छानबिनको प्रसंग उठाएर ज्ञानेन्द्रलाई चुनौति दिन खोजेका हुन् प्रचण्डले भन्ने तर्क सहि हुन् सक्छ।

 

दरबार हत्याकाण्डको छानबिनको प्रसंग उठ्नासाथ उता सिंगापुरबाट समेत पारस शाहले आफ्नो त्यसमा कुनै संलग्न नरहेको भनेर सरकारी धम्कीलाई चुनौती दिएको देखिन्छ । नत्र यतिका समय बिदेश बसेका र प्राय मेडियाबाट टाढै रहने उनले किन आफ्ना बाबुको भारत भ्रमण र माओवादी नेत्रित्वको सरकारले दरबार हत्याकाण्ड पुन छानबिन गर्ने सार्वजनिक गरेकै बेला चुनौतीको शैलीमा अन्तर्वार्ता दिए ? भन्न त आफ्ना बाबुलाई भारतिय शासकहरुबाट भित्रि साहस दिएकाले त्यहि मौकामा शक्ति सन्तुलनकै रुपमा उनको अन्तर्वार्ता आएकोपनि हुन सक्छ ।

 

अर्को पक्ष केपनि छ भने दरबार हत्याकाण्ड छानबिन गर्ने भन्नासाथ उनले आफुलाई चोखो राख्न खोजेका छन् । बाबुलाई दोष दिएका छन् । यो आफु नेपाल फर्कनकालागि उपयुक्त बाटोको खोजि गरेकोपनि हुन सक्छ । राज्य सञ्चालनमा आफ्नो कुनै जिम्मेवारी नभएकाले त्यसको दोष बाबुलाई दिएर आफु निर्दोष रहेको स्पष्ठिकरण दिन खोजेकोपनि देखिन्छ । भारतिय शासकहरुसँगको मन्थनपछि शक्ति सन्तुलन स्वरुप वा गणतन्त्रवादीहरुलाई चुनौती दिनकालागि यात सरकारको नाडी छाम्नकालगिपनि राजतन्त्रवादी र दरबारियहरुले चारो फालेका हुन सक्छन् ।

 

संभावना जे होउन ज्ञानेन्द्रको भारत भ्रमण, भारतिय प्रधानमन्त्री लगायत शक्तिशाली नेतासित ज्ञानेन्द्रको मन्थन र तत्कालै आएको पारसको अन्तर्वार्ता सामान्य ढंगबाटै आएको हो भनेर बुझ्नु चाहिँ मूर्खता हुनेछ ।

 

-संबन्धित ब्लग-

 

हतियार कमिसनले वीरेन्द्रको ज्यान लियो: पारस

 

चुनाव जितेर सत्ता लिन्छु: पारस 

तपाइँको प्रतिक्रिया