मन परेको किताबका मन नपरेका कुरा

पदम गौतम

प्रिय ददिजी,

नमस्कार ।

tyo-nepalतपाईंको मेहनतको फल ‘त्यो नेपाल’ मैले नेपालमै हुँदा किनेको थिएँ । तर आफ्नो सोचभन्दा पहिले नै डेनिस भीषा लागेका कारण हतारमा हिँड्नु पर्‍यो । पढ्न पाइनँ । त्योसहित केही किताब ल्याउन खोज्दा अटाएन, भर्खरै यतै मगाएर पढेँ ।

खासमा कुनै कुराबारे पहिले धेरै सकारात्मक धारणा बनाएर पछि त्यो नपाउँदा निक्कै पीडा महसुस हुँदोरहेछ, खल्लो लाग्दोरहेछ । मलाई यो किताबमा देखिएका ससाना त्रुटीले पनि त्यस्तो महसुस गरायो । तपाईंले यो किताबका लागि बर्षौं गरेको मेहनतसँग म परिचित थिएँ, त्यसैले अपेक्षा पनि बढी नै भयो । लेखकसंकलक ददि सापकोटा, प्रकाशक जगदम्बा प्रकाशन, सम्पादक विनोद ढुङ्गेल अनि भूमिका मन्तव्य लेख्ने दिदी कल्पना घिमिरे (नुरिस्सोँ ) । यी सबै आफ्नो ठाउँमा एक से एक, नमन गर्नुपर्ने नाम । तर केही ससाना कुरामा हामीजस्तो मुलुकका बिभिन्न बिषयमा चिन्ता गर्ने तर कतैपनि भूमिका पाउन नसकेका मान्छेले खोज्ने कुरा अर्कै हुँदो रहेछ । मैले किताबमा धेरै भेटेँ तर केही अपुगजस्तो पाएँ । त्यति मात्र थपिएको, राखिएको र उल्लेख गरिएको भए यो किताब ‘नन फिक्सन’ मा बर्षकै उत्कृष्ट हुन्थ्यो भन्न सकिन्छ । मलाई लागेका र बिझाएका केही कुरा यहाँ उल्लेख गर्छु, आगामी संस्करणमा ती कुरा हटाउनुहोला है ।

पढ्दै जाँदा किताबको २० पेजमा लेखिएको छ, ‘सिक्किममा पहिले राजा थिए । भारतको स्वतन्त्रतापछि राजाले छोडे, प्रजातन्त्र आयो ।’ ददि सापकोटाले लेखेको र विनोदजीले सम्पादन गरेको किताबमा कसरी यस्तो वाक्य पर्‍यो, म छक्क परेँ । सिक्किममा राजाले छाडेपछि प्रजातन्त्र आएको हैन । नेपाली मूलका फटाहाहरूले भारतीय शासकसँग मिलेर सिक्किमलाई भारतमा गाभेको हो । यहाँनेर ब्रिजिट स्टेनम्यानले सार्वभौमसत्ता गुम्नुलाई प्रजातन्त्र आउनु भनेकी छन् । यो सामान्यजस्तो लाग्ने तर अक्षम्य गल्ती हो । स्टेनम्यानको  विचार यही हो र यसलाई सम्मान गरौं भन्दै जस्ताको तस्तै राखिएको हो भनेपनि लेखकीय वा सम्पादकीय टिप्पणी खोइ त ?

९४ पेजमा ब्रुस्ले थ्रिस्तँको अन्तर्वार्तामा कतारमा भेटिएको राजधानी दैनिक भनिएको छ । राजधानी दैनिक काठमाडौंबाट निस्कन्छ । कतारबाट चाहीँ उही साहुका छोराको प्रकाशकत्वमा साप्ताहिक संस्करण निस्कन्छ । यो संस्करण केही अगाडिसम्म चाहीँ कान्तिपुरको कतार साप्ताहिक संस्करणभन्दा बढी बिक्थ्यो । सोही पेजमा तपाईंसँग कुरा हुँदा सन् २००७ मा उनले १ लाख ५० हजार नेपाली रहेकोमा आश्चर्य व्यक्त गरेका छन्, यहाँसम्म ठीक हो । तर लेखाइमा अहिले पनि त्यति नै छन् भन्ने जसरी लेखिएको छ । ऊ बेला नै यति थिए भने जसरी लेखिँदा मात्र यो तथ्यांक र बिषयले न्याय पाउँथे । अझ सामान्य पाठकका लागि हाल तेब्बर जति भएको त्यहाँको नेपालीको संख्या पनि सम्पादकीय टिप्पणीका रूपमा दिइएको भए किताब कालजयी र पछिल्ला संस्करणका लागि पनि सम्बल बन्ने थियो । किताब जहिले पढे पनि त्यहाँ डेढ लाख नेपाली रहेछन् भन्ने मात्र दिमागमा रहने भयो । मुलुकको स्थिति बिग्रँदै गर्दा देश छाड्नेको संख्या पनि बढिरहेको छ । यो सेन्सले काम गरेको भए कति मीठो हुन्थ्यो है, ददिजी ?

यस्ता उदाहरण चाहीँ किताबबाट धेरै दिन सकिएला । अनि थ्रिस्तँकै वार्तामा ९६ पेजमा ‘भारतको आसाममा मात्रै एक करोड नेपाली छन्’ भनिएको छ । आजको जमानामा तिनीहरू नेपाली नभएर नेपाली मूलका भारतीय हुन् । यो शव्दमा पनि गम्भीर बिचार पुग्नुपर्थ्यो । त्यो बिचार नगरी आँकडालाई मात्र हेर्ने हो भने पनि यो हावादारी कुरा हो । आसाममा त्यति नेपालीभाषी छँदै छैनन् । मेरो बुझाइमा कुल भारतमा चाहीँ पुग नपुग त्यति संख्यामा नेपालीभाषी छन्, आसाममा मात्रै चाहीँ बढीमा २० लाख होलान् । यो तथ्यांकले पनि गलत सन्देश नै जान्छ पाठकमा ।

ददिजीलाई थाहा नै छ, मैले करिब ६ बर्ष अगाडि फ्रान्सेली सांस्कृतिक केन्द्र काठमाडौंमा ६ लेभलसम्म फ्रेन्च पढेको थिएँ । म लेख्न अलिअलि र केही बढी बोल्न सक्छु, काम चलाउ रूपमा । तर, मैले पाए अनुसार यो किताबले मजस्ता अलिअलि त्यो भाषा जान्ने मान्छेलाई अझ भ्रम बनाइदिन्छ । यस्ता उदाहरण दर्जनौं छन् । तर तपाईंको सजिलोका लागि पेज नम्बर १६१ हेर्नोस् । त्यहाँको तेस्रो अनुच्छेदमा ‘आम खालका (एड जेनेराल) सहयोग’ भनिएको छ । तर यो चाहीँ आम खालका सहयोग (एड जेनेराल) हुनुपर्ने हो । पेज २४८ मा मारी क्रिस्चिन कावोसँगष्को वार्तामा उनले अध्ययन गरेको बिषय लादमिनिस्थास्सियों द ला सँते ए दु सोसियाल फ्रेजँ स्तातिस्तिक भनिएको छ । उनले अध्ययन गरेको बिषय नेपालमा छैन होला । तर नेपालीमा अनुवाद नै नहुने त हैन नि । यसरी लेखन, सम्पादन त्रुटीले फ्रेन्चको गलत प्रयोग अन्यत्र पनि भएका छन् । मैले पढ्दा बिझाएर किताबमा कोरेर धेरै ठाउँ कालो बनाएको छु ।

पेज २३४२३५ मा जेन ब्रियँले अर्को गम्भीर गल्ती वा उग्र पूर्वाग्रहसहित बोलेका छन् । यसमा चाहीँ लेखक र सम्पादकले ब्रियँको भनाइलाई ‘माइल्ड’ बनाउनै पर्थ्यो भन्ने लाग्छ । किताबमा समेट्नका लागि छानिएका मान्छेमध्ये ब्रियँ सबैभन्दा बढी आलोच्य भएका छन्–हावादारी कुरा गरेर । बेलायतीजस्तो फ्रान्सेलीहरू उग्र चीनबिरोधी छैनन् । तर तिनीहरू चीनलाई रहस्य र अविश्वासको कालो सुरुङका रूपमा हेर्छन् । यहाँनेर पटकपटक ब्रियँले चाहीँ नेपालमा चीनले गर्दा माओवादी आन्दोलन भएको, भारत र चीनको सोझो टक्कर परेको र राजनीतिक हस्तक्षेप गरेको आरोप लगाएका छन् । तर अहिलेसम्म कहीँ कतै चीनले नेपालमा राजनीतिक हस्तक्षेप गरेको इतिहासमै प्रमाणित छैन । हो, चीन नेपालमा प्रजातन्त्र ल्याउन कहिल्यै जनताका पक्षमा बोल्दैन, उसको आफ्नै मौन नीति छ । तिब्बतका पक्षमा नेपाल र नेपाली नबोलुन् भन्ने उसको आग्रह हो । तर सरकार र ससाना कुरामा त बरु भारतसँगै हस्तक्षेप गर्ने त यिनै युरोपेली युनियनका सदस्य राष्ट्र नै हुन् । यहाँनेर उनले चीनको अनावश्यक उछित्तो काढेर आफ्नै उचाइ घटाएका छन्, नेपालीमा भन्दा आफैं खुइलिएका छन् । किताबमा पनि यो सन्दर्भका धेरै र पटकपटक यो बिषय आएको छ । सोचेँ भारतले रातारात सीमा सारेर गाउँ नै आफ्नो बनाएको पीडा खैरे कूटनीतिज्ञलाई के थाहा र ? तिनले त तिब्बत स्वतन्त्रताका बिषयमा नेपाल नबोल्दा नै नेपाल चीनतिर ढल्किएको देख्दारहेछन् ।

लेखक र सम्पादकको अर्को गल्ती पेज २७७ मा देखिन्छ । गाउँमा रमाउने राजाका मास्टर शीर्षकको मार्क गाबोरियोको सामग्रीमा मितिमा ध्यान नपुग्दा गम्भीर गल्ती भएको छ । सन् १९७७ मा तत्कालीन युवराज वीरेन्द्रलाई गाबोरियोले फ्रेन्च सिकाएको उल्लेख छ । तर, वीरेन्द्र सन् १९७१ मा राजा भएका हुन् । त्यो मिति १९६७ हुने संभावना बढी छ ।

यी सबै चाहीँ पढ्दा बिझाएका कुरा हुन् है, ददिजी । यति गल्ती भए पनि तपाईंले यो किताब लेखेर नेपालप्रति ठूलो गुन लगाउनुभएको छ । राज्यले नगरेको काम गर्नुभएको छ । र, नयाँ पुस्ताका लागि फ्रान्सले नेपाललाई हेने आँखा प्रष्ट पार्नुभएको छ । काम गरेर परिवार पालेर आफ्नै खर्च र ठूलो मेहनतले यति गहन किताब निकाल्न सक्नु भएकोमा आहारिस जागेको छ । म पनि मुलुक छाडेर युरोप आएको छु, प्रेरित भएको छु केही गर्नका लागि ।

लागेको कुरा सर्सरी लेखेँ । बढी भए माफी पाउँ है ।

उही तपाईंको मित्र

पदम गौतम

[email protected]

तपाइँको प्रतिक्रिया