इटालीको मूल सडकमै नेपालको विशाल झण्डा किन ?
ईटालीको मिलान शहर पुगेकै साँझ साथीहरुले सोधे ‘कहाँ कहाँ के के हेर्न मन छ ?’ आफूलाई केहि थाहै थिएन के के हेर्ने ठाउँ छन् भनेर । साँझ छबी शर्मा र अर्को दिन बिहान पत्रकार महिन्दो वाईबाले भने ‘नेपालको झण्डा हेर्न जाने ? सडकमै छ । विशाल छ ।’ आम्मै, नेपालको विशाल झण्डा ईटालीको मूल सडकमा ? किन नहेर्ने ? त्यो त तिर्थस्थल जस्तै हो नी !
अर्को दिन साथीहरु भेट भए । बिजय सुबेदी, छबी शर्मा, महिन्दो वाईबा र भरत तामाङ । एकैसाथ निस्कियौं । दुएबो भन्ने मिलानको गिर्जाघर हेरियो । पहिले । त्यो रहेछ, १७०० वर्ष पुरानो । मिलान र त्यस वरिपरिका क्रिष्चियनहरुको मुख्य धार्मिक स्थल । हिन्दूहरुको हाम्रो पशुपती जस्तो । त्यसको छानाको गजुर सुनको रहेछ । सय किलो सुनपनि । चोरी गर्न नसकुन् भनेर वरिपरिबाट बिद्दुतिय झड्का दिने ब्यवस्था गरिएको भरत तामाङले सुनाए ।
अचम्म के रहेछ भने यो गिर्जाघर निर्माण गरेर कहिल्यै नसकिने रहेछ । सधैं केहि न केहि थपिरहने, बनाईराख्ने रहेछन् । सधैं एउटा न एउटा मूर्ती कुँद्ने रहेछन् । यसमा सयौं ससाना मूर्ती बनाइसकिएको रहेछ । मिलानको मुख्य पर्यटकिय आकर्षणपनि यहि गिर्जाघर रहेछ । बिहानदेखि साँझसम्मै पर्यटकको भिड लाग्छ ।
यो घुमेपछि साथीहरुले नेपालको झण्डा हेर्न जाउँ भने । ल जाउँ त जाउँ ।
मिलानको अति ब्यस्त, मूल सडकमै रहेछ नेपालको झण्डा । तर त्यो लामो सडकमा नेपालको मात्रै होइन रहेछ, झण्डा त । त्यहाँ विश्वका सबै जसो मुलुकका रहेछन् झण्डा । सडकको एकपट्टी लहरै देश देशका झण्डा गाडिएको । मिलान शहरमा अन्तर्राष्ट्रिय स्तरको विशाल ब्यापारिक मेला, प्रदर्शनी हुँदै छ । सन् २०१५ मा । त्यो छ महिनासम्म हुन्छ । अहिलेदेखिनै विश्वका धेरै मुलुकले आँखा गाडेका छन् । त्यसमा काम शुरु गरेका छन्, ब्यवस्थापन, प्रचारप्रसार र सहभागिकालागि । त्यहाँ मिलानको नगरपालिकाको उद्देश्य विश्वभरिकै देशलाई सहभागि गराउने उद्देश्य छ । त्यसैले प्रचारप्रसारका अलगि सबै देशको झण्डा राखिएको हो ।
नेपालीहरुको लागि आर्काको देशमा यहि झण्डा देख्न पाउनुपनि राम्रो हो । आनन्द लाग्छ । तिर्थ गए जस्तो । धेरैले यहि झण्डाको आसपास फोटो खिच्छन् । हामीलेपनि केहि खिचियो ।
यो मेलाकोलागि उनीहरुले कार्यालयनै खोलेर काम शुरु गरेका छन् । यहि अन्तर्राष्ट्रिय मेलाकालागि स्थापना गरिएको कार्यालय हो यो ।
सडकमा एक जना ब्रिद्द काँक्रा, गाजर, फर्सी जस्ता हरिया फल काटेर सुन्दर कला बनाउँदै थिए । यो हेरेर कोहि पैसा राखिदिन्थे । कोहि किनेरपनि लैजाने रहेछन् ।










