तिर्खाएको काठमाडौँ र मेलम्चीको वास्तबिकता

गोपीचन्द्र कार्की

Melamchi River near by Timbuबिश्वमा पानीको धनी देश दोस्रो नेपाल भनेर संसारभर चिनिने देशमा हामी जन्मियौं । दुई ठुला देशको बीचमा रहेको नेपालले खलखल्ती बगेर दक्षिण पुगेको खोलाको पानीको उचित सदुपयोग गर्न सके आर्थिक बिकासमा ठूलो टेवा पुग्नेकुरा सबैले बुझेकै हो । यसो गरे जनताको जीबनस्तर माथि उठ्ने थियो । संसारका मानिसका आगाडि हामी सधैं दोस्रो गरीब देश भनेर चिनिन पर्दैनथ्यो होला । यो खलखल्ती र कुलकुल बग्ने पानी मात्र हैन, शक्ति पनि हो । सेतो सुन पनि हो । प्राणीको जीवन पनि हो । मानब सभ्यता, उत्पादन र विकासको मूल पनि हो ।

काठमाडौं खाल्डोमा पानीको हाहाकार अझै छ । काठमाडौंमा मात्र हैन सरकारी आँकडा अनुसार पनि देशभर खानेपानीको पहुँचबाट टाढा रहेकाको संख्या अझै ६० लाख जति छ भनिन्छ । पानीको लागि अझै रात जाग्राम बस्नु पर्छ । घाण्टौं लाम बस्नु पर्छ । कोशौं हिँडेर पानी ओसार्नु पर्छ । पानीका लागि छरछिमेकसँग भनाबैरी गर्नु पर्छ । पानीका लागि अरुले भन्दा महिलालेनै धेरै दुख हण्डर खेप्नु परेको यथार्थ लुकाउृनै सकिदैन । देशमा जनताबाट निर्बाचित जनप्रतिनिधिको सरकार छ । जनता पैसा तिरेर पनि पानी पाउन सकेका छैनन् । अशुद्ध पानीका कारण दैनिक हजारौ मानिस बिरामी परिरहेका होलान् । नेपाल हो चलेकै छ । जनताले जसरी पनि चलाउँछन् । यस्तै सोच सत्तामा बस्नेले राख्छन् । आर्थिक दुरावस्था र चेतनाका कारण तल्लो वर्गनै यसको सिकार भैरहेको छ । गाह्रो माथि झन् गाह्रो पारीरहेको छ । 

आजभन्दा बाइस पच्चिस वर्ष अघि अर्थात देशमा बहुदलिय प्रजातन्त्र आए पछिको पहिलो आम निर्वाचनमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भटृराईले चुनावमा दुईवटा मुद्धा उठाए । पहिलो मेचलम्चीको पानी खान मात्र हैन सडकै सफा गर्ने गरी ल्याउँछु । दोस्रो नेपाललाई सिंगापुर बनाइदिन्छु । काठमाडौंका काकाकुल जनताले सुन्दामात्र पनि ठूलो राहत महसुस गरे । तीन बर्षमा मेलम्चीको पानी राजधानी आउने भने पनि अहिले तिनकौ शरीर माटो र पानीमा मिलीसक्दा पनि पानी आउने कुरा चाहीँ अझै सपना जस्तै भैरहेको छ ।

कस्तो होला मेलम्ची ? कसरी ल्याउने होला पानी । यत्रा वर्ष वितिसक्यो ? धेरै सुनिसक्यौं मेलम्चीको कथा व्यथा । कुइराको काग भएर बस्नु भन्दा एकपटक पुगेरै देखेरै आउने र मेलम्चीको पानी खाने मनसुबाले चारजना साथीहरु २०७० माघको जाडोलाई वास्तै नगरी बिहानै अझै भनौं चिसोमा कठ्यांग्रिएको काठमाडौं नउठ्दै हामी त्यतातिर हान्नियौं ।

काठमाडौं अनि भक्तपुर,पनौती धुलिखेल र पांचखल पार गरेर मेलम्ची र हेलम्वु जाने दोवाटोमा रोकियौं । जसलाई जिरो किलो भनिन्छ । नौ बजे हामी त्यहाँ पुगिसकेका रहेछौं । चियापनि नखाइ निक्लिएकाले यसो केही खाने हो कि भनेर जिरो किलोमै रहेको सानो होटलमा तातो खिर र तरकारी मिठो मानेर खायौं । बाटाका लागि कोक पेप्सीको जोहो त्यहीबाट गरेर दश वज्नु अघिनै त्यहाँबाट अगाडि बढ्यौ ।

मेलम्ची र हेलम्बु जाने बाटो एउटै रहेछ । कुनै पनि ठाउँको यात्रागर्दा हाम्रो दिमाग र सोचाईमा सानो बिन्दु थपिन्छ होला । यस अघिसम्म कहाँको हेलम्बु कहाँको मेलम्ची जस्तो लागेको थियो ।  मेलम्चीबाट तीनघंटाको बाटो गाडीले छिचलेपछि हेलम्बु पनि पुगिदो रहेछ । त्यसैले त्यहाँ पुग्दा हाम्रो मन हेलम्वु पनि पुग्न पाए हुन्थ्यो भनेर मन नभड्किएको हैन । तर कुरो यतैबाट नमिलाई हिंडेकोले मनलाई थामथुम पार्नु बाहेक अर्को उपाए हामीसँग थिएन ।

melamchi-tunnel_20110904075547काठमाडौंमा पानीको हाहाकार अवस्थामा आएको मेलम्चीको कथा विस्तारै झांगिँदै यसले मुर्तरुप लिन थुप्रै कुरा अगाडि वढायो । काठमाडौंमा अफिस खुले । धेरै हाकिम कारिन्दा बने । चिल्ला गाडीहरु मेलम्चीका नाममा सडकमा दौडे । महत्वाकांक्षी योजना सफल पार्न हाम्रो बुता र सोचले के सक्नु । विभिन्न दाताहरु जन्मे । एशियाली बिकास बैँकको सहुलियत ऋण सहयोगमा हाम्रो मेलम्चीको काम अघि वढ्यो । दैनिक १७ करोड पानी राजधानी ल्याउने सरकारी योजना वन्यो । यस्का लागि सन् २००९ तिर चाइना फिफ्टिन रेल्वे ब्युरोले चारबर्ष अर्थात २०१३ को सुरुमै सक्ने गरी चार अर्ब २८ करोडमा काम सक्छु भनेर शुरु गरेको थियो । २१ किलोमिटर खन्नु पर्ने सुरुङ उसले जम्मा ६ किलोमिटर खनेर यति बेलासम्म उसले साठी करोडको थैलो कुम्ल्याई हालेछ ।

जिरो किलोबाट चण्डेश्वरीतिर हाम्रो गाडी कुदिरहँदा हामीले महिला समुहका नामबाट टाँगिएका बोर्डमा ‘रुख रोपौं वन जोगाऔं’ भन्ने पढ्यौ । वनमा जे भए पनि दाया बाँया रहेका खेत र बारीमा भने आलु र तरकारी खेतीले फाँट हरियो थियो । बीच बीचमा आलु कुर्न बसेका जस्ता देखिने परालका कुन्युले अझ सुन्दर देखिएको थियो । महादेव गाविस पनि तरकारी खेतिमा कम रैनछ । हामीले बाटोमा दौडिरहँदा देखेका दृश्यले त्यही भन्थ्यो । हरियो तरकारी खेती मार्ने रोग यतै बाटोमै रहेको घडेरीको विज्ञापन पढेर थाहा पायौँ ।

बाटोमा महादेव गाविसले स्वागत गेट बनाएको रहेछ । यतै पुग्दा कुन्तावेसी पुग्न अब तीन किलोमिटर छ है भन्ने सूचना पनि पढ्यौं । रानीटार नामले मात्र हैन कामैले पनि रानीटार थियो । हरियो सागपात तरकारी खेतिमा मानिसहरु आलुलाई उकेरा लाउँदै थिए । कोही पिठ्युँमा प्लास्टिकको भाँडो बोकेर स्प्रे गर्दै थिए । आलुका शत्रुमार्ने भनेर । चुनाब सकिएको दुई महिना कटिसकेको थियो । घर र पर्खालका भित्तामा रहेका पोस्टर खुइलिँदै गएर मानिसलाई एक वर्षमा संविधान वन्ला त भनेर जिस्काइरहेका जस्ता लाग्थे ।

कुन्ताबेसीको उकालो पुग्दा हामीले उत्तरतिर हाँसिरहेको सेता हिमाल देख्यौं । हाम्रो मन पुलकित भयो । हामीले हिमालका कुरा र पर्यटनका कुरा गाडीभित्रै बसेर गफ हाँक्यौ । पारीपटृी रहेको सल्लाघारीको थुम्कोले बस्तीको मुहार उज्यालो पारे जस्तो लाग्यो । अघि बाटामा पढेको नारा संझीयौं ‘रोख रोपौं हरियाली जोगाऔं ।’ खिरखाने पसलका साहुले भन्नु हुन्थ्यो ‘बाटो त यतै विग्रीएको छ । उता त राम्रै छ  ।’ नभन्दै उनले भने जस्तै अगाडी वढ्दै जाँदा बाटो राम्रै लाग्यो । त्यसैले हाम्रो गाडी विना रोकतोक हुइँकिरहेको थियो ।

सुनिरहेको नाम जस्तो लाग्ने सानो बजारमा देख्यौ सिपाघाट । एउटा उद्योगले इन्द्रवतीको किनारैमा रोडा, वालुवाको थुप्रो ठूलो कचौरा घोप्टाएझै घोप्टिएको थुप्रा थाप्री देख्यौ । त्यहीँ ह्युमपाइप पनि बन्दै र थुप्रिदै बसेका थिए । दायाँ वाँया रहको आलु खेतीको हरियो फांटले भने चियावगान को संझना गराइरहेको थियो ।

फटकशिला कटेपछि पुल तर्नासाथ हामी काभ्रे छाडेर सिन्धुपाल्चोक जिल्ला टेक्यौं । बांसवारीबाट पनि उत्तरतिर लामै हिउँका चुचुरा देखिए । बाहुनेपाटीको सानो बजार हुँदै हामी तालामाराङ पुग्यौं । कस्तो मजाको नाम तालामाराङ । त्यसैले त गीतकारले तालामाराङको केटीलाई संझेर गीत पनि रचिसकेका रहेछन् धेरै पहिला । साथी मोहनहरीले गीत संझिहाले र गाडीभित्र मिठो भाखामा गीतको एक गेडो गाइदिहाले । गीत यस्तै जस्तो लाग्छ ।

तालामाराङ बजारकी कान्छी

हामीले संझे भनेर, धुरु धुरु रुनु नहोला ।

मेलम्ची बजार आएछ । बजारको पुछारमा बाटो विग्रीएर डोजरले बनाउँदै रहेछ । हामी पनि नजिकै देखिएको झोलुङ्गे पुल तिर हान्नियौं । झोलुङ्गेपुलको लच्काइसँगै रमाउँदै पारीसम्म पुगेर फर्कियौं । रमेश विकलको वगिरहेकी इन्द्रावतीका ढुंगा र तिरमा बसेर संझनाका फोटोहरु खिच्यौं । यहाँबाट उता बाटोमा कालोपत्र गरिएको रहेन छ । तर बाटो राम्रै थियो । सफा थियो । काठमाडौंको धुलो धुँवा र फोहरका डुंगुरबाट अलि टाढा हुँदा आउने आनन्दनै यही जस्तो लाग्यो । प्लास्टिकले टाटेपाटे भएको भुँइ देखिरहेको आँखाका अगाडी हरियाली र सफा अनि रसिलो पसिलो देख्दा आँखा पनि रमाए । दायाँ बायाँ पक्कि घर वन्ने होडमा लागिरहेका थिए । पुराना घर सवै मिलाएर लगाएको ढुंगाका गाह्रा माथि जस्तापाताका छाना टल्किरहेका थिए । घर पर्खालका गाह्रो पाटा पारिएका ढुंगाले मिलाएर लगाएका शिप देख्दापनि अति राम्रा लाग्ने ।

taramarang-nepal

एक्कासी नसोचेकै कुरा भयो । हाम्रो अगाडीको बाटोको देव्रेतिर मेलम्ची आयोजना जाने बाटो भनेर चिनियाँ र अंग्रेजीमा लेखिएको वोर्ड बाटैमा ठडिएको देखिएपछि लौ यही पो रहेछ मेलम्ची आयोजना भन्ने ठान्यौं । हामीले सोचेको जस्तो धेरै टाढा त हैन रहेछ भन्दै त्यतै लाग्यौं । अगाडी बढ्दै, हो होइनको दोधारमा बाटो छोट्याइरहेका थियौं । दक्षिण फर्केको पाखोको काखकाखै लगेको बाटो राम्रो थियो । ठाउँ ठाउँमा बाटो सम्वन्धी दिनुपर्ने संकेतहरु पनि ठडिएका थिए । मानिसको वस्ती चाँहि वीचमा बगेको सानो खोलाको पारीपटृी रहेको डाँडामा थियो ।

अँध्यारोमा हानेको तिर जानुपर्ने ठाउँमै लागेछ । मानिसको चहल पहल नभएको आयोजनास्थलमा एउटा बस र एउटा सानो गाडी रोकेर राखेको अनि पहेंलो टोपी लगाएर बसेको एकजना पहरेदारका वीचमा हामी चारजना थपियौं । सुरुङभित्र वत्ती बलिरहेको थियो । एकजना मानिस भित्रबाट प्रयोग भैसकेको पुरानो जस्ता लिएर बाहिर आउँदै थिए । हामीले पहरेदारलाई भित्र जान मिल्छकि मिलिाइदिनुस् न भन्यौं । उनले ‘भित्र जान त मिल्दैन’ भनेर हाम्रो प्रश्नको उत्तर फटाफट दिईहाले । भित्रबाट आएको पहेंलों हावाले भरिएको ठूलो पाइपको मुखमा लगाइएको जालीबाट जेनेरेटर चलेको आवाज आइरहेको थियो । यो भनेको भित्र काम भै रहेको संकेत हो । यो सुरुङबाट भित्रको ढुंगा माटो फयाल्ने ठाउँ रहेछ । यसै सुरुङबाट पानी आउने भने होइन रहेछ । यो भित्र काम गर्नका लागि जाने आउने ठाउँ रहेछ । यस्ता सुरुङ जम्मा सात वटा अगाडी वढ्दै ड्याममा जाने सुरुङसंग मिल्छ रे । अहिलेसम्म चारवटा सुरुङ बनेका छन् । सुन्दरीजल, मेलम्ची र यो ग्यालथुमको भै हाल्यो । चिनियाँ ठेकदार गैसकेपछि नयाँ इटालिएन ठेकदारले भर्खर काम सुरु गर्न थालेका रहेछन् ।

चिनियाँ कम्पनीले काम नगरेपछि इटालियन कम्पनी सीएससीले खन्न बाँकि २१ किलोमिटर सुरुडङ साँढे दुई वर्षमा सक्ने अर्थात २०७२ चैत्र भित्र पुरा गर्ने  गरी ठेक्का पाएको रहेछ । यस अनुसार काम भयो भने २०७३ बैशाखभित्र राजधानीका घरघरमा हिँउको पानी पुर्याउने लक्ष्य सरकारले लिएको छ । चिनियाँ कम्पनीले पनि चार वर्षमा २७ किलोमिटर सुरुङको काम सकेन भने काम थालनी गरे पनि उसले चारवर्षमा जम्मा ६ किलोमिटर खनेको कथा व्यथा सुन्दा यो पनि हावादारी कुरा मात्र हुने हो कि जस्तो लाग्छ । अहिलेसम्मको स्थिति हेर्दा तीनवर्ष पछि पानी आउने केही संकेतै देखिँदैन । अहिले इटालिएन कम्पनीले सुन्दरीजलबाट काम थालेको छ रे । सुरुङ निर्माणगर्न मात्र यो कम्पनीले ८ अर्ब ३१ करोडमा ठेक्का पाएको रहेछ । पहिलेको भन्दा दोब्बर लागतमा । जति जति लम्बीन्छ त्यतिनै नेपालीका थाप्लामा ऋणको भार थपिँदै जान्छ । पहिले चिनियाँ कम्पनीले यही काम ४ अर्ब २८ करोडमा गर्ने संझौता भएको थियो । अहिले त्यसको दोब्बर लागि सक्यो । अहिले काम छिटो गराउन होला तोकिएको समय भन्दा जति दिन अघि उसले काम सक्छ कुल लागतको जीरो दशमलव जिरो पाँच प्रतिशत बोनस रकम दिने, अझ ६ महिना अघि सक्यो भने ठेक्का रकमको १० प्रतिशत बोनस दिने भनेर उसलाई हौस्याउन खोजेको देखिन्छ । उसले काम थालेको मितिले साँढे दुईवर्षमा सक्ने कवुल गरेको छ ।

पहिलेको कम्पनीले केवल ६ किलोमिटर सुरुड०मात्र खन्ने काम भएको देखियो । वाँधको कुरा त केही भएकै छैन । त्यहाँसम्म सुरुङ पुगेकै छैन । अनि यो कम्पनी र बाँध बनाउने अर्को कम्पनीले भने २०७३ भदौ भित्र वाँध र सुरुङको काम सक्ने कुरा गरेका छन् । प्रकृतिको गर्भभित्रको कुरा कसले जानुन् । सांच्चै मेलम्चीको पानी खान पाइयला नपाइला भोलीका दिनले बताउला भन्दै हामीले भने फर्कने बेलामा धित मरुन्जुले मेलम्चीको पानी खाएर लागि रहेको भोक र प्यास मेटायौं ।

चिनियां पहिलो ग्याल्दुमको मानब निर्मित सुरुङ हेरेर करिब २० मिनेट जतिमा फेरी उही पुरानो बाटो आइपुग्यौं । महांकालबाट तिम्वु झन्डै ८ किलोमिटर रहेछ । केही केटाहरु तिम्वु जाने भनेर मोटरसाइकलमा हुइकरिहेका थिए । यतिबेला हाम्रो गाडीले ९१ किलोमिटर पार गरिसकेको थियो । बाटोमा रहेको फलामे पुल पार गरेपछि ठाउँ ठाउँमा ‘चर्पी प्रयोग गरौं, निरोगी बनौं’ भन्ने नारा लेखिएका बोर्ड लट्किरहेका थिए । २०१५ सम्म सरकारले नेपाल अधिराज्यभर खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने भनेर काम भै रहेको आभास यता पाइन्थ्यो । अब हामी क्युल गाउँ हुँदै कार्तिके खोला ,घट्टे खोला तर्दै अगाडी वढ्दा मेलम्चीखोलामा पानी हैन दूध वगिरहे जस्तो लाग्थ्यो । पानीमुनिका ढुंगा छर्लङ्ङ देखिन्थे । यसले खोला कति सफा र पानी कति निर्मल छ भन्ने कुरा बताउँथ्यो । पहिले पहिले हाम्रो वल्खु खोलामा पनि हामी यस्तै देख्थ्यौं । तर अहिले कालो मैलो लेदो मात्र वगेको देख्छौं ।

दुङतेम्वा खोला तरेपछि बाटै नजिक मजाले मेलम्चीको चिसो पानीमा ट्रउट माछा पालन गरेका रहेछन् । लाङटाङ राष्ट्रिय निकुन्जको साइनबोर्ड पनि देखेपछि यो पनि यतै रहेछ भन्ने थाहा पायौं । हेलम्वु तिम्वु जाने बाटो छोडेर अलि पर पुगेपछि पानीले तिर्खाएका राजधानीवासीले सपना देखिरहेको मेलम्ची खाने पानीको योजना स्थल पुग्यौं । बाटामा भेटिएका केही महिलाहरु शेर्पिनी भेषमा यतै देखिए पछि हेलम्वुको शेर्पिनि भन्ने गीतको याद आयो । आयोजनाको मुखैमा पहरा दिरहेका सेनासँग भलाकुसारी गरे पछि हामी मेलम्चीमा बनेको सुङ हेर्न गयौं । यो सुरुङहेर्न मेलम्चीखोला माथि बनेको फलामे पुल तरेर जानु पर्थ्यो । सुरुङमा चरोमुसो थिएन । फलामे ढोकाले वन्द थियो । सुरुङले भन्दा पनि हाम्रो मन र आंखा नजिकै रहेको छांगोले तान्यो । वाह।।।। झर्ना भन्दै हामी त्यसैसँग लुटुपुटिएर फोटो खिचाउनमै व्यस्त रहयौं ।

अलि माथि मेलम्चीको पानी थुन्न बाँध बनाउने थलो रहेछ । मेलम्चीको पानी पर्खालले रोकेर राराताल बनेको होला भन्ने हाम्रो अडकल भयो । बाँध बनाउने ठाउँ हेरेर फकिएकाले केही छैन केही रुख ढलाएर राखेको छ त्यतिहो भने पछि हाम्रा उत्साही मन र गोडाहरु लल्याक लुलुक भए । अनि त्यही छांगोसंग रमाउँदै त्यसै रल्लियौं । समता स्कुलका भाइवैनीहरु मेलम्चीबाट पिकनिक आएका रहेछन् । उनीहरुका फोटो खिच्ने र हाम्रा क्यामराले हाम्रो फोटो खिचाउन लाग्यौं । हामीले मेलम्चीका बारे अहिलेसम्म जे सुनेर एउटा बिम्व वनाएर त्यहाँ पुगेका हुन्छौं त्यस्तो केही छैन । अहिले हिउँदको खोला हेर्दा काकाकुल राजधानीका बासिन्दाको तिर्खा मेटाउला जस्तो लाग्दैन । त्यता पाले पहरा वसीरहेकासँग उता ग्यालदुममा त काम शुरु भएको रहेछ नी भन्दा ‘हो र ? हैन होला’ भन्थे । यो सुरुङ पनि बाँधसम्म पुग्न र सुन्दरीजल तिर जाने सुरुङको काम गर्दा आउने बस्तु फाल्न बनाइएको रहेछ । यहाँ हेर्दा पानीबाट बिजुली निकाल्ने कुरा र मेलम्चीको पानी राजधानीबासीले खाने कुरा उस्तै उस्तै लाग्यो ।

बाह्र बजिसकेको थियो । मेलम्चीसम्म निर्धक्क प्र्‍याएर एकछिन सुस्ताएको गाडी हामी घुमेर फर्कदा अघिल्लो चक्का पन्चट रहेछ । धन्न बाटोमा केही भएन । सबै मिलेर झटपट चक्का फेरेपछि मेलम्चीलाई बाई बाई गर्दै पेटपुजाको लागि मेलम्ची बजारतिर रोकियौं । राम्रा त अरु पनि थिए होलान् । तर हामी बजारको बीचैतिर रहेको क्याफे इन रेस्टुरेन्टको सरसफाइले तान्यो । शनिबारको दिन भएर हो कि वा छकाल भएर हो त्यतिधेरै मानिस त देखिएनन् । तर होटल चलाउने भाइको बोली व्यवहार र स्वादिस्ट खाना र मेलम्चीको माछाले भने फेरी आउँआउँ जस्तो बनायो । उनैले नयाँ काठमाडौं पुग्ने नयाँ बाटो पनि बताइदिए ।

फर्कदा हामी नयाँ बाटो जाने पाइने भएर खुसीनै थियौं । होटलवालाले भने झैं बाहुनेपाटीबाट एक किलोमिटर अघि वढेपछि दाहिनेतर्फको बाटो समात्यौं । शुरुमा बाटो अलि बिरामी र घाइते भए पनि अघि वढ्दै जाँदा राम्रै लाग्यो । मलाई स्वर्गीय मदन भण्डारी र अहिलेका सभासद रामेश्वर फुयालको संझना भयो । रामेश्वरजी जिविसमा हुँदा सधैं काठमाडौं देखि नाङ्लेभारे, काठमाडौं देखि जर्सिङपौवा अनि लप्सीफेदी त कहिले काठमाडों देखि फटकशिला सडक भनेर रकम छुट्याउन जोड गर्थे । रातो किताबमा पनि रकम वरोवर छुटिृन्थ्यो । आज यो बाटो देख्दा आफैं सललल।।गुड्न पाउँदा मदन भण्डारीको द्रिष्टिकोण सही रहेछ भन्ने लाग्यो । अहिले काठमाडौंबाट दूरदराजमा रहेको ठाउँ यो बाटो बनेपछि अति सुगम भएछ । मानिसहरु यातयातका साधन लिएर हेर्न घुम्न त्यहाँ पुग्दा रहेछन् ।  हामी नाङ्लेभारेको उकालो चढ्दै थली परेको ठाउँमा आएर हिमाल धित मर्ने गरी हेर्यौं । समयले नेटो नकाटेको भए हामी धेरै बेर हिमाल र अस्ताउन लागेको घामको उज्यालो अँध्यारो हेरेर वस्ने थियौं । नाङ्लेभारे, लप्सीफेदी, सांखु हुदै डाँछीभएर सहर पस्यौं । राजधानीबासीको पानीको कथा बोकेको मेलम्ची आयोजना, मेलम्ची बजारबारे धेर थोर ज्ञान आफनै आँखाले हेरेर; देखेर; सुनेर अनि काठमाडौं जिल्लाको दूरदराजको रुपमा चिनिएको लप्सीफेदी सुगम भएको देखेर, बाटाभरी तरकारी खेती फस्टाएको देख्दा लोकतन्त्र प्रति अझ माया मोह जाग्यो ।

 

 

तपाइँको प्रतिक्रिया