कर्णेल साप’को दबदबा

स्नेह सायमी

sneha-sayami12पन्चायतकालको बेला थियो । हाम्रा गाउँमा एकजना रिटायर्ड कर्णेलको बिगबिगी थियो । वरीपरि तीन गाउँमा कर्णेल पद खाएका कोही थिएनन । त्यसैले उनी रिटायर्ड पछि पनि गाउँभरि प्रभाबशाली रहे । उनी गाउँका अधिकांश मानिसहरुलाइ तँ भनेर सम्बोधन गर्थे । गाउँलेहरु उनलाइ करसाब भन्थे । करसाबको तँ प्रति बिरोध गर्नसक्ने ह्याउ अधिकांशको थिएन । उनले तँ भन्न नपर्ने मान्छे निकै कम हुन्थे, जस्तै उनका काका, दाजु, भाउजु आदी ।

एकदिन हाम्रो गाउँमा गाउँफर्के चुनाब भयो । त्यो दिन मपनि भन्ज्याङ्गमा चुनाबको माहौल हेर्न गएको थिएँ । चुनाब शुरु हुन लागेको थियो । चुनाबका अधिकारीहरुले उम्मेदबारहरु र तिनीहरुको प्रतिनिधिहरुको परिचयपत्र तयार पारिरहेका थिए । त्यतिबेला परिचयपत्र बनाउने तरिका सरल थियो । एउटा सादा पानाको सानो टुक्रामा हातैले उम्मेदबार र तिनका प्रतिनिधिको नाम लेखिन्थ्यो । छाप लगाएर चुनाब अधिकारीले सही गरेपछि त्यो कागजले आधिकारिकता पाउँथ्यो । त्यो कागज हिजोआज परिचय पत्र टाँसे जस्तै आफ्नो छातिमा टाँस्थे ।

ती करसाब थिए, एक उम्मेदबारका प्रतिनिधि । चुनाब अधिकारीले तिनको नाम र तिनको प्रतिनिधिको नाम लेखिदिए । तर त्यस लेखाइप्रति करसाबले ठुलो असन्तुष्टि ब्यक्त गर्दै उनको नाम अगाडी प्रमुख सेनानी लेखिन पर्ने जिकिर गरे । चुनाब अधिकारीले भने नागरिकता अनुसार मात्रै नाम लेख्न मिल्ने कुरामा अड्डी लिए । करसाबको पालो त्यो सेतो चिटमा आफ्नो नाम अगाडी आफैले ‘प्र से’ लेखेर छातिमा  टाँसे ।

सम्भबत म त्यतिबेला १५ बर्ष जतिको थिएँ । म छक्क पर्दै करसाबको पदमोह हेरीरहेको थिएँ र मैले बिर्सनै सकेको थिइनँ ।

मेरो एक मित्र २०४६ साल पछि सांसद भए । त्यतिखेर एकथरी मानिसहरुले सांसद हुनुलाइ ठुलै कुरा ठान्थे । धेरै सांसदहरुले सांसद हुनुमा गौरब मात्र होइन घमण्ड गरेको देखेको छुँ । ती सांसद मित्र त्यति पढेलेखेका थिएनन् । तर सांसद हुनुमा मन्त्री भन्दा कम ठान्दैनथे । भेटमा भन्थे ‘मन्त्री हुँदा त एक मन्त्रालयको मन्त्री । सांसदमात्र हुँदा त सबै मन्त्रालय र बिभागका मन्त्री ।’ तर उनी सांसद उच्चारण गर्न सक्दैनथे ।

त्यतिखेर मोबाइल फोन थिएन कसैको घर वा अफीसमा तीनले फोन फेला पारे भने घुमाइहाल्थे र भन्थे ‘म संसद फलानो बोलेको, फलानाजी हुनुहुन्छ ?’ अर्थात उनले आफ्नो पद खोलिहाल्थे । म चाख राखेर सुन्ने गर्थेँ । मैले धेरै पटक सांसद महोदयलाई संसद होइन सांसद भनेर सिकाउने प्रयत्न गरेँ । तर उनले नसिकेका हुन वा सिक्न नचाहेका हुन वा अन्य कुनै कारणले हो उनले आफ्नो पुरै कार्यकाल “संसद’ बाटै चलाए ।

यसरी आफ्नो नाम अघि लेखिने पद वा पेशाप्रतिको मोह हिजोआज प्रशस्त देखेको छु । जीवन बाँच्ने क्रममा मानिसहरुले एउटा एउटा पद र पेशा अंगाल्नै पर्ने हुन्छ । त्यसरी पनि परिचय त बन्छ नै । तर त्यही पद र पेशाको दबदबा प्रदर्शन गर्नु कतिको श्रेयस्कर हुन्छ सोचनिय छ ।

तपाइँको प्रतिक्रिया