शिक्षारुपी जालोमा यसरि फसाइँदै छ बिध्यार्थीहरुलाई

नवराज घिमिरे / वाणगंगा१ पिपरा, कपिलवस्तु

education-in-nepalअमूर्त रुपलाई मुर्तता प्रदान गर्न कलेजको शरणमा विद्यार्थीको शरणागत हुन्छ । आगोरुपी प्रवेश शुल्ककै तापले पोलेपछि शीतलरुपी सरकारी क्याम्पसको खोजीमा नचाहँदा नचाहँदै लड्किन पुग्छन् । आखिर शुल्कसँग सम्झौता गरेर मात्रै पनि मनको घाउलाई पुर्न सक्दैनन् । दिनेले शिक्षा नदिएपछि हुनेजति कक्षा नभएपछि मनमा पिर त पर्ने नै भयो ।  त्यो विद्यार्थी त्यसै सड्ने पो भयो। एता निजी कलेजहरु प्नि शिक्षा दिने भन्दा भिक्षा लिने कुरामा निकै अघिँ देखिन्छन् । विभिन्न स्वादिष्ट परिकारको प्रलोभन देखाएर जालो विछ्याउन पछि पर्दैनन् अहिलेका हतवुद्धिले युक्त गुरुजनहरु ।

हात देखाएर लात मार्ने गुरुहरु वातको गुलियो रसमा विद्यार्थीलाई डुबाउन खप्पिस हुन्छन् । अनि त वात विके पछि हात पनि छाडीदिन्छन् । गुलियो आँप भित्रको टर्रो खोयाको रहस्य नजानेपछि विद्यार्थीलाई पनि नटर्याउने कुरै भएन । आखिर रसिलो स्वाद भित्रको कसिलो प्रहार त परेकालाई नै थाहा हुन्छ । चेतनाको कुँजी भनिएका गुरुहरुले त विद्यार्थीको पुँगी बजाउन पछि नपरेपछि अरु त कसको कुरा गर्ने ? जब गुरुहरुनै शीलभ्रंश भइदिएपछि चेलाहरुको त के कुरा ?

युरिया र विकासे मलको प्रयोग गरेर विद्यार्थीको मगजमा शिक्षाको खेती गर्न सिपालु छ निजी कलेज र स्कुलहरु । उता दिवस र पर्वका नाममा विदा दिन आतुर छ निजीका लगानीकर्ता र सरकारी जागीर खाएका हर्ताहरु । ‘एक तीर दुई शिकार’ भन्ने उक्तिको जुक्ती लगाउन जानेका हाम्रा गुरुहरु पो के कम ? उता सरकारको नुन पनि हुने भो भने निजी लगानीको सुकेको भुडीलाई फुकेको रुप पनि दिने भो । शिक्षाको नाममा भिक्षा माग्न बसेकाहरु भविष्यको पिल्लरको कति सुते छड, कस्तो सिमेन्ट र कसरी बलियो बनाउन सकिन्छ भन्दा पनि छिटो रकम खर्चमा भ्याउन आतुर देखिन्छन् ।

आँखोमा छारो हालेर चारो खान पाएपछि विना सित्ती कस्ले दुखको भारी विसाओस् । राम्रो शिक्षाको नाममा भिक्षा थाप्यो सस्तोको नाममा शितल र घाम ताप्यो । कोरा कागजमा मसीको थोपा नपरिकन कोरै कपि थन्किन्छ । उता विद्यार्थीले दाना समयमा नहालेमा लगानीकर्ताको पारो रन्किन्छ । त्यसपछि परिक्षा दिन नपाउने त्राही देखाएर शब्दको वाँण हानिन्छ । यसरी गुरु र चेलाको सम्वन्ध पनि पैसाले धानिन्छ । अनि अवोध विद्यार्थीको मनमा ज्ञान भन्दा धनले डेरा जमाउँछ । त्यसपछि पैसाको लालचमा विभिन्न शहर र गल्लिहरुमा भौतारिन पुग्छ । अन्त्यमा विकल्परहित भएपछि विदेशी भुमिमा लगेर आफुलाई थन्को लगाउँछ ।

उता सस्तोको लागी गएको क्याम्समा एक बर्षे कोर्स तीन महिनामा सकिएपछि विद्यार्थीमा वेकामको अवस्थाले चिलाउन थाल्दछ । अनि त त्यो चिल्याहटलाई साम्य पार्न मलमको खोजीमा यता र उता हानिन्छ । शिक्षा नै त्यस्तै हुन्छ न त व्यवहारीक न ज्ञानवर्दक । अनि जागिर दिनेले पनि एकैचोटी तीन चार वर्षको अनुभव भएको भनेर मागिदिन्छ । बेला वेलामा त पढाउने पनि तिनै जागिर ख्वाउने पनि तिनै । अनुहार सम्झँदा शरीर रिसले ढाकिन्छ । ढाकेर पो के गर्नु यहाँको चलन नै यस्तै छ । जसको शक्ति उसको भक्ति ।

समयको सदुपयोग सम्झेर आफुलाई भुलाएपछि न पढाई न कमाई । समय वित्दै जान्छ । न ज्ञान भरिन्छ न त धन नै । एउटा भर्न पाए त सन्तोष पनि हुन्थ्यो । त्यसपछि परीक्षाले नजिकै आएर उठाएपछि भित्तामा टाँसिएको उनै गुरुहरुको प्रचारको पम्पलेटमा आँखा अडिन्छ । कुरा उहि हो ट्युसन र कोचिङ्ग । शतप्रतिशत पासको ग्यारेण्टी जस्ता शब्दले लेपिएका कागजले शहरका भित्ताहरु छोपेपछि विद्यार्थीका आँखा पनि तिरमिराउन थाल्छ । वर्षैभरिलाई पुग्ने गरी क्याम्पसको कोठामा कसले घाँटी सुकाओस् ।

त्यतिले मात्र भुँडी फस्टाउने नदेखेपछि किताब पनि अजिनोमोटो भैदिन्छ । आखिर लगानी विना बोलीको भरमा कसैमाथी समस्याको गोली प्रहार गरेर सन्तुष्टि पाएपछि के चाहियो ? त्यसैले त मेरो खप्पर पनि वेला वेला ह्याङ्ग हुन्छ र कुनचाहिँ सँग मितेरी गाँस्ने भन्नेकुराले अन्योल ग्रस्त हुनपुग्छ । निजतिर जाउँ घाँटी हाडभन्दा सानो परेछ । सरकारीमा जाउँ मार्कसिटमा तारा चम्केको देख्दा देख्दै वाक्क भैसकेछु ।

दीमागका शिल्पकारहरु नै राम्रो रचना र स्वरुप दिन कन्कनाएपछि विद्यार्थी भुन्भुनाउनु स्वभाविक हो । यस्तै शिक्षा प्रणालीले गर्दा नेपालमा सपनामा हराउनै कामदेख्दा डराउने, जुवा तासमा मस्त रमाउने ढुङ्गामुढा गरेर नेताको भुँडी भराउने जनशक्तिको उत्पादन दह्रो भैरहेको छ । काम भन्दा धेरै कुरागर्ने मेसिनको उत्पादन भैरहेको छ । यसरी शिक्षा रुपी जालोमा विद्यार्थीलाई फसाइँदै छ । पशुपतिनाथ यस्तो जालोबाट मुक्ति हुने बाटो देखाइदेउ । विद्यार्थीका विध्न वाधा सबै हटाइदेऊ । नेपालका नेताहरुमा शैक्षिक प्रणालीमा देखिएको समस्या हटाउन सक्ने बुद्धि भराईदेऊ । म तिम्रै शरणमा लम्पसार पर्छु प्रभु ठुलो केही त सक्दिन प्रभु एकजोरी परेवाचाहिँ अवश्य चढाउँछु । जय भोले वावा । जय शिवशंकर ।  जय जय पशुपतिनाथ ।

तपाइँको प्रतिक्रिया