बिदेशका नेपालीलाई दोहोरो नागरिकता, आकाशको फल
● बी के पाण्डे / बेलायत
विदेशी नागरिकता लिएका नेपालीलाई पार्टीको सदस्यता दिन पनि मिल्ने, पार्टीको खुला, आधाखुला र गोप्य संगठनहरुको पदाधिकारी बनाउन पनि मिल्ने, ती संदस्य तथा पदाधिकारीहरुबाट चन्दा, लेभी असुल्न पनि मिल्ने, उनीहरुले किनिदिएको कोट, जुत्ता, मोबायल, ल्यापटप लिएर नेपाल फर्कन पनि मिल्ने अनि विदेश बसुन्जेल उनीहरुकै मेजमानीमा रम्न पनि मिल्ने । तर दोहोरो नागरिकता भने दिन नमिल्ने । क्या गजब बात छ त नेपाली नेताहरुको ।
अनि दोहोरो नागरिकता दिन्नम् भन्नेहरुको पार्टी सदस्य बनेर रमाउने विदेशको नागरिकता लिई सकेका नेपालीहरुको ताल पनि क्या गजब छ बा !! कि दोहोरो नगारिकता दिन्छौँ भन्न लगाउन सक्नु पर्यो । हैन भने यहाँ मेजमानी हसुर्न आउने नेताहरुसँगै पार्टी सदस्यता फिर्ता पठाउन सक्नु पर्यो !! घोषणा पत्रमा कांग्रेस र एमालेले ‘गैर आवासीय नेपाली नगारिकता’ दिने कुरा गरेका छन् भने एमाओवादी र संघीय समाजवादी पार्टीले मात्र दोहोरो नागरिकता दिने कुरा गरेका छन् । गैर्ह आवासीय दोहोरो नागरिकता भनेको घुमीफिरी रुम्जाटार नै हो । मागेर नेपाली नेताहरुले दोहोरो नागरिकता दिनेवाला छैनन् । व्युरोक्रेशी त ग्रिनकार्ड वा आईएलआर वा पीआरकोसमेत पछि लाग्न थालेको छ । ग्रिनकार्ड, आईएलआर, पीआरवालाहरुको पेन्सन त खोस्न तयार हुँदैछ व्युरोक्रेसी ।
अब रुन्चे पाराले दोहोरो नागरिकता मिल्नेवाला छैन । अब विदेशमा आन्दोलन गर्नुको विकल्प छैन दोहोरो नागरिकता लिने हो भने । नेताहरुको कार्यक्रम वहिष्कार, नेताहरुलाई कालो झण्डाले स्वागत र यति गर्दा पनि नभए नेपालमा इन्भेष्टमेन्ट बन्द पनि गर्नु पर्छ । तर अहिलेको एनआरएन नेताहरु यो गर्न तयार छन् त ? अहँ, उनीहरु तयार हुने छैनन् । किनकि एनआरएनमा उध्योग व्यवसायीहरुको पकड छ । र उनीहरुलाई नेपालको नाफामुलक बजारले अहिले निकै आकर्षित गरेको छ । एनआरएन अभियान त उनीहरुको लागि लिस्नो मात्र हो । यो कुरा तितो लाग्ला कतिपय मित्रहरुलाई तर सत्य यही हो ।
यदि दोहोरो नागरिकता लिई छाड्ने हो भने अब तयार हुनुस् विश्वव्यापीरुपमा संघर्षको तयारी गर्न । यदि अहिलेको एनआरएनएले अब यथासिघ्र यसको लागि अभियान चलाउँदैन भने यसको सदस्य बन्नुको कुनै औचित्य रहने छैन । यसको लागि नयाँ संगठन आवश्यक पनि पर्न सक्छ र पर्छ भने निर्माण पनि गर्नु पर्छ । नेपालजस्तो मुलुकले दोहोरो नागरिकता नदिँदा गुमाउने कुरा अति धेरै छ तर दिँदा गुमाउने कुरा केही छैन भन्ने कुरा नेपाली जनतालाई बुझाउन पनि लाग्नु पर्छ । विश्वभर कहाँ कहाँ के छ भन्ने कुरा पनि नेपाली जनतामाझ पु-याउनु जरुरी छ । गोर्खा सैनिकहरु त नेपाल सरकारले विदेशी बनाएको हो । उनीहरुलाई विदेशी बनाउन लाज लाग्नु पर्ने हैन नेपाली नेताहरुलाई ?
तर मलाई थाहा छ, विरोधका लागि विरोध गर्नेहरुका लागि मेरो यो कुरा राम्रो मसला हुनेछ । तर सत्य यही हो नेपालका नेताहरुले सजिलै दोहोरो नागरिकता दिनेवाल छैनन् जसले गर्दा विदेशमा बस्नेले भन्दा नेपाल र नेपाली जनताले धेरै गुमाउने छन् । विदेशमा बस्नेहरुले उनीहरुको राष्ट्रपति बन्ने, प्रधानमन्त्री बन्ने चान्स गुमाई दिन्छन् कि भन्ने पिर छ नेताहरुलाई । देशको होइन । यही कुरा खुलेयामा नै भन्ने गरेका छन् । श्रीलंकामा दोहोरो नागरिकता भएको व्यक्ति मन्त्री भएका छन् तर पनि कोही नेता चिच्याएर हिँडेका छैनन् । संसार कहाँ पुगिसक्यो, कस्ता कस्ता विचारहरु स्थापित भईसके । तर नेपाली नेताहरु अझै राणाकालीन संकिर्ण सोचको वरिपरी नै घुमिरहेका छन् । यस्तो पाराले हुन्छ त देश स्विट्जरल्याण्ड !!






