बेल्जियन नागरिकले नेपाल घुम्दा चुनाव चिन्हले हैरानी
● सोमना थारु / बेल्जियम
एक महिना लामो नेपाल भ्रमण सकेपछि रोजर आफ्नो मुलुक फर्क्यो । ऊ नेपालबाट कहिले यता आऊला र उताको उसको अनुभव सुनाउला भनेर मपनि उसलाई पर्खेर बसीरहेको थिएंँ । नभन्दै आज त ऊ आइपुग्यो । टुप्लुक्कै । अफिसमा मलाई देख्ने वितिक्कै मुस्कुराउँदै ऊ तिर आयो । हात मिलाउँदै भन्यो -” हेर सोमना मेरो अनुअहरको कलर (रङ) त तिम्रो जस्तो भा छ नि ” । हुनपनि उसको अनुहार कालो कालो भा’को रहेछ । घामले डढेर । म जत्तिको कालो त के हुन्थ्यो । जे होस् अलि अलि कालो चाँही भएको रैछ । नेपालको घामले उल्लाई पोलेछ। गज्जब लाग्यो मलाई । मनमनले सोचें – घामले मात्र त पोलेन होला । त्यहाँको धुलो र धुवाँ पनि त तिम्रो पेटमा पसेको होलानी ।’
सामान्यत काम सुरु हुनु भन्दा अघि क्यान्टिनमा कफी पिउने बेला होस् वा लन्चको समयमा होस् । ऊ र म सधैं एकै टेबुलमा बस्छौं । मेरो अगाडिको कुर्सीमा बस्दै उसले नेपालमा भोगेका, देखेका र अनुभव गरेका कुराहरु सुनाउन थाल्यो । ‘हेर सोमना, ठाकुरद्वारा गाउँमा त एक्लै एक्लै घुमें नि ! त्यो गाउँको त म हरेक कुना काप्चा पुगें । मैले त्यहाँ थारुका घरहरु, केटाकेटीहरुका थुप्रै तस्विर खिचेको छु । तिमलाई म ति तस्विरहरु अवश्य देखाउने छु । हैन, ति मानिसहरु कति हँसिंला र मिलनसार हुन ! महिलाहरु भने अलि लज्जालु भएको पाएँ । अनि जता गयो उतै स्वागत र सत्कार गर्ने चलन । घरमा कुर्सी सोफा नभएपनि खटियामा लुगाले ढाकेर बस्न अनुरोध गर्ने । पानी पिउन सोध्ने । हाँसीखुसी सम्मान गर्ने । मौसम पनि कति घमाइलो र रमाइलो । आहा ! हैन सोमना, त्यस्तो रमाइलो समाज त्यागेर कसरी तपाईंहरु हाम्रो यो स्वार्थी र एकलकाँटे समाजमा बस्न रुचाउनु हुन्छ ?
“हैन रोजर गरीबी पनि त देख्यौ होला नी ? अनि हाम्रो मुलुक भर्खर सामन्तवादबाट छुट्कारा पाउन छटपटाइरहेको छ । तिम्रो यो मुलुक पूँजीवादको चरम उचाइमा पुगेको छ । हामी कहाँ प्रजातन्त्र अझै स्थापना भैसकेको छैन । अनि यो पूँजीवादी संसारमा भौतिक सुखसुविधा पनि एक महत्वपूर्ण अंग हुने रहेछ ।” एक छिन उसको र मेरो वार्तालाब यस्तै यस्तैमा उड्यो ।
रोजरको नेपाल भ्रमणको योजना र कार्यक्रम मोटामोटी हामी सँगै बसेर तय गरेका थियौं । ऊ नेपाल जाने बेलामा चुनावको मिती घोषणा भैसकेको थियो । उता वैध्य माओवादीले चुनाव बहिस्कार गर्ने र आम हडतालको घोषणा पनि गरीसकेको थियो । मैले उसलाई जानकारी गराएको थिएँ । त्यस बारेमापनि ।
“हेर रोजर, तिमी नेपाल हुने बेलामा त नेपालको एउटा राजनीतिक पार्टीले आम हडतालको घोषणा गरेको छ । तिमी कुनै एक ठाउँमा मात्र कुन्चित हुनुपर्ला जस्तो छ ।”
तर उसले जिद्दी नै गर्यो । केहि हुन्न भन्ने आशयमा । “हैन हैन सोमना, पर्यटकलाई यता उता हिँडडुल गर्न दिन्छन । यो कुरा मैले बुझेको छु” दाबी गर्यो बा । शायद कुनै एक जना कोही नेपाल पुगेको उसको चिनजानको मान्छेले आफ्नो अनुभव दिएको हुनसक्छ । मैले त्यहि सोचें ।
रोजरको नेपाल घुमफिरको कार्यक्रम हामीले तय गरियो । काठमान्डुबाट बर्दिया राष्ट्रिय निकुन्ज जाने । त्यहाँ तिन दिन बिताउने । त्यसपछी पाल्पामा दुई रात । अनि स्याङ्जा हुँदै पोखरा जाने । पोखराबाट उडेर जोमसोम जाने । खास गरी मुक्तिनाथ र मार्फा पुग्ने । माथिबाट फर्कने क्रममा गाडी र पैदल दुबै प्रयोग गर्ने भनेर तय भयो ।
दुई दिनको बर्दिया बसाइमा उसले आफ्नो जीवनमा कहिल्यै नदेखेका जिवजन्तु देखेको थियो । आफ्नो जीवनमा त्यहाँका थारुहरुको जीवनशैली देखेको थियो । जीवनमा पहिलो पटक थारुहरुको खानपिनमा सँग्लग्न भएको थियो । असाध्यै खुशी भएको थियो ऊ ।
तर एकाएक उसको योजनामा ठुलो धक्का लाग्यो । उसको योजना यसरी असफल हुनुमा कुनै दुर्घटना भएर पनि होइन । न त त्यहाँका थरुनी सित मायाप्रिती बसेरनै हो । उसको योजना र कार्यक्रम असफल भयो त उसको आफ्नै जिद्दीको कारणले । मैले उसलाई भनेकै थिएँ “रोजर एउटा राजनीतिक पार्टीले आम हडतालको घोषणा गरेको छ । यातायात चल्दैन ।” यातायात नचलेपछि योजनामा ब्रेकलाग्यो । तैपनि रोजर निरास भएन । मलाई उसको बानी थाहा छ । ऊ निरास सितिमिती हुँदैनपनि । बरु होटेलमा कति बस्ने ? ऊ वाक्क दिक्क भयो । त्यसपछि नयाँ अनुभव लिन होटेल छोडेर थारु होम स्टेमा बस्न गएछ । त्यहाँ त झन कति रमाइलो कति ! साँझ भयो गीत गाउन शुरुरु । न्रित्य जम्ने उस्तै गरि । थारूका बिबिध खाले न्रित्य । उत्तिखेरै हाँसोका फोहोरा छुट्ने । रोजर चकित भयो ।
थारु होम स्टेमा बस्दै गर्दा त्यहाँ वैध्य माओवादीका स्थानिय एक नेता सँग रोजरको भेट भएछ । ति नेताले अङ्रेजी त राम्रो नबोल्ने रहेछन् । तै पनि उसले बन्द गर्नुको कारण रोजरलाई व्याख्या गरेको रहेछ । ति नेताले नेपालमा आदिवासी जनजातीहरुको पहिचानको मुद्दा, दलितहरुले भोग्नु परिरहेको पिडा आदि समस्याको बारेमा व्याख्या गरेका रहेछन । साथसाथै अहिले हुन गैरहेको संबिधान सभाको चुनावले सम्स्याको समाधान गर्ने कुनै ग्यारेन्टी नभएकोले यसको औचित्य नभएको पनि बताएछन् ।
‘हैन रोजर, तिमीले नेपालको धेरै बखान गर्यौ । नेपाल सित तिम्रो मोहनी पो लाग्यो त । अनि तिमीले कुनै नराम्रो अनुभव गरेनौ त ?’ भनेर मैले जिज्ञासा राखें। उसले ‘अँ त्यस्तो अनुभव पनि छ’ भनेर सुनाउन थाल्यो । ‘म काठमान्डुबाट बर्दिया जाँदै थिएँ । मलाई नाम त ट्याक्कै थाह भएन त्यो ठाउँको । तर राजमार्गको कुनै एक भागमा सूर्यको ठूलो चिन्ह बनाएका रहेछन । अति सुन्दर थियो । पछि थाहा भो, त्यो चुनाव चिन्ह रहेछ कुनै पार्टीको । त्यो सूर्यको चिन्ह बिच बाटोमा थियो । तर गाडीहरु त्यो चिन्हमाथि गुड्न मनाही थियो । बाटो तर्केर हिँडदा गाडीनै पल्टेला जस्तो भयो । कसैले अटेर गरे त्यही नजिकै ढुङ्गाको थुप्रो तयार थियो । हैन यो कस्तो चुनावी प्रचारशैली ? अनि ति प्रहरी प्रशासन कता छ ? हो, नेपालमा निश्चित रुपमा प्रजातत्न्त्र छैन । न त मानवाधिकार नै । मलाई सबभन्दा मन नपर्ने त्यही राजमार्गमा चुनाव चिन्ह ।
अनि सबैभन्दा मन पर्ने ठाउँ ? मैले रोजरलाई प्रश्न तेसारें । उसले भन्यो ‘कागबेनी, सराङकोट र पाटन ।’ ओहोहो यि ठाउँ त । उसले सुन्दरतालाई आफ्नो कौतुहलतासित जोड्यो । भ्रमणसित तौलियो । नेपालमा ति ठाउँ घुम्दा रमाएका क्षणहरुलाई एक पटक फेरि आँखै अगाडि केन्द्रित गरेर हेरेझैं गर्यो । अनि ति क्षणहरुसित फेरि घुम्न लागे झैं गर्यो । हैरानी त खेप्यो । तर उसले नेपालको यात्रा साह्रै मज्जाले पुरा गरेको सुनायो । खुशिहरु ऊ घरि घरि छचल्काउँथ्यो । ‘तर मिलनसार र हँसालु थारु जाती नै ।’ उसले नेपालको यात्राका क्रममा सबैभन्दा मन परेको के हो भन्ने सुनायो । समय अभावको कारणले रोजर पाल्पा जान नपाएकोमा भने चुक चुक गरिरहेको छ ।






