नर्वेमा खोसिएका वालवालिका अनि नेपाली एकता…… ?
● टेक ब. गिरि / ट्रोम्सो, नर्वे
पितृ (कुल पुरुष) को सम्झनामा देवाली (कुल पूजा) मनाउने चलन नेपालमा अझै प्रचलित छ । देवाली बिभिन्न जातजातिको पहिलो जन्मदाता कुल पुरुषको सम्झनामा गरिएको मौसमी पर्व हो । आफ्ना खलक मिलेर पूजा गर्छन् । देवाली पूजामा दाजुभाइ गएन भने तिनीहरू बिटुलो भएको मानिन्छ । अरू बेला बाहिर भए पनि देवालीको बेलामा सँगै पूजा गर्यो भने छुट्टएिको मानिँदैन । खेतीपातीको फुर्सदको समय मिलाई कसै-कसैले मंसिर पूर्णिमामा मनाउने गर्दछन् । कसैले अष्टमी र पञ्चमीका दिनमा देवाली पर्व मनाउने चलन छ । हामी स-साना छँदा पहाडतिर हुने देवालीमा भाङ्ग्राको टोपीमा गुयेलाको फूल सिउरिएर आउने अशोभनीय देखिने मुखियाबाहरुको गाउँघरमा बर्षेभरि खुबै कुरा काटेको सुनिन्थ्यो । बुढापाका र जानेकाहरुले बिधि र मुन्धुम पुर्याई देवाली गर्छन । नयाँ र ठीटौलेहरुले पनि जेनतेन बिडो थामेका छन् । यसको एउटा मुख्य सकारात्मक पाटो भनेको बिभिन्न जातजातिको नितान्त जातीय संस्कृतिले सामाजिकीकरणमा योगदान पुर्याउनु हो । वर्षभरिमा आफ्ना खलकभित्रका परिवारभित्र बोलचाल नभएको भए देवालीको बेलामा बोलचाल गर्नुपर्ने बाध्यता हुन्छ । यसबाट आपसी एकता, सद्भाव, सहिष्णुता र मेलमिलापमा पनि सघाउ पुर्याउँछ । सन्दर्भ नर्वेमा नेपालीको नाममा खुलेका बैध, अबैध संगठन, गतिबिधि र एकताको हो ।
बिगत केहि बर्ष यता नर्वेमा बढ्दो नेपाली प्रवासीहरुको क्रम सँगै च्याउसरि नेपाली संघ, संगठन खोल्ने क्रम बढ्दो छ । नर्वेमा १०-२० जना एकै ठाउँमा भेट हुने अवसर जुर्यो कि नेपाली संगठनको न्वारनको साइत नै त्यहि जुराई हालिन्छ । एक-अर्काले एक अर्कालाई पदाधिकारी तोक्यो । बस् स्थापना भैहाल्यो बृहत लोककल्याणकारी नेपाली संगठन ।
आमजानकारी बिना गठन भएको संस्थाको बैधानिकता परैको कुरा । तिनैको निर्देशनात्मक आदेशमा बिभिन्न शुल्कको नाममा अरुलाई आर्थिक भार थोपरिन्छ । बिभिन्न उर्दी पनि जारि गरिन्छ । उनीहरुकै निगाह र शुभलाभमा अन्य पद र नियुक्तिको घोषणा गरिन्छ | नियुक्ति हुनेले न पत्तो पाउँछ । न माइन्युट, न त कुनै औपचारिकता वा नीति, नियमको हेक्का नै । यस्ता गतिबिधिका लागि दशैँ,तिहारको भेलालाइ उपयुक्त ‘मौसम’ मानिन्छ । पेशागत र प्राबिधिक प्रवासी नेपालीहरुलाइ यस्तो कुरामा त्यति बिघ्न चासो र फुर्सद नै हुँदैन । अर्काथरि, नेपालको सामाजिक र राष्ट्रिय जीवनमा प्रतिष्ठा कमाएर प्रबासमा आएकाहरु यस्ता लज्जास्पद गतिबिधिमा अनदेखा झैँ बन्छन । अर्का निम्छरो र नव-आगन्तुकहरु लुरु-लुरु निर्णय नमाने खैरात नै नरहने ठान्छन । नेपालको नेताहरुको स्वेच्छाचारी क्रियाकलाप र बेथितिलाई सतोसराप गरेर नथाक्नेहरु नै यो पराइ भूमिमा स्थापित प्रजातान्त्रिक संस्कार, मूल्य, मान्यता, उच्च प्रबिधि र नयाँ सिप सिक्नु भन्दा नेपालको गलत संस्कार भित्र्याउने होडबाजीमा छन् । लाग्छ, संगठन भनेको बेथिति र स्वेच्छाचरी शासन हो । नकि सेवा र सहभागिता ।
नर्वेमा बसोबास गर्ने मान्छे कुन हैसियतमा आएको छ ? भन्ने खोजीनीतिको क्रममा नेपाली एकताको विभिन्न कोण फेला पर्छ । पेशागत बिकासका लागि र बैवाहिक सम्बन्धबाट फाटफुट नर्वे भित्रिने क्रम शुरु भएको झन्डै चार दशक भएको छ । त्यसपछि सन् ९० को दशकपछि बिभिन्न बहानामा युरोप भित्रिएर नर्वेमा शरणार्थी स्टाटस खोज्ने नेपालीहरुको संख्या ह्वात्तै बढेको पाइन्छ । यसरि आवेदन दिने मध्ये नगन्य नेपालीले त्यो हैसियत पाए । त्यसबाहेक पोर्तुगल, स्पेन र डेनमार्कलगायतको मुलुकमा केहि सहज आप्रवासी नीतिका कारण लामो समय बिताई युरोपेली नागरिकको हैसियतमा खासगरी राजधानी ओस्लो ओइरिनेहरुको संख्या दिनानुदिन बढ्दो छ ।
गत केहिबर्ष यता नर्वेका बिभिन्न विश्वविध्यालय र कलेजहरु नेपाली बिध्यार्थीहरुको आकर्षक गन्तब्य बन्दै गएको छ । हाल ७ सय भन्दा बढी नेपाली बिद्यार्थी नर्वेमा रहेको तथ्याङ्क छ । त्यस बाहेक नर्वेली भाषा पढ्न र दक्ष जनशक्ति (जव सीकर) भिसामा दुई बर्ष अघि भित्रिएका र केहि गैरकानुनी रुपमा बसोबास गरिरहेका नेपाली समेत झन्डै एक हजार दुई सय नेपाली नर्वेमा रहेको अनुमान छ । जे गरेर पनि, जतिसक्दो बसाइ लम्ब्याउने दाउमा रहेकाहरुलाई भने हालै सत्तासिन भएको आप्रवासी अनुदार सरकारको कडा नीति तगारो भएको छ । बैवाहिक सम्बन्ध र नेपालको तात्कालिन राजनैतिक, सामाजिक अवस्थालाई निहुँ बनाएर नर्वेमा बैधानिकता पाएकाहरु भने कोहि सुध्रेका र कोहि उध्रेका छन् ।
नेपाली रहेका ओस्लो, बर्गेन, त्रोन्हाइम, स्ताभान्गर, ट्रोम्सो र आल्टा शहरहरुमा गरि नेपालीहरु दर्जनौ बैध, अबैध संगठन खोलेर क्रियाशील छन् । आफ्नो सोझो पौरख गरेर खाने जमातलाई चाहिँ न नेपालमा फुर्सद थियो, न यहाँ नै । ओस्लोमा पाकिस्तानी र श्रीलंकाली साहुकोमा न्यून ज्यालामा बाध्यताबश रातोदिन काम गरेर लखतरान् भै २-४ घण्टा सुत्न भिडमभाड कोठामा आउनेहरुलाई न त नेपाली एकताले नै छुन्छ, न त संगठनको बाह्र हातको टाङ्गोले नै ।
विदेशी समाजमा जति घुलमिल हुन सक्यो विदेशमा उति नै संभावनाका ढोका खुल्दै जान्छ । त्यतिनै तिनको समृद्धि र फलिफाप हुन्छ । तर ती सबै सम्भावना र आकर्षणका वावजुदपनि नेपाली प्रवासी समुदायले ‘मेल्टिङ पट’ मा पग्लिएर पराई जीवनलाई पूर्णरुपले आत्मसात गर्न भने मुश्किल नै छ ।
भूमण्डलिकरणले राष्ट्रका राजनीतिक सीमाहरु कमजोर भएपनि नेपाली हुनुको आफ्नो छुट्टै परिचयलाई जीवन्त राख्ने मान्छेको अन्तर्निहित चाहानालाई भने अझ बिस्फोट गरिदिएको छ । त्यसैले पराइ देशमा यस्ता संगठन, आआफ्नो क्षेत्र र समाजको बिकास र बिस्तारमा आवश्यक नै हुन्छ । अन्य देशमा यस्ता केहि संगठनले नेपालको कला, संस्कृति तथा रितिरिवाजलाइ चिनाउन अग्रणी भूमिका खेलिरहेका छन् । भिसा लगायत बिभिन्न प्रसाशनिक झमेला आइपरे पाकिस्तानी अगुवा नेताहरु फोन गरेर, चिट्ठी लेखेर वा आफै साथ गएर अर्को प्रबासी पाकिस्तानीलाई सहयोग गर्छन । तर केहि महिला सहित तिन दर्जन भन्दा बढी शिक्षित नेपाली जव-सिकर भिसामा ठगिएर नर्वेमा बिचल्ली हुँदा एनआरएनका तात्कालिन नेतृत्वले देखाएको उदासिनता, असम्बेदनशिलता र रुखो ब्यबहार अझैपनि पराइ मुलुकमा दुख पाएका ती नेपालीले बिर्सिएका छैनन् ।
नेपाली संस्कार र परम्पराजन्य ससाना कुराहरुमा स्थानीय प्रहरी, प्रसाशनले बढी नै शंका र अतिरन्जना गरेपछि भाषिक ज्ञान समेत नभएका निमुखा, निम्छरा र सोझासाझा दर्जनौ नेपालीभाषीहरु ‘अपराधी‘ कहलिएका छन् । यति सम्मकी ‘बालबालिकाले कहिल्यै झुटो बोल्दैनन‘ भन्ने नर्वेली स्थापित मान्यताको आधारमा आमाको काखे नानीहरु खोसिएका छन् । कोहि जेलको चिसो छिड़ीसम्म पुगेका छन् । बहु-भाषिक र बहु-सांस्कृतिक नर्वेको न्याय प्रणालीमा संस्कारगत समाबेशिताको कुरा कसले उठाउने ? कम्युनहरुमा रहेको द्वन्द् परामर्श केन्द्र (कन्फ्लिक्ट रोद) हरुमा अन्य बिदेशी सरह नेपालीको प्रतिनिधित्व र पहुँच कहिले हुने ? उत्तरी नर्वेको बिशाल भू-भाग रहेको टापुहरूमा छरिएर एक्ला-एक्लै रहेका सैयौं नेपालीको खोजीनिती कसले गर्ने ?
त्यसैले सामाजिक,आर्थिक र बौद्धिक रुपमा सक्षम एवं समय र विचार दिन सक्ने अनि प्रबासी समुदायको बिश्वास जित्न सक्ने व्यक्तित्वले संगठनको अगुवाई गर्नुपर्छ । बहुसंस्कृति मैत्री नर्वेली सरकारका सांस्कृतिक र भाषिक संरक्षण र उत्थानको क्षेत्रमा कार्यरत निकाय र परियोजनाहरुको जानकारी र पहुँच भएका, समन्वय र सह्कार्य गर्न सक्नेले नेतृत्व लिनुपर्छ । सुझबुझ भएका सक्षमहरु आआफ्नै पेशा, ब्यवशाय र पारिवारिक घेराबाट बाहिर ननिस्किँदा उठबस र ‘इन्ट्रेस्ट’ मिल्ने खलकहरु मौसम अनुकुल स्वत : हाबी हुने भइहाले । जान्ने, सुन्नेहरुले कुराले जति सुकै पखाले पनि त्यसको कुनै तुक छैन ।
भाङ्ग्राको टोपीमा गुयेलाको फूल सिउरिएर आफ्नो पहिचान बनाउन, चर्चामा आउन नाम र कामको लागि संगठन खोल्नेहरुको चलखेल बढ्ने भईहाल्यो । यस्ता संगठनहरुको ध्येय जतिसुकै राम्रो भएपनि सुझबुझ भएको नेतृत्व र संगठनमा नीति, प्रक्रिया र पारदर्शिता भएन भने यो निर्बिबाद र दिगो रहन सक्दैन । नर्वेमा पुनर्बास गराइएका जात, भेषभुषा र संस्कार मिल्ने झन्डै सात सय नेपाली भाषी भुटानीहरुलाई पनि अटाउन सक्ने र सम्पूर्ण प्रवासी नेपालीलार्इ एकताबद्ध र सम्वृद्ध बनाउने संगठनको आवश्यकता छ । यसले मूल जाति नेपालीलाइ भने प्रभाव पार्नु हुन्न भन्ने आशय हो । प्रवासमा नेपालको जुनसुकै संस्कार र भेगबाट आएको भएपनि हाम्रो पहिचान नेपाली हो । पराइ मुलुकमा मर्दा, पर्दा र साह्रो गाह्रो पर्दा सफा हृदयले भरथेग गर्नेको त लाख ।
विख्यात लेखक तथा नोवेल पुरस्कार विजेता अरहान पामुकले आफ्नो प्रसिद्ध उपन्यास ‘हिउँ’ मा एउटा कुर्दिस्तानी पात्रले युरोपमा प्रवासी जीवन बिताइरहेका आफन्तको अवस्थालाई यसरि मार्मिक चित्रण गर्दै भन्छ “जब सिङ्गो मुलुक नै गरिब र कमजोर हुन्छ, सम्पूर्ण विश्वले के सोच्छ भने त्यस देशमा बस्ने सवै मान्छे बुद्धु, पटमुर्ख, अल्छी, फोहोरी र ढङ्ग नभएका छन् । सहानुभूति दर्शाउनु सट्टा संसार तिनीहरु माथि हाँस्छ । तिनीहरुका संस्कृति, परम्परा र रीतिरिवाजहरु सवै हाँसउठ्दा र बेतुकका, जंगली लाग्छन् ●●●●●● जब त्यो देशका प्रवासी जनताहरु उनीहरुको घरआँगन बढार्छन वा सबैभन्दा तल्लो स्तरको काम गर्छन्, त्यतिखेर ती प्रवासीहरुले असन्तोष व्यक्त नगरुन् भनेर तिनीहरुको परिवार र संस्कृतिको बारेमा चासो लिई टोपल्छन । सुनेको झैं अभिनय गर्छन् ●●●● गरिव देशको कुनै मान्छेलाई देख्दा युरोपियनको अन्तरमनमा सवैभन्दा पहिले हाम्रो राष्ट्रियतासँग गाँसिएको शंकाको भाव पैदा हुन्छ ।” प्रबासी नेपाली जसले बर्षमा १९ सय घण्टा भन्दा बढी अन्य युरोपेली सहकर्मीसँग बिताउँछौं । कुनै न कुनै समय यो अप्रिय नियतिबाट गुज्रिन्छौं नै । यस्तै अवस्था भोगेको हुँदा हामीले सक्षम र आदर्श नेतृत्व अनि भाति र ढंग पुग्ने गतिविधिको आडमा डायास्पोराको इज्जत, सम्मान र सुरक्षा आधारित हुन्छ भन्ने राम्ररी बुझेका छौं ।
(लेखक विदेश बिभाग अन्तर्गत, अन्तराष्ट्रिय प्रेस सेन्टर, नर्वेमा सम्बद्ध नेपाली पत्रकार हुन्)





