जागिरको विकल्प जाँगर
– मीना शर्मा
जाँगर हुने हो भने जागिर खोज्न कतै चाहार्नु नपर्ने उदाहरण गाउँबाट राजधानी आएका धेरैले देखाएका छन् । काठमाडौं नजिकका गाउँ–बस्तीमा कृषिजन्य व्यवसायबाट केही मानिसले गरेको आर्थिक प्रगतिले गर्दा हुने रहेछ भन्ने उदाहरण प्रस्तुत गरेको छ।तिनैमध्येकी एक हुन्, बालाजु धर्मस्थलीमा बंगुर, माछा र हाँस पालन गरिरहेकी रसुवाकी कमला लामा (३२)। झिसमिसे बिहानै बंगुर, माछा र हाँसलाई दाना खुवाउनु, दिनभरि उनीहरूको रेखदेख गर्नु तथा त्यहाँ मासु र माछा किन्न आउने ग्राहकलाई बेच्नु उनको दैनिकी हो। यो व्यवसायबाट चार जनाको परिवार पालेर उनले वार्षिक रु.३ लाख बचत गर्दै आएकी छिन्। वर्षको रु.६० हजार तिर्ने गरी भाडामा लिएको सात रोपनी जमीनमा चलेको यो व्यवसायबाट उनी सन्तुष्ट पनि देखिन्छिन्।
आठ वर्षदेखि यो व्यवसाय गरेकी उनले हरेक वर्ष १७ हजार माछा बेच्छिन्। उनले पालेको मुंग्री जातको माछा असोजदेखि चैतसम्म बेच्ने गरी उत्पादन हुन्छ। हाँस र बंगुर बाह्रैमास बेच्न लायक हुन्छ। उनले पालेका २०० वटा हाँसले एक हप्तामै रु.२० हजारको अण्डा दिन्छ भने भाले हाँसको मासु बिक्री हुन्छ।
उत्साहजनक व्यापार
बंगुरका ७५ वटा बच्चा मर्दा दुई वर्षअघि रु.२ लाख घाटा व्यहोरेकी कमलाले त्यसपछि ठूलो घाटा बेहोर्नुपरेको छैन। यो वर्ष कुखुरामा बर्डफ्लू लागेपछि माछा प्रति केजीको रु.१२० बाट रु.१८० पुगेकोमा सन्तुष्ट देखिएकी उनी भन्छिन्, “दुई सन्तानलाई काठमाडौंको निजी विद्यालयमा पढाएकी छु, फाइदा घाटा जे भए पनि अरूको नियन्त्रण सहनु परेको छैन, परिवारसँग बस्न पाउँदा खुशी छु।”
आठ वर्षदेखि धर्मस्थलीमै हाँस र बंगुर पालन गर्दै आएका सानु मगर (२४) का १५० वटा हाँस र ५० वटा बंगुर पुगेका छन्। हाँस र बंगुरको व्यापार सदाबहार हुने र हाँस, अण्डा र बंगुर खोज्दै व्यापारी त्यहीं पुग्ने भएकाले बजार खोज्ने झ्न्झ्ट नभएको उनको अनुभव छ। रसुवा घर भएका उनी जागिर खोज्नु भन्दा जाँगर चलाउँदा आफ्नो जस्तै व्यवसाय गर्न सकिने बताउँदै भन्छन्, “व्यवसायभन्दा जागिरलाई ठूलो ठान्ने हाम्रो सोचाइले बेरोजगारी बढेको हो।”
सात महीनाअघि रोजगार खोज्दै पोखराबाट काठमाडौं आएकी कल्पना लामा (३५) ले जागिर खाने सोचाइ त्याग्दै हाँस पाल्न थालिन्। अहिले उनले ३०० वटा हाँस पालेकी छिन्। दशैंमा हाँसको मासु र अण्डाको माग बढेकाले अरू हाँस पाल्ने जाँगर बढाएको बताउँदै लामा भन्छिन्, “तिहारमा पनि व्यापार बढ्ने विश्वासमा उत्साहित छु।”
कीर्तिपुरको भत्केपाटीमा आठ रोपनी जमीन भाडामा लिएर दुई वर्षदेखि व्यावसायिक खेती गरेका दाङका कृष्णराज सर्वहारी (४३) र भोजपुरका भक्त राई (३८) ले रु.५ लाख आम्दानी गरे। राईहरूको लोकगीतमा विद्यावारिधि गरिरहेका राई र थारू समुदायमा कृष्ण चरित्रको परम्परामा विद्यावारिधि गरिरहेका पत्रकार समेत रहेका सर्वहारी अरू आम्दानी नभएकाले यो व्यवसायमा लागेको बताउँछन्!
विद्यावारिधि गर्दा अरू ठाउँमा नियमित काम गर्न नमिल्ने भएकाले आफ्नै व्यवसाय शुरू गरेको सर्वहारीले बताए। दुई वर्षदेखि टमाटर, काउली खेती गर्दै आएका सर्वहारी भन्छन्, “विद्यावारिधि गरिरहेको वेला प्राविधिक काम गर्न समस्या परे पनि आम्दानी हुने देखेर यो काम गरेका हौं।” रु.१० लाख लगानी गरेर उनीहरूले दुई पोखरीमा ६ हजार माछा र एउटा गाई पालेका थिए। गाईको स्याहार गर्ने कामदार नपाएपछि त्यो गाई बेचिदिएका उनी भन्छन्, “परम्परागत खेतीभन्दा व्यावसायिक खेतीबाट धेरै उब्जनी र राम्रो आम्दानी हुने भएकाले यो क्षेत्रमा लाग्नु राम्रो हो।”
(राजेन्द्र देवकोटाको फेसबूकबाट)





