लाखौंलाई रुवाउँदै गए जगदिश दाई
एक दिन जगदिश दाई आफैंले छोटो म्यासेज गर्नु भो, फेसबुकमा । सोध्नु भो, भाई कहाँ के गर्नुहुन्छ ? लेखनले मात्रै त बिदेशी भूमीमा गुजारा टरेको छैन होला । तपाईले सामाजिक विषयमा कलम चलाउनुहुन्छ जुन मेरो फेसबूकमा भएका धेरै मित्रमा थोरै मध्ये पर्नुहुन्छ । बिदेशमा बसेर ठूला संस्थामा काम गरेका । अनि रामछापको मन्थलीमा थुप्रै सामाजिक काम गरेका । लेखन र साहित्यलाई उँचो पारेका । रोगले गाँजेका दाईसित त्यसरी समय होला चिन्दै नचिनेका हामी पछिल्लो पिढीका मानिससित गफ्फिन भन्ने लागेकै थिएन । अचम्म लाग्यो ।
त्यो स्तरका स्रस्टा, साहित्यकारहरुले युवा पुस्ताका, सिक्दै गरेका लेखकहरुलाई खासै वास्ता गर्दैनन् । तर उनी फरक रहेछन् । सबैसित भेटघाट गर्न आफ्नै रोगले नसक्ने भएपनि सकभर समान ब्यवहार गर्न खोज्दा रहेछन् । माईलोमा भन्ने निदाननै नभएको रोगले दाईलाई केहि वर्षदेखि गाँजेको थियो । मैले कुराकानीकै क्रममा भनें ‘दाई तपाईको पुस्तक अन्तर्मनको यात्राले साह्रै रुवायो । रोइ रोइ पढेको हो, कति मन छुने पुस्तक लेख्नु भएछ ।’ उहाँले भन्नु भो ‘भाई मेरो अन्तर्मनको यात्रामा मेरो मन बोल्छ, मन रुन्छ भने सकस भन्ने उपन्यासमा देश रुन्छ र देशनै बोल्छ ।’
पछि सकसपनि पढें । हो रहेछ । उनले सकसमा देशका अनेक पाटा, राजनिति, धर्म, जनजातिका समस्या सबै खोतलेका रहेछन् । उनको र मेरो छोटा छोटा म्यासेज लेख्ने क्रम पनि चलिराख्यो । एक दिन सानो म्यासेज लेखेर भनें ‘दाई सकस मन त पर्यो तर अन्तर्मनको यात्राले झैं मन, मस्तिस्क, आँखा सबै तान्ने होइन रहेछ ।’ दाईले सहज तरिकाले भन्नु भो ‘भाई लेखकका सबै लेख, रचना, किताबले सबैलाई समान किसिमले तान्छ, तान्नुपर्छ भन्ने छैन । कोहि कसैलाई मन नै नपर्नपनि सक्छ ।’ असहमत हुने ठाउँनै थिएन ।
उनी एक लेखक, साहित्यकार मात्रै थिएनन् । समाजसेवी र समाज विश्लेषक पनि थिए । उनले आफ्नो क्रिति ‘सकस’ मा गरेको नेपाली समाजको चित्रणले त्यहि सिद्द गर्छ ।
कति मानिस बिदेश हिँडेपछि उतै भासिन्छन् । सम्झना र स्मरणमा नेपाल रहेपनि देशकालागि केहि गर्न सक्दैनन् । गर्दैनन् । उनले बेलायतमा ठूलो गैह्र सरकारी संस्थामा सम्मानित जागिर पाए । तर देश संझेर उनी फर्किए । बिदेशको आधुनिक सुबिधा र मोटो रकम सबै चटक्कै त्यागेर आफ्नै देश फर्किए, बेलैमा । आफू जन्मिएको जिल्ला रामछापको मन्थलीमा थुरै सामाजिक काम गरे । आफ्नो जिल्लालाई सहयोग दिए । उनले आफ्नो ग्रिह जिल्ला रामेछापमा गरेको सामाजिक कामले उनलाई समाजसेवीका रुपमापनि उभ्याउँछ । रोगसित लडिरहेका बेलापनि ‘अब म मर्छु’ भन्ने त्रासले हात खुम्च्याएर बसेनन् । स्रिजनात्मक काममा लागिरहे । पछिल्ला दुई महत्वपूर्ण पुस्तक ‘अन्तर्मनको यात्रा र सकस दिएरै गए । अन्तिम अवस्था पुग्दापनि उनी स्रिजनामै तल्लिन थिए । ‘मलाई म्रित्युसित डर लाग्दैन’ भनेर म्रित्युलाई चुनौति दिँदै थिए ।
सायद दशैं आउनु केहि साता अगाडि होला । मेरो फेरि छोटो कुराकानी भयो । मैले भनें ‘दाई अन्तर्मनको यात्रा, सकस जस्ता पुस्तक फेरि लेख्नु पर्छ तपाईले ।’ उनले भने ‘भाई आजकाल म धेरै बेर बसेर लेखिरहन सक्दिन ।’ तैपनि उनी अर्को पुस्तक लेखनकै क्रममा रहेको बुझिएको हो । स्रस्टाहरुलाई असाध्यै माया गर्ने, ख्याल गर्ने र अझ जगदिश दाजुसित त झन निकट रहेका प्रकाश सायमी दाईका फेसबुक स्टाटसहरु पछ्याईरहेको थिएँ मैले । जगदिश दाजुका बारेमा प्रकाश दैऐ लेखिरहन्थे । पछिल्लो समयमापनि जगदिश दाजु अस्पत्ताल भर्ना भएको उहाँकै जानकारीले थाह भो । साह्रै दुख लागेको थियो । तर फेरि फर्किएलान् भन्ने लागेको थियो ।
ब्यवहारमा असाध्यै सरल, आफ्नो बिचार र चिन्तनमा अडिग । लेखनमा असाध्यै मिठास । जिउने त्यहि सरलपन लेखनमापनि झल्किने । नेपाली साहित्यिक धरोहरका रुपमा चिनिए जगदिश दाई । आदरणीय जगदिश घिमिरे दाईले देशकै सबैभन्दा सम्मानित मानिने मदन पुरस्कारपनि जिते । उत्तम शान्ति पुरस्कारपनि पाए । उनको निधनले म जस्ता धेरै नेपालीलाई मर्माहत पारेको छ । स्तब्ध बनाएको छ । धेरैलाई रुवाएको छ । तर उनी भौतिकरुपमामात्रै नरहने हुन् । लाखौं नेपालीका मन र मस्तिष्कमा उनी अनन्तकालसम्म जिवित र सक्रिय रहने छन् । यो दु:खको क्षणमा जगदिश दाईको आत्माले शान्ति पाओस । उनको योगदानले अझ धेरैलाई बाटो देखाओस् । शोकाकुल परिवार र उनका लाखैं भुभेच्क्षुक, समर्थक र मित्रहरुमा हार्दिक समवेदना ।
(यो फोटो मित्र पुष्प बरुवालको फेसबुकबाट लिएको हुँ)





