अनुभव : कमैया

बडका थारु / कावासोती, नवलपरासी

som-narayan-thanet-somana-tharu-1212कुखुरा वास्ने बितिकै रामप्रसाद घरबाट निस्क्यो । उसको साथमा उसकी पत्नी र छोरो पनि निस्के । राम प्रसाद आफुले डोको बोक्यो । श्रीमतीलाई पनि केही बोक्न लगायो । छोरोले पनि अलि अलि बोक्न सघायो बाबाआमालाई । ऊ एकाबिहानै घरबाट निस्केको हुनाले गाउँका कसैले देखेनन । गाउँका कुकुरहरुले मात्र थाहा पाए । गाउँलेहरुले कुकुर भुकेको थाहा पाए । तर राम प्रसादले घर छाडेको थाहा पाएनन । भोली पल्ट छरछिमेकले राम प्रसादका परिवार देखेनन । उसको घरमा पनि बडेमानको भोटेताल्चो झुन्डिएको देखे । अनि गाउँ भरी कानेखुसी चल्न थाल्यो । पानी पंधेरो ,पानी घट्टमा, घाँस दाउरा गर्दा महिलाहरुको मुख्य विषय बन्यो, राम प्रसादको घर र परिवार । चिया पसल, तासको खालमा चर्चाको बिषय राम प्रसाद कता गयो ? किन गयो ? किन हरायो ? कोहि ओल्लो गाउँ खोज्न निस्के ।कोहि पल्लो गाउँ । कही कतै पत्तो चलेन । 

राम प्रसादले घर छाडनुपर्ने कारणको बिषयमा अनेक चर्चा परिचर्चा चल्न थाल्यो गाउँमा । कसैले ऋण तिर्न नसकेर भागेको आरोप लगाए । कसै कसैले फलानो विधुयीलाई विगारेको भनेर आरोप लगाए । कारण जेसुकै भएपनि राम प्रसादले आफ्नो घर गाउँ छोड्यो । इस्टमित्र छाड्यो । आफ्नो जन्मथलो छाड्यो राम्रो जीवनको खोजिमा ।

ऊ आफ्नो परिवार लिएर मुग्लानको गन्तव्यमा हिँड्यो । वन जङल, खोलानाला , दहाड, पहाड पारगर्दै थकित शरीर लिएर राम प्रसादको परिवार तराइको समथर भुभागमा पाइला टेक्यो । यहाँसम्म आइपुग्दा साथमा भएको भुटेको मकै पनि सिताराम भयो । अलि कति सातु भने राम प्रसादकी बुढीले जोगाएर राखेकी थिइ । तराइमा पाइला टेके पछि एउटा आँपको बुटा मुन्तिर भारी विसाए उनिहरु । भोक प्यास त सबैलाई लागेकै थियो । तर छोरोलाई अलि ज्यास्तै नै । भारी विसाउने वितिक्कै राम प्रसादको छोरोले भन्यो – “बाबा भोक लाग्यो । आमा भोक लाग्यो ।” छोराको स्वर सुनेर बुढाबुढीले एक अर्कालाई हेराहेर गरे । उनिहरुको अनुहारले संकेत गरीरहेको थियो । खानेकुरा केही छैन । के गर्ने ? कहाँबाट ल्याउने ?

राम प्रसादकी पत्नीले एकाएक आफ्नो पटुकाको सातु सम्झिन । झल्यास हुँदै उनले भनिन –  “बुढा ए बुढा अलि कति सातु छ । छोरोलाई दिउँ ?”

दे न दे । यस्तो भोकाएको छोरालाई खान दिनपनि मेरो अनुमति माग्ने हो त ?” राम प्रसादले भन्यो ।

केटोलाई साँच्चै नै वेस्सरी भोक लागेको थियो । भोकाएको सुरमा उसले मुखमा सके जति कोच्यो र छिटो छिटो खान थाल्यो । केटोलाई सर्क्यो । केटो ख्वा ख्वा र फ्वा फ्वा गर्न थाल्यो ।

‘लौन हजुर पानी ! पानी !!’ भनेर बुढीले राम प्रसादलाई गुहारिन ।

राम प्रसादले यताउता हेर्यो । उसको नजर अलि परसम्म पुग्यो । उसले सेतो लुगा लगाएका तीन चार जना महिलाहरु देख्यो । ति महिलाहरु भए तिर राम प्रसाद दौड्यो । ति महिलाहरु इनारबाट पानी झिक्दै थिए । उनीहरु त्यहाँका आदिवासी थारु युवतीहरु थिए । ति महिलाहरुको अघिल्तिर पुगेर राम प्रसादले आफ्नो दुई हात जोडेर ‘ए हजुर पानी खान पाईन्छ होला ?’ भनेर पानी माग्यो ।

राम प्रसादको कुरो सुनेर एउटी युवतीले आफ्नी गोइ (साथी) सँग सोधी “का कहता हँ यी ? ” अर्थात एल्ले के भनेछ ? अर्की एक जनाले पर्वतीया भाषा अलि अलि बुझ्थी । उसले भनी ‘एल्ले पानी मागेको छ ।’

राम प्रसादले आफ्नो दुई हात जोड्यो । एउटी युवती (बठिन्या ) ले राम प्रसादको हातमा बाल्टीबाट पानी खन्याइ दिइ । राम प्रसादले पानी पियो । त्यसपछि राम प्रसादले फेरी केही अनुरोध गर्यो । “मेरा श्रीमती र छोरा पनि सार्है  तिर्खाएका छन हजुर ! अलि कति पानी लिएर जान पाए हुन्थ्यो हजुर ।’

ए गोइ तुमा मे एकर के पानी देदा दो । अर्थात लौका खोलेर बनाएको तुम्लेटमा यसलाई पानी देउ साथी । एउटी बठिन्याले राम प्रसादलाई पानी भरिएको तुमा थमाउदै भनिन – “ले पानी लो ।” पानी लिँदै राम प्रसादले फेरी केही अनुरोध गर्यो -“सार्है भोक लाको छ हजुर । केही खानेकुरा पाईन्छ कि हजुर ?”

का कहो ता ह यी ? एउटी बठिन्याले अर्कीलाई सोधी ।

भोक लागेछ भनेछ (साथी ) गोइ । भात मागेछ साथी  ।

राम प्रसाद र बठिन्याहरुको विचमा कुराकानी र पानी लेनदेन भएको कुरा एउटा थारु ठिटो (ढोटहनिया) ले देख्यो । अन्जान मानिसले आफ्नो गाउँकी बठिन्याहरुसित वात मारेको देखेर त्यो ढोटहनिया उनीहरु तिर गयो । उनीहरुको नजिक पुगेर उसले सोध्यो “के भयो बहिनीहरु ? यो मान्छेले के भनेको छ बैनी ? ”

पानी पिए आइल रहे डाडु । अर्थात पानी पिउन आएको रहेछ दाई ।

” ए कहासे एैलो ?” थारु ढोटहनियाले सोध्यो राम प्रसादलाई ।

पहाडबाट हजुर ।

अनि कहाँ जान लाएको ?

मुग्लान काम खोज्न हजुर ।

यो वार्तालाब सुनेर एउटी बठिन्याले भनिन “ए दाई यसलाई भोक पनि लाएको छ । विचरा गरीब रहेछ । त्यो महतवान (महतोको )घर लिएर जाउ । आज माघीको दिन पनि त हो नि । त्यहाँ यसले रोटी (ढिक्री) सोटी पनि खान पाउँछ । आज त नाचगान पनि हुन्छ ।”

“ल महतोको घर हिँड । त्यहाँ आज मिठो मिठो खान पनि पाउँछ र रमाइलो पनि हुन्छ” भन्दै ढोटहनियाले राम प्रसादलाई महतो (जमिन्दार )को घर लिएर गयो ।

“अजि गोइ ! मान्छेको जुनी पनि अचम्मैको छ । त्यो मान्छे कहाँबाट आएको होला ? अनि कहाँ जाने होला ? उनीहरु सँग एउटा सानो केटो पनि छ । यस्तै त हो । बटुवाको कुरा गरेर के साध्य । बरु आज महतौवांको घरमा नाच्नु छ । छिटो जाम “बठिन्याहरुले आपसमा गफगाफ गरे ।

उता माघी पर्व भएको हुँदा महतौवांको (बडघर )घरमा गाउँ भरिका मानिस जम्मा भएका थिए । उनिहरुले वर्ष भरिको कामको लेखाजोखा गरीरहेका थिए । एक किसिमले साधारण सभा भैरहेको थियो । सबैले आआफ्नो मनमा लाएका कुरा ढुक्क साथ भनिरहेका थिए । महतौवांले भेलामा जम्मा भएकालाई बेला बेला भनीरहेका थिए ‘आज तपाईं हाम्रो महत्वपूर्ण दिन हो । अघि पछि आफ्नो मनका कुरा भन्नु र आज भन्नुमा ठुलो अन्तर छ ।’

भेला भएका गाउँलेहरुले महतो (बडघर) छाने । त्यस पश्चात ठिटाठिटीहरु (ढोटहनिया बाठिन) नाच्न रमाउन थाले । माघक पिली गुरी गुरी जांर सखिया हो । सखिय हो लालिरे भाटु नथिय बजार । मानर र झ्याली बजाउदै युवायुवतिहरु नाच्न झुम्न थाले । जाँड रक्सी खान थाले । गाउँ बाजागाजा र संगितले गुन्जाएमान भयो । “ए भाउजु ढिक्री दिनुस् न । आँगनमा एउटा नौलो मान्छे आएको छ ।”

ल तिमी जाउ म ल्याइदिन्छु । देवर भाउजुको वार्तालाव भयो । भाउजुले ढिक्री लिएर आइन । बाहिर बसेका नौला तीन जना मानिसलाई ढिक्री दिइन । उनीहरु खुशी मानेर ढिक्री खाए । उनीहरु ढिक्री खाँदै गर्दा महतौवां पनि आयो ।

“ए भाई तिम्रो नाम के हो ?

राम प्रसाद हजुर !

” तिमी मुग्लान हिंडेको अरे । रात पनि पर्नै लाग्यो । अनि आज कता बास बस्ने त ? ”

हजुर हाम्रो बास बस्ने ठाउँनै कहाँ छ र । जहाँ रात पर्छ त्यही सुत्ने हो ।

” ए चौकिदार ! यिनिहरुलाई आज बास बस्ने व्यवस्था गरी दिनु पर्यो । ”

हैन ठिकै छ नि त । आज यिनिहरु मेरो घरमा वास बस्छन । मेरो गोठ पनि खाली छ ।  त्यही पराल विछ्याइ दिन्छु ।

“ल ठिकै छ त्यसो भए । आज तिमी यिनिहरुलाई वास देउ । भोली यिनिहरु आफ्नो बाटो लाग्छन ।”

त्यस पछि के भयो ? अर्को अंकमा आउने छ ।

 

तपाइँको प्रतिक्रिया