बेल्जियमका नेपालीकालागि अलग्गै अदालत छ कि क्याहो ?

Justiceअचम्म अचम्म सुन्न पाइन्छ बेल्जियमबाट सार्वजनिक बक्तब्य र कार्यक्रममा । बेल्जियममा फेरि अर्को संस्था देखा परेछ प्रबासी नेपाली मन्च, बेल्जियम भन्ने । अध्यक्ष रहेछन् अर्जुन कुमार गुरुङ   । महासचिव रहेछन् ईन्द्रलाल चापागाइ । सन्तोस न्यौपानेमाथि आक्रमण भएपछि हमलाकारी जिवन न्यौपानेमाथि कारवाही नगरे एभरेस्ट नेपाली समाज र प्रवासी नेपाली मञ्चका समाचार एक वर्ष बहिस्कार गर्ने निर्णय गरे । बेल्जियममा बसेको पत्रकारहरुको बैठकले । त्यसमा चित्त नबुझ्नु स्वभाबिकै हो, हमलाकारिलाई संरक्षण दिनेलाई । अनि प्रबासी नेपाली मञ्चले बिज्ञप्ती निकालेछ । उसले आफूलाई बेल्जियमको राजा र संसद, प्रधानमन्त्री र आदालत भन्दापनि माथि ठान्दो रहेछ सायद । पत्रकार सन्तोस न्यौपानेसितै त्यो हमलाकरिलाईपनि संगै राखेर केरकार गर्ने निर्णय पो गरेछ । तैपनि यसरि बुझ्दै नबुझि बेल्जियमको सर्वे सर्वा झैं ठान्ने र त्यहि रुपमा प्रस्तुत गर्दै बिज्ञप्ती जारि गर्दापनि पत्रकार साथीहरुले आपत्ती जनाएको, बोलेको देखिएन । अचम्म । यस्ता विषयमा के बोल्ने पर्छ, कसरि बिरोध गर्नुपर्छ भन्ने जानकारि नभएर हो कि ‘लौ यो त शक्तिसम्पन्नै रैछ, बोल्नुहुन्न’ भन्ने लागेर हो ? उसको बिज्ञप्ती पढ्दा सबै पत्यार लागेर पो हो कि बुझ्न सकिएन ।

सन्तोसलाई कुटियो । प्रहरीमा उजुरी पर्‍यो । आइ एफ जेले हात हाल्ने भैसक्यो । तर यो प्रवासी समाज लाजै नमानी बिज्ञप्तीमा त्यो कुटपिटलाई त कुटपिटपनि भन्न नसकेर ‘भनाभन’ भनेर पो लेख्छ । अझ उसले त गलत समाचार लेखनबारे भन्दै उनको पेशा, लेखन र पत्रकारितामाथिनै पो औंलो ठड्याएको छ । के प्रबासी नेपाली मञ्चको ज्ञान, हैशियत र कार्यक्षेत्र हो पत्रकारितको मापदण्ड तोक्ने र जाँचबुझ गर्ने ? होइन भने सन्तोस न्यौपानेले त्यो बेल लेखेको समाचार कहाँ  कुन निकायले गलत ठर्‍यायो ?

प्रवासी मञ्चले उल्लेख गरेको छ, ‘ नेपाल पत्रकार महासंघले दोषीमाथि कारवाहीको माग गरेको, तिनका समाचार एक वर्ष नलेख्ने निर्णय गरेकोमा बेल्जियमको नेपाली समूदायनै आश्चर्यमा पर्‍यो’ रे । कुन हो बेल्जियमको त्यस्तो नेपाली समूदाय कि पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्न खोज्दा आश्चर्यमा पर्ने ? हमलालाई हमला भन्न नसक्ने । गुण्डागर्दीलाई बचाउ गर्ने । अन्याय हुँदा बोल्न र बिरोध गर्न नसकेर उल्टो नेपाल पत्रकार महासंघको निर्णयमाथि खेद प्रकट गर्ने यो प्रबासी नेपाली मञ्चको हैसियत यसैले प्रस्ट पार्छ ।

‘बिशुद्ध, स्वतन्त्र पत्रकारिता र निस्पक्ष रुपमा समाजलाई सुचना प्रबाह गर्ने स्वतन्त्र पत्रकारितालाई हामी उच्च सम्मान गर्दै प्रेस जगत र अधिकारका लागी सधैं प्रतिबद्ध र ऐकबद्धता जायर गर्दछौ’ भन्नेपनि बिज्ञप्तीमा उल्लेख गरेको रहेछ । के यहि हो प्रेस जगत प्रतिको प्रतिबद्दता ? चित्त नबुझे अन्य कानुनी उपय, बिरोधका अन्य शैली हुँदा हुँदै शारिरिक आक्रमणका उत्रिनेको बिरोध गर्न नसक्नेको यो ओंठे समर्थन केका लागि ? कसकालागि ? नेपाल पत्रकार महासंघका सास्य सन्तोस न्यौपानेको रिपोर्टले, समाचार पुरै झुठ हो भने महासंघ उनीमाथि कारवाही गर्न तयार छ । हुनै पर्छ । प्रबासी मञ्चका महाशयहरुले हिम्मत गरुन् गुण्डागर्दी गर्ने जिवन शर्मालाई कारवाही गर्न  । हमलाकारिसित बसेर प्रवासी नेपाली मञ्चको यो पत्रकारिताका मर्मसम्म नबुझ्ने, त्यहाँको कानुनसम्मत बोल्नसम्म नसक्ने संस्थाले बोलाउँदैमा कोहि पत्रकार अगाडि उभिएर बयान दिँदैन । दिनु परे त्यहाँको प्रशासन र अदालत समक्ष दिन्छ ।

कोहि लाटो छैन, बिज्ञप्ती मार्फतपनि प्रवासी मञ्चले जिवन शर्मालाइ बचाउन सक्दो कोसिस गरिरहेको छ । अनि उसले न्याय दिने, बुझ्ने रे । को हो यो प्रबासी नेपाली समाज जसले पत्रकार सन्तोस न्यौपानीमाथि केरकर, जाँचबुझ गर्न उभ्याउने हमलाकारि सँगै ?  हिम्मत छ भने भनोस्, सन्तोसमाथि हमला भएकै हैन । दूर्ब्यवहार भएकै हैन । झुठो हो । छ त्यति भन्ने हिम्मत ? भनोस् यो प्रबासी मञ्चले, बेल्जियमका नेपालीलाई एक एक गरेर जाँचबुझ गर्ने, उभ्याएर सोधपुछ गर्ने कानुनी अधिकार हामीसित छ भनेर ।

अझ उसको बिज्ञप्तीमा उल्लेख गरेको छ ‘यसरी घट्नाको सत्यता सम्यम तरिकाबाट आउने कुराको निस्चित्ता हुँदाहुँदै नेपाली दुताबासमा जाने कुराले स्वतन्त्र पत्रकारिता माथि प्रश्न चिन्न खडा हुने सङ्केत मिलेको छ ।’ हाहाहाहा बिचराहरुलाई यतिपनि थाह रहेनछ कि बिदेशमा नेपालीलाई जे जस्ता कठिनाई, दुख, बिपत्ती पर्छन्, जे जस्तो सहयोग चाहिन्छ त्यसकालागि आधिकारिक निकाय भनेकै हाम्रो नेपाली दुतावास हो । नेपालीको साझा घर, चौतारी भनेकै दुतावास हो र त्यहाँ आफ्ना अधिकारकालागि माग गर्नु झन बुद्दिमानी हो भन्ने सम्म नबुझेको प्रवासी मञ्चले प्रवासमा कसरि प्रवासीको हक हेर्न सक्ला ? प्रवासमा आफ्ना हितनै नबुझ्नेहरुले त पहिले त्यसकाबारेमा बुझ्नुनै श्रेयस्कर होइन र ?

‘पाहुना कलाकारको रुपमा बेल्जियम र ब्रुगेबासीको निमन्त्रणामा सहभागी नायिका नन्दीता केसिले पटक पटक दोहोर्याउदै सार्वजनिक भएका आफूहरु विरुद्धका समाचारमा सत्यता नरहेको बताइरहँदा सन्तोष न्यौपाने मार्फत प्रेसित माइ संसारको ब्लकको समाचार पनि पत्रकार महासंघ युरोप शाखाको  समिक्षाको  बिषय बन्नु पर्थ्यो ।’ हेर्नुस् त प्रवासी समाजको पत्रकारिता बारे बुझाई । कहाँ बताइन नन्दिताले ? कुन सार्वजनिक स्थान, माध्यममा त्यो बताएको पुष्टि भयो ? कि प्रवासी समाजका केहि समर्थकका कोठे बैठक र निजि भेटमा सुटुक्क गुनासो गरिन् ?

‘मुलरुपमा प्रबासी नेपाली मन्च मानव अधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, निर्वाचनजस्ता प्रजातन्त्रका विश्वव्यापी मान्यता स्वीकार गरेको बैचारिक संगठन भएकाले सम्पूर्ण प्रबासमा रहेका नेपालीहरुको हक हित र अधिकारका निमित्त आफ्न आवाज बुलन्द गर्ने , प्रबासको एकता र राष्ट्रिय स्वाधिनताको रक्षा र जनजिविकाका सन्दर्भमा प्रगतिशिल सोचका साथ अघी बढ्ने संगठन हो’ भन्ने उल्लेख रहेछ । यहिँनिर सोधौं ‘के आफूलाई मन नपर्दा कुट्न, धम्काउन पाइने प्रेस स्वतन्त्रता हो प्रवासी नेपाली मञ्चले चाहेको ? विश्वब्यापी मान्यता यस्तै छ स्वतन्त्र पत्रकारिता र मानव अधिकारको ? लोकतन्त्रपनि यहि हो तपाईहरुले बुझेको ? तपाईहरुले चाहेको लोकतन्त्र फस्टाउने हो भने महेन्द्र पौडेल, दीपक ज्योति पौडेल,  केजिन राई, तेज बहादुर नेपाली, क्रिष्ण प्रसाद रेग्मी, ददी सापकोटाहरुलाई सजिलै धम्कि दिने, पत्रिका च्यात्ने, कारबाहीको धम्कि दिँदै पत्र काटेर मानसिक यातना दिने,  बाटो कुरेर हमलामा उत्रिने कानुन ल्याउनुहुन्छ होला हैन ? अनि तपाईहरुको जिउ हजुरी गर्दै कलम नघोट्ने हो भने सन्तोस न्यौपानेलाईझैं कुटेर तह लगाउन पाइने बिधिबिधान लागू गर्नुहुन्छ होला हैन ? कहाँ कहिले र कुन दिन गर्नु भो तपाईहरु ले स्वतन्त्र पत्रकारिता र मानवअधिकारका पक्षमा आवाज बुलन्द ? पत्रकार कुटिँदा, धम्कि दिँदा, नेपालीलाई ठगिँदा, राख्न दिएको पैसो र सामान त्यहिँका संस्थाका जिम्मेवार मान्छेले जबर्जस्ति लिइदिएर पिडितले हार गुहार माग्दासमेत चुँक्कै बोल्न नसक्ने तपाईहरुको आवाज कहाँ छ अहिलेसम्म ?

अर्जुन कुमार गुरुङ, प्रवासी नेपाली मञ्चको तपाई अध्यक्ष हुनुहुँदो रहेछ । संस्थामा पद ओगट्नुहुन्छ । आजसम्म बेल्जियममा नेपाली ठगिँदा, कुतिँदा, लुटिँदा र अत्याचार हुँदा  केहि बोल्नु भो ? अनि तपाइ कुन दुलोमा हुनुहुन्थ्यो त्यो बेला ? यि सबै कुरा स्पष्ठ बनौं न हुन्न ? तर तर एउटा कुरामा स्पष्ठ बनौं, तपाईहरुको बिज्ञप्तीले अझैपनि लोकतन्त्रका सर्वब्यापि मान्यतालाई अवलम्बन गर्दैन । ढाकछोप गरेर अत्याचारीलाईनै संरक्षण गर्छ । तपाईको अल्पज्ञान र अज्ञानतालाई देखाउँछ पत्रकारिता, लोकतन्त्र र मानव अधिकारका विश्वब्यापी मान्यतामा । त्यसैले प्रवासीको हित साँच्चै गर्ने हो भने ति मान्यताबारे बुझौं पहिले र हार्दिकतासाथ छलफल गर्दा कसो होला ?

प्रवासी नेपाली मञ्च, बेल्जियमको बिज्ञप्ती हेर्नुस्

नेपाल पत्रकार महासंघ युरोप शाखाको २७ अगस्ट २०१३ मा बैठकले एभरेष्ट नेपाली समाज ब्रुग्गे,बेल्जियमको आयोजनामा १९ अगस्त २०१३ मा भएको जिबन शर्मा र सन्तोष न्यौपानेको भनाभनलाई लिएर प्रबासी नेपाली मन्च, बेल्जियमलाई अल्टिमेटम दिदै समाचारको रुपमा प्रचारबाजी गरेकोमा प्रबासी नेपाली मन्चको गम्भिर ध्यानाकर्षण भएको छ।एभरेस्ट समाजको साङेतीक कार्यक्रममा भएको गलत समाचार लेखन बारे २ ब्यक्ती बीचको असन्तुस्टीलाई लिएर पत्रकार महासंघ युरोप शाखाको टीमले अदुर्दर्शी निर्णय गर्दै तेस्रो संगठनलाई दिएको अल्टिमेटमले बेल्जियमबासी नेपाली समुदायलाई समेत आस्चर्यमा पारेको छ।

यसरी बेल्जियमको पत्रकारिता बिसुद्ध छ कि छैन,युरोप शाखाले शाखाका सदस्यहरुको बिगतको लेखन स्वतन्त्र पत्रकारिताको आधार हुन कि होइनन भन्ने गम्भिर बिषयको समिक्षा सम्म नगरि एकपक्षिय रुपमा डन्डित गर्ने यो प्रेश विज्ञप्ति प्रती हाम्रो संगठन खेद प्रकट गर्दछ। तर बिशुद्ध, स्वतन्त्र पत्रकारिता र निस्पक्ष रुपमा समाजलाई सुचना प्रबाह गर्ने स्वतन्त्र पत्रकारितालाई हामी उच्च सम्मान गर्दै प्रेस जगत र अधिकारका लागी सधैं प्रतिबद्ध र ऐकबद्धता जायर गर्दछौ।

एकातिर बस्तुबादी ढंगले बिश्लेशण गर्ने हो भने पत्रकार महासंघ युरोप शाखाको प्रेश विज्ञप्तिमा हस्ताक्षर गर्ने ब्यक्तित्वहरु मध्ये कती जना बिसुद्ध पत्रकार हुनुहुन्छ?कती जना राजनीतिक संगठनको बहाललवाला पदाधिकारी हुनुहुन्छ?उहाहरुबाट गरिएको निर्णय स्वतन्त्र र निस्पक्ष हुने आधार के छन, यो बेल्जियमबासीको चासोको बिषय बन्छकी बन्दैन? के उहाहरुले एभरेष्ट नेपाली समाज ब्रुग्गेले आयोजना गरेको कार्यक्रममा भएको झगडा गर्ने ब्यक्ति भनेर पत्रकार महासंघले एभरेस्ट समाजमा भएको कार्यक्रमको आयोजक मध्येको एक ब्यक्तिलाई प्रबासी नेपाली मन्चले निलम्बन गरोस भन्दै आदेश दिन मिल्छ र?जस्ता गम्भिर प्रश्न नेपाली समुदायका चासोका बिषय बन्न पुगेका छन।

अर्कातिर पाहुना कलाकारको रुपमा बेल्जियम र ब्रुगेबासीको निमन्त्रणामा सहभागी नायिका नन्दीता केसिले पटक पटक दोहोर्याउदै सार्वजनिक भएका आफूहरु विरुद्धका समाचारमा सत्यता नरहेको बताइ रहदा सन्तोष न्यौपाने मार्फत प्रेसित माइ संसारको ब्लकको समाचार पनि पत्रकार महासंघ युरोप शाखाको समिक्षाको बिषय बन्नु पर्थ्यो।

यसरी घट्नाको सत्यता सम्यम तरिकाबाट आउने कुराको निस्चित्ता हुँदाहुँदै नेपाली दुताबासमा जाने कुराले स्वतन्त्र पत्रकारिता माथि प्रश्न चिन्न खडा हुने सङ्केत मिलेको छ।

प्रबासी नेपाली मन्च नेपाल पत्रकार महासंघको प्रेश विज्ञप्तिलाई गहन रुपमा मनन गर्दै घट्नाको सत्य के हो पत्ता लगाउन ३ सदस्यीय समिति लाई लाई एक महिना समय दिएको कुराको जानकारी आम समुदायमा गराउदछौ।

१) सो समितिले आन्तरिक रुपमा आयोजक एभरेष्ट नेपाली समाज ब्रुग्गेसँग अनुरोध गर्दै सत्य तथ्य के हो तेस्को बस्तुगत अध्ययन गर्ने छ।

२) एभरेस्ट समाजका सल्लाहकार जिबन शर्मा र पत्रकार सन्तोष न्यौपाने २ जनासँग एकसाथ छलफल गर्ने छ।

यसरी प्रबासी नेपाली मन्चले घट्नाको बस्तुगत अध्ययन गर्न आन्तरिक रुपमा ३ सदस्यीय समिती बनाएकोले पत्रकार महासंघ युरोप साखाले पनि घट्ना स्थल र स्थानीय ब्रुजबासी नेपाली समुदायसँग जिम्मेबार रुपमा अध्ययन गर्नका लागि प्रबासी नेपाली मन्च अनुरोध गर्दछ।

मुलरुपमा प्रबासी नेपाली मन्च मानव अधिकार, प्रेस स्वतन्त्रता,लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, निर्वाचनजस्ता प्रजातन्त्रका विश्वव्यापी मान्यता स्वीकार गरेको बैचारिक संगठन भएकाले सम्पूर्ण प्रबासमा रहेका नेपालीहरुको हक हित र अधिकारका निमित्त आफ्न आवाज बुलन्द गर्ने , प्रबासको एकता र राष्ट्रिय स्वाधिनताको रक्षा र जन जिविकाका सन्दर्भमा प्रगतिशिल सोचका साथ अघी बड्ने संगठन भएकोले पत्रकार महोदयको रोहबरमा गरिएको ब्यक्ती निलम्बन र संगठन बहिस्कारको सिफारिसलाई पुनर्बिचार गर्न पत्रकार महासंघ युरोप शाखालाई हार्दिक अनुरोध गर्दछौ।

अध्यक्ष् महासचिब

अर्जुन कुमार गुरुङ  ईन्द्रलाल चापागाइ

प्रबासी नेपाली मन्च, बेल्जियम

तपाइँको प्रतिक्रिया