तरकारी बेचेर दश रोपनी जग्गा
● नारायणदेवी दुमरू / भक्तपुर
पच्चीस वर्ष भयो व्यावसायिक रूपमा कृषि पेसामा लागेको । बच्चादेखिनै आमाबुवाको साथ लागेर कृषिमा लागेको अहिलेसम्म पनि यसमै छु। अब त जिन्दगी नै यसैमा बित्ने भयो। अन्त जान हातमा अरू सिप छैन। म उमेरले साढे चार दसक पुगें। नत अहिलेसम्म कृषि विकास कार्यालयका कुनै प्राविधिक तथा कर्मचारी मेरो खेतमा आएका छन् नत म नै कृषि विकास कार्यालयमा पाइला टेकेकी छु ।
कार्यालय यतै छ भन्ने सुनेको छु। तर खेतमा काम गर्दै फुर्सद छैन कहिले जानु कृषि कार्यालय ? अर्को कुरा त्यहाँ जाने काम पनि परेको छैन । काउली, आलु, बन्दा, घिंरौला, फर्सी, काँक्रो, खुर्सानी, बोडी, तीतेकरेला लगायतको बीउ बजारबाटै किन्ने गरेकी छु । बीउबिजन किनेको पसलकै प्राविधिक खेतमा आएर बेर्ना हाल्ने, रोप्ने, रोगकीरा लागे उपचार गर्ने सबै विधि सिकाइदिन्छन् । खराब र उत्पादन नहुने बीउ परे त्यसको क्षतिपूर्तिसमेत दिन्छन् ।
म भक्तपुर नगरपालिकाको चोर्चामा पति र दुई छोराका साथ बस्दै आएको छु । महिला भएर व्यावसायिक कृषिमा लाग्दा धेरै हन्डर खानुपर्यो । पति आफ्नै काममा जाने, छोराहरू स्कुलकलेज जाने । त्यसैले घरकै कामले भ्याइनभ्याइ भएकी मैले व्यावसायिक कृषि गर्न कम दु:ख गरेकी छैन । बिहान सबेरै उठेर चुलोचौको सकेपछि खाना र खाजा बोकेर करिब ६/७ बजे खेतमा पुग्छु। खेतमा बोलाएका कामदारलाई काम दिएर आफू पनि त्यसैमा व्यस्त हुन्छु। बेलुका करिब ७/८ बजे घर पुग्छु । बिदाको बेला पति कहिलेकाहीं खेतबारीको काममा सहयोग गर्नुहुन्छ । छोराहरू स्कुलकलेजपछि आफ्नै काममा व्यस्त हुन्छन् । त्यसैले सबै काम मैले नै गर्नुपर्छ ।
कृषि व्यवसाय सुरु गरेयता राम्रै भएको छ । यही पेसाबाट करिब १० रोपनी जग्गा जोडेकी छु । त्यसमा आलु र अन्य मौसमी तरकारीखेती गर्छु । अहिले धान रोपेकी छु । ६ रोपनीमा भने तरकारी खेती गर्दै आएको छु । व्यावसायिक तरकारी खेतीबाट हुने आम्दानीको लेखाजोखा राख्ने गरेको छैन । वार्षिक करिब १५/२० लाख पुग्छ होला । आम्दानी नराम्रो भएको भए यसरी मरीमरी दु:ख किन गर्थें र ?
बजारको अलि समस्या छ। हामीलाई हिसाब आउँदै न भनेर हो कि बिचौलियाले ठग्ने गरेका छन् । बिचौलियापिच्छे भाउ फरक छ । त्यसैले धेरैजना बिचौलियाको सम्पर्कमा रहनुपर्छ । तैपनि कसैबाट हाम्रो मेहनत र लगानीअनुसार मूल्य पाएका छैनौं । हामी बाध्य छौं । महिला भएकैले सबै कुरा आफैंले गर्न नसकिने रहेछ । हामीलाई त्यो थाहा छ । तर हाम्रो समस्या कसले सुनुवाइ गर्ला र खोई ? यहाँ जान्ने सुन्ने महिला कोटा चाहियो । महिलालाई सशक्तीकरण गर्नुपर्यो भन्छन् । तर हामीजस्ता किसान महिलाको कामको मूल्यांकन र अनुगमन कसले गर्ने ? हाम्रो समस्या कसले उठाउने? र कसले पूरा गरिदिने ?
बसमा जाँदा पनि महिलालाई आरक्षण दिइएको छ । मालपोत लगायतमा जाँदा महिलालाई विशेष सुविधा र छुटको व्यवस्था गरिएको छ । तर हामी किसान महिला बीउबिजन किन्न जाँदा पसलेले एक रुपैयाँ पनि छुट दिँदैन । सरकारी निकायले नै वास्ता गरेको छैन भने नाफा खान खोलिएको निजी पसलेले के सुविधा देला र ! जेहोस् भक्त पुरमा धेरै महिला दिनरात नभनी व्यावसायिक कृषि पेसामा आबद्ध छन् ।
हामी महिला किसानका धेरै समस्या छन् । हामी कोही पनि कृषिसम्बन्धी तालिम तथा ज्ञान लिएर यसमा लागेका होइनौं । सानैदेखि आमाबुवा र घरका मान्छेसँगै कृषिमा लागेकै अनुभवको आधारमा यसमा लागेका हौं । त्यसैले हामीजस्ता मेहनती महिला किसानलाई व्यावसायिक कृषिसम्बन्धी तालिम दिइनुपर्ने हो ।
हामीलाई बीउबिजन, मलखाद तथा अन्य कृषि प्रविधि खरिद गर्दा सबै पक्षबाट सुविधा र छुट दिनुपर्ने हो । तर कृषि कार्यालयले को सही किसान हो र कसलाई बढी सरकारी सेवा र सुविधा आवश्यक छ भन्ने बुझ्नेसम्म गरेको छैन । हामी महिला किसानका यस्ता समस्या समाधान गर्नेतर्फ राजनीतिक दलका महिला संगठन तथा महिला क्षेत्रको काम गर्ने भन्ने गैरसरकारी संस्थाले पनि ध्यान दिएको छैन ।
प्रस्तुति : ईश्वरकाजी खाइजू





