झल्झली मनाङको संझना (दोस्रो भाग)
● डा हरिकुमार श्रेष्ठ / काठमाडौँ
(पहिलो भाग यहाँ क्लिक गरेर हेर्नुस्)
बाटोमा कहिले रमाउँथे भने कहिले घरको यादले गर्दा कतिपय अवस्थामा त बाटो काटेको पनि पत्तै हुँदैनथ्यो । केही समयको उकालोपछि बाहुनडाँडा पुगेँ । यस ठाउँबाट चारैतिरजस्तो हेर्न सकिन्थ्यो । उत्तरतर्फ झलमल्ल उज्यालो, रसिलो पहाड र हिमाल हाँसेको दृश्यले मन धेरै कल्पित हुँदै पनि गयो । अनि मनमनै भन्ने गर्थें, मेरो देश नेपाल प्राकृतिक दृश्यले अति नै धनी, मनमोहक र स्वर्ग रहेछ । त्यसैले पो विदेशीहरूको तन मन र धनलाई खिची आकर्षण गर्दो रहेछ र वर्षे नि हजारौं विदेशी पर्यटकहरू नेपाल आउँदा रहेछन् ।
बाहुनडाँडाको एक होटलमा पसेर खानाको लागि अनुरोध गरेँ । तर खाना तुरुन्त नपाइने रहेछ । पकाउन समय लाग्ने रहेछ । खाना पाक्ने अवधिभर बिहानभरिको थकाई पनि मेटिने रहेछ । खाना पाकुन्जेल आफ्नो गन्तब्य स्थानको खोजी नीति पनि गरेर भ्याएँ । करिब एक घण्टामा खाना पनि तयार भयो । भोक निकै नै लागेर होला खाना पनि स्वादिलो लाग्यो । खानापछि आफ्नो पोकोपुन्तुरो बोकी उत्तरतर्फको ओराली लागेँ । बाटोमा छरपस्ट विदेशी पर्यटकहरू, भरियाहरू, गाइडहरू र अन्य पदयात्रीहरू भेटिन्थे । कतैकतै त जन्तिजस्तै गोराहरूको लावालस्कर भेटिन्थ्यो । उनीहरूसँग बोली मिसाउँकि जस्तो लाग्थ्यो तर उनीहरूसँग बोल्ने आँट नै गरिन । धेरै मानिसहरूको आवत जावतले गर्दा भदौरे चर्को घाममा छहारी बस्न चौतारो पनि खचाखच भरिएकोले कतैकतै त पाईला टेक्ने ठाउँसम्म पाईदैनथ्यो । बाटोमा दिसा पिसाबको लागि साझा प्राकृतिक शौचालय नै यत्रतत्र थियो । देशी विदेशी सबै रुखका बुच्काहरू, खोल्साखाल्सीका अन्तरकुन्तर, ढुङ्गा वा ढिस्कोको छेल पारी दिसा पिसाब गरेका हुन्थे । परिस्थितिअनुसार चल्नैपर्ने, लाज मानेर पनि नहुने । कतिपय विदेशी भने खोलातिर नाङ्गै पनि देखिन्थे र कतिपय त उनीहरू बीच अङ्कमाल र चुम्बन गर्न पनि भ्याइ हाल्थे । जुन दृश्य हाम्रो लागि लाजमर्दो र अनौठो हुन्थ्यो ।
कहालीलाग्दो भीर, पहरा, उकाली, ओराली हुँदै जगातबाट च्याम्चे पुगेपछि मिर्मिरे साँझ हुन लागेको थियो । त्यसपछि अर्को स्थानमा बास बस्नको लागि लमजुङ् र मनाङ्को सीमा ताल भन्ने ठाउँ पुग्नुपर्ने रहेछ । त्यसभन्दा यता बास बस्ने कुनै ठाउँ नभएकोले त्यस स्थानमा पुग्न करिब २ घण्टा लाग्ने जानकारी पाएँ । म त्यति थाकेको थिइनँ । त्यसैले डेढ घण्टामा पुग्न सक्छु भन्ने हिम्मत गरी च्याम्चेको पुल तरी लागेँ तालतिर उकालो । म एक्लै थिएँ । मस्र्याङ्दीको तीरैतीर, डरलाग्दो भीरको बाटो, घना निगालो घारी, चकमन्न सन्नाटाले छाएको अध्यारो साँझमा अगाडि बढ्दै निगालो घारीहरू पार गर्दै गएँ । मेरा गोडाहरू झनै मच्चिमच्चि अगाडि बढिरह्यो । मानिसहरू बिरलै भेटिन्थे । केही छिनपछि त झनै चकमन्नै भयो । कहिँ कतै केही नदेखिने । आवाज त केबल मस्र्याङ्दीको मात्र थियो । मस्र्याङ्दी अबिरल विशाल सुस्केरा हाल्दै जोड्ले बगिरहेकी थिइन् । त्यतिखेर त मन पनि अलि डराएजस्तो भयो । कतै अन्धकार ओढारजस्तो ठाउँ । जाने कता हो कति हो केही मेसो थिएन ।
जे होस्, जोस र जाँगर उर्जा अझै थपेँ । अन्यथा पार लगाउन नसकिएलाजस्तो भयो । निरन्तर अगाडि बढ्दै गएँ । निगालो घारीमा भालुको बास हुन्छ भन्ने सुनेको थिएँ । कतै भालुले झम्टिएर सिध्याइदिने त हैन जस्तो पनि लाग्दथ्यो । जति हिँड्यो त्यति अध्यारो, खोँच, कन्दरा, एकान्त र उकालो । साथमा पिलिपिली पेनटर्चको उज्यालो मात्र थियो । कता बेट्री सकिन्छ कि भन्ने अर्को चिन्ता । निगालो घारी झनै बाक्लो थियो । पक्कै पनि चारैतिरको गगनचुम्बी पहाडहरूले मलाई कैद गरेको होलाजस्तो लाग्दथ्यो । मस्र्याङ्दीको आवाज पनि अलि कम हुँदै गएकोले गहिरो धसिएर वा लुकेर गएको हो किजस्तो लागेको थियो । पछि घर जान फर्केर आउँदा हेरेको त नभन्दै हो रहेछ ।
पहरा काटेर बनाएको डरलाग्दो बाटो पनि रहेछ । छुस्स दायाँ बायाँ तलमाथि भएमा सीधै मस्र्याङ्दीमा चुम्न पुगी जीवन बिसर्जन गर्न पर्ने स्थिति रहेछ । अब धेरै टाढा पिलिपिली बत्तीको उज्यालो देख्न लागेकोले उकालो सकिएछ कि जस्तो लाग्यो । यसो घडी हेरेको त करिब करिब डेढ घण्टा जति नै लागेछ । दुई दिनको हिँडाईको आधारमा यहाँ मेरो अनुमान पनि मिलेछ । त्यसपछि भने मन प्रफुल्ला भइ हर्षको सीमै रहेन । तर मसँग भएको पेनटर्चको उज्यालो अगाडि मात्र हेर्न पुग्दथ्यो । टाढा उज्यालो पुग्दैनथ्यो । त्यसैले बाटो हिँड्दा निकै नै होस पु¥याउनु पर्दथ्यो ।
उकालो पनि सकियो । तर बिहानजस्तै समस्या आइपर्यो । मस्र्याङ्दी वारी जाने कि पारी जाने भनेर । बत्ती बलेको ठाउँमा पुग्न पनि अब करिब आधा घण्टा लाग्ला जस्तो देखिन्थ्यो । त्यसैले पारीतिरका बत्ती बलेको ठाउँमा जान झोलुङ्गे पुलतिर लम्किएँ । पुल जम्मा तीनवटा लट्ठाले बनेको अति डरलाग्दो रहेछ । एउटा लट्ठा तलतिर र अर्को २ वटा माथितिर । त्यसमा गाउँघरको बाख्रालाई घाँस हाल्न बनाइएको टाट्नोजस्तो देखिने गरी बार लगाइएको थियो । त्यसैले उक्त पुल पार गरी पारी जान हिम्मत ममा पटक्कै भएन र वारी पट्टिकै बत्ती बलेको स्थानतिर ताकेर हिँडे । केही छिनपछि एउटा होटलमा पुगेँ र बास पाईन्छ कि भनेर सोधेँ । बास मिल्यो र भित्र गएर अगेना छेउमा बसेँ । त्यहाँ कोही मथेको घिउ चिया पिइरहेका थिए भने कोही याक र चौँरीको सुकुटीको स्वादमा रक्सी (आरा) त कोही जाँड (छ्याङ्) पिइरहेका थिए । म रक्सी नखाने हुँदा चियाको लागि अनुरोध गरेँ ।
त्यहाँ त मानिसहरूको बोलीचाली, रहनसहन, भेषभुषामा पूर्ण परिवर्तन । मेरो गाउँतिर हिउँदमा हिमाली क्षेत्रतिरबाट जिम्मु, पाँचऔंले, नीरमसी लिइ गाउँघर घुम्दै हिँड्ने व्यक्तिहरूजस्तो लाग्न थाल्यो । प्रत्येक वर्ष हिउँदमा हिमाली क्षेत्रमा बसोबास गर्ने नेपाली (भोटिया) हरू मेरो घरमा पनि बास बस्ने भएकोले मलाई त्यहाँ सबै कुरा सहज बन्यो । उनीहरूको बोलीचालीमा एकदम माया र ममता झल्कन्थ्यो । तर तलबाट जाने जतिलाई रोङ्स्या भनेर जिस्क्याउँदा पनि रहेछन्, जसरी हाम्रो क्षेत्रका मानिसले हिमाली क्षेत्रमा बस्ने मानिसलाई भोटे भन्दछन् । त्यहाँ अनौठो कुरा के पाएँ भने चौरी र याकको मासुको फिलाफिला झुण्ड्याएर राखिएको थियो । धेरै मासु देखेर म त आश्चर्यमा परेको थिएँ । त्यहाँका मानिसहरू पाहुनालाई अति नै सम्मान र सत्कार गर्दथे । त्यसैले खाना पस्केर दिनुभन्दा अगाडि भाडाजति सबै भान्सेले लगाएको आङ्दोको फेरले नै पुछेर दिने चलन । खाना खान अलि किलकिल लागेजस्तो हुन्थ्यो तापनि यो त त्यहाँको प्रचलन नै रहेछ त्यसैले बाद्य भएर नबोली खान सिबाय केही थिएन ।
त्यतिखेर त्यहाँ मासु भातको जम्मा रु २० तिर्नुपर्दथ्यो । अर्को कुरा, खाना खाएपछि बसेको पैसा नलाग्दो रहेछ । त्यो दिन म अति थकित भएकोले खाना खाएपछि बिछ्यौनातिर लागें । मनाङ् प्रवेशसँगै जाडोले पनि निम्ता दिइहाल्यो । ताल क्षेत्र समथर भएकोले मस्र्याङ्दी नदी नजिकै भए तापनि हिजोको खुदी खोलाजस्तो ठूलो स्वर थिएन । त्यसैले सुताइ भने निकै नै आनन्द भयो ।
बटुवाको रूपमा हिँडेको तेस्रो दिन । सदाझै बिहान उठी बाहिर हेर्दा त यो चारैतिर गगन चुम्बी कहालीलाग्दा पहाडहरूले घेरेको मस्र्याङ्दी नदीको किनारमा अवस्थित एक सानो उपत्यकाजस्तो लाग्यो । काठको छानो भएका घरहरू बाटोको दुईतर्फ लामबद्ध र लमतन्न थियो । ठाउँ अति रमाइलो र आत्मै चुम्ने खालको । आकास निकै नै स्वच्छ र साँघुरो भएकोले आफ्नो जन्मस्थलभन्दा नितान्त फरक पाएँ । मैले यसो म जाने बाटो पनि नियालेको थिएँ, जसले मलाई टुलुटुलु हेर्दै मेरो स्वागतको लागि प्रतिक्षा गरिराखेको जस्तो लाग्दथ्यो । हिजो जान नसेकेको पारीपट्टिको ठाउँ पनि यसो नजर लगाएको त खेती गर्ने ठाउँ र गोठहरू मात्र रहेछ । त्यसैले यसपटक मैले समाएको बाटो नै सहि रहेछ ।
म विस्तारै धारापानीतिर अगाडि बढेँ । एकछिनपछि त ढुङ्गा बिच्छ्याइएको उकाली बाटो हिँड्नुपर्ने रहेछ, जुन मस्र्याङ्दी नदीको किनारै किनार अगाडि बढी राखेको थियो । बाटोमा निगालो घारी उस्तै थियो । पहाडको पत्थरबाट महिलाको कपालजस्तो लामोलामो सर्लक्क परेको घाँसका गाँजहरू प्रसस्त देखिन्थ्यो । अन्य रूख बिरुवाहरू कोणधारी प्रकारका धेरै देखिन्थे । कृषकहरूको खेती गर्ने ठाउँहरू निकै उर्बर देखिन्थ्यो तर क्षेत्रफलमा सानोसानो थियो । करिब २ घण्टाको उकालो भीर, पहरा छिचोल्दै धारापानी पुगियो । सोभन्दा करिब आधा घण्टा अगाडि खोत्रो पनि देखियो । धारापानी पनि मस्र्याङ्दी नदीकै किनारमा थियो । त्यसको पारीपट्टि थोँचे पर्दथ्यो । देख्दा वारीपारीजस्तै भए तापनि जान आउन त्यति नजिक थिएन । त्यतिखेर मनाङ्को एकमात्र माध्यमिक विद्यालय पनि थोँचेमा नै थियो । ताल, धारापानी, थोँचे, बगरछाप, वडार गाउँहरू मनाङ्को सुगम र कृषियोग्य स्थानको रूपमा परिचित थियो ।
धारापानीबाट विस्तारै तरपायँ तरपायँ हिँड्दै करिब एक घण्टामा बगरछाप पुगियो । बगरछाप पनि निकै नै रमणीय स्थान थियो । जहाँ एक सरकारी आयुर्वेद अस्पत्ताल र अन्य सरकारी फिल्ड कार्यालयहरू पनि थिए । बगरछाप जाँदै गर्दा मैले कृषि शिक्षा पढ्दा नदेखेका फलपूम्लका बिरुवाहरू जस्तै स्याउ, खुर्पानी, ओखर इत्यादि हेर्न पनि निकै नै आतुर थिएँ र बाटोमै देखेँ लटरम्म फलेका स्याउका बोटहरू पनि । स्याउका बोटहरू देखेर मात्र पनि मनको सन्तोष कहाँ भयो र ! त्यसको ताजा स्वाद चाख्नै मन लाग्यो । त्यसैले पहिलो पटक बोटबाट भरखरै टिपेर ल्याएको गोल्डेन डेलिसियस जातको स्याउ खाएँ । त्यसपछि आफ्नो गन्तब्य चामेतिर पाईलाहरू बढाएँ ।
हिमाली स्वच्छ हावापानी, पहाडी श्रृङ्खलाहरू, पानीका झरनाहरूले मलाई अति नै मन्त्रमुग्ध बनायो । बिहान करिब १० बजेतिर मस्र्याङ्दी नदीकै किनारमा अवस्थित चामे बजार पुगेँ । तलका अन्य गाउँहरूभन्दा यो ठाउँ भने अलि कोप्चेरो र साँघुरो लाग्यो । त्यहाँ पुग्दा त आकास झनै साँघुरो । तर यसलाई घना जङ्गल, मनमोहक पहाडहरू, लमजुङ् हिमालले घेरेर राखेकोले यसको सोभा झनै बढाएको थियो । लमजुङ्, गोरखा र मनाङ्को सीमामा अवस्थित मनास्लु हिमाल भने आफू आएकै बाटोमा छाडिसकिएकोले चामेबाट निकै टाढा देखिन्थ्यो । चामे बजार प्रवेश गर्नभन्दा अगाडि एक सानो खोल्सा थियो, जहाँ मैले आफ्नो अनुहार धोएँ । बिहानीपख भएकोले खोल्सामा माथिल्लो तहको पानी जमेको देख्दा अनौठो पनि लाग्यो । हिउँसँगको त्यो नै मेरो पहिलो स्पर्स थियो । त्यसपछि सोध्दै खोज्दै जाँदा केही पर बाटोको दाहिनेतिर जिल्ला कृषि कार्यालय, चामे, मनाङ् लेखिएको बोर्ड देखेँ । त्यसपछि म सीधै कार्यालयमा हान्निएँ ।
कार्यालयमा आफूसँगै नियुक्ति लिएका साथीहरू र अन्य साथीहरू पनि भेटेँ । कार्यालय प्रमुख पनि रामपुरबाटै भरखर बि एस्सि एजि पास गरि आउनु भएको छबिलाल पौडेललाई पनि भेटेँ । कार्यालय त रामपुरमय भइसकेको रहेछ । त्यहाँ पुगेपछि कार्यालयका केही कामहरू उहाँहरूले नै सिकाउनु भयो । लाग्थ्यो उहाँहरू त २, ४ दिनमै रैथानेजस्तै भइसक्नुभएछ । मैले त्यस दिन मिति २०३९ भाद्र २ गते मेरो नियुक्तिपत्र र उहाँहरूले लेखिदिनुभएको हाजिर हुन पाउँ भन्ने निवेदनपत्र कार्यालयमा पेश गरेँ । त्यसपछि कार्यालयमा विधिसम्मत हाजिर पनि भए र सोही समयबाट म आधिकारिक रूपमा सरकारी कर्मचारी भइ आफ्नो जागिरे जीवनको सुरुवात गरे । कार्यालयको सानो कामपछि खाना खानको लागि सन्जू होटलमा पनि साथीहरूले नै लैजानुभयो । बस्नको लागि पनि त्यहीँ बन्दोवस्त भयो । खाना खाएपछि बस्नको लागि छुट्टै पैसा पनि तिर्न नपर्ने रहेछ । उक्त होटल मसँगै कृषि पढ्ने मणिकुमार श्रेष्ठको दाइ गोपाल श्रेष्ठले संचालन गर्नुभएको रहेछ । झनै रमाइलो भयो । यसरी समाप्त भयो मेरो तीनदिने यात्रा । यहाँहरूसमक्ष मनाङ्मा कार्यरत छंदाको गतिविधिहरू पनि पछिल्लो खण्डमा पस्कने नै छु ।











