जग्गा बिनाको गाउँ
“राजाको जहाजमा चढ्दा त अहिले नै जग्गा पाईन्छ कि भन्ने लागेको थियो”
-रामहरी ओझा, डोटी
म गाईवस्तु चराउँदै थिए । जाहाज आएर माथिको चौरमा बस्यो। धोती र कुर्ता लगाएको थिएँ। जाहाज हेर्न भनि दौड्दै गएँ । त्यहाँ त राजाको सवारी भएको थियो । म राजाको खुट्टा छोएर रोएँ । महाराज हामीलाई जग्गा दिलाई दिनु पर्यो भनेर बिन्ती गरे । महाराजले सबै कुरा सोध्नु भयो र मलाई जहाजमा राखेर सिलगढी लैजानु भयो । हाकिमहरुलाई हुकुमपनि वक्स भयो यिनीहरुलाई जग्गा दिनु भन्दै । तर हामीले अहिले सम्मपनि जग्गा पाएनौं ।
उपरोक्त भनाई डोटी जिल्ला वगलेक गाबिस–६ रिखडा निवासी ५७ वर्षिय करविर साउदको हो । उनी राजाको सवारीका क्रममा जहाजमा चढ्न पाएकोमा खुशी छैनन् । बरु आफुले सुकुम्वासी जीवन व्यतित गर्नु परेकोमा दुःखी छन । हामीले युगौं देखि जोत्दै आएको जग्गा पनि हाम्रा नाममा छैन, के को खुशी हुनु ? पूर्ण निरक्षर करविर उल्टो प्रश्न गर्छन् । “घर छन । गाईवस्तु छन । खेतीपनि छ । एक सय ४२ परिवार पनि छन । तर जग्गा छैन, हामी के गरौं ?” लाग्नेगरी रिखडाका वाले साउद भन्छन ।
हेर्दा डोटी जिल्ला सदरमुकामसँगै जोडिएको छ वगलेक गाबिस । तर त्यहाँको राजनीतिक, सामाजिक तथा आर्थिक अवस्था निकै दयनीय छ । गाबिसको वडा नम्वर ६ र ७ मा दुइवटा गाउँ रिखडा र पौठेगडा छन । ९० परिवार गैर दलित र ५२ परिवार दलित वस्ती छ । आफ्नो पूर्खौली पेशा कृषिमा रमाएका छन । तर आफ्नो नाममा एक बित्ता पनि जमिन छैन ।
“उहिले हाम्रो पूर्खौली घर तत्कालीन खातिवाडा पञ्चायत हालको वगलेक गाबिसको वडा नं. ८ र ९ को मछन्तोला भन्ने ठाउँमा थियो रे । हाम्रा पूर्खाहरुले फुलौटी खड्काका पूर्खाहरुलाई रिखडा र पौठेगडाको वाँझो जमिन माग गरे । उनीहरुको घरमा काम गरिदिनुपर्ने शर्तमा हाम्रा पूर्खाहरुले उक्त जमिन पाएका थिए । यो हालको कुरा होईन । मेरा वाजे जो २०२० सालमा ९६ वर्षो उमेरमा विते त्यो बेलाको हो । उनको जन्म समेत रिखडा आईसकेपछि भएको हो । उहिले देखि नै हामीहरु जग्गा बिहिन वन्न पुगेका छौ “ ६० वर्षिय साउद भन्छन । “यता जग्गा पाएका कारण उताको जग्गा पनि पूर्खाहरुले छोडिदिए ।अहिले आएर न यताको न उताको भईएको छ” उनको भनाई छ ।
“२०३४ माघ १४ गते तत्कालीन राजा बिरेन्द्रको सवारी हुदाँ हामीले
बिन्तीपत्र चढाएका थियौं । राजाको ठाडो आदेश पनि भएको थियो । तर पनि अहिलेसम्म हामीलाई गुमराहमा राख्ने काम भएको छ” भन्छन निवर्तमान गाबिस अध्यक्ष चामा साउद । साउदका अनुसार २०४४ सालमा सो जग्गा रिखडावासीका नाममा नापी पनि भईसकेको छ । तर मालपोत कार्यालयले उनीहरुलाई लालपूर्जा उपलव्ध गराईरहेको छैन । “हाम्रो नाममा भएको लालपूर्जा हामीले पाउनु पर्छ । हामीले पाँच पुस्तासम्म लगातार यो जमिन जोतेर खाएका छौं तर पनि यो सरकारले हामीलाई लालपूर्जा दिएको छैन” निवर्तमान अध्यक्ष साउदको दाबी हो यो ।
पञ्चायत कालमा समेत आफुहरुले पोत वुझाएको तर २०२२ सालमा भुमिसुधार लागु भईसकेपछि फुलौटका प्रेम सिं खड्काले आफ्ना रसिदहरु पनि झुक्याएर फिर्ता लिएका कारण आफुहरुसंग कुनै लिखित प्रमाण नभएको वाले साउद वताउँछन । जग्गाको वारेमा फुलौटी खड्कासँग आफुहरु पटकपटक मुद्धा लडेको र मुद्धा लड्ने क्रममा आफुहरु नेपाल गञ्जमा लुटिएको सम्झँदै वाले साउद संझन्छन् । “तत्कालीन राजावाट पनि हुकुम भएको छ । र अन्तीममा हामीले मुद्धा जितेकालेपनि त्यो जमिन हाम्रो हो” दाबी गरे उनले । ०४४ सालको नापीमा यहाँ सबै परिवारको नाममा जग्गा नापी भएको तर मालपोत कार्यालयले भने लालपूर्जा नदिएको गुनासो गरे उनले ।
अब आन्दोलन गर्न बाहेक अर्को बिकल्प नभएको भीमवहादुर ठगुन्ना बताउँछन् । “कित हामीलाई हाम्रो जग्गाको लालपूर्जा दिनुपर्यो कि त हामीलाई अरु ठाउँमा जग्गा । यदि त्यसो पनि यो सरकारले गर्न सक्दैन भने तिमीहरु नेपाली नागरिक होईनौं भनि लेखेर देओस “ स्थानीय युवा ठगुन्ना आक्रोस व्यक्त गर्दछन । उनी भन्छन – फुलौटी खड्कालाई लालपूर्जा दिलाई दिनुपर्यो भन्दै दैलोमा खसी लगेर जाँदापनि उनीहरुले फिर्ता पठाईदिए । मालपोत कार्यालयमा गई लालपूर्जा माग्दा फुलौटी खड्कासँग सहमति गरेर आउ भन्ने उत्तर पाईन्छ । यस्तै हो भने अव आफुहरु आन्दोलनमा उत्रिने जनाउँदै ठगुन्ना सबै क्षेत्रबाट सहयोग गरिदिन आग्रह गर्दछन ।
नापी रिखाडी साउदका नाममा भए पनि साविक मोठ फुलौटी खड्काका नाममा भएका कारण जग्गा दर्ता गर्न कठिनाई भएको जिल्ला मालपोत कार्यालय डोटीका निमित्त मालपोत अधिकृत खेमराज गुरुङले बताए । फुलौटी खड्का र रिखाडी साउदहरुले आपसमा सहमती गरेर आएपछि आफुहरु तुरुन्तै काम गर्न तयार रहेको समेत गुरुङको भनाई छ ।
जग्गा स्थानीयवासीहरुको नाममा नहुँदा दैनिक प्रशासनिक कार्य सञ्चालनमा समेत ठुलो वाधा पुगेको वगलेक गाबिसका सचिव भीमवहादुर धामी बताउँछन् । सर्बसाधारणलाई सबैकुरा थाहा नहुनाले कानुनले गर्न नदिने काम पनि यो काम गरिदिएन भन्दै गुनासो गर्ने गरेकोपनि बताउँछन् धामी । वुवा, आमाको नागरिकता नभएका व्यक्तिले नागरिकता लिनु पर्यो भने लालपूर्जा चाहिन्छ भनेर प्रशासनका कर्मचारीहरु बताउँछन् । तर यहाँ दुई वडाभरीका समुदायको लालपूर्जा नै छैन, अनि हामीले कसरि काम गर्ने ? सचिव धामी उल्टै प्रश्न गर्छन् ।
देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको छ । हिजोका दिनमा क्रान्तिकारी भुमिसुधार, वैज्ञानिक भुमिसुधारका कुरा गर्ने राजनीतिक दलहरु सत्ता सञ्चालन गरिरहेका छन । तर पुस्तौं देखि चर्चेको जमिन आफ्नो नाममा दर्ता नहुँदा पुरै गाउँ अहिले पनि सुकुम्वासी बनेको छ । के यो सरकारले रिखाड र पौठेगडाका जनताको समस्या समाधान गर्नतिरपनि पहल गर्न सक्ला ? के हामीभित्र रहेको हाकिमी र सामन्ती पाराको अन्त्य गर्न सक्ला र ? समस्यामा परेका स्थानिय जनताको प्र्श्न हो यो ।
(तस्बिरहरु त्यहि गाबिसको नभएर डोटी जिल्लाको कुनै क्षेत्रको हो । सामाग्रिसँग मेल खाएकाले ईन्टरनेटबाट खोजि गरे राखिएका हुन् । ईन्टरनेटमा यि तस्बिरको स्रोत नखुलाईएकाले यहाँपनि खुलाउन नसकिएको हो-नेपालप्लस डट कम) ।





