संझनामा तिन दशक अघिको मनाङ

डा हरिकुमार श्रेष्ठकाठमाडौं 

manang_winter_97RVP-1

आज एकछिन घोत्लिएर मनाङ जाँदाको विगतलाई खोतल्ने जमर्को गरेको छु । मनाङ् प्रवेश गरेको आज ३० वर्ष र ८ महिना पूरा भएछ । समयले कति छिटो डाँडा काट्दो रहेछ पत्तै भएन । त्यतिखेर भरखर प्रमाणपत्र तह (कृषि) अध्ययन पूरा गरी जागिरे जीवन यात्राशुरु गर्दै थिएँ ।  आफ्नै चाहनाअनुसारको हिमाल हाँसेको, डाँफे, नावर, चौँरी, याक, घोरल, मृग र भेडाहरू रमेको ठाउँमा घुम्न र सेवा गर्न मन लाग्यो । स्याउ, खुर्पानी, आरू, ओखर, उवा, जौ, फापर फुलेको, फलेको । झुलेको हेर्न मन लाग्यो । त्यस्तै, बुद्धको जन्मदेश नेपालको दुर्गम क्षेत्रमा बसोबास गरिबस्ने बुद्धका अनुयायीहरूसँग हातेमालो गर्दै अगाडि बढ्न मन लाग्यो । अझ हिमाली सिरेठो, हिमाली पानी र झरनासँग चुम्दै घुलमिल हुन मन लाग्यो । अनि सल्ला, भोजपत्र, धुपीको सितलतामा रम्न मन लाग्यो ।

3931420740_f5cae93143_b

त्यसैले, त्यस रमणीय, शान्त, सुन्दर र पवित्र क्षेत्रलाई मैले कृषि क्षेत्रको कर्मथलो बनाउँदै आफूले आर्जन गरेको ज्ञान र सीपलाई त्यस क्षेत्रको कृषि विकासमा लगाउन मन लाग्यो । कृषि क्षेत्रमा पिछडिएको र अति बिकट ठाउँ भएकोले मानिसहरू हतपति त्यता जान नरुचाए तापनि मलाई त्यस्तो ठाउँमा बसी सेवा गर्ने अति नै रहर जागेर आयो । त्यसैले मेरो जागिरको सिलसिलामा मध्यमान्चल विकास क्षेत्रबाट जिल्ला कृषि विकास कार्यालय, धादिङ्को लागि अस्थायी नियुक्ति लिए तापनि पाएसम्म मनाङ् नै जाने अठोटका साथ पश्चिमान्चल विकास क्षेत्रको पोखरास्थित क्षेत्रीय कृषि निर्देशनालयबाट जिल्ला कृषि विकास कार्यालय मनाङ्को लागि प्राविधिक सहायक पदमा २०३९ श्रावणमा अस्थायी नियुक्ति लिएँ र साथीहरूसँगै जाने तम्तयारीमा लागेँ ।

3930650383_d56b53bfa0_b

त्यतिखेर मनाङ् जानको लागि तनहुँको डुम्रे बजारदेखि पैदल हिंडेर जानुपर्ने थियो । त्यसैले मेरो घर गाईखुर, गोरखामा भएकोले साथीहरूसँग तनहुँकै तुरतुरेमा भेटगरी जाने तिथिमिति निधो गरि घरतिर लागियो । तर मेरो घरायसी समस्याले उक्त दिन प्रस्थान नगरी २, ३ दिन सुस्ताउन बाध्य भएँ । त्यतिखेर हिजो आज जस्तो सन्चार सुविधा नभएकोले साथीहरूलाई खबर गर्न पनि सकिन । उहाँहरू लामो समय मलाई कुर्दा पनि भेट हुन नसकेपछि आफ्नो बाटो तताउनु भएछ । मपनि घरमा बुबाआमासँगको सल्लाहपछि २०३९ श्रावण मसान्तको दिन घरबाट प्रस्थान गर्ने निर्णयमा पुगेँ । त्यतिखेर म भरखर विद्यार्थी जीवन पार गरेको चढ्दो उमेर र जोस जाँगरले भरिएको ताकतिलो केटो थिएँ डाँडा, काँडा, उकाली, ओरालीको लागि कुनै प्रवाह थिएन । तापनि घर छाडि एक्लै त्यति टाढा कतै नगएकोले आफूलाई त चिन्ता छँदैथियो तर घरपरिवारलाई पनि यो चिन्ताले निकै नै गाँजेको अनुभूति मैले सजिलैसँग उहाँहरूको अनुहारमा कोरिएका तरङ्गमा पढ्न सक्दथेँ ।

sonya-looney-manag

साथीहरूसँग सँगैजान नपाइ एक्लै अपरिचित ठाउँतिर जानुपर्ने भएकोले मेरो मनमा निकै नै तरङ्गहरू मडारिरहेको हुन्थ्यो । एकातिर चिन्ता र पिरलो थियो भने अर्कोतिर हर्षको पनि सीमा नै थिएन । मेरो मनमा दिनरात निकै कुराहरू फन्फनी घुमिरहेको हुन्थ्यो । एक्लै कसरी पुग्ने ? बाटोमा बाघ भालु लाग्ने हो कि ? चोर र डकैतिबाट लुटिनु पर्ने हो कि ? जागिरको अनुभव नभएकोले आफूले सिकेका ज्ञान र सीपलाई प्रवाहमा बाधा अड्चन आउने हुन् कि ? यदि यस्तो अवस्था आएमा कसरी समाधान गर्ने ? कार्यालयमा साथीहरूबाट कस्तो सहयोग पाइने हो ? घर फर्कन समयमै पाइने कि नपाइने ? बिरामी भए उपचार कहाँ गर्ने ? घरमा सम्पर्क कसरी गर्ने?  तलब कति पाइने र कति बच्ने हो ? घरमा आवस्यक पर्दा पैसा कसरी पठाउने हो ? जागिरमा स्थायी हुन सकिन्छ कि सकिदैन ? पछि अध्ययन गर्न जान पाईन्छ कि पाइन्न ? यसको अलावा अन्य अनगिन्ती सोचहरु पनि मज्जाले घुमिरहन्थ्यो ।

Day 3_Lamjung Himal from Chame (2)

म प्रस्थान गर्ने दिन एकाबिहानै चराहरूको मधुर आवाजसँगै उठ्दा घरमा खाना पनि तयार भइसकेको रहेछ । खाना खाएपछि सूर्यको रोसनीलाई पिठ्युँतिर पार्दै मलिन अनुहारका साथ सपरिवारलाई छाडें म घरबाट मनाङ्को लागि प्रस्थान गर्दा मेरा परिवारजन सबैको नयनभरी आँशुले भरिइ तप्पतप्प र तुरुरु चुहिरहेको पीडादायी दृस्यले मेरो मन पनि भक्कानिएर आउँथ्यो । तर सम्हाल्दथेँ । त्यसमाथि घरमा मेरी भरखर सुत्केरी भएकी श्रीमती थिइन् । विस्तारै विस्तारै मेरा पाईलाहरू आफ्नो कर्मथलो वा गन्तब्यस्थानतिर जब अगाडि बढाउन थालेँ, गाउँको बाटोमा मेरा नाता कुटुम्ब, गाउँले दाजुभाइ तथा दिदीबहिनीहरूबाट पनि विदावादी हुँदै गएँ । केही समयपछि मेरा घरपरिवारको मलिन अनुहार पनि मेरो लागि दूर हुँदै गयो । मेरो नजरले नदेख्ने भए तापनि टाढाटाढाबाट पनि मैले मेरो गाउँ नियाल्न सकिराखेको हुन्थेँ । नागबेली बाटाहरूले जब डाँडा काँडाहरूलाई फन्को मार्न थाल्यो तब आफ्नो जन्मथलो पनि मेरो नजरबाट बिलिन हुन पुग्यो ।

3931465106_1de5bb3bef_b

म पहिलो दिन तुरतुरे, बाइसजँघारे, कालीमाटी पाउँदी ढिक, भोटेवडार, फलेकसाँघु, बेसीसहर हुँदै खुदीतर्फ लागेँ । वर्षाको याम भएकोले बाटोघाटो त्यति राम्रो थिएन । त्यहिमाथि झनै खच्चड र गधाको लावालस्करले बाटो निकै अप्ठ्यारो हुन्थ्यो । कहिले भित्तामा सेपिएर त कहिले बाटोको डिलमा मुस्किलले अडिनुपर्ने । कहिलेकाहिँ त जुत्ताचप्पल नै हातमा लगाएर हिँड्न बाद्य भइन्थ्यो । बाटोमा फाटपूम्ट हिमाली ड्रेस लगाएर हिँड्ने व्यक्तिहरू पनि भेटिन्थे । उनीहरूलाई भेट्दा पनि निकै नै खुशी लाग्दथ्यो र सोच्दथेँ कि म त उनीहरूकै ठाउँको लागि खटिएर जान लागेको एक राष्ट्रसेवक कर्मचारी । उनीहरू नै मेरो लागि सबैथोक हुन्जस्तो लाग्दथ्यो । दिनभरी मस्र्याङ्दी नदीको किनारै किनार हिड्नु पर्ने । जति अगाडि बढ्यो त्यति हिमाली श्रृङ्खलाहरू मुस्काइरहेको देखिन्थ्यो भने अन्य पहाडी दृश्यहरू पनि त्यति नै मनमोहक र रमणीय । गाउँहरू अग्लाअग्ला पहाडहरूमा एकै ठाउँमा बुचुक्क देखिन्थ्यो । लाहुरेहरू बढी भएको गाउँहरू सजिलै छुट्याउन सकिन्थ्यो । किनकि उनीहरूका घरहरू धेरैजसो जस्ता पाता वा ढुङ्गाले छाइएको हुन्थ्यो । बाटोमा पुलपुलेसा नभएकोले कतिपय खोलामा त जति नै बाढी आए तापनि होम्मिनु सिवाय केही हुन्थेन । त्यसरी होम्मिएको दिन सम्झँदा अहिले पनि कहाली लागेर आउँछ ।

3930669775_f0e1dc9d3e_o

पहिलो दिनमा बेशीसहरबाट खुदी जाँदा उर्लेर आएको भलाम खोला तर्दाको क्षण अहिलेजस्तै लाग्दछ । यसरी मस्र्याङ्दी नदीको किनारै किनार दिनभरिको नागबेली बाटाहरू हिँडेपछि बेलुकी बास बस्न खुदी पुगेँ । खुदीको झोलुङ्गे पुल कट्नासाथ देब्रेपट्टिको खर (फुस) को छाना भएको होटेलले मलाई तुरुन्त आकर्षण गरिहाल्यो । होटेलको ढोकामा टक्क रोकिएँ । मैले यहाँ बास पाइन्छ कि साहुजी भनेर सोधेँ । पाइन्छ भन्ने जबाफ पाएपछि आफ्नो झोला बिस्तारै बेन्चमा राखी टुसुक्क झोला नजिकै बस्न पुगेँ । पहिलो दिन घर छाडी हिँडेको लामो यात्रा, त्यहिमाथि वर्षायामको टन्टलापुर घाममा एक्लै हिँड्नु परेकोले निकै नै थकाई लागेकोले खानपिनपछि एकछिन होटेलवालासँग साधारण चिनजान र गफ गरी मट्टितेलबाट बल्ने टुकी लिएर निद्रादेवीको शरणमा पुगेँ । त्यस होटेलमा रक्सीको चुस्की लगाउनेहरूको कमी पनि थिएन । त्यसैले उनीहरूले रक्सीको तालमा अलि हल्ला पनि गर्दथे । होटेल खुदी खोलाको किनारमै भएकोले खोलाको चर्को स्वर र सुस्केराले बेलाबेलामा बिउँझाइ राख्दथ्यो । जीवनमा टाढा बाटो एक्लै हिँडेको पहिलो दिन र रात यसरी बिताएँ ।

3932140927_0a55558a7b_b

भोलीपल्ट बिहान मिर्मिरेमा चराचुरूङ्गीको कलरव ध्वनीसँगै उठ्दा कुखुराको भालेको डाँको पनि यत्रतत्र सुनिनुको साथै खुदी खोला पनि अबिरल सुस्केरा हाल्दै बगिराखेको थियो । आफ्नो गन्तब्य स्थानतिर बाटो तताउने सुरसार कसेँ । साहुजीलाई ढोका खोल्न उठाएँ । त्यसपछि करिब ६ बजेतिर सूर्यको पारिलो रोसनीमा आफ्नो गन्तब्य स्थानतिर पाईलाहरू अगाडि बढाएँ । म उठ्दा खुदी बजार चकमन्नजस्तै थियो । करिब ४० मिनेटको तेर्सो बाटो हिँडेपछि दोबाटो भेटेँ, जहाँ म पहिलोपल्ट अलमल्ल परेँ । कसैलाई सोधौँ भने बिहान चाँडै नै भएकोले कोही पनि भेटिएनन् । त्यसबेला मैले निर्णय गर्न पर्ने भयो । म कि त मस्र्याङ्दीको पुल तरी पारीबाट जाने कि त वारीतिरको बाटो । त्यतिखेर निर्णय गर्न निकै नै कठिन भयो । पारीको बाटो समथर थियो भने वारीको उकालो । त्यसैले हिमाली क्षेत्र जाँदैछु भने अवस्य पनि उकालै चढ्नुपर्छ भन्ने निक्र्यौल गरी उकालो चढ्न थालेँ ।

3930687319_626285f72b_b

करिब एकघण्टाको उकालो चढेपछि एउटा बुचुक्क परेको सुन्दर र रमणीय बस्ती भेटेँ, जहाँ बाटोमै खानेपानीको धारो पनि रहेछ । म त्यहाँ मुख धुन लाग्दा एकैछिनमा पधेर्नीहरूको पनि घुईंचो लाग्न थाल्यो । त्यो बाटोमा बटुवाहरू त्यति नहिँड्ने हुनाले र मेरो नयाँ र कलिलो चेहरा देखेपछि उहाँहरूलाई म प्रति शङ्का लाग्न थालेछ र निकै मृदुमाषामा मलाई सोध्न थाले एकाबिहानै कता जान लाग्नु भएको बाबु ?” भनेर । मैले विस्तारै आफ्नो बेलीविस्तार लगाएपछि उहाँहरूले भन्नुभयो कि मैले समाएको बाटो त निकै नै कठिन र कष्टकरको साथै डरलाग्दा जङ्गली जनावरहरूको पनि त्यत्तिकै विगविगी पो रहेछ । अनि मलाई थाहा भयो कि मैले पक्कै बाटो बिराएछु भन्ने कुराको । त्यसपछि त मेरो मुटुको धड्कन बढ्न थाल्यो । त्यतिखेरै उहाँहरूले पारीपट्टिको बाटोलाई औँलाले देखाउँदै थप भन्नुभयो कि तल झरेर मर्स्याङ्दीको पुल तरी पारीबाट भुलभुले भएर तेर्सोबाटो अगाडि बढ्ने, त्यही नै हो मनाङ जाने बाटो

3931404464_36c7e6aa71_b

म मुख धोएपछि उहाँहरूको सल्लाहलाई शिरोपरी गरी उहाँहरूसँग विदावादी भएँ आफूलाई फनक्क १८० डिग्रीको कोणमा घुमाएँ र पहिला उकालो चढेको ओरालो बाटो समाएँ । त्यसपछि म केही बेरमै त्यही दोबाटोमा पुगेँ जहाँ मैले बाटो बिराएको थिएँ । त्यहाँको झोलुङ्गे पुल पार गरी सहि मार्ग समाउन पुगेँ । त्यहाँबाट खेतैखेतको समथर नागबेली बाटो पार गरी ङादी बजार पुगेँ । यो बजार पहाडको फेदी र ङादी खोलाको किनारमा अवस्थित सानो र सुन्दर थियो । यो बजार कट्नासाथ केही छिनमै ङादी खोलाको झोलुङ्गे पुलमा पुगेँ । यो पुल तरेपछि बाहुनडाँडा जान भने ठाडै उकालो चढ्नुपर्ने रहेछ । कतैकतै त नाकै ठोकिएलाजस्तो उकालो रहेछ । म नयाँ जोस र उमङ्गको साथ अगाडि बढेकोले यसको कुनै प्रवाह भएन । बिहानीपख नै भएकोले पनि उकालो चढ्न सहज भयो । फाँटतिर खेतमा धानका रोपोहरू हरियो देखिन्थ्यो । पाखोबारीमा मकै, भटमास र कोदो अनि कान्ला कान्लामा बोडीका झ्याङहरू । वातावरण निकै नै स्वच्छ थियो भने प्राकृतिक दृश्य भने जति अगाडि बढ्यो उति मनोरम र रमणीय हुँदा मेरो मन पनि निकै नै लोभिएको थियो । हिमालहरू अगाडि नै झलमल्ल अनुहारमा मुस्कान छाडिराखेकै हुन्थ्यो । मानिसहरू पनि निकै नै सीधासाधा देखिन्थे ।

मुख्य उकालो कटेपछि पानीको कुलैकुलो तेर्सोबाटो हिँड्दै थिएँ जहाँ खेतमा पानी लगाउन आउनु भएको एक बृद्ध कृषकसँग भेट भयो । उहाँ आफ्नो परम्परागत पहिरन भोटो, दौरा र नेपाली ढाका टोपीमा हुनुहुन्थ्यो । उहाँको गालामा कोरिएका रेखाहरूले उहाँको परिश्रम र कामको अनुभवलाई बताइरहेको हुन्थ्यो । भेटमा उहाँले मेरो अगाडि धेरै प्रश्नहरू थम्याउनुभयो । कहाँबाट आएको बाबु ? कहाँ जाने ? के कामको लागि जाने ? कति समय बस्ने ? मैले उहाँले सोध्नुभएका प्रश्नको उत्तरहरू सरल, नम्र र शिष्ट भाषामा दिएँ । उहाँले अझै थप्नुभयो कि तिमी त कलिलै छौ के तिमी साच्चै नै जागिर खान जान लागेका हौ त ?” उहाँले मेरा उत्तरहरूको विश्वास नगर्नु भएजस्तो लाग्यो । त्यसैले मैले मेरो कुराको अलि विस्तार गरेँ । त्यसपछि उहाँले थप्नुभयो एक्लै रहेछौ विस्तारै राम्रोसँग जाउ बाबु

तपाइँको प्रतिक्रिया