न बेचियो भवन, न बच्यो ईमान
● राजकुमार थापा ‘क्षितिज / लण्डन
लण्डनको नेपाली समुदायमा दुतावास विक्रीको तातो तावाको राप अझै सेलाइसकेको छैन । विक्रीवट्टाको सुनामी यति तीव्र गतिको उठ्यो कि अदालत जाने, धर्ना दिने, लेख्ने, वोल्ने धेरै काम भयो । नेपालको सर्वोच्च अदालतको अन्तरिम आदेशले अनुमानित सुक्री विक्रीको यो काण्डको वेग अहिलेलाई रोकिए जस्तो भएको छ । यस आलेखको सन्दर्भ र चासो भने यो भवन नै वेलायतवासी नेपाली समूदायको संपूर्ण आस्था र गौरवको धरोहर हो कि होइन र यसवाट उत्पन्न भएका असरहरुका वारेमा हो ।
पहिलो प्रसंग, दुतावास विक्रीको यस प्रकरणमा खुशीको कुरा के हो भने परदेशमा रहेर पनि एउटै वृहत्तर एकता र छहारीभित्रभन्दा टुक्रा–टाक्री संघ–संस्थामा रमाउन वानी परेका हामी नेपाली वीचमा एउटा अनौठो र अभूतपूर्व एकता देखा पर्यो । यो भवन कुनै हालतमा विक्री गर्न हुँदैन भनेर । यसलाई एउटा सुखद आश्चर्य नै मान्नु पर्ला । यस्तै एकता पहिला हाम्रो नेपाल, हामी नेपाली भन्ने भावना र समर्पणकासाथ देखा परेको भए त्यो नेपाली मातृभूमिकोलागि थोरै भएपनि कर्तव्य पुरा हुने थियो होला । तर, दुर्भाग्य यथार्थता के हो भने हामी नेपाली हौं भन्नेभन्दा पनि फलानो जात, फलानो क्षेत्र, तिलानो समूदाय भन्ने निहित र संकिर्ण भावनाको विषवृक्षको जरा यति फैलिसकेको छ कि त्यसले सामाजिक र सांस्कृतिक विभाजनको गहिरो रेखा कोरिसकेको तितो सत्य हो । कम्तिमा दुतावास विक्री जस्तै दुई–चारवटा प्रकरण उत्पन्न भए नेपाली वीचको एकता अझ मजवुत वनाउन सहयोग हुन्थ्यो कि ! ? त्यसकारण यसलाई सकारात्मक दृष्टिवाट पनि विवेचना वा मनन गर्न सकिन्छ ।
दोस्रो प्रसंग, वास्तवमा दुतावास विक्री गर्न खोजिएको हो वा यसवारेमा अध्ययन मात्र गरिएको हो स्पष्ट छैन । यो एक किसिमले ‘निरञ्जन निराकार’ नै छ । भावनात्मक रुपमा विक्री गर्न खोजिएको हो भन्ने कुराले मात्र तथ्यलाई मात्र प्रमाणित गर्न सकिन्न । यसवारेमा नेपाल सरकारले कुनै औपचारिक वा आधिकारिक धारणा राखेको वा ब्यक्त गरेको पनि पाईदैन । मुल्याङ्कन र अध्ययन समिति गठन हुनलाई नै विक्रीको तहमा वुझ्नु पनि उचित नहोला । किनकी नेपालको नियम कानुन अनुसार वेलायतमा रहेको भवन विक्री हुने कुनै सम्भावना छैन र यहाँको कानुन अनुसार केही भएको पनि छैन ।
तर, यस घटनाले नेपाली राजनीतिका एकजना शिखर पुरुष स्व. गिरिजाप्रसाद कोइरालाको विदेश मामिला सल्लाहकार हुँदै वेलायतको राजदुत वन्नुभएका शालिन र वौद्धिक छविका भनेर चिनिने डा. सुरेशचन्द्र चालिसेलाई भने आफ्नो ‘करियर’ मा धक्का पुगेको देखिन्छ । भवन वेचिए वा नवेचिए पनि इमान वेचिएको स्थिति छ अहिले । किनकी कमिसनकालागि विक्रीवट्टाको यो खेल चलेको हो भन्ने आम वेलायतवासी नेपाली समूदाय र संघसंस्थाको वुझाई छ । किनकी यो समितिको संयोजक स्वयं चालीसे हुनुले पनि झन सन्देहस्पद भएको हो । कार्यकालको उत्तरार्धमा यो खालको प्रकरणले पटकौं पटक विक्री गर्न खोजेको होइन भन्ने डा. सापको प्रष्टिकरणलाई कसैले पत्याएका छैनन् । यसको अर्थ हो, शंकाको घेरामा राखिएको छ । यसर्थ यथार्थ के हो भन्ने कुरा नेपाल सरकारवाटै स्पष्ट गर्नु वा पारिनु वान्छनीय छ ।
तेस्रो प्रसंग, वेलायतको राजधानी लण्डनको सवैभन्दा मूल्यवान र महंगो स्थानमा रहेको हुनाले यस दुतावास भवनलाई अजर, अमर राख्नुपर्छ । नेपाल नरहे पनि यो भवन चैं रही रहनुपर्छ भन्ने खालको अतिवादी भावना प्रदर्शन गर्नुकासाथै यो भवन वीर गोर्खाली सैनिकसंग जोडिएको धरोहर हो भन्ने भनाई पनि युक्तिसंगत र प्रमाणित देखिदैन । वरु लडेका भिडेका गोर्खाली सैनिकले टुटफूट र गुटमा रमाउन छोडेर आफ्नो हक अधिकार पहिला स्थापित गर्नु उचित होला । यद्यपी नेपालको कुटनीतिक सम्वन्ध स्थापित भएको पहिलो मुलूक वेलायत नै हो । यसमानेमा यसको विशिष्ट महत्व रहेको कुरा निश्चित हो ।
अन्त्यमा, नेपालकै सिङ्गो सार्वभौमिकता र स्वाधिनतामाथि आज गम्भीर प्रश्न चिन्ह उठिरहेको छ । देशको प्रधानमन्त्री मन्त्रीको त कुरै छाडौं । एउटा आयोगको जावो कर्मचारी नियुक्ति गर्न समेत अर्कै देशले निर्धारण वा निर्देशन दिने तहमा हाम्रो हैसियत झरेको घटना अहिले छताछुल्ल भईरहेको छ । सवैले एकअर्कालाई ‘एजेन्ट’ र ‘विदेशी दलाल’ भन्ने र देख्ने स्थितिमा देश पुगेको छ । नेपालको अभ्युदयदेखिको अभिछिन्न स्वतन्त्रता यतिवेला चीरहरण हुने अवस्थामा छ । त्यसकारण दुतावास भवन सन्दर्भमा जस्तै एकताको प्रदर्शन गर्दै अव नेपाल राष्ट्र वचाउन विदेशमा रहने नेपालीले पनि अलिकति भएपनि उर्जा खर्चगर्ने वेला आईसकेको छ । नेपाल रहेमात्र न नेपाली दुतावास भवन भनेर नारा जुलुस गर्न पाइएला । अनि, राष्ट्रकवि माधव घिमिरेको देशभक्त यो रचना र नातिकाजीको अजम्वरी स्वरको यो मर्मलाई स्पर्श र आत्मसात गर्न सकिएला–
नेपाली हामी रहुँला कहाँ नेपालै नरहे,
उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे … ।
हिमालको सर्वोच्च उचाई जस्तै नेपाल र हामी नेपालीलाई सधैं चुलिने कामना सहित ।
यसैसित संवन्धित अघिल्ला लेखपनि हेर्नुस्
दुतावास बेचेर भ्रष्टाचार गर्नेहरुलाई नांगेझार पार्ने यस्तो छ योजना





