राज्यले लत्याएकाको सेवा गर्न बेल्जियममा सांगितिक साँझ
राज्य आफैंमा मस्त छ । जनताका नाममा रगतको टिका लगाएर आएका नेता विमान चार्टर गरेर गाउँ ठाउँ घुम्ने भए । तर जसका नाममा राजनिति गरिएको हो, आजपनि तिनको अवस्था उस्तै छ । ति राज्यबाट अलग्गिएका छन् । समाजिक सेवाबाट बञ्चित छन् । नागरिक अधिकारबाट पन्छाइएका छन् । र छन्, ति दिनहिन, दुखि र गरिब । तिनका केटाकेटी धुलोमै सुत्छ्न् । सडकमै निदाउँछन् । ढुंगाको सिरानी । त्यसैको ओछ्यान् । शिक्षा के हो तिनलाई थाह हुन्न । सडक सडक भौंतारिएर तिनले नेताहरुले चार्टर गरेको विमान हेरी हेरीपनि सहेरै बस्छन् । जब राज्यलेनै बेवास्ता गर्छ, तब तिनको को हुन्छ ?
त्यसो त, संसार स्वार्थीहरुको मात्रै छैन । केहि दयालुहरुपनि फाट्टफुट्ट निस्किन्छन् । देखिन्छन् । दूरदराजबाटै सहि, सात समुद्र पारीबाटै किन नहोस् तिनका दुखमा साथ दिने केहि दयालुहरुका चनाखा र सेवाग्रहि आँखा पर्छन् । हो, चितवनलाई मूल कार्यथलो बनाएको चितवन ट्रष्ट त्यस्तै केहि औंलामा गन्न सकिने मध्येको एक संस्था हो भन्छन्, धेरैले । तिनै दिनदुखिलाई साथ दिन, सहयोग गर्न भनेर चितवन ट्रष्टले बेल्जियममा सांगितिक कार्यक्रम आयोजना गर्न लागेको छ । नेपालका ख्यातिप्राप्त गायक रामक्रिष्ण ढकाल र मल्लीका कार्कीलाई नित्याएर ।
कार्यक्रम १२ मई २०१३, आइतवारका दिन राखेका छन् । बेल्जियमको लुभेन शहरमा । अपरान्ह पाँच बजेबाट शुरु हुने कार्यक्रम राति अबेर सम्म चल्ने छ । अहिले चितवन ट्रष्टको टोली यसैमा खटेको छ । त्यो ब्यक्तिगत स्वार्थका लागि होइन । सामाजिक सेवाकालागि । कलाकारलाई केहि पैसो हात देलान् । बचे खुचेको केहि रकमले यिनले चितवनमा शिक्षा नपाएका, पतीले छोडेर हिँडेपछि बाटो नपाएर अलपत्र परेका, थोरै पैसोको औषधीमुलोपनि नपाएर छटपटिएकाहरुलाई सेवा गर्छन् । आफ्नो मेहनत त छँदै छ । भए नभएको समय खर्चेर खाइ नखाई दगुर्छन् । संस्थाकै लागि बह्नेर । तिनै दिनदुखि सम्झेर ।
हातहातै पैसा माग्दै हिँड्नु भन्दा यो राम्रो हो । त्यहाँका नेपालीले देशकै चर्चित कण्ठको गित सुनेर आनन्द लिन पाउने । अनेक कष्ट सहेर बल्ल बल्ल नाम कमाएका कलाकारलाई प्रोत्साहन हुने । हुने, उता सामाजिक सेवापनि । यस्तो सेवाले अरुलाईपनि प्रोत्साहित गर्ने । त्यसैले मनकारिहरुले यस्तो कार्यक्रममा साथ नदिए कसले दिन्छ ? लौ टिकट सिमित छन् अरे । बेलैमा जोगाउने हो कि ? आफैंले धेरै सामाजिक सेवा गर्न नसकेपनि सामाजिक सेवाका लागि गरिएको कार्यक्रममा मनोरञ्जन लिनकै लागि गएपनि सानो तिनो सामाजिक सेवा नै हुन्छ । हैन र ?





