घर छाडेर घरको पछि दगुर्दै

किशोर सापकोटा / लुइभेल, अमेरिका

kishor-sapkota-usa-2123वरतिर नयाँ सडक एक्काइसौं शताव्दीमा रुमल्लिरहेका वेला अलिकति पर काठमण्डपकै सामुन्नेको गल्लीमा रहेका रेष्टुरेण्टहरु उन्नाइशौं शताव्दीका जस्ता लाग्छन् । ती रेष्टुरेन्टहरुमा तारिरहेको माछा मासुको गन्ध पर बाटोसम्म आइपुग्छ । मिति याद छैन । करिव ८ वर्ष अगाडि होला, यहिँको एक रेष्टुरेण्टमा मेथीको तरकारी, आलु केराउको अचार र चिउराको खाजा खाँदै गर्दा मैले ददी दाइ (नेपाल प्लसको सम्पादक) सँग भनेको थिएँ – दाइ मैले त काठमाडौंमा घर वनाउने भएँ ।

हामीसँग अरु पत्रकार सहकर्मीहरु थिए । त्यो समय केही विदेशी सञ्चार माध्यममा र केही स्थापित सञ्चार माध्यममा काम गर्ने पत्रकारहरु वाहेकको कमाइ राम्रो थिएन । खाना त आफ्नो रुचि अनुसारको हुँदैनथ्यो नी, खाजा समेत पनि राम्रो रेष्टुरेन्टमा बसेर खान पैसा पुग्दैनथ्यो । यो अवस्था अझै पनि धेरै सञ्चारकर्मीहरुमा विद्यमान नै छ । त्यसैले हामी केही सस्ता लाग्ने रेष्टुरेन्टहरुमा खाजाका लागि जान्थ्यौं ।

ददी दाइ फिस्स हाँसेको थियो । म अलिक सपनामा रमाउने मानिसको रुपमा चित्रित हुन्थे साथीहरुमाझ । आङमा हेर्ने हो भने एकसरो राम्रो कपडा थिएन । घिसिपिटी जीन्दगी । तीन महिना कट्दा पनि तलव नपाउने अवस्था । भटभटेको किस्ता तिर्न नै कस्तो कठिन । कतिदिन भटभटेमा तेल हाल्न नसकेर घरमा थन्क्याएर पैदल कार्यालय जानुपर्ने । त्यस्तोमा काठमाडौंमा घर वनाउने कुरा साँच्चै नै सपनाको महलको चर्चा जस्तै हुन्थ्यो ।

यो अमेरिका पुग्यो भने त्यहाँ पनि घर बनाउँछ – ददी दाइले ठट्टा गरेको थियो ।

यतिवेला म अमेरिकाको लुइभेल सिटीमा छु, आएको दश महिना पुगेछ । हामीले यहाँ नयाँ घर बनाउन शुरु गर्‍यौं । ददी दाइलाई सम्झिरहेको छु ।

काठमाडौं सपना 

२०४० सालमा तेह्थुमको इसिवुमा वुवाले आधुनिक मोडलको जोर घर वनाउनु भयो । त्यो वेला म ८ वर्षको थिएँ । वुवाको सपना थियो – छोराछोरी यही घरमा वढ्नेछन् र यी राम्रा घरहरुमा आफ्नो जीवन विताउनेछन् । त्यसको ६ वर्ष पछि नेपालमा प्रजातन्त्र आयो । म पनि प्रजातन्त्र आएपछि नेताहरुका भाषण सुन्न आठराइ वजारसम्म पुगें । राधाकृष्ण मैनाली, विश्वेश्वरा दाहाल, द्रोण आचार्य लगायतका भाषण सुने । कलाकारहरुका क्रान्तिकारी गीत सुने । द्रोण आचार्यको भाषण निकै राम्रो थियो ।

किन ?

वुवाले भन्नुभयो – द्रोण आचार्य पत्रकार पनि हुन् । पत्रकारहरु विषयवस्तुलाई सुन्दर ढंगले प्रस्तुत गर्न सक्छन् ।

मलाई त्यसै दिन पत्रकार हुने लोभ लाग्यो । दुइ वर्षपछि एसएलसी दिए, पास भएपछि पत्रकारिता पढाइ हुने कलेजवारेमा बुझें । काठमाडौको आरआर क्याम्पस मात्र रहेछ । अनि वुवाआमा, भाइ वहिनी, नातेदार, जन्मिएको गाउँ, आफ्ना साथीसंगी र मनमनै माया गरेकी प्रेमिकालाई छाडेर लम्किए काठमाडौतिर । काठमाडौंको गणवहालमा रहेको आदर्श माविस सँगैको एउटा गल्लीमा रहेको डेरावाट काठमाडौ जीवन सुरु भयो । आइए पास भएपछि दिदीले कीर्तिपुरको पाँगामा रहेको पाँगा माविमा जागिर पाउनुभयो । हामी त्यतै सर्‍यौं ।

म ट्युसन पढाउँथे । एकदिन एउटा विद्यार्थीले भन्यो – सर मलाई ट्युसन फि अलि घटाइ दिनुन ।

किन ? – मैले सोधें ।

हामी अलि गरिव छौं – उसको जवाफ थियो ।

कीर्तिपुरमा घरवारी र कमाइ गर्ने खेतवारी समेत भएको मान्छेहरु कसरी गरिव हुन्छन् ? – मेरो मनमा कौतुहलता थपियो ।

वावु तिम्रो सवै सम्पत्ति कति छ ? – मेरो प्रश्नको जवाफ उसले दिन सकेन । घर गएर वुवाआमालाई सोधेर आएछ र भन्यो – घरवारी र खेती वेच्यो भने २ करोड जति हुन्छ अरे ।

दुइ करोडको सम्पत्ति हुने मानिसहरु यो काठमाडौमा आफुलाई गरिव ठान्छन् । कसरी ?

उसले भन्यो – खेतीवाट आएको अन्नले खान ६ महिनामात्रै पुग्छ रे । अरु दुइ दाइहरु खलाँसी गरेर बाँकि वर्ष परिवार चलाउने र भाइवहिनीहरु पढाउने खर्च जुटाउने गर्दा रहेछन् ।

मेरो तेह्रथुममा ५ लाख रुपियाँ बोकेर जाने हो भने एउटा सम्पन्न जीवन बाँच्न सकिन्छ, यहाँ २ करोडका मालिकहरु गरिव हुँदा रहेछन् । भो यो काठमाडौ म वस्दिन । यो काठमाडौमा वसेपनि म गरिव हुन घर वनाउँदिन – मैले मनमनै भने । तर सोचे जस्तो हुन्न जीवन । माओवादी युद्ध चर्किदै गयो । हामी केही पढेर तेह्रथुम फर्किन सकिन्न भन्ने अवस्था रहेन । तेह्रथुममा वुवाआमा दोहोरो चपेटामा पर्न थाल्नुभयो । माओवादी आएर खाएको बसेको भनेर वुवालाई प्रशासनले दुख दिन थाल्यो । माओवादीले चन्दा मागेर पनि हैरान पार्न थाले ।

दोहोरो मारमा परेपछि वुवाले आफ्नो वुवावाट अंशमा पाएको खेत बेच्नुभयो, अलिकति जम्मा भएको सञ्चय कोष निकाल्नुभयो र पैसा दिनुभयो । काठमाडौमा एउटा सानो छाप्रो भएपनि वनाओ हामी पनि आउँछौं भन्नुभयो । डेराको जीन्दगी पनि निकै कष्टपूर्ण थियो । समयमा तलव नआउने । समयमा डेराभाडा दिन नपाउँदा जहिले पनि घरवेटी रिसाउने । पानी नआउने । पानीका लागि वल्लाकोठा पल्ला कोठामा वस्नेहरुसँग कहिलेकाहिँ कुस्ती नै पर्ला कि जस्तो हुने । आफु एक्लै भए त केही थिएन, विवाह भइसकेको । आफ्नो भन्दा पनि जीवनसाथीको असुविधाप्रति वढी चिन्ता । भोली डेरामा बसेको वेला नै वालवच्चा भएभने वच्चाका कपडा कहाँ ? धुने, कहाँ ? सुकाउने, धुन पानी पाउने नपाउने जस्ता हजारौ चिन्ताले सताउन थालिसकेका थिए । त्यसैले मैले काठमाडौमा गरिवै भएपनि सानो छाप्रो वनाउने निर्णय गरें ।

जग्गा किन्ने क्रममा नै मैले पनि केही साथीहरुसँग ऋण लिए । त्यो ऋणमध्ये राष्ट्रिय समाचार समितिमा कार्यरत मित्र नारायण न्यौपाने, सहकर्मी दिदी भगवती तिम्सिना, सहकर्मी तथा नातेदार कमल पौडेल लगायत केहीको थोरैथोरै रकम त अझै तिर्न नै बाँकी छ ।

जग्गा किनेर घर वनाउनका लागि डण्डी किन्न जाँदा मसँग दश हजार रुपियाँ थियो । बाँकी सवै सवै उधारोमा । भोलीपल्ट पसलेहरु पैसा उठाउन आउँछन् भन्ने डरले कतिदिन त राती उज्यालो नै नहोस् जस्तो पनि लाग्थ्यो । पछि सहकर्मी मित्र रामचन्द्र भट्टको सहयोगमा एनआइवी वैंकले ऋण दियो । सहकर्मी टंक पन्त, मित्र भीम ढकाल, भगवती तिम्सिना, दीपक रिजाल, शैलेश शर्माको सहयोग तथा नातेदारहको ठुलो टेवाको कारण भक्तपुरको झौखेलमा घर निर्माण गरें ।

वुवाले वनाइदिएको तेह्रथुमको घरले मेरो जीन्दगी चलेन । करिव ८ वर्ष वसेर तेह्रथुमको घर छाडे । भक्तपुरमा घर वनाएको ८ वर्ष पनि नपुग्दै म परिवार सहित अहिले अमेरिका आइपुगे ।  अमेरिका आउनु अगाडि अव जीवनमा कुनै तनाव लिन्न भन्ने सोचे । पहिलाका ऋण र तिर्न वांकी ऋणलाई सम्झिएर ऋण लिन्न भन्ने दृढ निश्चय गरें । फेरी पनि सोचे जस्तो जीवन भएन । म अमेरिका आइपुग्नु अगाडि नै यहां संयुक्त घर थियो । तर हामी नेपाली न पर्‍यौं । आफ्ना लागि भन्दा पनि छोराछोरीका लागि सोचिदिने । भोली छोराछोरी हुर्किएलान् । उनीहरुलाई आफ्नै घर भए हुन्थ्यो भन्ने लाग्ला । त्यो वेला घरको मूल्य धेरै माथि होला । किन्न नसकिएला । अहिले काम गर्ने उमेर छ । भोली चाहेर पनि काम गर्न सकिन्न जस्तो लाग्न थाल्यो । फेरी आफ्नै उमेरका वा आफुभन्दा साना उमेरकाले पनि पौरख गरेर आफ्नै घर जोडिसके । अमेरिकामा १८ वर्ष पुगेपछि छोराछोरीले त आफ्ना वावुआमालाई छाडेर स्वतन्त्र वस्न थाल्छन् भने हामी कति संयुक्त परिवारमा वसिरहने जस्ता प्रश्न पनि मनमा आए ।

अर्को मनमा संयुक्त परिवारमा वस्न मन नलागे अपार्टमेन्टमा वस्न पनि त सकिन्छ । किन घर नै चाहियो ? वरु सकेसम्म पैसा बँचाउनु राम्रो भन्ने पनि लाग्यो । तर अमेरिका भनेपनि अपार्टमेन्टहरु चाहे जति राम्रा छैनन् । तलको अपार्टमेन्टमा भिन्नै परिवार । माथिको अपार्टमेन्टमा भिन्नै परिवार भएभने तनावको स्थिति भइहाल्छ । सामान्य ड्राइवाल लगाएर छापिएका तल्लाहरुमा माथि अलि दह्रो गरी हिंडिएछ भने तल वस्नेले माथि तिर मुंग्रो वजार्न थालिहाल्छ । अपार्टमेन्ट एरियामा सुरक्षाको अवस्था पनि अन्य आफ्नै घर वनाएर वस्ने क्षेत्रको भन्दा कमजोर रहेको पाइन्छ । फेरी अपार्टमेन्टमा तिर्ने पैसामा अलिकति थप गर्‍यो भने पछि आफ्नै घर पनि हुन्छ भन्ने लोभ पनि मनको अर्को कुनामा रहन्छ ।

जे भएपनि मनमा रहेका सवै कुराहरुलाई एकातिर थाती राखेर लुइभेलमा घर सुरु भएको छ । यो थाप्लोमा मासिक नेपाली रुपियाँ १ लाख ५० हजार जति प्रति महिना ऋण थपिएको छ । वुवाले तेह्रथुममा वनाइदिएको घरमा ८ वर्ष बसें । आफैंले भक्तपुरमा वनाएको घरमा ८ वर्ष पनि वसिन । अब हजार तर्कना गरेर वनाएको यो घरमा म कति वस्छु आफैले अनुमान गर्न सकेको छैन । म किन पहिलाका घरहरु छाडेर फेरी अरु घरको पछि दगुरिरहेको छु । आफैंले बुझेको छैन ।

 

तपाइँको प्रतिक्रिया