ताल फुट्ने डर फैलाएर पैसा कुम्ल्याउँदै

Glacier-melting--Lake-Imj-001एउटा अण्डाको पैंसठ्ठी रुपियाँ र एक वोरा चामलको नौ हजार तिरेर खाइरहेका छन् खुम्वुवासी । सरकार र राज्यको आँखा नपरेको यो क्षेत्रका स्थानीयबासी एक–दुईवटा एयरलाइन्सको भरमा बाँचेका छन् । प्राकृतिक रूपमा खुम्बु जति सुन्दर छ यहाँको दुःख त्योभन्दा कम दर्दनाक छैन । तर यही ठाउँमा पुगेर झूटा सपना देखाउनेहरूविरुद्ध स्थानीयबासीहरू अब एक भएका छन् ।

प्रकृतिको दोहन मात्रै गरिएको तर त्यसको लाभ आफूहरूले नपाएको भन्दै स्थानीयबासीहरू आक्रोशित भएका हुन् । सोलुखुम्वु जिल्लामा अवस्थित इम्जा–चो ताल फुट्ने हल्ला फिँजाएर स्थानीयबासीलाई आतंकित पार्दै विभिन्न ताल फुट्ने डर देखाएर एनजीओ, आईएनजीओ र सरकारी कर्मचारीसमेतले दोहन गरिएको रकम आफ्नै पोल्टामा पारेका छन् । त्यसबाट आफूहरूले केही नपाएको भन्दै आक्रोशित भएका स्थानीयबासीले अबदेखि सो क्षेत्रमा एनजीओ र आई एन जी ओको नाममा सपना बाँड्न पुग्नेहरूलाई प्रवेश नदिने घोषणा गरेका छन् ।

केही समयअघि अमेरिकन संस्थाले इम्जा–चो ताल हेर्नका लागि जडान गरिएको सीसीटीभीको बारेमा केही सञ्चार माध्यमले भ्रामक समाचारसमेत सम्प्रेषण गरे । सगरमाथा प्रदूषण नियन्त्रण समितिका महासचिव लामाकाजी शेर्पा भन्छन्, ‘पन्ध्र–सोह्र वर्षअघिदेखि नै इम्जा फुट्छ भन्दै एनजीओ र आईजीओले हल्ला फिजाई स्थानीयलाई त्रास फैलाए । यसरी त्यहाँ प्रत्येक वर्ष आठ नौवटा समुह पुग्ने गर्छन् । ती पनि हेलिकोप्टर र प्लेन चढेर ।’

इम्जा तालको पानी फाल्ने मान्छेबाहेक अध्ययन र अनुसन्धानका नाममा आउनेहरूलाई अबउप्रान्त प्रवेश निषेध गरिएको छ । ताल फुटेको खण्डमा सवैभन्दा ठूलो असर फाकदिङ क्षेत्रमा पर्ने बताइन्छ । विज्ञहरूको सुझाव छ, साइरन जोडौं । तर  साइरन जोडेर मात्रै निकास हुनसक्छ ? अन्य तरिका अपनाउनेतर्फ कसैको ध्यान पुग्न सकेको देखिँदैन । यो क्षेत्रमा तल्लो र माथिल्लो भेगका स्थानीयबासीबीचको आपसी विवादका कारण मोटरबाटो पुग्न सकेको छैन । जुविङ खरिखोलाबासी र खुम्बुबासीबीचको आपासी मनमुटावको कारण सडक निर्माण कार्य हुन नसकेको हो । मोटरबाटो निर्माण हुन नदिनमा हवाई माफियाहरूको समेत संग्लग्नता रहेको छ । हवाई माफियाहरूका कारण देश–विदेशमा नराम्रो सन्देश गएको स्थानीयबासीहरू बताउँछन् ।

केहीअघि हवाई सेवा वन्द हुँदा पर्यटकहरूले खर्च जुटाउन नसकेर आफूले लगाइराखेको जुत्तासमेत वेचेर खानुपर्‍यो। कोही पर्यटकले ज्याकेटसमेत बेचेर गाँसको जोहो गरे । राजधानी फर्किनका लागि जति पनि तिर्न पर्यटकहरू बाध्य भए । एक लाख तिरेर पर्यटकहरू काठमाडौं फर्किए ।

यस्ता घटना यस क्षेत्रमा हरेक वर्ष दोहोरिने गरेको स्थानीयबासीहरू सुनाउँछन् । उनीहरू प्रतिप्रश्न गर्छन्, ‘विश्वकै अग्लो शिखर हेर्ने आउनेहरूले यस्तो पीडा भोग्नुपर्दा बाहिर कस्तो सन्देश जाला ?’ यही सिन्डिकेट गर्न पाउने भएरसमेत हवाई माफियाहरूले वाटो निर्माण हुन दिइरहेका छैनन् । खुम्वु क्षेत्रमा सजिलोसित पुग्नका लागि पर्यटकहरूका लागि वैकल्पिक वाटो (हेवा तातेको) समेत वन्न नदिएको कारण स्थानीयबासीहरू समस्यामा परेका छन् । यो वाटो खुलेको खण्डमा एक दिन छिटो पर्यटकहरू खुम्वु क्षेत्रमा पुग्ने सक्ने अवस्था छ ।

खरिखोलामा सिजनका बेला दैनिक चालीसदेखि पचासको संख्यामा राँगा काटिन्छ । तर त्यो मासु चार–पाँच दिनमा मात्रै आइपुग्ने हुँदा स्थानीयबासी ताजा मासु खानबाट वञ्चित छन् । उनीहरूले ताजा मासुका लागि त्यही क्षेत्रमा वधशाला निर्माण होस् भन्ने चाहेका छन् ।

लुक्लाको सुर्के भन्ने स्थानसम्मका लागि प्रस्ताव गरिएको मोटरबाटोको नयाँ बजेट आउने बित्तिकै काम सुरु गरिहाल्ने पक्षमा छन् खुम्बुबासी । तर त्यसको लागि विरोध गर्नेहरूलाई वार्तामा बस्नसमेत आग्रह गरिएको छ । खच्चड पनि जान नदिने र मोटरवाटोसमेत जान नदिने तथा वैकल्पिक वाटो (हेवा तातेको वाटो) पनि निर्माण हुन नदिएका कारण मर्कामा परेको उनीहरू सुनाउँछन् । तल्लो क्षेत्रका वासिन्दा नसुध्रिए र यस्तै अडान लिइरहे उनीहरूलाई सगरमाथा आरोहणका लागि माथि जाने वाटो नै वन्द गराइदिने तथा खुम्वु क्षेत्रमा प्रवेश गर्न नदिने रणनीति वनाइरहेका छन् यहाँका स्थानीयबासीहरू । बरु आफूहरू सहकार्य गर्ने तयार रहेको खुम्वुवासीहरू सुनाउँछन् ।

तर तल्लो भेग खरिखोला क्षेत्रका स्थानीयवासीले नमानेको अवस्थामा परिस्थिति जटिल बन्ने देखिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जस“ग मिलेर सगरमाथा क्षेत्रबाट उठेको पचास प्रतिशत वफर जोनले पाउँदै आएको छ र सो रकम स्थानीय विकासमा खर्च हुनुपर्नेमा हुन सकेको छैन । वार्षिक रूपमा सगरमाथाको रोयल्टीमार्फत मात्रै राज्यले तीस करोड उठाउने भए पनि सरकारले तीन प्रतिशत रकमसमेत सो क्षेत्रमा खर्च गर्न कञ्जुस्याइँगरिरहेको छ । स्थानीय क्षेत्रको विकास निर्माणमा सो रकम खर्च गर्ने माग गर्दासमेत उनीहरूले पाइरहेका छैनन् । खुम्वु क्षेत्रमा रहेको एसएसपी नामक संस्थाले सगरमाथा सरसफाइ अभियान चलाइरहेको छ । सो संस्था चलाउनसमेत धौधौ परेको महासचिव शेर्पा सुनाउँछन् ।

(आलेखहिमशिला पत्रीकाबाट । फोटो-ए एफपी )  

तपाइँको प्रतिक्रिया