कोहि जरिवाना तिरेर रुँदै नेपाल फिर्ता, कसैले उद्दारकालागि हारगुहार
● नारायण पासवान / साउदी अरब
यो मार्च महिनाको शुरूमै साउदी अरबको अबकिक स्थित एस ए एस कम्पनीका एक दर्जन पीडित कामदारहरूले हामीलार्इ आफ्नो क्याम्पमै बोलाउनुभयो । एनआरएनए साउदी अरबका अध्यक्ष र म त्यहाँ पुगेर वहाँहरूका सबै दुख र समस्याहरू सुन्यौं । वहाँहरूसँग रहेका कागजातहरू पनि हेर्यौं । वहाँहरूकै ईकामाका (मन्जुरी नामा र शर्तहरु)को आधारमा इन्टरनेटबाट त्यो कम्पनी (सस्) हरियोमै भएको पनि पुष्टी गर्यौं । वहाँहरूलार्इ कम्पनीसंग मागेरै पनि काम गर्न, हडताल या झै झगडा नगर्न, कम्पनी छोडेर नभाग्न र उद्धारका लागि आफ्नै रोजगारदाता कम्पनीका मालिकसँग बारम्बार अनुरोध गरिरहन आग्रह गर्यौं। नेपाली दूतावासमा समेत सम्पर्क गरी न्याय र उद्धारका लागि अनुरोध गर्न सल्लाह दियौं । संएनआरएनए साउदी अरबका अध्यक्षज्युबाट पीडितहरूको नामावली र समस्याहरू उल्लेख गरेर संस्थागत अनुरोध सहितको पत्राचार पनि गर्नुभयो जुन संस्थाको ग्रुप मेल मार्फत म आफैं एनसिसी सह कोषाध्यक्ष भएकाले मैले पनि पाएँ । पत्र तल संलग्न छ र यो पत्राचार भएको आज २३ दिन बितिसकेको छ । दूतावासबाट फोन सम्पर्कसम्म भएको छ । तर कम्पनी मालिकले एक जनालार्इ पनि न्याय र उद्धार गरेको छैन । (उद्दारकालागि आग्रह गरिएको पत्र र उद्दार गर्नुपर्नेहरुको फोन नंबर भित्र राखिएको छ)।
म ती पीडित कामदारहरूसँग नियमित सम्पर्कमै छु । कूल ११ जना पीडित कामदारहरूमध्ये हालसम्म ५ जना मात्र स्वदेश फर्किन पाउनुभएको छ । स्वदेश फर्किने ती पाँच जनाले पनि जनही ७ हजार ५ सय साउदी रियाल सम्मको जरिमाना तिरेर धुरू धुरू रूँदै जानुभएको छ । यो सबै जरिमाना (सरकारी) रोजगारदाता कम्पनीलेनै तिर्नुपर्ने थियो । ती पीडित कामदारहरूको कुनै दोष थिएन यसमा । अझै पनि लोक आचार्य, तेज कार्की, सुरेश रार्इ, दिर्घमान कार्की, हर्क माझी र पेटे नेम्बाङ स्वदेश फर्किने प्रतिक्षामै पिल्सिरहनुभएको छ । बितेको २३ दिनमा वहाँहरूको अवस्थामा कुनै सुधार भएको छैन । वहाँहरू कहिले र कसरी स्वदेश फर्किन पाउनुहुने हो, कुनै टुंगो लागिसकेको छैन ।
पीडितहरू रहेको यस पूर्वी क्षेत्रमा नेपाली दूतावासका स्थानिय कर्मचारी पनि कार्यरत हुनुहुन्छ । एनआरएनए साउदीकै पनि दुई जना अवैतनिक प्रतिनिधीहरू हुनुहुन्छ । वहाँहरू दुई जना हाम्रो संस्थाको उच्च पदमा आसिन आदरणिय ब्यक्तित्व पनि हुनुहुन्छ । अझ एकजना त यस क्षेत्रका कामदारहरूका यस्तै समस्याहरू हेर्नेगरी गठित लेबर टास्क फोर्स कमिटीका संयोजक पनि हुनुहुन्छ । अध्यक्षज्युको ग्रुपमेल मार्फत वहाँहरूले पनि पक्कै पाएकै हुनुपर्छ । मजस्तो एउटा कामदारको सिमा भनेको सस् कम्पनीको क्याम्पभित्र पुग्दा पनि एक खालको जोखिम मोल्नुपर्ने हुन्छ । वहाँहरूको मालिकसँग मैले कुरा गर्नै मिल्दैन । मालिकसँग कुरा नगरी वहाँहरूको न्याय र उद्धार सहज रूपमा सम्भवै छैन । यसर्थ म बिशेषगरी नेपाली राजदूतावास र यस क्षेत्रमा खटिनुभएका दूतावासका कर्मचारी तथा प्रतिनिधीज्युहरूलार्इ यस्ता पीडित कामदारहरूको न्याय र उद्धारमा जुटिदिनुहुन बिनम्र अनुरोध गर्न चाहन्छु । हाम्रो सानो सकृयताले पीडित कामदारहरूलार्इ थोरै भएपनि मनोबैज्ञानिक शान्ति, आसा र राहत मिल्नसके हाम्रो समाजसेवा केही हदसम्म अर्थपुर्ण हुनेथियो भन्ने मेरो बुझार्इ हो ।
श्री उपनियोग प्रमुख (NRN Focal Point) ज्यु
नेपाली राजदूतावास
रियाद, साउदी अरब
बिषयः पीडित कामदारहरूको उद्धार गरिदिनुहुन
उपरोक्त बिषयमा साउदी अरबको पुर्बी क्षेत्रभित्र अबकिक (एनाखेल)मा स्थित SAS कम्पनीमा कार्यरत कूल १२ जना नेपाली कामदारहरूमध्ये ११ जना निम्न बमोजिमका समस्याहरूमा पिल्सिरहेकाले यी कामदारहरूको उद्धारको पहल गरिदिनुहुन गैर आवासीय नेपाली संघ साउदी अरब नेपाली दूतावासलार्इ अनुरोध गर्दछ ।
समस्याहरूः
(१) करारनामा २ बर्षको भएता पनि ४ बर्ष भैसक्दा पनि स्वदेश फर्किन नपाएको
(२) घर जान दिने भनी १ बर्षसम्म क्याम्पमा राखेको, काम नदिएको र धेरै रोइ करार्इ गरेपछि खाना खर्च भनी महिनामा १०० रियाल मात्र दिने गरेको
(३) इकामा रिन्यु नगरिदिएको
(४) भागेर जेलमा परेकामध्ये केहीलार्इ कम्पनीले स्वदेश फर्काउने शर्तमा जेलबाट फिर्ता ल्याएको, कागजात तयार पार्न भनी जनही ४ हजार रियाल असुलेको, केही दिनको मात्र म्याद राखी कागजात बनाइदिएको तर पनि स्वदेश नफर्काएको
SAS कम्पनीका साउदी मालिक Mama Al Sabin हुन र उनको मोबाइल नम्बर 0545552226 हो । कामदारहरूसंग, करारनामा, श्रम स्वीकृति, पठाउने म्यानपावर कम्पनीको भिजिटिङ कार्ड लगायतका कागजातहरू सुरक्षित छन । हामीसंग पनि ति कागजातहरूको प्रतिलिपी छ र आवश्यक पर्दा उपलब्ध गराउन सकिनेछ ।
कामदारहरूको नामावली, गृह जिल्ला र मोबाइल नम्बर सहित यस प्रकार छः
१. लोक आचार्य, खोटाङ, ०५४३१३४९७२
२. नबिन किशोर मगर, सोलुखुम्बु, ०५०६६४९२४५
३. तेज बहादुर कार्की, सोलुखुम्बु, ०५९८६८३७३४
४. टेक बहादुर रार्इ, सोलुखुम्बु, ०५६४४८५१७७
५. राजमान रार्इ, सोलुखुम्बु, ०५६४४२०२६९ (इकामा नम्बरः २२६६९१७५५४, चेक गर्दा, कम्पनी हरियोमा रहेको)
६. सुरेश रार्इ, सोलुखुम्बु, ०५५८४६३७६३
७. दिर्घमान कार्की, मोरङ, ०५८२५७२०३८
८. हर्क बहादुर माझी, रौतहट, ०५९३५४६३३९
९. जस कुमार रार्इ, सोलुखुम्बु, ०५०६६४८५८३
१०. पेटे नेम्बाङ, पांचथर, ०५८७५८५६३०
११. प्रदिप रार्इ, खोटाङ, ०५९९५८९७१६
१२. शिब नारायण यादव, धनुषा,०५९४०६१७६८, समस्यामा नरहेको, छुट्टीबाट फर्केर हाल काम गर्दै
यी सबै कामदारहरूलार्इ मार्भलस इम्प्लोइमेन्ट प्रा.लि.बाट रिञ्जी रार्इले जनही रू. ९० हजार भन्दा बढी नै असुलेर साउदी अरबको यस कम्पनीमा पठाएका थिए । उक्त रकमको रसिद भने कसैलार्इ पनि दिएका थिएनन ।
(तस्विर- एन आर एन साउदी अरेबिया)






