के के हुन त गैह्र आवासिय संघका तिन मुख्य उद्देश्य ?

women-programme-8-march-2009-155डा उपेन्द्र महतो

 

म के भन्न चाहन्छु भने गैह्र आवासिय नेपाली भनेको जो नेपाली नागरिक वा उसको आमा, बुवा, बाजे बज्यै नेपाली नागरिक भएको र आज उ बिदेशी नागरिकता लिइसकेको ब्यक्ति यदि चालू आर्थिक वर्षको छ महिनाभन्दा बढि (१८२ दिन भन्दा बढि) सार्क मूलुकभन्दा बाहिर बसोबासगर्ने सबै नेपालीहरु गैह्र आवासिय नेपाली मानिन्छन् ।

 

यो परिभाषानै यति भेगर यति स्पष्ठ छ कि तपाईले आएर फार्म भर्नु पर्दैन । तपाईले आएर कहिँ माग गर्नुपर्दैन । तपाई स्वत: गैह्र आवासिय नेपाली हुनुभो । त्यसैले गर्दाखेरि गैह्र अवासिय नेपालीले राम्रो गर्छ भने तपाइहरुलाई राम्रो हुन्छ । नराम्रो गर्छ भने तपाईहरुलाई पनि नराम्रो हुन्छ ।

 

तपाईहरुले यो महतोले, त्यो फूल बहादुर र उ त्यो कूल बहादुरले गरेको हो भन्न पाउनुहुन्न । किनभने तपाई हामी सबै गैह्र आवासिय नेपाली हौं । त्यसकारण तपाई हामी सबैको जिम्मेवारी के छ भने गैह्र आवासिय नेपाली प्रत्येक ब्यक्तिले गैह्र आवासिय नेपालीको उद्देश्य अनुरुप राम्रा कामहरु मात्रै गरोस । राम्रा कुराहरु मात्रै गरोस । यदि कसैले सहि समयमा सहि काम गरेको छैन भने त्यसलाई उसको जिम्मेवारी बुझाउने र उसलाई समयमै हटाउनेपनि तपाई हामी सबैको साझा जिम्मा हो ।

 

गैह्र आवासिय नेपाली संघ कतिलाई मन नपरेकोपनि छ । किनभने हामीले सानैदेखि केहि कुराहरु यस्ता सिकेका हुन्छौं कि सबै कुरा मन पराउन सक्दैनौं । यहाँ त कमसेकम भगवानपनि एउटा छ । हामीकहाँ त भगवानपनि यति धेरै छन् कि हामी त सानैदेखि भगवानको नाम लिँदा लिँदैपनि थाक्छौं । त्यसले गर्दाखेरि संघसंस्थापनि हामी कहाँ अति धेरै छन् । अनि त्यसलेगर्दा के हुनेरहेछ भने सबै सँगै मनपराउन सक्दैनौं । तर म आज के भन्न चाहन्छु भने तपाईहरुलाई मन परेपनि नपरेपनि तपाईहरु यो संघको सदस्य हुनुभो । कुनै कुनै कुरा खाएपनि हुन्छ नी एलर्जी । त्यसकारण कुनै साथीलाई यदि मन पर्दैन र गैह्र आवासिय संघ सँगै कुनै साथीलाई एलर्जी छ भने उसको एउटा मात्रै औषधी हो, त्यो के भने वर्षको छ महिना भन्दाबढि नेपालमा बसिदिने ।

 

त्यसपछि तपाईलाई कसैले भन्नै सक्दैन कि तपाई गैह्र आवासिय नेपाली हो । अनि गैह्र आवासिय नेपाली संघले गरेको नगरेको केहिपनि कुराको तपाईलाई मतलब हुँदैन । तर तपाई हामी आज बाध्यताबस भनौं, तपाई हामी आफ्नो विशेष कारणले भनौं अथवा आफ्नो ईच्क्षाले भनौं, आज बिदेशमा बसिरहेका छौं । त्यो बिदेशमा बस्ने कुराले गर्दा गैह्र आवासिय नेपाली संघको तपाइहरु सबै सदस्य हुनुहुन्छ । तपाईहरु सबै सदस्य भएको हुनाले यो संघलाई कसरि अगाडि बढाउने, यो संघले के गर्ला, कस्ता खालका राम्रा कामहरु गर्नुपर्छ भन्ने जिम्मेवारीपनि तपाई हामी सबैको छ ।

 

यो गैह्र आवासिय नेपाली संघको जम्मा तिन वटा उद्देश्य छ । बैधानिक रुपमा हेर्ने हो भने बिधानमा अलि राम्रा शब्दमा लेखिएका छन् । तर बुझ्ने शब्दमा भन्ने हो भने यसको सबैभन्दा पहिलो उद्देश्य के हो भने विश्वभरि रहेका नेपालीहरुलाई कसरि एक अर्कामाझ चिनापर्ची गराईदिने ? सबैभन्दा ठूलो कुरा के भने जबसम्म हामी चिनाजानी हुँदैनौं, जबसम्म हामीलाई कुन देशमा कति नेपाली छन् र ति के गरेर बसिरहेका छन् भनेर जानकारि हुँदैन तबसम्म तपाई हामीले केहिपनि गर्न सक्दैनौं । त्यसैले तपाई हाम्रो सबैभन्दा ठूलो जिम्मेवारीनै के थियो भने विश्वभरि छरिएर रहेका नेपालीहरुलाई कसरि एउटै सञ्जालमा ल्याइदिने ? कसरि एकिक्रित गरेर चिनाजानी गराइदिने ? कुन देशमा कति मानिस छन् ? ति के गर्दै छन् भन्ने कुराको जानकारि गराईदिने ?

 

त्यो मामलामा हामी धेरै हदसम्म सफल भएका छौं । ४६ वटा देशमा हाम्रो समन्वय परिषद खडा भइसकेको छ । र हाम्रो लक्ष्य अनुसार अब आउने अक्टोबर महिनामा जुन चौथो विश्व सम्मेलन हुन्छ त्यो बेला सम्ममा ५० वटा देश पुर्‍याउने । त्यो लक्ष्य पुरा हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु । तिमध्ये अहिले कुरा चलिरहेको फिलिपिन्स, कम्बोडिया, लिबीया, लाओस, स्विडेन र तान्जानिया छन् । त्यसले गर्दाखेरि कम्सेकम यि मध्ये चारवटा देशमा गठन हुनेछ । हाम्रो लक्ष्य पुरा हुनेछ ।

 

दोस्रो उद्देश्य के हो भने हामीलाई नेपालमा मात्रै समस्या छैन । बिदेशमा बस्दापनि हामीलाई त्यत्तिकै समस्या छ । हामीलाई पर्ने समस्याहरुलाई साझारुपमा, अन्तर्राष्ट्रिय मञ्चको रुपमा उठाइदिने एउटा संस्थाको आवश्यकता थियो । आज खाडीमा कुनै समस्या छ भने त्यहाँको समस्या उठाईदिने खाडीमा बस्ने नेपालीहरुले मात्रै होइन । अमेरिकामा बस्ने र अष्ट्रेलियामा बस्ने नेपालीलेपनि त्यो कुरा उठाइदियो भनेदेखि त्यसलाई अन्तर्राष्ट्रियकरण भनिन्छ । यो हामी सबै नेपालीको साझा समस्या हो र त्यो साझा समस्या हल गरिएन भने सारा विश्वभरिका नेपाली त्यसको बिरोधमा जान्छन् भनेर देखाउनपनि एउटा अन्तर्राष्ट्रिय मञ्चको आवश्यकता थियो ।

 

अन्तर्राष्ट्रिय मञ्चले जुन देशमा हामी बसिरहेका छौं त्यो देशका नेपालीहरुलाई के कस्ता समस्याहरु छन् ति समस्याहरुलाई कसरि समाधान गर्न सकिन्छ । ति समस्याहरुलाई कसरि हामीले केलाउन सक्छौं । कसरि त्यो कुरालाई आवाज उठाइदिन सक्छौं भन्ने रुपमा सबभन्दा पहिला बिभिन्न देशमा बसिरहेका नेपालीहरुका समस्यालाई कसरि अगाडि बढाउने भन्ने दोस्रो उद्देश्य रहेको छ । त्यसमा केहि हदसम्म हामीले समस्या बुझ्न थालेका छौं । समाधानका केहि बाटोहरुपनि पाएका छौं । तर यो समस्या र समाधान भनेको जिवनभरि आईराख्ने कुरा हो । त्यसले गर्दा त्यो बाटोमा अझै हामीलाई हिँड्नुपर्ने छ । त्यो बाटोबाट हामी डराउनु हुँदैन ।

 

तेस्रो उद्देश्य के हो भने बिदेशमा बसेर जुन हामीले दुई पैसा कमाएका छौं बुद्दी कमाएका छौं केहि अनुभव पाएका छौं । त्यसका केहि अंश नेपाल लैजाने । पूर्ण अंश होइन । तपाईहरुले पूर्ण अंश नेपालमा लैजानु भयो भनेपनि त्यसलेपनि गैह्र आवासिय नेपालीहरुलाई घाटा छ । के घाटा छ भने तपाई नेपालमा गएर राम्रो गर्न सक्नुभएन भने तपाईले कमाएको, जाने बुझेको सबै कुराहरु बर्बाद हुन्छ । हामीलाई कमजोर मानिस होइन, बलियो मानिसको आवश्यकता भएको हुनाले तपाईहरुसँग भएका पूँजी, ज्ञान, अनुभव नेपालको बिकासमा लगाउने । आर्थिक बिकास मात्रै होइन कि नेपालको चौतर्फी बिकास: सास्क्रितिक, शैक्षिक, बौद्दिक विकासमा कसरि हामी सहभागि हुन सक्छौं ? त्यो सहभागिपनि हामी ब्यक्तिगतरुपमा होइन कि सामूहिक रुपमा कसरि हुनसक्छौं भन्ने उद्देश्य गैह्र आवासिय नेपाली संघको रहेको छ ।

 

(गैह्र आवासिय नेपाली संघका अध्यक्ष डा उपेन्द्र महतोले अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८, २००९ का दिन पेरिसमा आयोजित प्रथम यूरोपस्तरिय नेपाली महिला सम्मेलनमा दिएको मन्तब्यको संपादित अंश । उनका मन्तब्यका अन्य महत्वपूर्ण भागपनि प्रकाशित हुँदै जानेछन् नेपालप्लस हेर्दै गर्नुहोला)

तपाइँको प्रतिक्रिया