बेपत्ता बाउ खोज्न शहर पसेकि छोरीको चिठ्ठी
● सरिता खनाल
आदरणिय आमा
नमस्कार, मुटुभरिको माया साथै धेरै धेरै सम्झना
म यहाँ सञ्चै छु । हजुर पनि आरामै हुनुहुन्छ होला भन्ने विश्वाश छ । बहिनी र भाईलाई मेरो मिठो सम्झना सुनाइदिनुहोला ।
आमा,
हिजो मात्र लागुपदार्थ दुर्व्यसनी सुधारकेन्द्रमा गएकी थिएँ । ठुलो भाईलाई भेटें । भाई पहिले भन्दा निकै मोटो र राम्रो भएका रहेछन । करिब १ घण्टा बसेर गफ गरेँ । भाई धेरै परिवर्तन भएछन । एकदम खुशी लाग्यो । उनी पनि खुशी भए मलाई भेटेर । भाईले नयाँ जीवन पाएका छन । अब उनी कहिल्यै पनि त्यस्तो दुर्व्यसनीमा फस्ने छैनन भन्ने मलाई विश्वाश लाग्यो । हिजो देखी भाईका कृयाकलाप देखेर ।
तर अझै १ बर्ष भाईलाई त्यही राख्नु पर्ने भो । यदि भाई असल बन्छन भने १ बर्ष हाम्रा लागि केही होइन आमा । हजुरले अब भाईको र मेरो चिन्ता लिनु पर्दैन । बरु गाउँ तिर केही पार्टीको दुर्गान्धित बतास चलेको छ रे । बैनीलाई त्यस बतासबाट जोगाउनु होला । नत्र बाकै हबिगत हुनेछ । अनि आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला । बेलाबेलामा सताइरहने श्वासप्रश्वास रोगको निकै ख्याल राख्नु होला ।
आमा,
मैले जागिर छोडें । अब नयाँ जागिरको खोजिमा छु । त्यति राम्रो जागिर किन छोडेको होला भनेर सोध्नु होला ! हुनत जागिर नराम्रो होइन । तलब पनि नराम्रो थिएन । आइ एन जि ओको मेरो जागिर आफ्नै कारणले छोडि दिएँ । मलाई कुनै गाउँमा सहजकर्ताको लागि तोकिएको थियो । म त्यहाँ पुगें । मेरा मुलायम वचनका औंलाले पीडित महिलाहरुको धक र संकोचका पर्दा पन्छाएर तिनको मनको मानचित्रमा लुसुक्क पसें । र त्यहाँ लुकिबसेका मर्म र व्यथाका कथाहरु खोजी खोजी बाहिर निकाल्न चाहें ।
तर विडम्बना मैले त्यसो गरेको मेरै हाकिमलाई मन परेन । हाकिमका अनुसार मैले अङ्रेजी पानीको स्वाद लिँदै रेस्टुरेन्टमा हाकिमसँग रातदिन मोजमस्ती गर्नु पर्ने रहेछ । मेरो मानवता र नैतिकताले त्यसो गर्न पटक्कै मानेन । अन्तत मैले संकल्प गरेँ जागिर छोड्ने।
आमा,
हिजो पाठेघरको क्यान्सरलाई धामी झाँक्रीको उपचार गर्दै मरेकी उर्मिला भाउजुलाई सम्झें । आङ खस्ने रोग लुकाएर मरेकी देबिका काकीलाई सम्झें । अनि यो आइ एन जि ओको ग्रामीण भेगका लागि भनेर तोकिएको सचेतना कार्यक्रम देखें । त्यसपछी डलर र डबलीमा उन्मत्त हाकिमको व्यबहारलाई नियाले । अनि लाग्यो, आइ एन जि ओको जागिर रस जति चुसिसकेको उखुको छोक्रा जस्तो । त्यसैले जागिर छोडिदिएकि हुँ ।
आमा,
खासमा म बाको खोजीमा शहर छिरेकी । शहर छिरेको पनि ५ बर्ष पुग्न आँट्यो । कतै अत्तोपत्तो छैन बाको । २०५९ सालको भदौ २४ गते ८ जना अपरिचित मान्छे सित निस्कनु भएको बा कहिँकतै हुनुहुन्न । पूर्व मेची देखी पश्चिम महाकालीसम्म प्रहरी कार्यालय, पार्टि कार्यालय जहिंतहीँ पुगें । अहँ कतै हुनुहुन्न । पार्टी कार्यालय देख्दा आगो झोस्न मन लाग्छ । पार्टीका बकम्फुसे मान्छे देख्दा मुखभरी थुक्न मन लाग्छ । क्रान्तिको ‘क’ नजान्ने मान्छे पार्टिका महामहिम छन । उनै महामहिमले अस्ती “तेरो बाउ मरिसक्यो । अब कार्यालयमा किचकिच गर्न नआइज” ठाडो पाराले भन्नु भो । मेरै बाको अतुलनिय योगदानले आज महामहिम कुर्चीमा खुट्टा हल्लाएर बस्नु भएको छ । शायद ति महामहिमका बाउ घरमा सुकिला कपडा लगाएर टि भि हेर्दै दिन बिताउनु हुन्छ होला । त्यसैले उहाँलाई आफ्ना बाको अनुपस्थितिको पिडा छैन । हाम्रो निम्न बर्गिय परिवारमा बाको मासिक ५ हजारको शिक्षकको जागिर कति महत्वपूर्ण थियो ति महामहिमलाई के थाहा ?
आमा,
बाको बारेमा बोल्दा बोल्दा घाँटि सुक्न थाल्यो । खोजीमा हिँड्दा खुट्टा फतक्क गलिसके । लेख्दा लेख्दा अचेल हात थर्थराउन थाले । तर मुटु भित्रको बा भेटिनुहुन्छ कि भन्ने एक पित्को आशाले शहर छोड्न सकेकी छैन । अघिल्लो पत्रमा हजुरले “घरको चिन्ता नगरेस बाको टुङो लगाएर मात्र घर फर्कनु । आत्मबल जुटाएर शहरसँग संघर्ष गर । सबै कुराको व्यबस्थित स्थान हो शहर । त्यहाँ जे खोजे नि पाईन्छ । तेरा बा त्यही नै छन । झिनामसिना कुरामा दिमाग नलगा । बुद्धी बिबेक र सिद्धान्तले पार्टिको घाँटि रेट्ने प्रयास गर । एकदिन त्यही शहर मै पार्टीले तेरो बाउलाई हाम्रा सामु खडा गर्नपर्छ” भन्नु भएको थियो । म आजित भए आमा म के गरुँ ?
हामीलाई यथार्थ ले निकै माथि पुर्याएको थियो । शहरको असंबैधानिक स्वाधिनताले मलाई गिज्जाइरहेको छ । म कहाँ गएर खोजु अब बालाई ? जिउँदो त आस मारिसक्यो मनले । अस्तु भएपनी पाउने आसमा लडिरहेकी छु । आखिर कतिन्जेल लड्नु ? खोइ हाम्रो आवाज सुनेको पार्टिले (सरकारले )? हामी जस्ता धेरै आवाजहरु छन यहाँ जसको परिवार बेपत्ताको सुचिमा समेत छैनन ।
आमा,
पत्रको अन्त्यमा म बाकै निम्ती न्यायका लागि लड्दै छु । हेरुँ कतिन्जेल चुप बस्दो रैछ पार्टी (सरकार) । न्यायको संघर्सका निम्ती मुटु बलियो बनाएर अस्तु भएपनी नलिई गाउँ नफर्किने मनस्थितिमा छु । आशिर्बाद तपाईंको ।
हजुरकी छोरी
स्वर्णिम





