आफैंलाई बेच्ने घिनलाग्दो निर्णय गरेको त्यो दिन
● मणिकुमार श्रेष्ठ / धनकुटा
पारिलो घाम, निश्चल मन, अनि तिनै सुरिलो रुपमा गुञ्जयमान भईरहेका आवाजहरु । सोच्दै थिएँ म । यो संसारमा महान मानव वन्नका लागि जन्मेको हु त ? कि यो घर्तीको वोझ हुनका लागि जन्मेको ? यस्तै शंका उपशंका, कति सत्य–कति नसत्य, कति पत्याउने–कति नपत्याउने, कति सक्ने–कति नसक्ने, कति वुझ्ने– कति नवुझ्ने, कति झुट–कति अझुट । सधैं मेरो मनमा यस्तै यस्तै सोचले सताईरहको थियो । तर पनि आफ्नो दुई मुट्ठीको मनलाई सम्हाल्दै सोचेर घोत्लिएको थिएँ म ।
यो महामानव भनाउँदाहरु आज हाम्रो अधिकारको कुरा गर्दै हिँडिरहँदा म काँडै काँडाको पर्खालमा हिँडिरहेको छु । यता लड्दा पनि मर्न सकिन्छ, उता लड्दा पनि मर्न सक्छु ! काँडामाथि हिँड्दा पनि मेरा खुट्टाको पाइतालामा सियो जस्तै च्वास्स च्वास्स घोचेको आवास भईनैरहन्छ । हो ! म यस्तै समस्या र अवसरको विच वाटोमा हिँडिरहेको छु । मलाई लाग्छ , यो जिन्दगी वढो तानाशाही तरिकाले चलिरहेको छ । जस्तोसुकै समस्या भए पनि दुइ मुट्ठीको सास वचाउनका लागि भएता पनि यो जीवनलाई चलाउनै पर्यो नी त !
वाटाका छेऊहरुमा फूलै फूलका वगैचाहरु रहेका छन् । तर पनि ति फूलहरुले वासना मात्र छरिरहेका छन् । म टिप्न खोज्छु । फूल नै झर्ने हो कि भन्ने डर लाग्छ मलाई । तर पनि फूल त फलै हो ऊ फूलिरहन्छ । यो समाजमा कुरा काट्नेहरु कुरा मात्र काटिरहेका छन् । यस्तो अवस्थामा म केही संघर्षको कुरा गर्न खोजीरहेको छु ।
हो ! यस्तै छ नेपालको अवस्था । जताततै तनावै तनाव । अनि जताततै इश्र्या र डाहा मात्रै । यस्तो अवस्थामा संघर्षका कुराहरु कति गर्न सक्छु होला र मैले ? तर जे जति भएपनि आफैंले भोगेको केही कुराहरुलाई यस संस्मरणको माध्यमबाट जीवनका भोगाईहरुलाई उल्लेख गर्दै गर्दा गाउँघरमा चलन चल्तीमा आएको एउटा उखानको याद आयो । “वुझ्नेलाई श्रीखण्ड नवुझेनेलाई खुर्पाको वीड ।”यो उखानले नपाली समाजका मात्र होइन देश विदेशमा समेत सान्दर्भिक हुँदो रहेछ । हाम्रो देशका मानिसहरु त यस्ता पनि भेटिन्छन् कि कोही मान्छे यो समस्या हो भनेर पन्छिँदै छन् । कोही यो समस्या भनेको त अवसर पो हो त भनि समस्यालाई चिरफार गर्दे अवसरको लागि दौडिरहेका छन् ।
म पनि यो समस्याबाट अछुतो भने रहन सकिन । आज मेरो मनमा यस्तै किसिमको अनैको प्रकारका आवाजहरुले सताईरहेको छ । यो मानव भएर यस धर्तीमा जन्म लिएपछि नमरुञ्जेल विभिन्न प्रकारका समस्याहरुसँग जुध्नुपर्ने । अनि तिनै समस्याहरुलाई पन्छाउँदै सुनौलो अवसरको खोजी गर्नु पर्ने । यसरी अवसरको खोजी गर्ने क्रममा भोजपुर जिल्लामा रहेको त्यो सानो गाउँ कुलुङ गाविसको भुपडी र वस्तीहरुलाई छाड्दै २०६० सालमा शहरका महलहरुलाई नियाल्नका लागि सवैलाई विदा गर्दै मलेशियाको लागि यात्रा सुरु भयो मेरो ।
म तुम्लिङ्टारकाको विमान स्थलबाट आफ्नो यात्रा शुरु गर्ने वेलामा बुवा कृष्णबहादुर, आमा गंगादेवी र कान्छी दिदी विष्णु मलाई विदाई गर्नका लागि विमान स्थलसम्म आउनु भएको थियो । मलाई विदाई गर्नका लागि विमान स्थलको भित्रको गेटसम्म आउनु भएको थियो । हो , त्यो विदाइका क्षणहरुमा आफुलाई सम्हाल्दै वुवा आमा दिदी अनि त्यो प्यारो गाउँलाई केही समयका लागि विदा गर्दै म यती एयरको जहाज चढेर काठमाण्डौको लागि गन्तव्य तयार गरिरहेको छु ।
यतिकैमा म चढेको जहाजले आफ्नो अडान सुरु गर्दछ । आमा वुवा अनि दिदीको अनुहारलाई नियाल्दा नियाल्दै जहाज तुम्लिङ्टार विमान स्थल नदेखिने गरी छलिँदै आयो त्यो विमान ।
मेरो मलेसिया पुग्ने र घरबाट हिँड्ने संयोगले एकै दिन परेको थियो । म ०६० सालको श्रावण २२ गते घरबाट हिडेर संखुवासभाको तुम्लिङ्टार विमान स्थलबाट आफ्नो हवाई यात्रा सुरु गरें। यो मेरो पहिलो विमान यात्रा थियो । कता कता मनका आशंका र डरहरुले सताइएका थिए । तुम्लिङ्टारबाट उडान भएको ३५ मिनेटमा नै विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको आन्तरिक विमानस्थलमा अवतरण भयो । त्यो विशाल विमानस्थलमा म उत्रेर बाहिर आएपछि मेरा गाउँले साथी चुढामणि घलेले मलाई सम्कर्प गर्नु भयो । मलाई मलेशिया उडाउनका लागि मेनपावरसम्म पुर्याउनुहुने गाउँले दाई संजीव रोकाहासंग मेरो भेट भयो । सो भेट पश्चात मैले आफुलाई विदेश जान लाग्ने रकम रु ८५ हजार रुपैया दिएर आफुलाई आफैले वेच्ने घिनलाग्दो निर्णय गरें ।
अव लाग्यो मलाई मैले वेचिसकेको छु । अव म मलेशियामा कामदारको रुपमा जानुपर्छ । हो, म अब साँच्चै नै जानुपर्छ विदेश । यस्तै किसिमको तरङ्गले मेरो मनमा फेरी राज जमाईरहेको छ । यतिकैमा मेरो अन्तरराष्ट्रिय विमान स्थलमा जाने समय भएको जनाउ आउँछ ।
म आफ्नो सानो झोलामा एक जोडी लुगा बोकेर आफ्नो विदेशको यात्रा तयार गरिरहेको छु । म कतार एयरको विमानबाट आफ्नो मलेशिया यात्राको लागि आफुलाई निर्देशित गर्दछु । लाग्छ , मलेशियामा पुगेपछि म भन्दा केही वर्ष अगाडी सो देशमा पुग्नु भएको दाजु वेलकुमारलाई भेट्न पाउने छु । तर अपसोच जव चार घण्टा पन्ध्र मिनेटको विमान चढाई पछि म सहित मेरा एघार जना साथीहरु आफुलाई मलेशियाको अनतर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको पाउँछौ । हाम्रो टिम मलेशिया पुग्दा मलेशियाको वेलुकीको नौं वजिसकेको हुन्छ ।
हामी सो विमानमा एउटै कम्पनीमा काम गर्नका लागि वाह्र जना विमानस्थलमा उत्रिएका थियौं । सो समुहमा आफ्नै गाउँ भोजपुर कुलुङ्गको चुडामणी घले, संखुवासभा खाँदवारीका मौसम आलेमगर, पश्चिम प्युठानका दिपक श्रेष्ठ, सहदेव श्रेष्ठ, निपेन्द्र श्रेष्ठ र प्रविण श्रेष्ठ, पुर्व इलाम गोख्रे गाविसका रणबहादर राई, रोजित राई, छिरिङ्ग तासी शेर्पा यसै गरी पश्चिम दाङ्गका वीर बहादुर कामी र काभ्रपलाञ्चोकका साथी पञ्चमान तामाङ्ग र म मणिकुमार श्रेष्ठ गरी हामी बाह्र जना मलेशियाको एयरपोर्टमा उत्रेर वसिरहेका हुन्छौ । यो समय हो २०६० साल श्राउन २२ वेलुकी नेपाली समय अनुसार वेलुकीको ७ वजे ।
एयरपोर्ट भित्र पुगेपछि मात्र थाहा भयो नेपाली मेनपावरका दलालहरुले वहुत मात्रमा ठगेका रहेछन् । नेपाली आफ्नो देशमा हुँदा सेवाको भावनाले भरिपुर्ण भएकाले होलान सायद त्यहाँ पनि नेपालका विभिन्न ठाउँबाट आएका नेपाली दाजुभाईहरु २२–२२ दिनसम्म पनि नेपाली दाजुभाईहरुसंग माग्दै दिनभरी आफुलाई पठाएको कम्पनीको मालिक कहिले आउँछ र अरु साथिहरुलाई जसरि लैजान्छ भनेर आशा गरिहरहेका हुँदारहेछन् ।
यसरी यस्तै रमिता हेर्दै जाँदा हामीलाई लैजाने इको उड कम्पनीको क्याप्टेनले हाम्रो कम्पनीको नाम लिएको आवाज सुनेपछि हामी हर्सित हुन्छौं । तर त्यो हर्ष म र प्युठानका साथी दिपक श्रेष्ठको लागि क्षणिक मात्र रह्यो । अन्य १० जना साथीहरुलाई मात्र लिएर क्याप्टेन बाटो लाग्दछ । हामी अन्य साथीहरुसंग हात मिलाउँदै विदाई गरिरहेका छौं । आशुका धाराहरु आँखामा विरलै भम्रिरहका छन् । तर हामी दुई जना आफुलाई सम्हाल्छौं ।
त्यस पछि सो एयरर्पोटमा राम्ररी चिनजान भएका अव हामी दुई जना मात्र रयौं । अन्य साथीहरुको विडम्वनाको वारेका गफ गर्दे जाँदा एक जना साथीले भन्नुभो “मलाई सहयोग गर्नुहोस । मैले खाना नखाएको ७ दिन भईसक्यो ।” यो आवाज सुन्दा आफुलाई भोको हुने कुनै चिन्ता नै नगरी आफुसंग भएको एकवटा मात्र चाउचाउ उक्त शाथीलाई दिएको थिएँ मैले । उहाँ सायद सुदुरपश्चिमको हुनुहुन्थ्यो ।
हामी दुई जना साथी एक आपसमा दुःखः सुखका गफ गर्दै जाँदा मलेशियामा विहानको ७ वजेको रहेछ त्यसवेला । हामी अव त नेपाल नै फर्किनुपर्ने वेला भयो होला भनेर आफुलाई निराशा नवनाई अपसोच मनलाई दह्रो वनाई वसिरहेका थियौं ।
विमानस्थलको त्यो विशाल भवनमा हामी मुख धुन कहाँ जाने हो भनि खोजि गरि वसिरहेका हुन्छौं । त्यतिकैका हामीसंग गफ गरिहेका साथीहरुको कम्पनिका क्याप्टेन आएर शाथीहरुलाई लिएर जान्छ लाग्न थाल्यो । यो संसार अत्यन्तै निश्ठुरी रहेको छ ।
अव हामी नेपाली दाजुभाई मध्येमा म र दिपक मात्र वाँकी भयौं । केहीछिन पछाडी महिलाहरुको ठुलो समुह आएर हामी वसेको नजिकै आएर बसे । सो समुहमा गएर हामीले परिचय गर्दा ति महिलाहरु इन्डोनेशियाबाट आएका रहेछन । ति महिला दिदी वहीनीहरुले हामीलाई एकवटा चाउचाउ दिए । त्यसको नेपाली चाउचाउको जस्तो स्वाद नभए पनि भोक लागेको वेला हामी दुवै जनाले बाँडी चुँडी खायौं । यतिकैमा विहानको एघार वजीसकेको छ । यो समय हो २०६० साल श्रावण २३ गतेको ।
यसरी हामी दुई जना सोच्न थाल्यौ ,’अव हामीले मलेशियामा वस्न नपाईने भयो त ? नेपाल नै फिर्नु पर्ने भयो ?’ यस्तै यस्तै कुराहरु हाम्रो मनमा गुञ्जिरहेको थियो । ठिक त्यतिनै वेला हाम्रो कम्पनिको क्याप्टेनले हामीलाई खोजी गरिरहेको हामीले थाहा पायौं। हामी दुवै जना क्याप्टेनको छेऊमा गएर परिचित भयौं । यतिकैमा क्याप्टेनले हामीलाई त्यो मलेशियाको विशाल विमानस्थलबाट बाहिर निकाली हाम्रो कम्पनि र हाम्रा साथीहरु भएको तिर लिएर लाग्ने क्रम चलिरहेको थियो ।
कार कराईरहेको छ । त्यतिखेर त्यो रमाईलो ठाँउहरु भन्दा पनि अघिल्लो दिनदेखी नसुतेको कारणले होला कारमा नै निदाईएछ । कार पार्किङ्ग भएको स्थानमा आए पछि हामी कारबाट ओर्लिएर क्याप्टेनको पछि पछि लाग्यौं । त्यहाँ एउटा विशाल होटल थियो । त्यो होटलमा खाना खानको लागि हामी गएका रहेछौ भन्ने कुरा हामीलाई थाहा भयो । त्यही वेला क्याप्टेनले हामीलाई प्रति व्यक्ति मलेशियन १० रिंगेट दिएर खाना खानको लागि जानु भन्ने हामीले संकेत पायौं । हामी पनि खाना राखिएको ठाउँतिर लाग्यौ । विस्तारै खानाका परिकारहरु हेर्दै गयौं । त्यहाँ माछा मासु सवै प्रकारका खानाहरु राखिएको थियो । मैले त्यही दिन गोरुको मासु पनि खाए ।
अचाक्ली मिठो थियो हा । मी दुई जना नै गफिदै खाना खायौं । गफै गफमा अव त मलेशियामा काम गर्नका लागि आइएको छ । तर पनि हामीलाई हाम्रो साथीहरु भएको ठाउँमा नपुर्याएको कारणले अझै पनि मन मनै शंका लागिरहेको थियो ।
हाम्रो शंका केही छिनमा नै शंका मेटियो । किनभने हामी हाम्रा साथीहरु भएको ठाँउमा आईपुगेको थियो । अव भने खुसी लाग्यो । साथीहरुलाई भेटियो । यसरी नै ३ वर्षसम्म मलेशियामा काम गर्दा धेरै विदेशी तथा स्वदेशी साथीहरुको मायालाई मुटुमा साँच्दै म २०६३ साल श्रावण २८ गते तत्कालिन शाही नेपाली वायु सेवा निगमको जहाज चडेर नेपाल फर्कें । अझैपनि सम्झनाको तरेलीमा मलेशिया आईरहेको छ । लाग्छ , जिन्दगीका यात्राहरुमा धेरै काम गर्न बाँकी नै छ । त्यसैले त नेपालमा आएर पनि विभिन्न आरोह अवरोहको विचमा आफ्ना पढाईको साथ साथै पत्रकारिता र अन्य सहायक कामहरुलाई पनि निरन्तरता दिईरहेको छु ।
(लेखक क्रान्तिकारी पत्रकार महासंघ, नेपाल लिम्वुवान राज्य समितिका सह–संयोजक हुन्)





