देश छोड्न हतारिनेहरुको लर्को
● महिन्दो वाईबा / काठमाडौं
“नेपाल साच्चै अन्त्रराष्ट्रिय बजारको लागि कामदार उत्पादन गर्ने राष्ट्र भएछ” म सँगै पासपोर्ट लिन लाईनमा बसेका एक जना मित्र सुनाउँदै थिए । मिती बाँकी नै भएको हस्तलिखित पासपोर्ट म सँगै भएपनि एम आर पी (machine readable passport) बनाउन परराष्ट्र मन्त्रालय पुगेको थिएँ । उनी भर्खरै क्यानडाबाट छुट्टिकोमा नेपाल फिरेका । पासपोर्टको मिती सकिन लागेकाले नयाँ पासपोर्ट बनाउन आएका रहेछन । अहिले नेपाल सरकारले एम आर पी अर्थात् मेशिनले पढ्ने पासपोर्ट दिन थालेको छ । त्यहि भिडमा देखिएका महिलाको लाईन हो यो । पासपोर्ट छिटो चाहिएर यि देशका बिभिन्न ठाउँबाट काठमाडौं ओइरिएका ।
हुन त पासपोर्ट लिन उभिने जति यि सबै बिदेश पुग्छन् भन्ने होइन । तर महिना दिनमा जिल्ला जिल्लामा दिईने पासपोर्ट हप्तादिनमै लिन काठमाडौं आउनुले यो भिड जतिसक्दो चाँडो बिदेश हानिन हतारिएको संकेत गर्छ । अर्थात कतिपयका भनाईमा यो भिड बिदेशमा पलायन हुनकालागि हो । स्वदेशमा रोजगारीको समस्याले थिचिएका यि बिदेश जान हतारिएका छन् ।
तर दुखलाग्दो कुरो के भने अहिले त्यसरि बिदेशमा ओइरो लाग्न महिलाहरुको संख्या निकै जोस्सिएको देखिन्छ । यो भिडमा पासपोर्टका लागि उभिने महिलाहरुको अनुहार, पहिरन, तिनको अनभिज्ञता र हाउभाउले देखाउँछ, बिदेशमा शोषित हुने, यातन भोग्ने यिनै महिलामध्ये निकै पर्छन् । ति सोझा छन् । ईमान्दर छन् । बिदेश जानु अघि हुनुपर्ने ज्ञान र बिदेशमा काम गर्दा हुनसक्ने समस्या, भोग्नुपर्ने सास्ति, सामना गर्नुपर्ने कठिनाईबारे ति सचेत देखिँदैनन् । बिदेशमा हाम्रा चेलीले भोगेका समस्या बारेमापनि उति जानकार देखिँदैनथे । सरोकार भए झैं लाग्दैनथ्यो । लाग्थ्यो, देशको अवस्था यति जर्जर भएको छ कि, आर्थिक समस्याले यति पिल्सिएका छन् कि ति जस्तोसुकै जोखिमपनि मोल्न तयार छन् बिदेश गएर दुई चार पैसो कमाउने आशामा ।
एम आर पीकालागि दुख पाउँदै त हुनुहुन्न ?
सन २०१५ भित्रमा सबै हस्त लिखित पासपोर्टलाई एम आर पी मा बदलिसक्ने उद्देश्यले नेपाल सरकारले मिति नै नसकिएको हस्त लिखित पासपोर्टलाई लिएर एम आर पी दिन थालेको छ । त्यहि कारणले परराष्ट्र मन्त्रालयमा अहिले दैनिक हजारौं जनाले एक हप्तामा पासपोर्ट पाउनको लागि निवेदन दिने गरेका छन ।
यदि तपाईंलाई एक महिनामा पाएपनी हुने भए तपाईंले आफ्नै जिल्लामा पासपोर्टको लागि निवेदन दिन सक्नुहुन्छ । किनकि अहिले जिल्ला जिल्लाबाट त्यो दिने ब्यवस्था छ । एक महिनाभन्दा चाँडै पासपोर्ट चाहिएको हो भने तपाईंले दस्तुर दोब्बर तिरेर परराष्ट्र मन्त्रालयमा निवेदन दिनुपर्ने हुन्छ । तर १० बजे कार्यालय समय भयता पनि २ बजे देखी नै मन्त्रालय बाहिर भिड लाग्ने गर्छ । कारण एउटै हो, सबैलाई छिटो चाहिएको छ । ५ बजे सम्ममा हजारौंको उपस्थीती भईसकेको हुन्छ । । त्यसले पनि भीड अचाक्ली भएको हो । परराष्ट्रमा राति दुई बजेदेखि लाइनमा नबसे फारम बुझाउनै नसकिने स्थिति छ । त्यस भिडलाई सात बजे टोकन बाँडिन्छ । टोकन बाँडिसकेपछी त्यसमा नम्बर हुन्छ । सोही अनुसार अगाडि बढ्नु पर्ने हुन्छ । त्यसपछि भिड अली नियन्त्रीत हुन्छ ।
अहिले पासपोर्ट बनाउनेहरुमा महिलाको सङ्ख्यामा पनि उल्लेख्य ब्रिद्धी भएको छ । देशमा प्रजातन्त्र आएपछि धेरै क्षेत्रमा विकास र परिवर्तनहरू भएका छन् । महिलाले पनि शिक्षा, स्वास्थ्य, रोजगार, पत्रकारिता, राजनीति क्षेत्रमा सहभागिता गर्दै अगाडि बढ्ने मौका पाएका छन् । तर महिलामाथिको हिंसामा भने कमी आउन सकेको छैन ।
देशमा भखरै महिला हिंसा बिरुद्द १६ दिने अभियान समाप्त भएपनी नेपाली महिलाहरु अन्तर्राष्ट्रिय स्तरमा समेत हिंसामा पर्ने, शोषणमा पर्ने गरेका छन । श्रम शोषण, यौन शोषणको शिकार हुनु महिलाहरुको प्रमुख समस्या बनेको छ । पर्याप्त ज्ञान शिप नहुनु र अशिक्षित हुनु प्रमुख कारण हो ।
बैदेशिक रोजगारमा जाने नेपाली महिलाहरुको संख्यामा ब्रिद्दी हुनुमा एक त आफ्नो देशमा रोजगारको कमी हुनु, साथी, छरछीमेकको लहलहैमा लाग्नु हो भने बैदेशीक रोजगारमा जाने श्रीमानहरुले गर्ने ब्यवहार र पुरुषहरुको बेमानीले गर्दा पनि बढेको देखिन्छ । परिवारको आर्थिक अवस्था कमजोर भएपछि यहाँका हजारौँ महिलाहरु विदेश जान बाध्य छन् । युवाहरू विदेश पलायन भए सँगै महिलाहरु पनि बिदेश जान थालेपछी गाउँ सुनसान हुन थालेका छन् ।
विदेश जाने महिलाहरुमा पढेलेखेकाको संख्या पनि उल्लेख्य छ । प्रमाणपत्र र स्नातक तह उत्तीर्ण गरेका महिलाहरु समेत पासपोर्टका लागि आउने गरेका छन । हाल सिफारिस लिएकाहरू जिल्लामा एमआरपी ढिला आउने भएपछि राजधानी नै धाउने गरेका हुन् । अन्य देशहरुमा बिद्यार्थीको रुपमा महिलाहरु जाने भयता पनि खाडी मुलुकमा जाने महिलाहरुको कहानी डर लाग्दो छ । पहिलेको तुलनामा अहिले बैदेशिक रोजगारमा जाने महिलाको सङ्ख्या दोब्बरभन्दा बढेको छ ।








