चड्कन खाने प्रचण्डको गाला र महामहिमको हनुमान शैली

सोम थनेत / बेल्जियम

यसपालीको एन आर एन बेल्जियमको साधारण सभामा एक जना वक्ता देखियो । वक्ताको हतासिएको मनस्थिति र हस्याङ्ग फस्यांग देख्दा लाग्थ्यो, वक्तालाइ चितवनको ध्रुवे हातिले लखेटी रहेको छ । लाग्थ्यो, त्यो वक्ता चितवनबाट दौडँदै बेल्जियम आइपुगेको छ । ति वक्ता कुनै चानचुने थिएनन । ति वक्ता हुनुहुन्थ्यो, बेल्जियमका लागि महामहिम राजदुत राममणि पोखरेल । नेपालीहरुले अभिभावकको रुपमा मानेको संस्थाका जिम्मेवार प्रमुख । आफ्नो मन्तव्यको शुरुवात सँगसँगै वहाँ निकै उत्तेजित हुनुभयो । मानौं, मत्ता ध्रुबे उहाँको पछि पछि आइरहेको छ । ध्रुवे पारामा उफ़्रिएको देख्दा अचम्म नमान्ने कोहि थिएनन । हाम्रा महामहिम राजदुतलाई किन त्यसरी रिस उठेको थियो त ?

हुनत वहाँको स्वास्थ ठिक नभएको पनि सुनियो । अरु साधारण व्यक्ति त्यसरी उफ्रेको भए कसले वास्ता गर्थ्यो र ? चितवनको जंगलमा हरिण, स्याल, बाँदर, भालु,चितुवा, वनकुखुरा आदि जनावर कत्ति उफ्रन्छन कति । कसलाई मतलब । तर जव हाती उफ्रन्छ तब सबै आतंकित हुन्छन । त्यहाँ जनता पनि आन्दोलित हुन्छन । त्यहाँको वन संरक्षकको कार्य क्षमता माथी प्रश्न खडा हुन्छ । उसलाई मन्त्रालय झिकाइन्छ ।

एन आर एन बेल्जियमको वार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित महामहिम राजदुतले बडो मर्यादित ढंगले सबैलाई प्रणाम शब्दबाट अभिवादन गर्नु भएको थियो । पहिला पहिला कतै कतै लाल सलाम सम्म भन्न सक्ने महोदयले यसपाली संस्कृत शब्दमा प्रणाम भन्नु पनि अर्थपूर्ण रुपमा लिन सकिन्छ । यसले वहाँ हिन्दु वादी अहंमता बाट ग्रसित हुनुहुन्छ भन्ने लाग्थ्यो । जुन वहाँको विगतको अथवा इपरको सम्बन्धमा जनजाती विरोधी कार्यशैलीसँग ठ्याक्कै मेल खान्छ । वहाँले जनजातिलाई अझै पनि हिन्दु वर्णाश्रमको चार जात छतीस वर्ण भित्रकै जातिको रुपमा व्याख्या गरेको पाइन्छ । जबकी हामी जनजातिहरु त्यो भित्र पर्दैनौं । मार्क्सवादी दर्शनले जातिलाई राष्ट्रियता भनेर व्याख्या गरेको छ ।

प्रणामको अभिवादन पश्चात वहाँको मन्तव्यको पारो एकाएक बढ्यो । वहाँ हस्याङफस्याङ गर्न थाल्नुभो । पसिना पसिना हुनु भो । रातो र पिरो हुनु भो । मानौ वहाँलाई ध्रुवेले लखेटीरहेको छ । र उहाँ ध्रुबेबाट बच्न अग्लो रुख खोजिरहनु भएको छ । हस्याङ्ग फस्यांग गर्दै महोदयले आफुलाई परिचय गराउनु भयो । मानौं वहाँलाई त्यहाँ उपस्थित कुनै नेपालीले चिन्दैनन् कि जस्तो । धम्कीको भाषामा म कुटनीतिक मान्छे हुँ भनेर ३, ४ पटक दोहोर्‍याउनु भो । औंला ठड्याउँदै भन्नुभयो “म कुटनीतिक मान्छे हुँ । सतर्क हुनुस । मेरो बारेमा टिका टिप्पणी नगर्नुस । मेरो बारेमा मिडियावाजी नगर्नुस । मलाइ बोलाएर अनि मलाइ नै आलोचना गर्ने ? गालि गर्ने ? यो नेपाली संस्कार होइन । अँध्यारो कोठामा बसेर मेरो बारेमा मिडियावाजी गर्ने ? केहि गुनासा छन् भने दुतावासमा आउनुस, छलफलगर्न सकिन्छ । म कुटनीतिक मान्छे हुँ । पहिला म माओवादीको सदस्य थिएँ । अहिले कुटनीतिक मान्छे । मलाई धम्काउनु भो भने ठिक हुने छैन ।” यसो भन्दै महोदयले बारम्बार दोह्राउनु भयो । धम्काउनु भो ।

कुनैपनि सार्वजनिक ओहदामा बसेका व्यक्तिले जनहितकारी कार्य गर्दैन भने उसको टिका टिप्पडी हुनु स्वाभाविक हो । आफुलाई चित्त नबुझेको कुराको विरोध गर्न पाउनु लोकतान्त्रिक अधिकार हो । विरोधगर्ने तौर तरिका व्यक्ति पिच्छे फरक फरक हुन् सक्छन । कसैले बोलेर विरोध गर्ला त कसैले लेखेर । कसैले मनमनै गालि गरेर सरापेर विरोध गर्ला । सबैका आआफ्नै शैली । कसैको मन असाध्यै दुख्यो भने चिच्याउला । अझ भएन भने प्रचण्डको गालामा थप्पड पडकाए जस्तो पडकाउन पनि के बेर !

ध्रुवे हातिले लखेटीरहेको जस्तो महामहिम ज्यु हस्याङ्ग फस्यांग हुनु अर्को कारण वहाँको जनजाती प्रति हेर्ने नकारात्मक द्रिष्टिकोण हो । यसपाली फेरी पनि चुच्चे नाक र थेप्चे नाकको शब्द राजदुत महोदयबाट निस्क्यो । वहाँले खास गरि जनजातिको भावनामा चोट पुग्ने किसिमका धारणाहरु बेला बेलामा राख्नु भएको हो । नेपालमा बडो जोडदारका साथ उठिरहेको जनजातिको सवालको विरुद्ध वहाँले व्यक्त गर्नु भएको विचार लगायत इपर भन्ने ठाउँमा गोर्खाज स्मारक निर्माण गर्ने बिषयमा छलफल गर्ने भनि डाकिएको बैठकलाइ राजदुत महोदयले स्थगित गरिदिएपछि जनजाति र वहाँ बीच दुरी बढन गएको हो । वहाँले बेल्जियममा पाइला टेकेदेखिनै विविध मुद्दामा विवादमा फस्दै गएको देखिन्छ । वहाँको बेल्जियम आगमन सँगसँगै विवादित राजदुतको रुपमा परिचित हुनु हामी सबै नेपालीलाई दुख र लाजमर्दो कुरा हो । विवादित महामहिमको रुपमा वहाँ आफैले स्थापित गर्दै हुनुहुन्छ ।

महामहिम ज्युको प्रस्तुति र वहाँको विचार अलि ठिक भएन कि भनेर मलाइ मात्र लागेको हो कि ? तर बिपी स्मृति प्रतिस्ठान कि सचिव श्रीमती सिता सापकोटाले र आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पा ज्युले महामहिमज्युको धारणा र शैली प्रति आपत्ति जनाएपछि मेरो मुल्यांकन ठिकै हो भन्ने लाग्यो ।

हामी संसार भर फैलिएर रहेका गैर आवासीय नेपालीहरुको रगत पसिनाको कमाइ अन्त्यमा नेपालनै पुग्छ । त्यो रकमबाट सरकारले कर लिन्छ । यो कुरा राजदुत महोदयलाई भनिरहनु नपर्ने हो । तपाइले पाउने तलबको हिस्सामा हाम्रो रगत पसिना मिसिएको छ । हामीले पठाएको रेमिट्यान्सबाट तलब खाएर फेरी हामीलाई नै गालि गलौज ?

चाहे जातीय समुदाय होस् । राजनीतिक संगठन होस् । सबैले सेवा भावनाले केहि न केहि सहयोग नेपालमा रहेका नेपालीलाइ गरेकै छन् । के बाढी पिडितलाई गरेको सहयोग सहयोग नै होइन ? के चितवन सहायता कोषको २८ लाखको अक्षय कोष सेवा र लगानी होइन ? के नेपाली जनप्रगतिशील मंचले शहिदका बाल बच्चाहरुको लागि भनेर स्थापना गरेको ९ लाखको अक्षय कोष लगानी र सेवा होइन ? के नेपाली जनप्रगतिशील मंचले शहिदका बाल बच्चा हरुको लागि भनेर स्थापना गरेको ९ लाखको सहयोग लगानी र सेवा होइन राजदुत महोदय ? यहाँका नेपालीहरुले सामाजिक सेवा भावनाले थुप्रै सहयोगहरु अदृश्य तरिकाले पनि गरेका छन् । कि बाढी पिडितलाई सहयोग गर्न पनि तपाइँ संग अनुमति लिनु पर्ने हो ? यहाँका थुप्रै मित्रहरुले आफु बाल्यकालमा पढेका बिद्यालयलाइ जिन्सी र नगद सहयोग गरेका छन् । अनि तपाइले के गर्नु भयो नेपालीलाइ ? तपाइको आफ्नो तलब बाट कुन जनजातिका बच्चालाई सहयोग गर्नु भो ? कुन दलितका बच्चालाई सहयोग गर्नु भो ?

एउटा नेपाली तपाइको कार्यालयमा पासपोर्ट बनाउन जाँदा तलको सुनसान कोठामा कैदी जस्तो ३ घण्टा कुर्न बाध्य पार्नु हुन्छ । तिर्खा लाग्यो भने पानीको व्यवस्था छैन तपाइको अफिसमा । चर्पी जाँदा ट्वाइलेट पेपर हुँदैन । अनि तपाइले नेपालीलाई के सेवा गर्नु भएको छ ? के यहि हो नेपालीलाई सेवा र सहयोग ? वास्तवमा हिलो छ्याप्ने काम राजदुत महोदय बाट नै भै रहेको छ । हामी सेवाग्रहीको नाताले दुतावासमा जादाँ त वेवास्ता गरिन्छ भने कार्यालयको फोहर अस्तव्यस्तताको बारेमा भन्दा कसले वास्ता गर्ने ? नेपाली दुतावासमा काम गर्ने कर्मचारीले नेपाली बोल्नु जरुरि छ कि छैन ? सबै नेपालीहरुले अंग्रेजी बोल्न सक्दैनन् । अनि तपाइको रिसिप्सनमा नेपाली नबोल्ने कर्मचारी छ । यस्तो कर्मचारीबाट के सबै नेपालीले सहयोग पाउन सम्भव छ ?

बेल्जियममा अहिले खास गरि इपर भन्ने ठाउँमा गोर्खाज स्मारक बनाउने सवालमा नेपालकै प्रतिविम्व देखिएकोछ । जसरि संविधानसभाको अन्तिम घडीसम्म पहिचान समर्थक र विरोधीहरु विच संघर्ष चर्क्यो । त्यसरी नै यहाँपनि गोर्खाज स्मारक निर्माण गर्ने सवालमा त्यस्तै नै देखिएको छ । त्यहाँ जनजातिका साथीहरु, त्यसमापनि गुरुङहरुकोको सहादत धेरै भएको देखिएकोले विगत देखि तमुहरुले विविध कार्यक्रमपनि गर्दै आएको हुँदा तमु समाजले निर्माण गर्ने समितिको नेतृत्व दावी गरिरहेको छ । तर जातीय पहिचान विरोधी तप्काहरुले तमुलाई नेतृत्व दिन आनाकानी गरिरहेकाछन् । प्रचण्ड पक्षीय माओवादीले जसरि मुखमा राम राम बगलीमा छुराको उखान लागु गर्यो । यहाँ पनि प्रचण्डका आउरेबाउरेले त्यसै गरिरहेका छन् । अनि पहिचान नचाहने तमुहरु पनि त्यतिकै रुपमा लागि परेका छन् । हाम्रा राजदुत महोदय त प्रचण्डका हनुमान भै हाल्नु भो । मुखमा पहिचान भित्र भित्र प्रणाम ।

तलका संवन्धित लेखपनि हेर्नुस्

एन आर एन बेल्जियमको रकम बाँडिचुँडी हिनामिना

बेल्जियममा उधारो दान, नगद सम्मान

बेल्जियममा धर्मका नाममा अधर्मीहरु

दबाबमा पारेर महायज्ञमा दान माग्ने बेल्जियमका कागजी दानबीरहरु

बेल्जियमका नेपालीबिचको बैमनस्यता एउटै यज्ञमा स्वाहा पार्दैछन् पण्डित दिनबन्धुले

शरणार्थी क्याम्प बसेका पीडितलाई’नी यस्तरी ठग्ने ?

यत्रो दान किन दिइस् भन्दै बेल्जियममा रडाको

एन आर एन बेल्जियमका पदाधिकारी हो कता गए तिम्रा आश्वासन ?

मानव बेच बिखनको प्रसंग र बेल्जियमको राजनिति

बेल्जियममा दियो युनिटीले सास्ती, प्रहरी कागजपनि शंकास्पद

(प्रतिक्रियाहरु शिष्ठ, मर्यादित र भद्र शैलीमा राख्नुहोला । ब्लगको सौन्दर्य भनेकै नागरिक पत्रकारिता हो । यसमा लेखकले ब्यक्त गरेका विषयमा स्वच्छ किसिमले बहस चलाइन्छ । तपाईका सान्दर्भिक प्रतिक्रिया, सहमती र बिपती राख्न जतिपनि छुट नेपालप्लसले दिएको छ । तर् असान्दर्भिक, गाली गलौजले भरिएका, बेप्रसंगका प्रतिक्रियाहरु हटाउन सकिने छ-नेपालप्लस)

तपाइँको प्रतिक्रिया