असक्षम जनसेनासित अकस्मात विमानस्थलमा भेट
मानिसहरु आफ्नो जिवन राम्रो बनाउँछु भनेर अनेक लहरा पहराबाट उझेली खेल्दै अगाडि बढिरहेका छन् । त्यस्तै रफ्तारमा हुँदा हुँदै हामी अर्काको बारेमा प्रश्न गर्छौ । आँफैलाई म के गर्दै छु भन्ने नै थाहा छैन । अरुको चासो बढी हुन्छ । त्यस्तै मेसोमा बिदेशको यात्रा चल्दैथियो । भारतको राजाधानी नयाँ दिल्लीमा एक नेपाली युवक भेटिए । उनले रक्सि पिएका रहेछन् । नजिक पुग्दा उनको मुखबाट रक्सिको गन्ध व्हाँस्स निस्किरहेको थियो ।
त्यतिखेर लगभग रातको ८ बजेको थियो । मैले उनलाई सोधें ‘सोधे कुन ठाउँ जान लागेको भाई ?’ उनी खिस्स हाँस्दै भने ‘साउदी ।’
‘कती बर्षको भयौ ?’
मदिराको नसामा नसामा लज्जाउँदै भने “एक्काइस ।”
‘पहिला पनि गएका छौ साउदी ?’
‘पहिलो पटक हो ।’ अल्ली अगाडिको एउटा गज्जबको नरम सोफामा सर्दै भने “तपाईं कता ?”
‘म भियना जाने । २:३० मा उडान छ’ मैले भने । नजिकै बसेका अरु केही यात्रुपनि आफ्नै उडानको पर्खाइमा थिए । मैले ति युवकलाइ सोधें ‘पढ्न छोडेर किन साउदी हिंडेको त ?’
‘पढ्दै थिएँ । पैसा चाहियो । हाम्रो परिवारको कमाइ भएन अनी…भन्दै” रोकिए । अनुहारको रङ बदल्दै” साउदी हिंडेको” भने । मलाई उनको त्यो शब्द र बोल्ने शैलीले केही पिडा भएको दर्शाउँदै थियो । म पनि भावुक हुँदै सोधें ‘परिवारमा को को हुनुहुन्छ ?’
“म र आमा थियौं । बुवा ४६ बर्षको ऊमेरमै माओवादीले थापेको बिधुतिय धरापमा मृत्यु भयो । बहिनिको बिहे भयो । बुवा भरिया काम गर्नुहुन्थ्यो । बुवाको मृत्युपछी आमाले मुस्किलसँग बैनि र मलाई हुर्काउनु भयो । अहिले घरमा बुढी आमालाई एक्लै छोडेर म बिदेशिँदै छु । यो मेरो यात्राको भागीदार माओवादी नै हो । त्यहि दु:खत घटनाको कारण आज तपाईं र मेरो भेट हुँदैछ ।” उनले अनुहार निन्याउरो पारे ।
“यस्ता अप्ठ्यारा भोग्न हामीलाई माओवादीलेनै बाध्य बनाएको हो ।” सुनाउँदै थिए । मसँगपनी केही साथीहरु थिए । ति मध्य एउटा अस्ट्रियालि नागरिक । उनी पनि हामी कुरा गरिरहेको ठाउँमा आए । उनी त्यहाँ आउँदासाथ मलाई एक महिना पहिला उनी र म काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा अवतरण हुँदाको झझल्को आयो ।
बिहानको ९ बजेको थियो । काठमाडौंको त्रिभुबन अन्तरराष्ट्रिय बिमानस्थल पुगेर भारतबाट उडेको ईन्डियन एयरको बिमान अवतरण भयो । म अली अगाडि थिएँ । उनी पछाडि भएकाले मलाई पछाडिबाट “तेरो राष्ट्र आएका छौ” भनेर हँसिलो अनुहार पार्दै आँखाको हाँस्दै थिए । म पनि धेरै समयपछि आफ्नो देशमा पाइला राख्दै छु । खुशीको तरङ्ग बटारिएको थियो ।
त्यतिकैमा जहाजको अगाडिको दैलोबाट म ओर्लिँदै थिएँ । भुइमा नपुग्दै सिँढीबाट फेरी उनलाई पछी फर्केर हेर्दा उनको अनुहार अचम्म मानिरहेको जस्तो थियो । अगाडिपट्टी अत्यन्तै पुरानो एउटा बस उभीरहेको थियो । त्यो कुन रङको बस हो भनेर छुट्याउन गाह्रो थियो । इन्जिनको आवाज भने धेरैनै चर्को थियो । ढोका दुबै बन्द नहुने । बहिर रङ बाट पाप्रै पाप्रा उप्किएर पानीमा लागेको लेउ सुकेर झुण्डिएको जस्तै । त्यो देखेर मसँग प्रश्न गरेका थिए उनले ” नेपालको बिमानस्थल मुजियम हो ? माओवादी आएकोले यस्तो भएको हो ? माओवादीले बनाएको नयाँ नेपाल यही हो ? ” यति भन्दा उनी हाँसेका थिए । त्यो सम्झनाले झनै सबै नेपाली समस्याको जन्म दिने आमा नै माओवादी हो भन्ने सन्देश बिदेशमा गएको देखिन्छ ।
केही समय त अलमल्ल जस्तै भैरहेको थियो । नेपालको आगमन कक्षबाट पारहुँदै बहिरिदा मेरा साथिहरु मसँगै थिए । म उनिहरुसँग छुट्टीएर बाइ भन्दै म एउटा भाडाको ट्याक्सीमा चढें । त्यो सवारि चालकलाई हेल्लो भन्दै मैले उसलाई हेरेको थिएँ । मुसुक्क हाँस्दै मैले हेल्लो भनें । उनले पनि हेल्लो भन्दै मलाई हेरे । जहाँ गयो त्यहिँ जिज्ञासु बन्न मनलाग्ने मेरो नराम्रो बानी । मैले फ्याट्ट उनलाई सोधें “कती भयो तपाईंले यो ट्याक्सी चलाऊने काम गर्न थाल्नु भएको ?”
“एक बर्ष पनि भएको छैन” उनले भने । मैले फेरी अर्को प्रश्न सोधें ‘त्यस अगाडि के गर्नुहुन्थ्यो ?’ उनले भने ‘के गर्नु यस्तै त हो नि ।’
‘यस्तै भनेको के ? ‘
उनी दोधारमा परे । केहिबेर भनौं कि नभनौं झै गरेपछि सुनाउन लागे ‘पहिलात माओवादी भनेर हिडियो के गर्ने ? ‘
‘ए माओवादीहो तेसोभए ?’ मैले हाँस्दै सोधे । मसँगै बसेकी मेरी श्रीमती उनको जवाफ आउनु अगाडिनै खित्का छोडेर हाँसि । ‘पहिले हो, अहिले होइन’ उनी मेरो अनुहारमा हेरेर स्पष्ठिकरण दिएझैं गर्दै थिए ।
मैले फेरि हाँस्दै सोधें ‘के गर्नुहुन्थ्यो माओवादीमा ?
‘जनसेनामा थिएँ ।’ तिमीहरु असक्षम भयौ । पाँच लाख दिन्छौं भनेर लखेटे । तर बाटो खर्च दिएर लखेटेका हामीलाई बाँकि दिने सुरसारनै गरेका छैनन् । दिने हो कि हैन थाहा पनिछैन ।’ उनी अलि हाँसै गए । खुल्दै आए । अलि निकट भएझैँ लागेपछि मैले नाम सोधें । ‘कृष्ण प्रसाद श्रेष्ठ मेरो नाम’ उनले भने ।
‘मेरा साथीहरु हामीलाईपनि छनौटमा परेका जनसेना सरह चाहिन्छ सुबिधा, गरिखाने पैसो चाहिन्छ’ भन्दै आन्दोलन गरेका छन् काठमाडौंमा । कहिले बाटो बन्द गर्छन् । कहिले गाडी चल्न दिँदैनन् । त्यो गरेपनि गाली हाम्लेनै खानु पर्ने । पहिले जनतालाई सास्ति दिए गाउँ गाउँ छिरेर । अहिले फेरी सडक बन्द, यातायात बन्द । माओवादी जनसेनाको कामै जनतालाई सास्ति दिने रैछ भन्दै हामीलाईनै नराम्रो बनाउँछन् ।
‘एकदम हँसिलो मान्छे भेटें । मलाई एकदम खुशि लाग्यो । कती समय बिताउनु भयो माओवादीमा ?’ उनलाई प्रश्न सोध्न मलाई अब झन सहज लाग्दै गयो ।
‘ए जिवनका महत्वपूर्ण समयपनि त्यतै बिताएँ । बल दिएँ । मन दिएँ । महत्वपनि त्यसैलाई ठानें । मेरो सर्वस्वनै त्यहि हो भनें । तर अन्तिममा अयोग्यको बिल्ल भिरियो । लडुन्जेल योग्य थियौं । लड्न छ्ड्नेपछि पो अयोग्य भईयो । शत्रुहरुका वस्तिमा धावा बोल्न सकुन्जेल चाहिँ योग्य । तर केहि गर्नु नपर्दा चाहिँ अयोग्य रे । हाम्रो सबै लिईसकेपछि बल्ल अयोग्य । यस्तै भो । अहिले त म जम्माजम्मी एक ट्याक्सी ड्राइभर ।’ अनुहार एकैछिनमा बादल लागेझैं भो उनको । मलिनो बनाए ।
‘तपाईंले माओवादीको बर्दी लगाएर काँधमा बन्दुक बोकेर हिँड्दा सोचेको जस्तो भएन ?’ भन्दै म पनि हाँसें ।
‘नबुझेर लागेछु’ उनले भने । मेरो गन्तब्यपनि आइपुग्यो । अन्त्यमा छुट्टिनु अघि मैले उनलाई सोधे “अहिले तपाईं प्रचन्ड वा माओवादीका बडेबडे नेतालाई के भन्नुहुन्छ ?”
‘तिनिहरु जनताको रगत पिएर बसेका बाघ हुँ भन्लान । तर तिनको अन्त्य हामीहरु जस्तै न्याय नपाएका नेपालीबाटै हुन्छ ।’ उनी अझ केहि सुनाउन खोज्दै थिए । आफुलाई हिँड्न हतार लागिसकेको थियो । भनें ‘हुन्छ कृष्ण जी कुनै दिन मेसो परे फेरि भेटौँला ।’ यति भन्दै म बिदा भएँ ।






