बीना निम्तोका बेढंगी मामा र निशाना छापले दिनु दिए बेल्जियममा दुख
● शेर बहादुर छन्त्याल / बेल्जियम
विहानै कामको हतारो थियो । नोकरी दिने निकायको उर्दी ‘प्राविधिक सुरुक्षा सम्बन्धी तालिम’ लिनै पर्ने । हिंड्नै आँटेको थिएँ । टिणिङ्ग ढोकाको घण्टी बज्यो । झ्यालको पर्दा खोलेर नियालेँ । बर्दीधारी ‘मामा’ पो रहेछ । “तिम्रो पारिवारिक अवस्था जाँच गर्नु पर्ने भयो । परराष्ट्रको आदेश छ । ” सबै कागजात माग्यो । साथमा नेपाली राहदानी थिएन । यूरोपको अन्य देशमा घुमफिर गर्न बेरोकतोक । तर बेलायतको लागि भने भिसा चाहिने । अवाक हुँदै सक्कली कागजात पेरिसमा गतहप्ता मात्रै कुरियर गरेको थिएँ ।
“राहदानी अहिले साथमा छैन । बेलायतको भिसा प्रकृयाको लागि पठाएको छु” भन्या मात्रै के थिएँ । ‘मामा’ जंगिन शुरु गरिहाल्यो बाबै । “खोइ राहदानी ? किन साथमा नराखेको ? मलाई सक्कली राहदानी चहियो । नेदरल्याण्ड नपठाइ किन पेरिस पठाएको ? बेलायती दुतावास नेडरल्यान्डमा पनि छ । किन त्यती टाढा ? कहिलेसम्म आउँछ ? सक्कली राहदानी नभए तिम्रो या तिम्रो श्रीमतीको कागजी प्रकृया नै शुरु गर्दैन ।” भयो फसाद !
जंगिँदा जंगिँदै खोइ के होस आयो या आँफै थाक्यो । एकछिन चुप लाग्यो । त्यही मेसोमा मैले सोधें “मामाश्री, बेल्जियम बाहेक मैले अरु कुनै देशमा घुमफिर गर्न मनाही छ कि कसो ? यहाँको कानुनले यस्तो खाले नियम परिवर्तन गर्या हो र ? पेरिस पुगेको राहदानी बेल्जियम आईपुग्न कम्तिमा पनि तीन दिन त लागिहाल्छ । अनि मैले अहिलेको अहिल्यै कहाँबाट उपलब्ध गराउँ ?” बेल्जियम, नेडरल्याण्ड र लक्जेम्बर्गबाट बेलायती दुतावास सरेको दुई बर्ष पहिले नै हो । अहिले ‘वर्ल्ड ब्रिज’ नामको एजेन्सीलाई जिम्मा दिएको रहेछ ।
भिसा प्रकृयाको लागि नेडरल्याण्ड जानु र ब्रसेल्सबाट आबेदन दिनु एकै हो । के नेडरल्याण्डमा बेलायती दुतावास नभएको अवस्थामा अन्य कसैले भिसा उपलब्ध गराउँछ र ? प्रश्नको झटारोले पहिले भान्जो थलो पर्यो । पछी मामाश्री आँफै दुविधामा पर्यो । विश्वासको लागि भिसा प्रकृयाको कपी थियो । त्यहि देखाइदिएँ । त्यसमापनि खोट नै देखायो बा.. । “यो ईन्टरनेटबाट निकालेको फर्म हो । मैले कसरी विश्वास गरुँ ? ”
“हो, यो फर्म इन्टरनेट बाटै निकालेको हो । किनकी अहिले बेलायतको भिसा अनलाइन मार्फत नै भर्ने सुविधा छ । मैले यो नेपाली राहदानीको बदलामा दिन खोजेको होइन, प्रमाण मात्रै देखाएको पो ।” बल्ल अलिक मत्थर भयो ‘मामा’ । “राहदानी नभए जन्म दर्ता प्रमाणपत्र या सवारी अनुमतिपत्र त होला । तर सक्कली नै है ? ती प्रमाणले काम चल्छ अहिले । तर बेलुका तीन बजे ‘मामाघर’ आउनु पर्छ । ” धत्तेरिका, फेरी अर्को झमेला । जागिरको उर्दी तीन बजे सकिन्छ । चार बजे बासमा आईपुगिएला । तीनै बजे कसरी आउनु पाहुना बन्न ?
‘मामा’ कपाल कन्याउँदै नोटबुक हेर्न लाग्यो । “उसो हो भने १६ : ३० मा सपरिवारको कागजात सहित उपस्थित हुनु है ” फर्मान जारी गर्यो । अनावश्यक प्रश्नोत्तर गर्नु थिएन । जतिसक्यो छिटो बासस्थानबाट भगाउनु नै आफ्नो समयको बचत हुने । मगजले दु:ख पनि नपाउने । “हुन्छ ” भनें । मामाश्री भर्र्याङ्को पहिलो सिंढी नटेक्दै ढोकाको ताल्चा ड्याम्म .. ।
मोरो ‘मामा’ ले एक घण्टा चिरिप्पै खाइदिएछ । निश्चित समयमा चल्ने ट्रेनले पर्खने कुरा भएन । निकायले दिएको समयमा नपुगी नहुने । हरे ! अब कसो गर्नु ? ढिला भएको खबर गरौं या केही विकल्प खोजौं ? खबर गरेर खप्की खानु भन्दा विकल्पमा ट्याक्सी बोलाएँ । “फलानो ठाउँमा पुग्न कति समय र शुल्क लाग्छ ? ” सोधें । चालकले भने ? “शुल्क २५ यूरो । समय धेरैमा तीस मिनेट ।? ” ‘मर्नु भन्दा बहुलाउनु निको’, क्या’र्नु । मोरो ‘मामा’ लाई मनमनै सराप्दै ट्याक्सी चढें । तीन यूरो बीस सेन्टले पुग्ने ठाउँमा २५ यूरोको चुना लाग्यो ।
उसो त बेलायतीको बगालले पनि सास्ती नदिएको कहाँ हो र ? बेलायतमा बसोबास गर्ने साथीभाइ र इस्टमित्रहरु सँग भेटघाट गरौं । छार-म्हेङ पनि रमाइलो संग मनाऔं भन्ने उद्देस्यले तीन चार दिनको लागि प्रवेशाज्ञा माग गरेको । जिजु देखिको विवरण पेश गरेर पनि पुगेन । बेल्जियममा स्थायी बसोबासको प्रमाण, बैंक ब्यालेन्स, स्थायी नोकरीको प्रमाण, श्रीमतीजी संग विवाहको प्रमाण, बेलायतमा संपर्क हुने साथीको परिचयपत्र, अन्य कागजात पेश गर्नुपर्ने । साथै चर्को शुल्क र समयको बर्बादीले खुत्रुक्कै पारेको थियो । यत्तिमा सिमित भए ठिकै पनि थियो । तर ‘म आतंकवादी होइन, यस्ता गतिविधी गर्ने कुनै संगठनमा संलग्न छैन’ भनेर ल्याप्चे ठोक्नु पर्दा मनमा असाध्यै अमिलो महशुस भएको थियो ।
बेल्जियमको नियमानुसार रातो पाना पल्टाउन (बेल्जियम राहदानी लिन भन्न खोजिएको) तीन बर्ष अघि नै अनुमति थियो । सोधपुछकै क्रममा नगरपालिकाको डेस्क सम्म पुगेको पनि थिएँ । नेपाली नागरिकता त्याग्नुपर्ने शर्त थियो । “जन्मदर्ताको प्रमाण र अन्य केही कागजात पेश गरेपछी मात्र तिम्रो कानुनी प्रकृया अगाडि बढाउन सकिन्छ । तीन देखी छ महिनाको अवधिमा सबै प्रकृया पूरा हुन्छ ” भनेपछी असहज महशुस गर्दै बासस्थान फर्किएको थिएँ । खोपीमा जतनले सजाएर राखेको हरियो रंग (नेपाली राहदानी) को मोह पटक्कै खुइलिएको थिएन । खोपी खोलिसकेपछी निकैबेर पत्र-पत्र पल्टाएर हेरें । हरियो रंग र निशाना छाप झनै चम्किलो देखियो । जन्मस्थान बाग्लुङ, नेपाल लेखिएको थियो भित्री पत्रमा । नियालेर पढें । र मायापूर्वक उही खोपिमा जतनका साथ राखें ।
त्यसपछिका दिन देखी तीन बर्षको अन्तरालमा त्याग्नु पर्ने शर्तको डेस्कमा फेरी फर्किएको छैन । कहिलेकाहिँ साथीभाइले “किन रातो पाना नलिएको ” भनेर सोधनी हुँदा “भावनाको सम्बन्ध अगाध हुँदोरहेछ” भन्दिए कुराको बिट मर्थ्यो । तर, विना निम्तोका बेढंगी ‘मामा’ र बेलायती बगालका बेसुराहरुले हरियो रंग र निशाना छाप प्रतिको अगाध मोह नबुझिदिँदा अहिले हृदय हुँडलिँदै उथलपुथल भैरहेको छ ।





