बेल्जियममा शुरु भो मर्नेका नाममा राजनिति
∙ ददि सापकोटा / फोटो – शेर बहादुर छन्त्याल, बेल्जियम
बेल्जियम काम हैन, घुम्ने आनन्दले । गफसफ गर्ने भनेर योजना बन्दा इन्टरनेटको पहुँचले साथी बनेका बागलुङे छन्त्याल शेर बहादुरसित सोधें ‘के के छन् घुम्न लायकका ठाउँ ?’ उनले दोस्रो विश्वयुद्दमा भारतीय पल्टनबाट बेलायती सेना बनेर लड्न आएका केहि नेपाली बेल्जियमको ईपरमै मारिएको । युद्दबन्दि बनेको । तर तिनको म्रित्यु अहिलेसम्म बेखबर रहेको । त्यसलाई सिल्पीका हातले लेखे अलि धेरैका आँखा पर्थे कि ?’ भनेर सुनाए । यस्तो ठाउँ किन नजाने ? ईपर निवासी महेश थापा जानकार छन् भन्ने भएपछि शेरलेनै थापासित सम्पर्क गरेर मेसो मिलाए । त्यो बेलासम्म ईपरको बारेमा सोधखोज गरेर त्यहाँ देखे भेटिएका ऐतिहासिक तथ्य तथ्यांक र चासो बाहिर ल्याउने काम बेल्जियमकै रामबहादुर गुरुङले अरुलेभन्दा अगाडिनै गरेका थिए भन्ने कुरोको जानकारि शेर बहादुरलाईसमेत रहेनछ । मेरा सबै कुरोका भर अभर उनै थिए । उनले जता लगे उतै पछ्याएँ । ईपर प्रसिद्द बन्दै गयो । हुँदा हुँदा अहिले त्यहाँ अनाहकमा मर्ने नेपालीका नाममा राजनिति पो शुरु भएछ ।
अनेक बाटा, छिद्र, माध्यम र बटालिएनबाट बेलायति सेनामा छिरेका भूतपूर्व नेपाली सेनाले अनेक सुबिधा पाए । नाति नातिनासम्मलाई बिदेशको स्थायी बासिन्दा बनाए । क्षतीपूर्ती भराए । मान भो, सान पनि भो केहि न केहि । तर ईपेरमा जति नेपाली मारिए, ति गुमनाम भए । तिनले यातना खेपे । तिनलाई कहाँ जाने हो भन्नेसम्म जानकारि नदिईकनै ल्याएर गुमनाम पारियो । तिमाथि तत्कालिन भारतीय र बेलायती शासकले अत्याचार गरे । तिनका परिवारले क्षतीपूर्ती पाउनु त परै, तिनको म्रित्युपनि भास्ने काम गरियो । त्यसैले ति माथि अपराध गरियो । तिमाथि न्याय गर्ने काम अब नेपालीको हुनुपर्थ्यो ।
त्यहि शूचना कहाँ कहाँबाट पाएर राम बहादुर गुरुङले चासो दिएछन् । उनले निकै सोधखोज गरेछन् । भेटिएका तथ्य, सुनिएका कुरा बाहिर ल्याए । तत्कालिन तमु समाजमा छलफल गराएछन् । तमु समाजले त्यहाँको वार्षिकिका दिन श्रद्दान्जली मनाउने गर्न थालेछ । त्यहाँका जानकारहरुका अनुसार रामबहादुर गुरुङनै ईपरका बारेमा केहि तथ्य बाहिर ल्याउने नेपाली हुन् । तर महेश थापालेपनि निकै सोधखोज गरेको देखिन्छ । जो जो यसमा लागि परे तिनको मेहनत, तत्परता र योगदानको कदर हुनुपर्छ ।
त्यहाँ नेपाली मात्रै होइन, धेरै देशका सेना आए लड्न । थरी थरीका बिभिन्न देशदेशका भिन्न भिन्न पल्टनबाट आएर लडे । त्यसैले आआफ्ना देशका सैनिकका नाममा त्यहाँ स्मारकहरु बनाए आआफ्ना देशले । नेपालीको भने केहि थिएन । प्रथम विश्वयुद्धले कति क्षति पुर्यायो भन्ने अध्ययन गर्न बेलायतीहरूले एउटा संस्था खोलेका थिए, ‘कमन वेल्थ ग्रेभ कमिसन्स’ नामको। यसले उनीहरूतर्फ के कति क्षति भयो, खोजबिन गरेर अभिलेख राख्ने काम गर्यो । ग्रेभ कमिसन्सले सबै चिहान घर र स्मारकको रेखदेख, मर्मत-सम्भार र त्यो घटनासित सम्बन्धित सबै अभिलेख राख्ने काम गर्छ । त्यसले सोधखोज गरेर जेजति नाम भेट्टायो तिनको शिलालेखमा उतार्यो । नेपाली सेनाको संझनामा श्रद्दान्जली दिन जाँदा कि त बेलायती सेनाको स्मारक कि भारतीय सेनाको स्मारकमा फूल चढाउनुपर्ने । यो देखेपछि नेपालीहरुको मन रोयो । हुँदा हुँदा नेपालीको स्मारक बन्ने चर्चा चल्यो । मर्नेको नाममा घिनलाग्दो राजनितिपनि शुरु भयो ।
नेपाली दुतावासमा बैठक बसेछ ईपेरमा के गर्ने ? कसरि बनाउने स्मारक ? कसको नेत्रित्वमा बनाउने भनेर । त्यहाँ केहि प्रतिनिधी जम्मा भएछन् । त्यसदिन सबै संघ संस्थालाई बोलाइयो छलफलकालागि । सबै संघ संस्थालाई बैठकमा बोलाउने काम राजदूतावासले गरेको थियो । पहिलो दिन बोलाउँदा निर्णय हुन सकेन । कसको नेत्रित्वमा बनाउने भनेर निर्णय अर्को बैठकबाट गर्ने भनियो । अर्को बैठक बोलाइयो । तर सबै संघसंस्थाका प्रतिनिधीले बैठक बस्ने निर्णय गरेर बिदा लिए दुताबासले बोलाएकै दिन । तर एकाएक दुतावासबाट ‘अन अभ्वाइडेबल रिजन’ भन्दै बैठक रद्द गरियो । त्यसपछि दुतावासले त्यसको पहल गरेन । हो, राजनिति यहिँ बाट शुरु भयो । बिबाद र राजनितिको पारो यहिँबाट उक्लियो । तात्दै गयो । यो पारोको उच्चतम बिन्दू यस वर्ष श्रद्दान्जली मनाउने क्रममै देखा पर्यो ईपेरमा ।
केहिले तमु समाज जातिबादी संस्था हो । इपेरमा लडेका नेपाली ति कुनै जातिबादी नभएर समग्रमा नेपाली भएकाले एनआरएनले स्मारक बनाउनुपर्ने जिकिर गरे । यो जिकिर गर्नेको मत रहेछ, एनआरएन सबैको साझा संस्था हो । छाता संस्था हो । त्यसैले एनआरएनले बनाउँदा राष्ट्रिय भावना झल्किन्छ । तमु समाज संलग्न हुनु साम्प्रदायिक्ता हो । त्यहाँ तमु मात्रै आएर लडेका होइनन् । धेरै नेपाली आएर लडेका छन् ।
तमु समाजको दाबी अलग्गै छ । उनीहरुका अनुसार जुन जाति, वर्ग र समूदायको रगत बगेको छ उसलाई बढि चासो, चाख र चिन्ता बढि हुन्छ । आफ्ना पूर्खाको रगतले बढि रुवाउँछ । तिनको कदर गर्ने मनोकांक्षापनि तिनैमा बढि पलाउँछ । किनभने प्राप्त तथ्यले भन्छ, त्यहाँ मर्नेहरु मध्ये अधिकांश गुरुङ, मगर र तामाङ छन् । अर्थात् जनजातिको रगत त्यहाँ बढि बगेको छ । अर्को तर्कपनि छ, शुरुमा कसैले मेसो नपाउँदा तमु समाजले सोध खोज गर्ने । तथ्यहरु बाहिर ल्याउने । वार्षिकी गरेर सम्मानको ईतिहाँस शुरु गर्ने । तर स्मारक बनाउने बेला एनआरएनलाई किन अगाडि सारिने ? स्मारक बनाउने जिम्मा किन एनआरएनलाई दिने ? एनआरएनले नेपाल हाउस बनाउने भनेर घोषणा गरेको कामनै फत्ते गर्ने छनक छैन । घोषणा गरेको कामनै पुरा गर्न नसक्नेले स्मारक बनाउँछु भन्दा कसले पत्याउँछ ? अरुले हात हालेको काममा एकाएक दुतावासको कान फुकाईमा लागेर किन षडयन्त्र गर्ने ?
तमु समाजपनि एनआरएन
यदि दाबी सत्य हो भने तमु समाजलाई एनआरएन हैन जसले भनिरहेका छन् त्यो गलत हो । बिदेशमा नेपालीका संस्था सबै एनआरएनभित्रै पर्छन् । त्यसैले तमु समाजपनि एनआरएनकै परिभाषामा पर्छ । एनआरएन बेल्जियमले के नबुझेको देखियो भने एनआरएन कसैको छाता संस्था हैन । सबै संस्थाहरु स्वायत्त हुन् । कसैलेपनि कुनै संस्थालाई छाता हो भनेर दाबी गर्दैमा न त हुन्छ न त्यो अधिकारनै छ । अर्को बास्तबिकता के हेरेको देखिएन भने एनआरएनको बिधानमै स्पष्ठ उल्लेख छ, एनआरएनले स्थानिय संस्थासित समन्वयकारि भूमिका खेल्ने । अन्य संस्थाले गरेका काममा सहयोग गर्ने । नेपालीका अन्य संस्थालाई फूल्न र फल्न दिने । यद्दपी यो भाषामा केहि फरक तरिकाले उल्लेख होला नै ।
त्यसैले एनआरएनले के बुझ्नु जरुरी छ भने यदि स्थानिय रुपमा कुनै संस्थाले नेपालीका लागि हितको काम गर्छन् भने त्यसमा एनआरएन अघि सर्ने होइन, बरु त्यसैलाई मलजल गरिदिनु पर्छ । सहयोग गर्नुपर्छ । एन आरएनको पैसा, जनशक्ति, सिप सामर्थ्य त्यसमा खर्च हुन्न । स्थानिय संस्थाले यस्ता काम गरिदिए एनआरएनले आफ्नो सामर्थ्य, आर्थिक स्रोत र सिपलाई अन्यत्र प्रयोग गर्न सक्छ । बेल्जियमको हकमा एनआरएनले समन्वयकारी भूमिका खेल्नु भन्दा स्थानिय संस्थासित मुठभेड गर्ने, प्रतिस्पर्धामा उत्रिने र भाँजो हाल्न पौंठेजोरी खेलेको जस्तो देखियो ।
क्षमता हुनेले पो बनाउने त
नेपाली दुतावासले समन्वयकारि भूमिक खेलेको भए उत्तम हुने हो । तर समस्या के छ धेरै ठाउँमा भने नेपाली दुतावासहरु देशको आर्थिक विकासका लागि ठूला ठूला काम गर्न सक्षम हुनुपर्नेमा नेपालीका नाथे एउटा स्मारक बनाउने साना कामको समन्वय गरिदिनपनि सक्षम देखिएका छैनन् । बेल्जियमको हकमापनि नेपाली दुतावासको भूमिका निष्पक्ष देखिएन ।
दुतावासको आवश्यकता खासै नेपालीहरुका लागि इपरमा स्मारक बनाउनैका लागि हुन्न । दुतावास आफैंले अग्रता लिए राम्रो हो । तर बेल्जियमको नेपाली दुतावासले अग्रता र निष्पक्षता लिएको देखिएन। त्यसपछि एन आर एनले लिन नहुने होइन अग्रसरता । तर नेपाल हाउस बनाउने भनेर घोषणा गरेको एन आर एनले त्यो बनाउला भन्ने त परै छ, बोलेको दानपनि दिन र बोल्नेसित उठाउन सकेको छैन । कबुलेकै दान नदिने, बोलेकै काम शुरुवात सम्म नगर्ने र दाताहरुबाट कबुल गरिएको दान उठाउन नसक्ने एन आर एनले त्यहाँ अर्को ५० हजार युरो उठाएर स्मारक बनाउने कुरो पत्यारिलो हुन सक्दैन । नेपाल हाउसको अग्रता नलिएको र बोलेको दान उठाउनै नसक्ने संस्थालाई फेरी स्मारक बनाउन रकम दिन्छु भनेर को अघि सर्छ ? त्यसैले बोलेका काम नगर्ने र जहाँपनि खुट्टो उचाल्दै हामी गर्छौं भनेर उफ्रेर जानु एन आर एनको खोंचे र भाँडभैलो मच्चाउने चाख हो भनेर बुझ्नुपर्ने हुन्छ ।
एन आर एनको अग्रसरता भए सहयोग दिउँला अरु संस्थालाई त सहयोग गर्न सकिन्न भन्ने नैतिक र ब्यवहारिक अधिकार दुतावाससित पनि छैन । कुनै संस्थालाई च्याप्ने र अर्को लाई हुत्याउने काम दुतावासले गरे त्यो अवस्थामा बेल्जियममा दुतावास सबैको साझा घर र साझा संस्थाको रुपमा पो कसरि रहला र दुतावास ? कसैले अग्रसरता लिएमा दुतावासले त्यो गैह्र जिम्मेवार काम गर्छ भनेर शंका गर्नुपनि कम्तिमा अहिलेका लागि उचित छैन । कागजी प्रावधान र बैधानिक प्रक्रियाका लागि उनले सहयोग गर्छन् नै । त्यो उनको जिम्मेवारि नै हो ।
ईपरमा मारिनेहरु कुन पार्टीका ?
जतिबेला नेपालीहरु इपेरमा आएर लडे । ज्यान गुमाए । त्यो बेला ति न तामाङ घेदुङका सदस्य थिए । न तमु समाजका । न थिए ति एनआरएनका सदस्य । न त्यो बेला मगर संघनै थियो । न ति चार तारे झण्डा हल्लाउँदै ईपेर आइपुका थिए । न त हंसिया हथौडा सहितको ब्याच टाउकामा ओढेर निस्किएका थिए । ति थिए, सोझा नेपाली । दुई चार पैसो कमाउँला, घर परिवार पालौंला भन्दै बिदेशीले दिएका बन्दूक बोकेर ति अनजानमै युरोप आइपुगेका थिए । त्यसैले ति माथि राजनिति गर्नु पाप हो । अन्याय हो । तरपनि ति क्षेत्री, बाहुन्, नेवार जाति सायद कमै थिए । बढिमा ति पक्कैपनि गुरुङ, मगर र राइनै हुँदा हुन् । त्यसैले स्मारक बनाउने नेत्रित्वपनि गुरुङ, मगर, राई र अन्य जनजाति मिलेर गर्नु उचित हुन्छ । हामीले जनजातिलाई तिपनि हाम्रै एनआरएन हुन् । ति नेपाली हुन् । तिनको जात र थर भिन्न हो । तिनलाई अग्रसर गराउँदा गैह्र नेपाली झैं ठान्ने मानसिकता त्याग्नुपर्छ
इपरमा मारिनेहरु तमु मात्रै नभएकाले बरु तमु समाजले अन्य जनजातिलाई समेटेर स्मारक बनाए सायद सबैकालागि मान्य होला । तमुहरुले ‘हामीले सोध खोज गर्यौं, हामीले शुरुवात गर्यौं, हामी हाम्रै नाममा बनाउँछौं” भन्छन् भने त्यो मनासिव होइन र सबैकालागि मान्य नहुनपनि सक्छ । त्यसैले जनजातिको सक्षम संस्थाले नेत्रित्व लिएर अन्य जनजाति र सकेसम्म सबै नेपालीलाई समेटेर बनाउँदा अन्याय हुँदैन । तमु समाजले गुरुङकै मात्रै नाम लिने, तमु समाजकै झण्डा ओढाउने, तिनैको मात्रै बिरता वा ईतिहासको गाथा कोर्ने हो भने आपत्तिजनक हुने छ । नत्र, बरु जातिय र साम्प्रदायिक नारा, स्वार्थ र तयारि नगरेकामाथि साम्प्रदायिक र जातिय भयो भनेर प्रचारप्रसार गर्नु पो साम्प्रदायिकता हो । यदि उनीहरु त्यो स्मारक बनाउन सक्षम छन् र सबै नेपालीको साझा भावना समेटेर नेत्रित्व गर्छौं, हामी गरेर देखाउँछौं, अन्य जनजातिलाईपनि विश्वासमा लिन सक्छौं भन्छन् भने यो अवशर हो । यसमा आपत्ति हुनु आवश्यक छैन । बरु यसरि अघि सरेर स्मारक बनाउँछौं भन्नेलाई त साथ र सहयोग अनि हौशला दिनु पो उचित हुन्छ ।
त्यसको लागि बरु नेपाली दुतावास, एनआरएन बेल्जियमले समन्वयकारि भूमिका खेलिदिए ति सबैको कद उँचो हुन्छ, गिर्दैन । तमु समाजको नेत्रित्व अन्य जनजातिलाई मान्य हुने अवस्था हो भने तमु समाज आफैंपनि अति उदार बनेर ब्रिहद छलफल गर्नु उपयुक्त हुन्छ । नत्र नेपालीहरुले यस्तै किचलो जारि राखे स्मारक बनाउन दिएको जमिनपनि त्यो संस्थाले दिन अस्विकार गर्ला । त्योबेला जिम्मेवार किचलो झिक्ने, असक्षमहरु त हुन्छन् नै , सबै नेपालीको ईज्जत र प्रतिष्ठामा धक्का लाग्ने छ । दश गाउँ नडुब्दै माझीहरुले सल्लाह गरुन् !
तमु समाजको दाबी
मैले यस विषयमा तमु समाजका सहसचिव प्रबिना गुरुङलाई हिजो साँझ सम्पर्क गरेर केहि प्रश्न सोधेको थिएँ ।
के तमुसमाजले नेत्रित्व गरे यो स्मारक बनाउन सक्छ ?
तमु समाजको नेत्रित्व भए स्मारक हामी सजिलै बनाउँछौं।
कहाँबाट जम्मा पार्नुहुन्छ यो रकम ?
तमु समाजका प्रतिनिधी, सदस्य र अन्य नेपाली संघ संस्थासित सहयोग लिएर हामी सजिलै बनाउँछौं ।
तपाईहरुले त्यहाँ स्मारक बनाउनु भयो भने तमु समाजको नाम र लोगो राखेर तमु समाजको एकाधिकार पो गर्नुहुन्छ कि ?
हैन, त्यहाँ तमु वा कुनै जात जातिका नेपाली मात्रै नलडेका बरु नेपाली भएर लडेकाले हामीले तमु समाजको न झण्डा राख्छौं नत लोगो नै टाँस्छौं । हामीले सम्पूर्ण नेपालीका तर्फबाट बनाउँछौ, नामपनि नेपालीकै हुन्छ । स्मारक पनि नेपालीकै साझा प्रतिनिधित्व हुनेगरि बनाउँछौं ।
तमु समाज जातिय भयो भन्ने आरोप छ नी !
त्यो त हामीलाई लगाएको आरोप मात्रै हो । हामी कसरि जातिय भयौं ? हामीले भनिरहेकै छौं कि त्यहाँ स्मारक नेपालीका नाममा बनाउँछौं भनेर । र तमु समाज एक्लैले बनाउन खोजेकोपनि हैन । दुतावासले संयोजन गरिदिएको भए अति राम्रो हुन्थ्यो । एउटा बैठक राखेपछि अर्को बैठक नबोलाई लत्तु छोड्यो । एन आर एनको हालत देखिईहाल्यो । आफैंले बनाउँछु भनेको नेपाल हाउस त बनाउन सकेका छैनन् । कसै न कसैले पहल त गर्नुपर्यो आम नेपालीकोलागि । एउटा कसै न कसैले नेत्रित्व त गर्नै पर्छ । बनाउने त समग्रमा सबै नेपाली मिलेर नै हो । त्यसैले हामीले संयोजन मात्रै गर्न खोजेका हौं । त्यो नबन्ला भन्ने चिन्ताले हामीले बनाउन खोजेका छौं । हामीले शुरु देखिनै सबै नेपालीहरुलाई समेटेर ईपरमा श्रद्दान्जली गर्दै आएको हाम्रो सामूहिक भावना र कामलेनै त्यो देखाउँदैन र ?
स्मारक बनाउनु मात्रै बनाउनुहुन्छ कि मारिएकाहरुको लगि क्षतीपूर्तीको प्रक्रियातिरपनि लाग्नुहुन्छ ?
हामी स्मारक बनाएपछि त्यहाँ जति नेपाली मारिए तिनको सोध खोज गरेर तिनका परिवारलाई क्षतीपूर्ती दिलाउनतिरपनि लाग्छौं ।
यस काममा भूतपूर्व सैनिक संगठन (गेसो) को ठूलो भूमिक हुन सक्छ । के गेसोले तपाईहरुलाई विश्वास गर्छ ?
हामीले यसबारे गेसोसित सम्पर्कपनि गरिसकेका छन् । म तमु समाजको नयाँ कार्यसमितिका आएको धेरै नभएकोले सबै कुरो त थाह छैन । तर के जानकारि छ भने तमु समाजले गेसोसित सम्पर्क गरिसकेको छ । उहाँहरु तमु समाजले नेत्रित्वका बारेमा सकारात्मक हुनुहुन्छ ।







