कथा : कमैया (भाग २)
(यस कथाको पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुहोला)
• सोमना थारु / बेल्जियम
“हजुर मालिक तपाइहरुले २ वर्षको मालपोत तिर्नु भएको रहेनछ । त्यहि मालपोत तिर्न भनेर जिल्ला मालपोतबाट आएको चिठ्ठी हो हजुर ।” रामप्रसादले पत्रमा लेखिएको कुरो महतौवालाइ अर्थ्यायो ।
महतौवा एक छिन चुपचाप बस्यो । मनमा कुरा खेलाउँदै । त्यसपछि सोच्यो,
“जान त मालपोत तिर्न म पहिला पटक पटक अड्डा अदालत नगएको होइन । तर त्यहाँ जादाँ बाटा खर्च आफैले भारमा बोकेर लैजानुपर्ने । बाटोमा बास बस्दै ३, ४ दिन लगाएर जानु पर्ने । अड्डाका हाकिमहरुलाई घिउ, तेल, चामल बोकेर लगीदिनुपर्ने । यो खुट्टा कम्ता त दुख्दैन । हुन त भारी बोक्न एक जना भरिया (भर बोक्का) पनि साथैमा लिएर जाने गर्छु । यी विभिन्न झन्झट र अप्ठ्याराहरु त छँदै छन् । त्यहाँ गइसकेपछि मलाइ भाषाको पनि ठुलो समस्या पर्छ । मैले बोल्यो कि त्यो अड्डाको पुन्टे खरदार कस्तो हाँस्छ । हैन यिनीहरुले हाम्रै भाषा बोले हुँदैनथ्योर ? के गर्ने सरकारी कानुन मान्नै परो । हैन यसपाली यै राम प्रसादलाई गइ दिन भन्नु पर्यो । यो पनि जान मन गर्छ कि गर्दैन ।”
“रामप्रसाद ल सुन । अगुटा बात भन्छ मैले । यस पाली यो पोत तिर्न तिमि नै जानु परो । तिमीलाई अलि अलि पढनपनि आउँदो रहेछ । बरु तिमि गइदिएवापतको गुन हामीले पनि तिर्छ ।”
“हस मालिक ।” राम प्रसादले महतौवाको आदेश स्विकार्यो । बरु उसको गुलामी गर्ने अवसर पाएकोमा मन मनै हाँस्यो ।
महतौवाले चक्दार चलायो अर्थात सभा डाक्यो । गाउँका प्रत्येक घरका घर मुली उपस्थित भए । उसले यसपाली रामप्रसादलाई अड्डामा पठाउन लागेको कुरा सबैलाई जानकारी गरायो । उसको प्रस्ताव माथि कसैको विरोध रहेन । सर्वसहमति भयो । भोलिनै रामप्रसाद अड्डा जाने निधो भयो । सबैले राम प्रसादको लागी खर्च भनेर घिउ, चामल, नुन तेल खुर्सानी, बेसार लसुन आदि दिए । एक जना भरिया समेत खटाइयो ।
भोलि पल्ट कुखुरा बास्दा नबास्दा रामप्रसाद र भरिया हिँडे जिल्लातिर । बाटामा बास बस्दै ३, ४ दिनको पैदल हिँडाईपछि बल्ल रामप्रसाद जिल्लाको मालपोत अड्डामा पुग्यो । त्यहाँका कर्मचारी हाकिम सबैलाई उसले राजा महाराजालाइ झैं अभिवादन टकरायो ।
वडा हाकिमको कार्यकक्षमा पसेर रामप्रसादले भन्यो “हाकिम साप, म रामप्रसाद भण्डारी । बेलवा गाउँबाट पोत तिर्न आएको हजुर ।”
बेलवा गाउँ भनेपछि हाकिम एक छिन अल्लमल्ल परे । बडा हाकिमले सोचे “हैन बेलवा गा गाउँमा सबै थारु छन् । त्यहाँबाट सधैजसो त्यहाँका जिम्दार दुलारी महतोनै आउने गर्थे । यो छट्टु जस्तो लाग्ने बाहुन कहाँ बाट आयो ?”
हाकिमको मनमा चिसो पस्यो । “तपाइँ बेलवाबाटै आएको हो ?” हाकिमले प्रश्न तेर्साए ।
“हो हजुर, मैले असत्य बोलेको भए सुर्यले भस्म गरुन हजुर” राम प्रसाद बिनम्रसाथ प्रस्तुत भयो ।
“हुनत म पनि पहाडिया बाहुन नै हुँ तर धेरै पहाडिया फटाहाहरुले सोझा साझा इमान्दार थारुहरुको जग्गाजमिन जालझेल गरेर हडपेका छन् । थारुहरुमाथि अन्याय अत्याचार भएको छ । यो रोकिनु पर्छ भन्ने मेरो मान्यता छ । नेपालीले नेपालीलाईनै शोषण गरेर, अन्याय अत्याचार गरेर यो देशको उन्नति कहिले हुने ?” हाकिमले प्रस्ट्यायो ।
हाकिमको यो कडा भनाइले कार्यकक्षमा एक छिन सन्नाटा छायो । रामप्रसाद फेरी बोल्यो स्पष्टिकरणको शैलीमा “हैन हजुर, म यहाँ आउनुमा त्यस्तो कुनै जालझेल छैन हजुर । महतो मालिकलेनै पठाएर म यहाँ आएको हुँ हजुर । हजुरलाई पत्यार नलागे मसँग एक जना भरिया पनि आएको छ हजुर । तपाइँ उसँग पनि वयान लिनसक्नुहुन्छ हजुर ।”
भरियासँग बयान लिएपछि मात्र हाकिमलाई विश्वास भयो कि राम प्रसादलाई दुलारी महतोले नै पठाएको रहेछ । “ल ठिकै छ रामप्रसाद जी । तपाइँ आज हाम्रो पिउनको घरमा रात बस्नोस । अरु काम कुरो भोलि गरौंला” हाकिमले आदेश दियो ।





