दूतावासको छायाँमा पत्रकारको दशैं
–तेजेन्द्र प्रसाईं / बेलायत
नेपाल पत्रकार महासंघ बेलायत शाखाका केहि पत्रकारले दशैंको भोज खाए दुतावासमा । भोजमा अन्य नेपालीसितै रमाए । भोज चलिरहँदा राजदूत सुरेश चन्द्रा चालिसेले निम्ता दिएका मध्ये केहि पत्रकार दुतावासको यस्सो कुनामा बसे नेपाल पत्रकार महासंघ (एफ एनजे) युके को बैठक भन्दै । उनीहरुले दुतावासभित्रै एफ एन जे युकेको तर्फबाट बिभिन्न निर्णय गरे ।
त्यहि निर्णयपनि कार्यकारी समितिको बहुमत नपुर्याइकनै गरे । नेपाल पत्रकार महासंघ युकेलाई केहि ब्यक्तिले यसरि दुतावासको कुनै शाखा कार्यालय झैं बनाएको देखेर एफ एन जे युकेका केहि सदस्यहरु क्रुद्द बनेका छन् । त्यसदिन चालिसेले निम्ता दिएका अन्य नेपालीहरुपनि पत्रकारहरुको बैठक दुतावसभित्रै भन्ने सुन्दा अचम्मित मानेका थिए ।
अक्टोबर २० का दिन नेपाली दुतावास लण्डनमा दशैंको भोज थियो । त्यसमा सबै नेपाली आमन्त्रित थिएनन् । चालिसेले छानेर निम्ता दिएका थिए । ठिकै हो, बेलायतमा भएका सबैलाई निम्ता गर्न दुतावासले सायद नसक्ला । त्यसैले पत्रकारहरुपनि छानिएका थिए निम्ता पाउनेमा । एफ एन जे युकेको कार्यकारी समितिका सबै निम्ता पाउनेमा थिएनन् । त्यसदिन बैठक बस्ने गाइगुई नचलेको होइन । निम्ता पाउने मध्ये केहिले अरुलाई सम्पर्क गरेकापनि थिए । तर निम्ता नपाउनेहरु एक त जाने कुरो भएन । अर्को कुरो भोज खान बोलाएको ठाउँ, झन सरकारको प्रतिपक्षी हुनुपर्ने पत्रकारहरु । त्यस्तो ठाउँमा बैठक बस्ने कुरोपनि भएन । यसैगरि बुझे । तर पछि एक्कासि एफ एन जे युकेका महासचिव नरेश खपांगीको नामबाट परिपत्र आयो । त्यो देखेपछि केहि पत्रकारहरु झस्किए । परिपत्रमा उल्लेख थियो ‘नेपाल पत्रकार महासंघ, युकेको बैठक आज नेपाली दूताबास लण्डनमा अध्यक्ष नविन पोखरेलको अध्यक्षतामा बस्यो । बैठकले निम्नानुसारको निर्णयहरु गरेकाले सोको कार्यान्वयन गर्न गराउन हुन यो परिपत्र जारी गरिएको छ ।’
निर्णय गरिएका बुँदा यस्ता छन् । शाखाको वार्षिक साधारणसभा फेब्रुअरी १६ तारिखका दिन लण्डनमा गर्न । सदस्यता लिन इच्छुक पत्रकारहरुका लागि सदस्यता आवेदन खुला गर्ने । आर्थिक स्रोत जुटाउनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक कार्य गर्न सदस्य देवी गौतमलाई जिम्मा दिने । शाखाले निकट भविष्यमा प्रकाशन गर्न लागेको स्मारिकाको व्यवस्थापन संयोजन गर्ने जिम्मा अध्यक्ष नविन पोखरेललाई दिने । शाखाका सदस्यद्वय नरेश काङमाङ र छत्र वनेम क्रमशः आदिवासी जनजाति महासंघ, बेलायत र किराँत याक्थुङ चुम्लुङ, युकेको महासचिव पदमा निर्वाचित भएकोमा सफलताका लागि बधाई तथा शुभकामना दिने । सायद राजदूत सुरेस चन्द्र चालिसेले भोजमा निम्ता दिएकाले होला, निर्णयको अन्तिम बुँदा त झनै लाजै मर्दो छ । पत्रकारको शिर झुकाउने खालको । लेखिएको छ “यस बैठकका लागि स्थल उपलब्ध गराइदिनुभएकोमा नेपाली दूताबास, लण्डनप्रति हार्दिक आभार प्रकट गर्दै बैठक समापन गरियो ।”
एफ एनजे युकेको कार्य समिति १३ सदस्यिय छ । त्यस दिन भोजमा सामेल हुनेहरु जम्मा ६ जना थिए । अध्यक्ष नविन पोखरेल, बरिष्ठ उपाध्यक्ष चिरन शर्मा र महासचिव नरेश खपांगी लगायत जम्मा छ जना उपस्थित बैठकले कसरि एफ एनजे युको निर्णय गर्यो ? अझ त्यहि बैठक बसेको बेलापनि केहि सदस्य भोजतिरै भुलेछन् अन्य निम्तालुहरुसित गफ गरेर । त्यो निर्णय गर्नेबेला त अझ जम्मा चार जना मात्रै रहेछन् । लौ छ जनालाइनै उपस्थित मानेपनि यस्ता निर्णय गर्दा कम्तिमा सात जना उपस्थित हुनुपर्दैन ? अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र अन्य एक दुई भएर निर्णय गर्ने, बिधि बिधान मिच्ने हो भने एफ एन जेका अन्य सदस्य किन चाहियो ? के अरुलाइ शिखण्डी बनाउन खोजिएको हो ? कि हामी सर्वश्रेष्ठ हौं भन्ने दम्भ झिकिएको हो ? नत्र अल्पमतले गरेको निर्णय सबैले किन मान्ने ? एफ एन जे युके केहि सिमित ब्यक्तिसित किन सती जाने ? केहि सिमित ब्यक्तिको मनोमानीमा चलाउन लागेपछि युकेका अन्य पत्रकार साथीहरुले बोल्नु पर्छ कि पर्दैन ? दुतावासको भोज खाएर त्यहिँ बैठक बस्ने पत्रकारबाट वास्तबिक सूचनाको सम्प्रेषण हुन्छ ?
कसैलाई चासो लाग्न सक्छ, एफएनजे यु केको आफ्नो कार्यालय छैन । भवन छैन । सजिलै कोठा पाइन्न कहाँ गर्ने त बैठक ? यो पटक्कै सत्य होइन । लण्डनमा बैठक बस्नको लागि स्थलको दुख हुन्न । नेपालीहरुले खोलेका स्कूलका कोठा पाइन्छन् केहि समयकालागि । वा अन्यत्र कतै नभएपनि नेपालीहरुलै घरमापनि बैठक बस्ने ठाउँ पाइन्छ । वा कार्य समितिकै सदस्यहरु मध्ये कसैको डेरामापनि बस्न सकिन्थ्यो । पत्रकारिताको स्वतन्त्रता, विश्वास र ईज्जतकालागि कहिँ नपाए सार्वजनिक पार्कमापनि गर्न सकिन्थ्यो । वा कुनै रेस्टुरेन्टमापनि नसकिने होइन । बैठक स्थलको अभावले होइन कि चाकरिको लागि हो भन्न सकिन्छ त्यसो गरिएको । एफ एनजे युकेलाई सरकारि निकाय झैं बनाउने, राजदूतको निकट हुन चाहनेहरुको खेल हो यो । यसले गर्दा सबै पत्रकारहरुको ईज्जतलाई धमिलो पार्ने प्रयास भएको छ ।
बेलायत छिर्यो नेपालप्लस
अघिल्लो पटक नेपालप्लसमा एउटा लेख छापियो । त्यसमा राजदूत सुरेश चन्द्र चालिसेका कमीकमजोरीबारे उठाइएको थियो । लेखमा एकाध नाममा गल्ति भएका छन् । त्यो लेखमा जे उठाईए त्यो सानो अंश मात्रै हो । बेलायतस्थित नेपाली दुतावासका बेथिति धेरैनै छन् । त्यसमा औंल्याइएका कमी कमजोरीहरु राजदूतको टाउको दुखाइ हुनुपर्नेमा बेलायतका नेपाली पत्रकारहरुको टाउको दुखाइ बन्यो । केहि पत्रकारहरु टुप्पी कसेर त्यो लेख कसले लेख्यो भन्दै सोधखोजमा लागे । त्यो लेख कसले लेख्यो भनेर तिब्र सोध खोज भैरहेको छ ।
केहि पत्रकारहरुबिच “त्यो लेख छाद्म नाममा फलानालेनै लेख्या हुनुपर्छ” भन्दै एक अर्कालाई दोष लगाइरहेका छन् । गल्ति कमजोरी सच्याउन लगाउनुपर्छ भनेर कुनै पत्रकारलेपनि भनेको चाहिँ थाह पाइएन । धेरै पत्रकार चाकरिमै लागे । राजदूत चालिसेलेपनि आफ्ना कमजोरी सुधार्ने तिर होइन ‘लौन त्यो लेख झिक्न लगाइदिनुपर्यो, लौन कसले लेख्यो पत्ता लगाउनु पर्यो, कसरि गयो त्यो लेख बुझिदिनुपर्यो” भन्दै गुहारेको मात्रै सुनियो । यहि सामग्रि निस्किएपछि पनि ‘लौ गल्ति भएछ, गल्ति कमजोरीबाटै सिक्ने हो’ भनेर अवश्यै बुझ्ने छैनन् यहाँका पत्रकारले । बरु ‘यो कसले दियो ? भोज खान निम्ता नपाउनेले लेख्या हो रिसले’ भन्दै हिँड्ने संभावना बढि छ यहाँका पत्रकारहरुको ।
कुनै कुनै पत्रकार त कस्तासम्म देखिए भने ‘लौ न त्यो नेपालप्लस अब बेलायत छिर्यो । अब ध्वस्त पार्छ । अब ककसलाइ धुस्तसित लेख्छ, त्यसले त पसेपछि के के लेख्छ लेख्छ’ भनेर पिरलो गरेको पो सुनियो । जबकि गतिलो सूचना दिने कुनै ब्यक्ति वा मेडिया आफ्नो ठाउँमा आउँदा खुशि हुनुपर्थ्यो । तर नेपाली दुतावासको अघिल्लो खबर लेखेपछि खुशि हुने केहि पत्रकार, सर्वसाधारण र प्रतिष्ठित ब्यक्तिपनि धेरै देखिए । धेरैले भने “ओहो त्यो त डेन्जर रहेछ । ड्यामड्याम लेख्ने रहेछ । मुटु भएको मान्छेले पो चलाएको रहेछ ।’ कोहि चाहिँ भन्दै छन् “हैन उति टाढाबाट त्यो साईटले कसरि पत्ता लगायो, राम्रो लेखेछ, बेलायतका पत्रकारले लेख्न नसकेको त्यसले लेखेछ ।”
(यो लेखको मुख्य अंश प्रसाईको नाममा आज बुधबारको जनआस्था साप्ताहिकमा छापिएको छ । त्यसैलाई तन्काएर प्रसाइले यो लेख नेपालप्लसकालागि लेखेका हुन् । लेख लेखकको अनुरोधमा सम्पादन नगरि राखिएको हो ) ।
आज जनआस्था साप्ताह्कमा प्रकाशित समाचार तल हेर्नुस् ।
दूतावासको छायाँमा पत्रकारको दशैं
प्रतिपक्ष हुनुपर्ने पत्रकारहरू राज्यपक्षीय भइदिए भने के हुन्छ ? सत्य–तथ्य सूचना प्रवाह हुँदैन । नेपाल पत्रकार महासंघ बेलायत शाखामा त्यही भइरहेको छ । अक्टोबर २० का दिन नेपाली दूतावास बेलायतको कार्यक्रममा दशैंको भोज खाँदै महासंघको बैठक बस्यो । त्यसदिन दूतावासले छानी–छानी नेपालीलाई दशैंको भोजका निम्ति बोलाएको थियो । महासंघका सबै सदस्य निम्त्याइएका थिएनन् । त्यसैले धेरैजसो ‘निम्ता नभएको भोजमा किन जाने ?’ भन्दै उपस्थित भएनन् । तर, भोज खाइसकेपछि महासंघको बैठक दूतावासमै राखेर शाखाका केही सदस्यले राजदूत सुरेशचन्द्र चालिसेप्रति भक्ति देखाए । महासंघलाई दूतावासको छत्रछायामा कैद गरे ।
महासंघ बेलायत १३ सदस्यीय छ । तर, भोज खाइसकेर एक कुनामा गरिएको बैठकमा सभापति नवीन पोखरेल, वरिष्ठ उपाध्यक्ष चिरन शर्मा र महासचिव नरेश खपांगीसहित जम्मा ६ जना मात्रै उपस्थित थिए । कोरम पुग्न कम्तीमा सात सदस्य उपस्थित हुनुपर्छ । तर, त्यहाँ जम्मा ६ जनाले महासंघका नाममा आधा दर्जन निर्णय गरेर गर्नु गरे । अचम्म त के छ भने ६ जना उपस्थित पत्रकारमध्ये पनि बैठकमा सबै उपस्थित थिएनन् । तीमध्ये केही भोजमै व्यस्त थिए ।
शाखाको वार्षिक साधारण्ँसभा १६ फेब्रुअरीमा लन्डनमा गर्ने, सदस्यता लिन इच्छुक पत्रकारका लागि सदस्यता आवेदन खुला गर्ने, आर्थिक स्रोत जुटाउनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक कार्य गर्न सदस्य देवी गौतमलाई जिम्मा दिने, शाखाले निकट भविष्यमा प्रकाशन गर्न लागेको स्मारिकाको व्यवस्थापन संयोजन गर्ने जिम्मा अध्यक्ष नवीन पोखरेललाई दिने, शाखाका सदस्यद्वय नरेश काङमाङ र छत्र वनेम क्रमशः आदिवासी जनजाति महासंघ, बेलायत र किरात याक्थुङ चुम्लुङ, युकेको महासचिव पदमा निर्वाचित भएकामा सफलताका लागि बधाई तथा शुभकामना दिने निर्णय गरेर सूचना सर्कुलर गरियो ।
सर्कुलरको अन्तिम बुँदामा त झन् गजबको वाक्य उल्लेख गरियो ‘यस बैठकका लागि स्थल उपलब्ध गराइदिनुभएकामा नेपाल पत्रकार महासंघ युके नेपाली दूतावास, लन्डनप्रति हार्दिक आभार प्रकट गर्दछ ।’ महासंघलाई स्वतन्त्र संस्थाका रूपमा लैजानुपर्छ भन्ने केही पत्रकार यो रवैयाप्रति क्रुद्ध बनेका छन् ।
बेलायतस्थित नेपाली दूतावासमा नेपालीका अनेक गुनासा र अप्ठेरा छन् । तर, बेलायतका पत्रकारले ती कहिल्यै उठाउँदैनन् । बेलायतमा महासंघको शाखा भए पनि दूतावासका कमी–कमजोरी र एनआरएनले गरेका गलत निर्णयबारे ती पत्रकारले लेख्ने गरेका छैनन् । बरु महासंघका केही पदाधिकारी दूतावास, एनआरएनका व्यक्ति, व्यापारी र ठूलाठालुकै निर्देशनमा चल्ने गरेका छन् । यसले गर्दा बेलायतमा नेपाली पत्रकारको इज्जत दिनदिनै खस्क“दो छ र पत्रकार महासंघ तिनै संस्थाको भ्रातृसंगठनझै“ चलिरहेको छ । –तेजेन्द्र प्रसाईं





