पत्रकार बन्न इन्स्पेक्टर थर्काउने गाण्टेका कथा
–गुमनाम
[फुपुले मकैको सुलिले छेल पारेको क्षितिजलाई अलिकती घाँटी तन्काएर हेरिन । तिनका आँखाबाट दुई थोपा आँशु बुर्लुङ्ङ पल्टे र बलेनीमा पुगेर छाँट्टिए । ]
बम्बैमा हिरो बन्न हिंडेको गाण्टे लामा लामा दाह्री पालेर दुई बर्ष पछी गाउँ फर्क्यो । आफुसँगका दौतरी एम एमा भर्ना हुन काठमाण्डौ-नारायणघाट गरिरहेका थिए । त्यसलाई गाउँ बस्न फिटिक्कै मन लागेन । आमालाई भन्यो- आमा म काठमाण्डौ जान्छु, पढ्न । आमा केही बोलिनन । राती सुत्ने बेलामा बल्ल बुढी बोलिन “सुन्तो – के ले पढ्छस र खै । बा का हाताँ व्यबहार भएको भए त अली अली पैसा खोज्दिँदा हुन । तेरा दाईले के पैसा देला र
।”
बुढी एक पटक सुँक्क गरिन र पल्लो खाटमा सुतेका त्यसका बा लाई हेरिन । बुढालाई डेड बर्ष पहिले पक्षघात भएको । त्यो बेलादेखी त्यही खाटमा छन । “ह्या जसरी भएपनी जान्छु । सके पढ्छु । नसेके काठमान्डौमै कुल्ली हुन्छु । मलाई पाँच पाथी चामल हाल्देउ । म भोली बिहानै जान्छु ।” भोली बिहान एक बोरा चामल ढोकाको छेउमै ठीक्क थियो । त्यसले अली अली भात खायो । पालीतिरको कोठामा झोक्राएकी फुपुको खुट्टामा टुपुक्क ढोग गर्यो । फुपुले त्यसको लामो लामो कपाल पर्ल्याङ पुर्लुङ पारिन । “कहिले आउँछस फेरी ?” फुपुको निरिह प्रश्न ।
“खै” त्यो धेरै बोल्न सकेन ।
फुपुले मकैको सुलिले छेल पारेको क्षितिजलाई अलिकती घाँटी तन्काएर हेरिन । तिनका आँखाबाट दुई थोपा आँशु बुर्लुङ्ङ पल्टे र बलेनीमा पुगेर छाँट्टिए । बाका खुट्टामा पनि ढोग्यो । एकछिन बुढाका पैताला मुसार्यो । “काँ हिडिस ? ” बाले सोधे ।
“म पढ्न ।”
“ए जा तनी ।”
त्यसपछी बुढा बोलेनन । बाहिर निस्किँदा भाउजुले पर्लक्क ठुला आँखा पार्दै चामलको बोरालाई हेरिन र एक्लै गुनगुनाईन् । त्यो वास्तै नगरि हिँड्यो । आँगनको छेउमा पुगेको हुँदो हो । आमाले बोलाइन “पर्खि तो ।” एउटा पाँच सयको नोठ हातमा राखिदिइन । गाण्टेले चामलको बोरा काँधमा राखेर हिँड्यो । पछी पनि फर्केन । गोपी, रामु उतै थिए । केटाकेटी देखीका दौतरी । त्यो तिनिहरु सँगै गाँसियो । तीन जना भए बागबजारको फोहोर गल्ली भित्रको एउटा सानो कोठामा । तिनिहरुको कोठामा राती अबेर सम्म स्टोभ बल्छ – र कहिलेकाँही कुखुराको मासु पाक्छ । अनी च्यालेन्जरको बोतल खोलिन्छ । गान्टेले परार साल सिकेको रक्सी खान । त्रिलोचनले सिकाएको । त्रिलोचनले के के भन्यो कुन्नी धार्केमा गान्टेले एक ग्लास बियर घुटुक्कै निलेको हो । त्यसपछी देखी त्यो बियरमा पल्क्यो । तर जाडोको बेला तिनिहरुले बडेमानको रक्सीको बोतल किन्छन र मुसार्दै कोठासम्म पुग्छन । त्यही बेला तिनै जनाका सपना छचल्किन्छन- एक दिन यो घर कि बुढीलाई पनि लाग्छ ।
साँच्चिकै ठुला मान्छे रहेछन ति केटाहरु । बुढीले आफ्नै आँखाले यो पुरानो घरलाई संग्राहलय बन्दै गरेको देख्ने छे – गोपी खित्का छोडेर हाँस्छ । रामु गमखान्छ । गाण्टे आफ्नै सुरमा हुन्छ । बम्बैको ठक्कर त्यसका आँखाले पटक पटक ओकल्छन अनी भन्छ “यि हाम्रा थोत्रा जुत्ता, त्यो खाट, यो स्टोभ सबै पर्दर्शनीमा राखिने होलान कुनै दिन । त्यो बेला म बाँचे भने हाम्रो बारेमा गतिलो लेख लेख्ने छु । सपनाहरु कुहिएर फ्यात फ्याती झर्लान भन्ने के थाहा त्यसलाई । रक्सिले टाउको फुट्ने गरी माते पछी तिनैजना बुर्लुङ्ङ एउटै खाटमा पल्टिन्छन ।
भोलीपल्ट नुहाउने बेलामा माथिबाट बुढी चिच्याउँछे “कती चलाउँछ पानी पनि । बुरालाई ट भनेको नि बाहुनहरुलाई डेरा नडिउ भनेर । केटाहरु जाटी छ भन्यो । अहिले पानीको साटोपुट्लो उडा छ ।”
गान्टे बाथरुम भित्रै गुनगुनाउँछ “यो बुढी त फुक्लुक्कै मरे नि हुने नि ।” गाण्टेको श्रापले बुढी के मर्थी ! तिनिहरु आँफैले डेरा सरे । डेरा मात्र हो र ? तिनिहरुले ति महत्वकांक्षा र अभाव पनि सँगसँगै सारे । बर्ष दिनसम्म गान्टेले जागिर पाएन । गैंडाकोट पनि फर्केन । यो एक बर्ष कसरी बित्यो त्यसैलाई थाहा छ । एक दुई दिन त गोपी र गाण्टे भोकै पनि बसे । कहिलेकाँही सर्बनामको नाटक खेलेर आउने पैसा बाहेक अरु केही आम्दानी थिएन । एक बर्ष पछी कृष्ण कँडेलले जनमन्च साप्ताहिकमा गाण्टेलाई लगेर झोसे । किशोर नेपाल सम्पादक ।
गाण्टेले पहिल्यै सुनेको “ति त निकै कडा सम्पादक रे।” डरले थुर थुर भयो । दोस्रो दिन एउटा एसाइन पायो । निकै मेहनत गर्यो । सम्पादक लाई बुझायो । झ्वारर्र त्यसको रिपोर्टिङ फोहोरको बाल्टीमा पुग्यो । “फेरी लेखेर ल्याउनुस्” किशोर नेपालले चुरोटको धुवाँ उडाउदै भने । फेरी लेख्यो त्यो पनि च्यातियो अनी फेरी लेख्यो त्यो पनि च्यतियो । “हैन यो बुढालाई अफिस मै सिध्याइ दिउँ कि क्या हो” दिमाग भरी गज्याङमज्याङ कुरा खेले । चौथो पटक पनि लेख्यो । “यो पटक पनि च्यातियो भने बुढालाई खुत्रुक्कै पार्दिन्छु” मनमनै सोच्यो । उनले सरसरी पढे । “भेरी नाइस, यस्तो भनेको मैले ।” पछी कृष्ण कँडेलसँग भनेछन “केटोको लेखाइ निकै राम्रो छ । एक हप्ता पछी नै गाण्टे किशोर नेपालको प्यारो पत्रकारमा दरियो ।
भोली पल्ट गाण्टेको रिपोर्टिङ पहिलो पेजमा छापियो, पहिलो पटक । गाण्टेले पाँच थान पत्रीका किन्यो र धौलागिरी होटेल भित्र छिर्यो । गैंडाकोटका मान्छेको बास बस्ने थलो त्यो होटल । सबैलाई पत्रीका बाँड्यो र गमक्क पर्दै चिया अर्डर गर्यो “ओई च्यान्टे रङ कडा हालेर अली ठुलो ग्लासमा च्या ले त ।” भोली पर्सीपल्ट धौलागिरीमा गैंडाकोटका मान्छेहरुले गाँई गुँई गरे “गाण्टे त पत्रकार भएछ ।” गाँउमा गाण्टेको नाक अली माथि भयो । त्यसै बर्षको दसैंमा त्यो गाँउ गयो । अली गमक्क परेको गाण्टेले दोस्रो दिन गैंडाकोट थानाको इन्स्पेक्टरलाई थर्कायो “दलितले किन दुध बेच्न नपाउने” भनेर । इन्स्पेक्टर बोल्नै सकेन । जनमन्चको पत्रकार बम्किदै गरेको हेर्यो र लुसुक्क परेर भित्र गयो ।
गान्टेले छोडेन “नेपालको कुन कानुनले भनेको छ दमै कामिले दुध बेच्न नपाउने भनेर ?” त्यो पुलिस बोल्दै बोलेन । “मलाई तपाईंको प्रतिकृया चाहियो” पुलिस चुक्क पनि बोलेन । बेलुका घर पुग्दा आमा बम्किन “अब दमै कामिको जुलुसमा हिन । धर्मकर्म बिर्सें पछी त के लाउनी रच र ।” त्यस दिन देखी गाण्टेले चुल्होमा प्रवेश पाएन । आमा, बा र फुपुले त्यसले छोएको पानी पनि खाएनन । “कस्ता कुसुन्नाको जात परे” भाउजु जुठेल्नाबाटै उफ्रीन । गाण्टेले कसैको केही सुनेन । अर्को दिन दमैकै घरमा बसेर भात खायो । लौ जा ।
दसैं पछी हिंड्ने बेला भन्दा पहिलो दिन आमालाई राम्ररी सम्झायो “ति दमै कामी पनि मान्छे त हुन नि । हामी जस्तै बोल्छ ।, उस्तरी नै हाँस्छन । उसरी नै रुन्छन । काटे हामी सबैलाई दुख्छ । सबैको रगत उस्तै रातो हो । हैन र आमा ।”
“हुन त हो । तर यो समाजले के भन्छ भनेर हो । क्यार्नी समाज पनि मान्नै परो ।” गान्टे भित्र देखी खितितित्त हाँस्यो । गोपी रामु नारायणघाटमा पुगेका थिए होला । गान्टे अझै हिंडेन । के के भो के के । बा अझै कम्जोर हुँदै गैरहेका थिए । फुपुको अवस्था पनि उस्तै । आमा पनि भान्साको धुवाँले भित्र भित्रै गलेकी थिइन । गाण्टेका आँखाबाट बर्बरी आशु झरे । तैपनि झोला बोकेर हिँड्यो । भाउजुले बाटो रोकिन “अब हाम्ले यि बुढाबुढी पाल्न सक्तैनम । कि खुरु खुरु पैसा पठाउनी । कि छुट्टीनी र बुढाबुढी हतार्नी ।” गाण्टे केही बोलेन । सिधै मुल सडकमा निस्क्यो । चोकमा पल्लाघरे काकाले कुन्नीको सँग कुरा गर्दै गरेको सुन्यो “बल्ल एउटा मर्द निस्क्यो गाँउमा । अब गाण्टेले केही गर्छ ।”





