स्पाईनल ईन्जुरी र पुनर्स्थापना केन्द्रको आवश्यकता
• डा.कृष्ण प्रसाद पौडेल / मेरुदण्ड र हाडजोर्नी विशेषज्ञ
भरतपुर अस्पताल
मेरुदण्ड र सुषुम्ना नाडीको वनावट
मानव शरीरको हरेक अंगको संरचना जटिल भए झैं मेरुदण्ड र सुषुम्ना नाडी (Spinal Cord) को वनावटपनि जटिल र वढी संवेदनशील छ । हाम्रो शरीरको अधिकांश अङ्गहरु चलायमान यसैबाट हुने गर्दछ । मानव मेरुदण्ड (Vertebral Column) ३३ वटा हड्डीहरु (Vertebrae) बाट वनेको हुन्छ । शरीरको पछाडी पट्टि रहने मेरुदण्ड टाउकोको फेद देखि ढाडको पुच्छर सम्म हुन्छ । यसलाई पाँच भागमा वाँडिएको हुन्छ । यो हाडहरुले वनेको मेरुदण्डको भित्री भागमा सुषुम्ना नाडी (Spinal Cord) रहेको हुन्छ । हाम्रो मस्तिष्क संग जोडिएर यो सुरक्षित सित यो संरचनाभित्र रहेको हुन्छ । यही Cord बाट ३१ जोडि Spinal nerves (नशाहरु) निस्कन्छन् र यिनै नशाहरुले हाम्रो हात, खुट्टा, दिशा पिसावको ग्रन्थी र शरीर संचनालन भएको हुन्छ । औसत मानिसको मेरुदण्ड ७२ सेमी लामो हुन्छ र सुषुम्ना नाडी ४५ सेमी हुन्छ ।
के हो स्पाईनल कर्ड ईन्जुरी भनेको ?
सुषुम्ना नाडी (spinal cord) मा चोट वा रोग लागि यसले गर्ने काम जस्तै शरीर चलाउने र स्पर्श थाहा हुने कुरामा कमि भएमा यसलाइ स्पाईनल ईन्जुरी भनिन्छ । स्पाईनल कर्ड भनेको मस्तिष्कबाट निस्किने नसाहरुको मुठो भएको हुँदा चोट वा रोगले कति नसालाई असर पारेको हुन्छ त्यति नै असर शरीर वा हात खुट्टामा पर्ने हुन्छ । जति मेरुदण्डको माथिल्लो भागमा रोग लाग्छ त्यति नै ठूलो क्षति शरीरमा लाग्दछ । जस्तै घाँटीको मेरुदण्ड र कर्डमा चोट लागेमा चारवटै हात खुटा नचल्ने वा कमजोर हुने हुन्छ भने घाँटी भन्दा तल्लो मेरुदण्डमा चोट लागेमा खुट्टा हरु मात्रै पक्षघात हुने गर्दछ ।
(स्पाईनल कड इन्जुरिका समस्या, भरतपुर अस्पत्तालमा यसको सेवाबारे सर्व साधारण, बिरामी र यसको उद्घाटनका दिन आएका निम्तालुहरुलाई सुनाउँदै लेखक)
त्यसै गरि स्पाइनल कर्ड इन्जुरी कुन भागमा रोग लागेर भएको भन्नुको साथै रोग र चोटको प्रकृती हेरेर पनि यसको जटिलता उत्पन्न हुन्छ । गम्भीर खालको चोट लागेमा सो त्यो भाग तल चल्ने शक्ति र स्पर्स थाहा पाउने शक्ती पूर्ण रुपमा नस्ट हुन सक्दछ । जसलाई complete injury भनिन्छ भने चोट वा रोगले सवै नसा पुर्ण नष्ट नगरेको रहेछ भने त्यसलाई incomplete injury भनिन्छ । यसको साथसाथै यस्तो इन्जुरीले दिसा पिसाब गर्ने क्षमता, यौन र प्रजनन क्षमतामा पनि ह ह्रास आउँछ । संयुक्त राज्य अमेरीकामा प्रत्यक वर्ष १०,००० यस्ता विरामिहरु थपिन्छन् । अधिकांश पुरुषहरु प्रभावित हुन्छन र १६ देखि ३२ वर्षको उमेरमा यसको प्रकोप बढी देखिन्छ । मुख्यत सवारी दुर्घटना र उचाइवाट लड्ने कारणहरुले यो समस्या निम्त्याउँछ ।
स्पाईनल ईन्जुरीको समस्या
(यसको सेवा बिस्तार भएपछि उद्घाटन गर्दै वरिष्ठ पत्रकार, राजनितिक विश्लेषक कनकमणी दिक्षित)
विश्व स्वास्थ्य संगठनको आंकडा अनुसार कुल जनसंख्याको दश प्रतिशत मानिस अपांग हुन्छन् र त्यसमा यो रोगले पार्ने अपांगता उल्लेख्य छ । नेपालमा अरु देशमा भन्दा भिन्न यो रोग उचाई वाट लड्ने समस्याले भएको आँकडा छ । गाउँहरुमा रुखवाट लड्ने र पहाडमा भिरवाट लड्ने समस्याले गरीविको रेखामुनि बाँच्ने हाम्रा दाजु भाई दिदी बहिनीहरु यसवाट बढी पिडीत छन् । तर यस रोगको मात्रा जति छ उति नै कम यसको वारेमा चेतना र सुविधाहरु हाम्रा अस्पतालहरुमा छैनन् ।
चोटको साथै मेरुदण्ड रोगले पक्षघात हुने अरु कारणहरु क्षयरोग र क्यान्सर हो । अविकसीत देशहरुमा हुने अरु प्रसंग जस्तै यो रोग, यसको उपचार र पुनस्र्थापनाको बारेमा जनमानसमा निकै कम जानकारी छ । केहीले यसलाई पुर्व जन्मको पाप भनेर व्याख्या गरेको पनि सुनिन्छ । तर हाम्रो र हाम्रो समाजको उत्तरदायीत्व हो की हामी यो रोग र यसवाट पर्ने प्रभावको वारेमा संधै वेखबर रहन सक्दैनौं । समयमै हुने उपचार, अप्रेशन र उपयुक्त पुनस्र्थापना सेवा नै यो समस्याको सही समाधान हो । यसवाट नै पिडीत व्यक्ति हरुलाई पुनर्जिवन दिई हामीले उनिहरुलाई समाजको मुख्य धारमा फर्काउन सक्दछौं । पुनर्स्थापना शारीरीक, मानसीक, सामाजिक र आर्थिक रुपमा भएमा मात्रै यो काममा हामी सफल हुन्छौं । यी सवै कृयाकलापहरु एउटै छानामुनि गराउन एउटा मेरुदण्ड पक्षघात पुनस्र्थापना केन्द्रको तत्काल आवश्यकता छ ।
भरतपुर अस्पतालमा स्पाईनल ईन्जुरी सेवा
२०१७ सालमा स्थापित यस भरतपुर अस्पताल यस वरपरका जिल्लाका करिब ४० लाख जनताको आशा र भरोसाको केन्द्र विन्दु रहँदै आएको छ । नेपालको तथ्यांकमा प्रमुख १० रोगहरु भित्र दुर्घटना र चोटपटक पर्ने हुँदा यस अस्पतालमा पनि यो समस्या प्रमुख रोगको रुपमा सधै रहेको छ । यसैले यहि मात्रामा स्पाईनल इन्जुरीको चाप पनि यहाँ हुने गर्दछ । विगत ३ वर्ष देखि यस अस्पतालमा मेरुदण्डको अप्रेशन सेवा नियमीत शुरु भएपछि हाल सम्म करीव १२० वटा मेरुदण्डको अप्रेशन भइसकेको छ र त्यसमा आधा ईन्जुरी कै विरामीहरु छन् । ६० जनाको अप्रेशन गरीएकोमा १५ जना घाँटीको मेरुदण्डको चोटको कारणले, १५ जना माथिल्लो (Dorsal ) ढाडको चोटको कारणले र वाँकी तल्लो मेरुदण्ड (Dorso-lumbar) भाँचिएर पक्षघात भएका थिए । यसमा अधिकांश निम्न आय भएका समुदायका विरामीहरु छन् । यिनमा १० जना विरामी त चेपाङ मात्र छन् ।
यसरी मेरुदण्ड पक्षघातका विरामीको उपचार र अप्रेशन गर्न हामी अस्पतालमा सफल भएपनि यसपछि हुनुपर्ने पुनर्स्थापना सेवा हामी कहाँ छैन । अप्रेशन भईसकेर पनि सवै विरामीको पक्षघात सञ्चो हुँदैन । ति विरामीहरुलाई ह्वील चेयर उपलब्ध गराउने देखि लिएर पक्षघात पुनस्र्थापना गर्न विभिन्न सामान, उपकरण र विशेषज्ञहरुको आवश्यकता पर्दछ । फिजियो थेरापी, occupational therapy, conselling, vocational training आदि विधाहरु यो कार्यक्रममा पर्दछन् । जसले अपाङ्ग व्यक्तिलाई पनि सपाङ्ग जस्तै जिवन विताउन तालिमहरु दिईन्छ । र अन्तमा उसलाई समाजमा पुनर्स्थापना गराउनु हाम्रो उद्धेश्य रहन्छ जहाँ परिवार र समाजले उसलाई वोझको रुपमा नलियोस ।
(तस्विरहरु डा. कृष्ण प्रसाद पौडेलकै अनुमतीमा उनैको फेसबोकबाट लिईएको हो)








