आजकै दिन मृत्युदण्ड पाऊँ हजुर
– गुमनाम (द्धितिय)
कुनै बेला गुमनाम द्धितिय कांग्रेसी कायकर्ता थियो । तर उसका सबै साथी माओवादी । साथीले उसको दिमाग माओवादको लुँडोले यसरी माझिदिए कि ऊ भोट काँग्रेसलाई दिने । तर भौतिक, नैतिक र आर्थिक सहयोग भने माआवादीलाई गर्ने भो । गुमनाम राती पोष्टर टाँस्न हिँडेन कि ? माओवादीका कार्यक्रमलाई भौतिक समर्थन गरेन कि ? कार्यकर्तालाई १० बाई १२ को कोठामा घरबेटीको गाली सहँदै पालेन कि ? उसको क्षमताले भ्याएसम्म गर्नु सम्म गर्यो । गिरजाप्रसादले एमालेलाई संकेत गरेर आफ्ना कार्यकर्ता र अरुलाई त्यसै भनेका होइनन ‘दिउँसो दिउँसो एमाले राती राती माओवादी ।’
समय बित्दै गो, गुमनामको दिमागमा पनि बुद्धिको जालो अलि अलि लाग्दै गो । बिस्तारै बाहिरी संसार हेर्दै गो । श्रीलंकाको माओवादी आन्दोलनदेखि भारतका चारु मुजुमदार र झापा आन्दोलनसम्मका कुरा उसले अलि अलि मेसो पाउँदै गो । उसको दिमागको गियर न्यूट्रलमा आयो । ऊ अहिले कुनै पार्टीको पनि समर्थन गर्दैन् । चुपचाप छ । चुपचाप रहनुको कारण ऊ अब सुध्रनै नसक्ने अवस्थामा पुग्यो । नेताले भनेको कुरा ऊसले पत्याउनै छाड्यो । किनकी
१. पढाई चाहिँदैन, हाम्रो सत्ता आएपछि पढाई प्रिति फन्टबाट युनिकोड फन्टमा कन्भर्ट भएजस्तै कन्भर्ट हुन्छ भन्ने कुरा उसले सुनेको थियो । तर माओवादीका कार्यकर्ता बुढेसकालमा एसएलसीको परिक्षा दिँदै गरेको उसले आफ्नै आँखाले देख्यो ।
२. जनताबाट सियो र धागो पनि नलेऊ भनेर माओले भनेका छन भनेर उसको दिमागमा हालिदिए । तर, अधिकांश कार्यकर्ता पैसा, मोबाइल र युवतीका पछि लागे । पायल चच्पल लगाउनेहरु पजेरो चढेर पचास लाखको चेक गोजीमा हाल्न सक्ने हैसियतका भए ।
३. सँगैका दौतरी कसैले अरब गएर घर खेत जोडे । कसैले पढेर प्रगति गरे । कसैले बिहे गरेर छोराछोरी हुर्काए । तर, युद्धमा लागेका गुमनामका धेरै साथीहरु आधी जीवन थाती राखेर रिक्तो हात ‘अपराधी’ को संज्ञा बोकेर घर फर्किरहेका छन् । फर्किए पनि । अब गुमनामले नेताको धेरै कुरा पत्याउन छाड्यो । किनकी ऊ यी सबको साक्षी गुमनाम भो ।
४. बन्दुक छाडेर आउने बेला नेताहरुले अब गान्धी बन्ने हो भनेको पनि पढ्यो गुमनामले । हुन पनि हो रैछ । भारतिय लेखक एसडी मुनिले नेताले लगाएको तिरंगा छाप पाइण्ट खोलिदिएपछि शरिरमा लगौटी मात्र बाँकी रह्यो । लगौटी मात्र बाँकी रहेपछि गान्धी त नेताहरु यसै बन्नु भयो । ‘कुमार्गी’ ब्राण्डको ह्वीस्की सकिएपछि उहाँहरुले मोक्ष प्राप्त गर्नु हुन्छ अनि शत प्रतिशत गान्धी बन्नु होला भन्ने गुमनामको ठहर छ । तर, अब गुमनाम नेताको केही कुरामा पनि विश्वास नगर्ने भो । ऊ अब झूठो आश्वासनमा नबाँचने भो । भनौ सुध्रनै नसक्ने भो । उहिले उहिले मान्छे सुध्रनै नसक्ने भएपछि (नेता कै भाषामा) रामेछापको जंगलमा लगेर मृत्युदण्ड दिइन्थ्यो रमेश ढुंगेललाई झैं ।
१० अक्टुबर मृत्युदण्ड विरुद्धको दिवस रहेछ । तर, गुमनाम यहि दिन मृत्युदण्ड माग गर्दैछ । किनकी अब ऊ सुध्रने नसक्ने भो । न जग्गा दलाल गर्न जान्यो । न दुइटी स्वास्नी ल्याउन जान्यो । न चन्दन काठ चिन्यो । न आइफोन बोकेर धम्क्याउन जान्यो । न क्यासिनोमा आफ्ना मान्छे घुसाउन जान्यो ।
उसलाई झुण्ड्याउनु अघि उसको एउटा शर्त छ । उसलाई जसरी मृत्युदण्ड दिएपनि हुन्छ । तर, त्यसभन्दा पहिले नेता स्वयं झुण्डिनु पर्नेछ । किनकी उहाँ गुमनाम भन्दा धेरै जान जानेको, उमेरले जेठो र ब्यवहारले परिपक्क हुनुहुन्छ । ऊ आफूभन्दा ठूलालाई आदर गर्छ । आफ्ना मार्गदर्शकको प्राण उडेपछि मात्र ऊ झुण्डिने छ ।
यो कुरा मान्य हुँदैन भने भारतिय बिस्तारबाद विरुद्ध लड्न भनेर ख्याल ख्यालमा खनिएका खाडलमा नेता स्वयं पुरिनु पर्ने छ । उहाँका गोडा निला भएपछि मात्र गुमनाम खाडलमा जानेछ । किनकी ऊ विद्धानहरुलाई पहिले प्राथमिकता दिन्छ । यदि यो पनि मञ्जुर भएन भने भोटेकोसीको छेऊमा रक्त चन्दन चाङ लगा र त्यसैमा पैसाको बिटो राखेर चिता बनाऊ । यसमा पनि बाटो देखाउने अगुवा पहिले जल्नु पर्नेछ । अनि मात्र गुमनाम । बाँकी रहेको रहल पहल आगोमा पस्नेछ ।
यी कुनै कुरा पनि मञ्जुर भएनन भने म काममा जान्छु । तपाई चाही जे मन लाग्छ त्यही गर्नुस । मलाई यसो भन्ने भनेर साह्रै रिसाउनु भो भने एउटा जोक्स भन्छु नि । जोक्स अन्तको पनि राख्थे । तर तपाईलाई भारतको जोक्स नै प्यारो हुने भएकाले उतिकै राखिदिन्छु । जोक्स लेख्ने मान्छे खुस्बुबन्त सिंह भारतका प्रख्यात लेखक र पत्रकार हुन् । उनका थुप्रै किताब युरोपमा बेस्ट सेलर छन् । उनी भारतमा पढिने उपल्लो स्तरका लेखक हुन । उनका लेख रचना भारतमा सबैभन्दा बढी पढिनेमा पर्छ । उनको हाँस्य चेतना पनि उत्तिकै छ । सिंहले जोक्सका किताब पनि लेखेका छन् ती पनि बेस्टसेलर । उनको एउटा जोक्स ।
राजनीति (राजनीतिज्ञ होइन है) गर्ने एउटा भारतिय मरेछ । उसलाई लगेर गाडियो । वर्ष दिन पछि उसको छोरो चिहानमा श्रद्धाञ्जली अपर्ण गर्न गयो । तर चिहान नै चिनेन । भएछ के भने पुरपार पारेर हिँडेपछि नेताबाट निकै फाइदा लिएको एक कायकर्ताले चिहान माथि सिमेण्टको स्तम्भ बनाएछ । फाइदा लिने अर्को कायकर्ताले जन्म मृत्युमात्र उल्लेख गरेर शिलालेख राखेछ । फेरि अर्को कार्यकर्ता गएर शिलालेखमा लेखेछ ‘इमान्दार राजनीतिज्ञ’ ।
हातमा फूल लिएर चिहान खोजीरहेको छोरो अझै सोच्दैछ–‘दुईटा मानिसको एउटै चिहान कसरी हुन सक्छ ?’
तपाईको रिस अझै मरेको छैन् भने मसँग ३ वटा जोक्स र एउटा सामान्यज्ञानको प्रश्न छ । यछि छाडेर म बिदा भएँ है त ।
……………………………………………………………………………………………..
श्रीमती
बिहेको पहिलो वर्ष : फुसर्द भए हजुरले यो फोहोर बाहिर लगेर फालिदिनु हुन्छ त ?
दोस्रो वर्ष : फोहोर बाहिर लगेर फाल्दिनु न ।
तेस्रो वर्ष : एएए……फोहोर… (जोडले चिच्याएर)
बिहेको पाँच वर्ष सम्म
श्रीमान् : तिमीलाई टाउँको दुख्यो ? बरु तिम्रो साटो मेरो टाउको दुख्या भा हुन्थ्यो । दुई शरीर एक आत्मा न हो हाम्रो । तिमीलाई केही भयो भने के होला मेरो गति ? तिमी छैनौ त म पनि छैन ।
बिहेको पाँच वर्ष पछि
श्रीमान् : हैन टाउँको पनि तलाई कति दुख्नु पर्ने ? मैले भन्द्याछु है आज भात पकाइनस भने कि तँ छैनस कि म छैन् ।
सामान्य ज्ञान
भनिन्थ्यो पूर्व सोभियत संघमा हरेक चार जनामा तीन जना सरकारी जासुस हुन्थे । जासुस आफू आफू लड्थे र ३ जना बिचको रिपोर्ट लेखेर सरकारलाई दिन्थे । तीन जनाको लराभातीमा मात्रै जासुसी रिपोर्ट सिमित भो । तर सरकार कम्युनिज्यमलाई कताबाट खतरा छ भन्ने रिपोर्ट चाहन्थ्यो ।
अहिलेको नेपालको अवस्था हेर्दा (समाचार र पत्रिका पढ्दा) हरेक चार जनामा एक जना युनिएनको नाइके बनेर होटल बन्द गराउने, अर्को रक्त चन्दन तस्करी गर्ने र तेस्रो पार्टीका नाममा चन्दा उठाउने अनि मारमुङग्रीमा लागेको देखियो । यो पार्टी कुन होला र बाँकी रहेको एउटा कता गयो त्यो पत्ता लगाउने जिम्मा तपाईलाई ।





