फलफूल पत्रकारिता र ई–चाकडी

गुमनाम द्धितिय

भिनाजु……म कतारबाट…….मैले……

–ए बुझें ।

सर अस्ति मात्र….

–हो है

हेर्न पाउनु भएन है ?

–अहँ, पाइन ।

यस्ता र यस्तै खाले खबर आएका थिए । आइरहेका पनि छन् । केही फेसबुकमा । केही फोनमा । केही एसएमएसका रुपमा । खबर गर्ने सबैको आसय हुन्छ मैले ब्लग वा बेवसाइट संचालन गरेको छु । एक पटक हेरेर प्रतिक्रिया जनाउनु होला । केही दिन अघि खबर दिने जति सबैको साइट हेरें । दिक्दार लागेर आयो । सबैले राष्ट्रिय दैनिक वा नाम चलेका अनलाइनबाट साभार गरेका छन् । नयाँ केही छैन । छ भने साइटको नाम मात्र नयाँ छ । समाचारको पनि एउटा मिति हुन्छ । पढेपछि सकियो वा त्यसको मृत्यु भयो । मृत्यु पछि त्यसको फलोअप हुन्छ । तर, धेरैले त्यही मृत्यु भएका वा बासी समाचारको क्रियापुत्री भएर क्रिया गरिरहनु भएको छ र मलाई मलामी जान खबर गर्दै हुनुहुन्छ ।

पाठक जानकारी बटुल्न चाहन्छन भन्ने कुराको ख्याल गरेको देखिएन । समाचार किन र कसका लागि भन्ने कुरा महत्वपूर्ण कुरा हो । खै कसले चलन चलायो कुन्नि सबै राष्ट्रिय दैनिक देखि बिबिसी सम्मका साइटको ठेगाना आफ्नो पोर्टलमा राखेका छन् । तपाईको साइटको बारेमा राष्ट्रिय दैनिक वा नाम चलेका अनलाइनले पनि तपाईले जस्तै गरी उनीहरुले आफ्नो साइटमा तपाईको लिंक राखिएका छन् ? छैनन भने तपाईले पनि किन राख्ने ? तपाईको साइटमा जानु भन्दा अघि नै चल्तीका दैनिक र अनलाइनको समाचारमा धेरैले आँखा डुलाएका हुन्छन, केही अपवादलाई छाडेर । तपाईले पनि त्यही समाचार राख्दा तपाईका पाठक बढ्ने होइनन । बरु तपाईले राखिएको बिबिसीको लिंकमा जान्छन । तपाईले सजिलो बनाइदिनु भयो पाठकलाई । अनि आफ्नो साइटको कम मूल्यांकन तपाई आफैले गर्नु भो । बिरलै त्यस्ता साइट देखेको छु जसमा कान्तिपुर देखि बिबिसी सम्मका लिंक नराखिएका हुन् । सबैले किन यसो गर्छन मैले बुझेको छैन् ।

तपाईले आफ्नै ठाउँ वरिपरीका समाचार हालिदिनुस न बरु हामी पढ्छौ त्यस्ता समाचार । आफू वसेको देशमा गाडीका चढ्दाको अनुभव हालिदिनुस । छिमेकीका कुरा हालिदिनुस । तपाई बसेको देशको आर्थिक गतिविधीका बारेमा लेखिदिनुस । यसले बढाउँछ तपाइका पाठक । समय छ भने सिंगापुरका साथीले त्यहाँको विकास कसरी भयो लेखिखिनुस । दक्षिणी सुडानकाले अहिलेको अवस्था कस्तो छ लेखिदिनुस । फ्रान्सका साथीले त्यहाँको मेट्रोका बारेमा जानकारी दिनुस । स्वीसका साथीले टोनी हागनले कसरी पश्चिममा नेपाल चिनाए त्यो लेखिदिनुस । स्वीसमा बनेको पिलाटस पोर्टर जहाज जुन नेपालमा चलाइन्छ त्यसको बारेमा लेखिदिनु । स्वीडेनका साथीले त्यो देशमा थर्म मिटर र पेस मेकरको आविश्कार कसरी भयो त्यो लेखिदिनुस । तानतुन पारेकाले समाचार हालेर र आफ्नो वेवसाइटको बारेमा अरुलाई जानकारी दिएर हेर्न बाध्य नपार्नुस । किनकी अब म त्यस्तो समाचारको मलामी आउने वाला छैन् । बरु महिनामा एउटा समाचार वा लेख वा अनुवाद हाल्नुस तर ‘वाह’ भन्ने खालेको ।

कहिले काँही टेलिभिजनका विशेष खालका कुरालाई डिकोड गरेर अनलाईनमा राख्न सकिन्छ । अन्यन्तै महत्वपूर्ण लागेका लेखलाई स्रोत उल्लेख गरेर छाप्न सकिन्छ । साप्ताहिक पत्रिकामा छापिएका कुरालाई पनि राख्न सकिन्छ  । तर ताइ न तुईका कुरालाई सधैभरी जस्ताको तस्तै बिना स्रोत छापेर के अर्थ ? घाँस भए भैसी आफै चर्न आउँछ, हैन र ,?

फलफूल पत्रकारिता र ई–चाकडी

काठमाडौ उपत्यका बाहिरबाट थुप्रै दैनिक पत्रिका छापिन्छन । म आफै यस्ता साना पत्रिकाको पाठक थिएँ कुनै बेला । देखे भोगेको एउटा घटना भन्छु । कुनै ठाउँमा एकजना प्रतिष्ठित ब्यक्तिको निधन भयो । निधनमा पत्रिकामा सम्पादक पनि मलामी गएका थिए । त्यसको केही दिनमा सम्पादकज्यू फलफूल लिएर जानु भयो क्रियापुत्री भेट्न । उहाँले क्रियापुत्रीलाई

यसो कुना पट्टी बोलाएर भन्नु भयो– ‘अब १३ दिनमा श्रद्धाञ्जली दिने होला, कसलाई दिनुहुन्छ ? चिनजानको मै छु, फोटो पनि मैसँग होला । नभए विद्यालयको स्मारिका र वाणिज्य संघमा पनि छ । फोटो राम्रो नभए तपाइकै घरबाटै लैजाम्ला । तपाई हामी चिनजान भएको यही त हो नि फाइदा । म रेट मिलाउनु भनिदन्छु मार्केटिङको साथीलाई । राम्रो डिजाइन गरेर उसले नै तपाईलाई घरमै प्रुफ देखाउन ल्याउँछ । गल्ती रैछ भने सच्याएर पठाउनु होला ।’ क्रियापुत्रीले टाउको मात्र हल्लाउनु भयो । सम्पादकज्यू फलफूल दिएर निस्कनु भयो । पत्रिकाले राम्रै विज्ञापन पाएको छ । नाफामा छ पनि ।  तर समाचार उही राष्ट्रिय समाचार समिति वा अनलाइनबाट सारिएका । फलफूलले पत्रिकाको आयस्रोत बढायो होला । तर पाठकको चेतना भने बढाएको छैन । किनकी सूचनामुलक समाचार छैनन् । त्यसैले मैले यसलाई फलफूल पत्रकारिता नाम दिएँ ।

कसैको निधनमा पत्रिकामा श्रद्धाञ्जली दिने कुरामा मेरो केही भन्नु छैन । तर, मेरो बिचार के छ भने त्यसरी श्रद्धाञ्जली दिनु भन्दा त्यो बराबरको रकमको छात्रबृति दिनु बेस । पीडा साट्न आउनेहरुले पनि भेटी ल्याउनुको साटो रकम नै सहयोग गरे भने छात्रबृतिको राशीमा पनि रकम बृद्धि हुने । चलन कस्तो आयो भने जो जति धनी उसको पत्रिकामा छापिने श्रद्धाञ्जली त्यति नै धेरै र महङ्गो । मृदुभासी, समाजसेवी, प्रातः स्मरणीय अनेक विशेषण लगाइएका श्रद्धाञ्जली तेह्र दिन, ४५ दिन र वार्षिकी बेला पनि उत्तिकै आउने भो । यस बारेमा अब धेरै नबोलम ।

अर्कालाई जानकारी दिएर हेर्न अनुरोध गरिने खालका अनलाइन चलाउनुका दुई कारण हुँदा रहेछन् । पहिलो, सधैभरी तानतुन गरी पेज भरेर भएपनि तेजतेन साइट जोगायो । अनि नेपालबाट आफ्नो पाटीको वा केही काम लिनु पर्ने मान्छे आउँदा उसको फोटो र समाचार हालेर ‘मैले हजुरको बारेमा लेखेको थिए नि यो साइटमा हेर्नुस त’ भन्न काम लाग्ने रहेछ जसलाई मैले इलेक्ट्रोनिक चाकडी भन्ने गरेको छु । दोस्रो, यस्ता साइटमा गुगलका केही विज्ञापन हाल्यो । साथीभाइलाई साइट बनाएर जानकारी दिँदै विज्ञापनमा क्लीक गर्न लगायो । केही समय पहिले मेरा साथीले पनि साइट खोलेका थिए । र मलाई हेर्नुस भनेका थिए । मैले पक्कै केही नौलो छैन होला भनेर चासो दिइन् । सधै साइट हेर्नु भन्ने साथीले एक दिन भेट हुँदा त्यो बारे मुख खोलेनन । म आफैले सोधे, उनले भने–‘गुगलको विज्ञापनबाट रकम धेरै नै जम्मा भएको थियो । साथीहरुले यति धेरै क्लीक गरेछन् कि शंका गरेर उसले पैसा नै दिएन । फेरि अर्को साथीको नामबाट अकाउण्ट खोलेर थोरै क्लीक गर्ने भने साथीहरुलाई । पैसा पनि राम्रै जम्मा भएको देखियो । तर फेरि दिएन । अनि साइट अहिले चलाउनै छाडिदिएँ ।’ जय होस । म चाँही उहाँको साइटको मलामी जानु परेन् ।

तपाइँको प्रतिक्रिया