“बिदेश गएर साइकल चढ्न लाज लाग्दैन ?”

• सोमना थारु / बेल्जियम

धेरै समयको अन्तरालपछि आज फेरी कलम हातमा लिएको छु । तर यस अघि झैं राजनितिक विषयमा हैन । अलि फरक प्रसंग जुन मेरो विगतको यात्रा सस्मरणसँग जोडिएको छ । त्यहि प्रसंगसँग जोड्दै नेपालमा साइकल चदनु र युरोपमा साइकल चदनुको अन्तरबारे लेख्ने प्रयाश गर्दै छु ।

युरोपमा जुलाई र अगस्ट महिनामा प्राय दिनहरु घमाइलो त हुन्छन नै, त्यसलाइ अझ रमाइलो बनाउन आफुले के कस्तो बुट्टा भर्ने आफूमै भर पर्छ । वर्षमा पाउने बिदाका दिनहरु मनाउने उचित मौसम र दिनहरु क्षण कस्तो रोज्ने आफैंमा भर पर्छ । गत वर्ष २०११ अगस्तका यिनै दिनहरुको उचित फाइदा उठाउदै चितवन माडीका साथी प्रेम पाठक र म साइकल भ्रमणमा जाने निधो गरयौ । वहाँ र म मा साइकल चलाउने बानी त यसै पनि छ  । जहाँ जति टाढा गए पनि साइकल चलाउन केहि समस्या हुने भएन । साइकलको मार्ग चयन गरियो, हामी रहेको देश बेल्जियमको अन्त्वेर्पेनबाट नेदरल्याण्ड्सको कपेल्ले (kapelle) । यो मार्ग साइकल पर्यटनको लागी अति प्रसिद्ध छ ।

आइतवारको दिन अति सुनौलो बिहानी सँग सँगै टाउकामा क्याप र आँखामा घाम छेक्ने चस्मा (सन ग्लास), पिठ्युँमा झोला भिरेर हामी साइकलको प्याडल मार्न थाल्यौं नेदरल्याण्ड तिर । लाग्यौ समुन्द्र बाट आएको नहरतिर । विश्वभरिका माल सामान यहि नहरबाट यता उता जाने गर्दछन । त्यहि बन्दरगाहको बाटो भएर विभिन्न ठुल्ठुला मालसामानको ओसार पोसार गर्ने पानी जहाज र माल सामान लोड अनलोड गर्ने ठाउँहरुको अवलोकन गर्दै हामी आफ्नो गन्तव्यतिर सोझियौं । नहरको कलकलाउँदो स्वच्छ पानीमा हाम फाली हालौं कि जस्तो लाग्ने । तर त्यहाँ पौडी खेल्न मनाही छ भनेर लेखिएका साइन बोर्डहरु झुण्डयाइएका थिए । पानी पिउँदै, केहि खाजा खाँदै घरि आराम गर्दै हामी करिब ३ घन्टाको साइकल यात्रा पछि कपेल्ले भन्ने ठाउँमा पुग्यौं । हाम्रो अन्तिम गन्तव्यमा पुगी सकेपछि खाजा खाएर वरिपरिको छोटो अवलोकन गरेर फर्किने तरखर गर्‍यौं ।

फर्किदाँ गाउँ घरको बाटो भएर तय गरिएकाले गाइ पालन, भेडा पालन गरेका किसानहरुको पनि अवलोकन गर्दै, फोटो खिच्दै आइयो । साइकल भ्रमणको क्रममा खिचेका ति तमाम फोटोहरु हामीले फेसबुकमा राख्यौं । अनि त शुरु भैहाल्यो हाम्रो आलोचना । खास गरि नेपाल तिरबाट यस्तो प्रतिक्रिया आयो “विदेश गएर नेपालीहरु पैसा कमाएर राम्रा राम्रा गाडी चढ़छन् । तिमीहरु भने थोत्रा साइकल लिएर हिडेका छौ । लाज लाग्दैन ?”

करिब २ वर्ष अगाडी म नेपाल जादाँ पनि मैले खिशि गरेको सुन्नुपरयो । कारण मैले साइकल चलाएको थिएँ । नेपाल अर्थात् घर जाँदा त्यहाँका घमाइला दिनहरुको मज्जा लिदै घरमा भएको फोनिक्स साइकल लिएर यस्सो बजार तिर सागसब्जी किन्न निस्केको थिएँ । सडकको छेउ, चिया पसलमा दुई चार जना पुराना साथीसँगी भेट भयो । सबै स्कुलका शिक्षक भएका रहेछन । सबैसँग थरि थरिका मोटर साइकल । केहि बेरको सेवा सलामपछि साथीहरुले चिया खान निम्तो गरे । “ल चिया बनाउँदै गर्नुस । म तरकारी किनेर एक मिनेटमा आइहालें” भनेर म साइकलमा फुत्त निस्कें । एउटा तरकारी दोकान त्यहि चिया पसलको पछाडी पट्टि रहेछ । त्यहिँनिर यसो तरकारी किनिरहँदा ति मास्टर साथीहरुले मेरो बारेमा कुराकाटिरहेको सुनें “त्यत्रो वर्ष बिदेशमा बसेर पनि यौटो मोटर साइकल पनि छैन सोमनासँग ? थोत्रो साइकल लिएर हिँडिरहेको छ त । पैसो कमाएको छैन केरे ।”

मैले सबै सुनीरहँदा पनि नसुनेझैँ गरें । बरु आफुलाई झन् लुकाएँ । फेरी मेरो घरमा मोटर साइकल नभएको पनि हैन । के म २ सय मिटरपनि मोटरसाइकल लिएर देखाउँदै हिँडने ? के पैसा भए हामी नेपालीले मोटरसाइकल चढ़नै पर्छ ? के बिदेशमा दुख गरेर, पसिना बगाएर कमाएको पैसाले नेपालमा मोटर साइकल चढ़नैपर्ने हो ? के साइकल चढ़दा गरिब भइन्छ त ? के धनीले साइकल चढ़नु हुँदैन ?

साइकल चढ्ने मानिसलाई किन नकारात्मक ढंगले हेरिन्छ नेपालमा ? अहिले नेपालमा साइकलको प्रयोग गर्नेहरुको संख्यामा कमी आइरहेको प्रस्ट देखिन्छ । के साइकल नेपालको हावापानी सुहाउँदों साधन होइन ? कि साइकलले नेपालीको स्वास्थमा नकारात्मक असर पार्छ ? अहिले नेपालमा साइकलको ठाउँमा मोटर साइकल र गर्दा गर्दै गाडीले ठाउँ लिईरहेको देखिन्छ । के गाउँघर, के शहर बजार जताततै मोटर साइकल चढने मात्रै भेटिन्छन । साइकल प्रयोग गर्नेहरुको संख्या औंलामा गन्न सकिन्छ ।

            साइकल किन चढ़ने  ?

शुरु शुरुमा जब साइकल बजारमा आयो, त्यतिखेर साइकल प्रयोग केवल एक ठाउँबाट अर्को ठाउँमा जानको लागि प्रयोग गरिन्थ्यो । त्यो बेला साइकल हुने खाने भनिएकाको घरमा मात्रै हुन्थ्यो । सम्पन्नाको प्रतिक थियो त्यहि साईकल । तर आजकल अन्य खेल तथा मनोरंजनको निमित्त पनि प्रयोग गरिन्छ ।

वास्तवमा साइकल चलाउनु स्वास्थ्यकोलागि अति फलदायी हो । साइकल नियमित प्रयोगले हाम्रा शरीरमा भएका विभिन्न किसिमका रोगहरुलाई रोगथाम वा कम गर्न मद्दत पुग्छ । साथै साइकल अति सस्तो र वातावरणीय हिसाबले पनि अति उत्तम । विकसित देशहरुमा मानिसहरु अति व्यस्त हुन्छन् । त्यसको निमित्त गाडी अति नै आवश्यक हुन्छ । गाडी बढी प्रयोगले सडकमा गाडीको जाम सधै भैरहन्छ । त्यसले वातावरण प्रदुषित गर्ने हुँदा ति देशका मानिस सकेसम्म साइकल चढ्न रुचाउँछन । यहाँका सरकारहरुले मानिसहरु सकेसम्म साइकलको प्रयोग गरुन भनेर साइकल चलाउन हौसला गर्ने किसिमका योजनाहरु अघि सार्ने गर्छन् । जस्तो साइकलमा चढेर कार्यालय वा काममा जाने मजदुर, कर्मचारीहरुले अतिरिक्त  रकम पाउँछन् । त्यति मात्र नभई साइकल चलाउँदा स्वास्थलाइ फाइदा हुँदा मानिसहरु सकेसम्म आफैं साइकल चलाउन उत्प्रेरित हुन्छन । साइकल लाइ छुट्टै बाटोको व्यवस्था गरिएको हुँदा यात्रा सुरक्षित मानिन्छ । साथै साना बाटाहरुमा पनि साइकललाइ प्राथमिकता दि ईन्छ । दुर्घटना भए पनि साइकल वालाले क्षतिपूर्ति पाउने ब्यवस्था गरिदिएका छन् ।

नेपालमा मानिसहरु आवश्यकताले नभई शान, रहरले गाडी तथा मोटर साइकल चढ्ने गर्छन् धेरैले । नेपाल सरकारका मन्त्री, कर्मचारीहरु महँगा गाडी चढन आफ्नो सम्मान र शान सम्झिन्छन । अहिले सम्म कुनै मन्त्री साइकल चढेर मन्त्रालय गएको सुनिएको छैन । जब कि विदेशका मन्त्रीहरु साइकल चढेर गएको कैयौ देखिन्छन । यसो गर्दा नागरिकलाई साईकलप्रेमी, वातावरणमैत्री बनाउन सहयोग गर्छ ।

(लेखक सोमना थारुले साइकलबाट विश्व भ्रमण गरेका त छैनन् । तर नेपाल, भारत, सिंगापुर, मलेसिया, स्विजरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड आदि देशका विभिन्न ठाउँको भ्रमण भने साइकल चलाएरै गरेका छन् । अहिले काममा पुग्नपनि दैनिक १० किमी साइकल मै जाने गर्छन् )।

तपाइँको प्रतिक्रिया