फेसबुकबाट प्रगतीको खवरले फिरन्ते सम्झँदै

गोविन्द भट्टराई / पाल्पा

जन आस्थाका सम्पादक आदरणीय दाजु किशोर श्रेष्ठ अन्तराष्ट्रिय प्रेस काउन्सीलको सदस्यमा चुनिएको खवर  फेसबुकबाट थाहा पाएँ । त्यसैगरी नेतृत्व साप्ताहिकका कार्यकारी सम्पादक रहेका साथी लक्ष्मण देवकोटा नेपाल पत्रकार महासंघ यूरोपको बरिष्ठ उपाध्यक्ष चुनिएको खवर सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रवन्धक राजेश कुमार अर्यालको फेसबुक स्टाससबाट थाहा भयो । खुशी लाग्यो । दुवैलाई बधाइ पठाएँ । गाबटुङ्ग र झडेवा पाल्पाको हप्तादिनको बसाइपछी नेटको पहुँचमा पुगेपछी यी खवर भेटीएका थिए ।

प्रसंग लक्ष्मण देवकोटातीर तन्काउन चाहन्छुं । उमेरले म भन्दा निकै कान्छो तर दिमागले जेठो मान्नु पर्ने हुन्छ । बिसं २०५३ देखि म नेपाल पत्रकार महासंघ पाल्पाको सभापति (त्यसबेला) र लक्ष्मण देवकोटा सचिव भएर सँगै काम गरेका थियौं । बिद्यालयहरुमा अनुरोध गरेर कोठा मागेर कार्य समितिको वैठक बस्नु पर्दथ्यो । खल्तीमा चीया खाने पैसा निखारेर नेपाल पत्रकार महासंघ पाल्पाको कार्यालय संचालनार्थ घर भाडामा लिने, सीडीओ, एलडीओ, सभापति र मेयरको गाडी नचढने अनि महासंघको संस्थागत विकासका लागि पुरस्कार स्थापना शुरुवात गरियो । भवन निर्माणका लागि घडेरी ब्यवस्थापन, पत्रकारको पहिचान कायम गराउँदै संचार सुविधा दिलाउन वैधानिक लडाइ शुरु लगायतका अभियानमा मसंगै लक्ष्मण देवकोटाको त्यसबेलाको योगदान झलझली याद गरेको छु ।

त्यो अभियानमा त्यसबेला कार्यसमितिमा रहेका अधिकांश साथीको योगदान थियो । तानसेन नगरपालीकाका मेयर अशोक शाही र जिल्ला विकास समितिमा झपेन्द्र जीसी सभापति थिए । शाहीले पुरस्कारको शुरुवात र घडेरीका लागि सघाएका थिए । जीसीले पनि सहयोगमा सहभागीता जनाए । भूतले छोड्ला तर यि पत्रकार लागेपछी पछी हटदैनन् भनेर त्यसबेला महासंघका पदाधिकारीहरुलाई समाजले भन्थ्यो । शून्यबाट शुरु महासंघको संस्थागत विकासको अभियानबारे सुसूचित हुन बिसं २०५८ मा प्रकाशित स्मारिका काफी छ, चाहिए सम्पर्क गर्नु । हामीले झपेन्द्र गहिरेलाई महासंघ हस्तान्तरण गर्दा ४६ सदस्यीय महासंघमा अहिले सदस्य संख्या निकै चुलिएको छ तर महासंघको साख ? सबैले सोंच्नु पर्ने सवाल बनेको छ ।

कर्मशील अरु साथीहरु पनि हुनुहुन्थ्यो । वाङ्मय प्रज्ञा प्रतिष्ठानमा २०५२ बाट संगै थियौं जगत बहादुर जोशी, डिल्लीराज अर्याल, डा कर्ण बहादुर बानीयाँ, कमलराज रेग्मी, झपेन्द्र जीसी लगायतसँग । पछिल्लो समय बुटवलमा बस्दै आउनु भएका जोशी सर गत वर्ष  बित्नु भयो । बिसं २०५७ भाद्र महिनामा परिवार, साथी र देशसँग बिदा मागेर समुन्नत जीवन निर्वाणको अभिलाषा सहित डेनमार्क हानिएका लक्ष्मण देवकोटा स्वीडेन लगायतका मुलुक चाहार्दै पोर्चुगल पुग्नुभएको थियो । करीव २ बर्ष अघि तानसेनमा बरिष्ठ पत्रकार मेघराज शर्मा, म र देवकोटा तानसेनको कुनै एकान्त ठाउँमा बसेर विगत र आगतका सन्दर्भ उप्काएका थियौं । गाउँले देउरालीको निरन्तरताका बारेमा शर्माको पिरलो देवकोटाले गम्भीरता पूर्वक सुनेका थिए । त्यसपछी फोनमा एक पटक र नेटमा २ पटक मात्र लक्ष्मणजी सँग मेरो सम्पर्क भएको थियो ।

लुम्विनी मेडिकल कलेजमा नसिंङ्ग सुपरीटेण्डेण्टको रुपमा कार्यरत जेठी दिदी सरस्वती पाण्डेलाई समेत भाइ नेपाल पत्रकार महासंघ युरोप शाखाको बरिष्ठ उपाध्यक्षमा चुनिएको खवर पुगेको रहेनछ । मैले फेसबुकबाट थाहा पाउनु नौलो लागेन । दिदिलाई खवर सुनाएपछी खुशी हुदै भन्नु भयो “मसंग सम्पर्क नभएको २ महिना भयो ।”
पुर्वी पाल्पाको जल्पा गाबिसबाट नमुना गाउँ विकास समिति मदनपोखराको दमकडामा बसाइ सरेका खिमानन्द देवकोटा र खिमाकुमारी देवकोटाका ५ छोरा र ४ छोरी मध्ये काहिला छोरा लक्ष्मणको जन्म दमकडामै बिसं २०३२ वैशाख २८ मा भएको थियो । दमकडामा यतिबेला ९ सन्तानका मातापीता खिमानन्द र खिमाकुमारी काहिलो त जहाँ पुगेपनि गुँडमा फर्केर आउँछ भन्ने भरोसाले बाँचीरहेका छन् । भेटन पुग्ने जोकीसँग भरोसा जताउँछन् ।

दुई दिन अघिदेखि झमझम पानी परीरहेको यस पटकको तीजको दरखाने दिनमा सरस्वती दिदी मात्रै बुवाआमा सँग पुग्नु भयो र मनका वह पोख्नु भयो । सबै सन्तान सक्षम भएकामा देवकोटा दम्पत्ती जति हर्षित छन् जीवनको उत्तराद्र्धमा एक्लै दमकडाको पाखो कुर्नुपर्ने होकी भनेर चिन्तित पनि छन् । तर आशा मरिसकेको छैन, मनको कुरा सुनाउँछीन आमा खिमा कुमारी–“लक्षु फर्केर हामीसँगै बस्नेछ । म छिट्टै फर्कन्छु भनेर गएको हो ।”

मेहनती, धुरन्धरी अनि मनमा लागेको कुरामा अडान लिने, गरिव दुखीहरुलाई अति माया गर्ने स्वाभीमानी स्वभावको फिरन्ते काहिँलो (लक्ष्मण) जहाँ पुगेपनी मदनपोखराको नाम उचो बनाएकाले साथी भाइ सबै खुशी छन् । लक्ष्मण जी, एक रुपैया मूल्य राखेर हामीले प्रकाशन गरेको साहित्यीक मासिक हवाइपत्र गोरेटो पढीसकेर किशोर शाहीको पाल्पा स्टेशनरीमै फिर्ता गर्ने विद्धानहरुले यहाँ काँचुली फेरीरहेका छन् । खल्तीबाट लगानी गरेर प्रकाशन गरेको नेतृत्व साप्ताहिकका लागि कति सँग पौंठेजोरी खेल्नु पर्‍यो त्यसको हिसाव किताप छुट्टै गर्नु पर्दछ । किन फेरी नेतृत्व साप्ताहिकमा जनताका कुरा जनताकै बोलीमा जनताले उठान नगर्ने ?

“पत्रकारितामा मागीखाने, ठगीखानेहरुको प्रभूत्व रहेसम्म स्वतन्त्र र निष्पक्ष पत्रकारिता गजँडी गफ मात्र हो ” भन्थ्यौं हामी ।  तर टिक्न सकिएन् । मन मरेको छैन । सात पुस्तालाई कमाउनु परेको छैन । सामान्य जीवन निर्वाह गर्न सके बाँकी जीवन पत्रकारिताको क्षेत्रमा लगाउन सकिन्छ भन्ने हेउ मरेको छैन् । जन्मे हुर्केको पाखामा रहुन्जेलको साथी र यूरोपवासी भएपछीको साथीको मनमा परिवर्तन आएको पो छकि ? लामो समय सम्पर्कविहिन हुँदा कहिलेकाही मनको कुनामा आशंका उव्जन्छ । आशंका सत्य नहोस् ।
तरगं साहित्य संगको अध्यक्ष भएर रामेशलाई दमकडामा निम्त्याउँदाको रौनक सेलाएको रहेनछ भन्ने पोहोर ताहुँमा देखियो । त्यसैगरी गाउँले देउरालीमा परिक्षण कालदेखि खटेको भन्ने मैले पनि त्यसबेला मुण्टो निहुर्‍याउनु पर्‍यो जव फिरन्ते काइँलाका स्थलगत फिचरहरुले प्रभाव जमाउन थाले । विभिन्न जिल्लामा विनय कुमार कसजू, मेघराज शर्मासंगै पत्रकारिता तालिममा लागीपरेका कथा छुट्टै छन् ।

रात अवेरसम्म सँगै बसेर जीवन  जगत र पारीवारिक दायित्वका बारेमा चिन्तत मनन गर्ने दौंतरीसँग छुट्टीनुपर्दा निकै सकस भएको थियो । तर निरन्तर प्रगतीका तपाईका समाचारले औधी खुशी लागेको छ । तानसेन, काठमाण्डौं हुँदै अचेल रुपन्देही, कपिलबस्तु, अर्घाखाँची, पाल्पा र स्याङ्गजाका समुदायसँग साक्षात्कार गर्दै हिँडेको यो बबुरोले अझै बचेरालाई गुँडको टुंगो लगाउन सकेको छैन । “साहुले साँवा ब्याज रोक्यो लौ यसको जाय जेथा लिलामी गर्नुपर्‍यो ” भनेर खोज्दै नआइदिए हुन्थ्यो भन्ने पिरलोले छाडेको छैन । तर पनि पत्रकारितासँग अलग्गिएको छैन् । कर्मभूमी जहाँ भएपनि जन्मदाता र जन्मभूमीको सम्झना रहोस अनी जन्मभूमीका लागि लागिपर्ने बाल्यकालको अठोट साकार भएको समाजले अनुभूती गरोस् । जय होस् फिरन्ते काहिँलाको !

(लेखक नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सभापती तथा पश्चिममा चिनिएका साहित्यकार हुन्)

तपाइँको प्रतिक्रिया