लेखका कारण नेपालीलाई डिभी पर्यो है !

गुमनाम (द्धितिय)

शर्त : एउटा लेखका कारण नेपालीलाई डिभी पर्यो । कसलाई पर्यो भनेर जान्न पुरै लेख पढ्नु पर्नेछ ।

प्रकार : यो लेखको कुनै टुप्पो र पुच्छर छैन् । सिलसिलेबार पनि छैन् । समुद्रको गहिराईमा पुगेर मोति खोज्न प्रेरित गर्न खालको पनि होइन् । सराप्नै पर्नेगरी पनि लेखेको छैन् । बेला बेलामा यसले नेपालको राजनीतिले जस्तै ट्र्याक छाडेको छ । यो गन्थन मात्र हो । र, जोगी तरकारी जस्तो सबै कुरा मिसिएको । शंकर लामिछानेको निवन्ध एब्स्ट्र्याक्ट चिन्तन र प्याजबाट प्रभावित । समाजको चित्रण र चिन्तनको चित्र उतार्न खोजिएको । शंकरको दाँजोमा लेख कहाँको गान्धी कहाँको गंगु तेली भन्ने जस्तो मात्र हो । लेख ट्र्याक छोडर हल्लाका पछि यसरी कुद्छ कि यसलाई भेटाएर र फर्काएर ल्याउन हम्मे हम्मे पर्छ ।

कुरो नामबाटै शुरु गरौं । बेलायत निबासी एक जना नेपालीले आफ्नो नाम गुमनाम राख्नु भएको रैछ । उहाँबाटै प्रभावित भएर मलाईपनि यो नाम फुरेको हो । मान्छेले आफ्नो नाम चलाउन अनेक हतकण्डा अपनाउँछन । तर नाम चलेको मान्छेले गुमनाम किन लेख्दा हुन त्यसको उत्तर मैले गुमनामबाट चाहेको छु ।

बेलायतका गुमनाम पछि गुमनाम नामको अर्को नेपाली मैले अहिले सम्म सुनेको छैन् । हाम्रा गाउँघरमा कसैको नाउँ मिल्दा सानो भैरे, ठूलो भैरे, सानो केशब ठूलो केशब भनिन्छ भने गुमनामको पनि अर्को संस्करण बनाउन सकिएला भनेर मैले गुमनाम द्धितिय नाम जुराएँ । मैले नेपालीमा भैरब प्रथम, भैरब द्धितिय, भैरब तृतिय भन्ने सुनेको छैन । नेपाली नामलाई अंग्रेजी पाइन हालेर आरनमा अर्चापेको मात्र हो । पश्चिमी संसारमा लुई प्रथम, लुई द्धितिय, केनेडी प्रथम, केनेडी द्धितिय हुन्छ भने नेपालीमा गुमनाम द्धितिय राख्न किन नहुने ? यस्तो नाम राख्ने म प्रथम ब्यक्ति हुँ । मैले आफूलाई प्रथम किन भने नेपालीले हरेक कुरामा प्रथम जोड्ने गरेका छन् । जस्तो पहिलो बिमान बनाउने नेपाली, पहिलो हेलिकोप्टर बनाउने नेपाली, पहिलो सोलार कार बनाउने नेपाली, पहिले कुन्नी के जाती बनाउने नेपाली आदि इत्यादि । मैले लेखलाई एक छिन ठिमी तिर पठाईदिएँ, कुम्लो बोकेर त्यो फेरि कामकुरो तिरै आइपुग्छ नआत्तिनु होला ।

केही वर्ष अघि नेपालीले बिमानै बनाए भनेर देशभर हल्ला भो । फलाने दिन परिक्षण उडान भने  । म पनि हेर्न गएँ । सोधखोज गरें । कुरो यस्तो रैछ । बिमानको इन्जिन र इन्धन दुबै विदेशी । त्यसमा जोडिएको पखेटाको कपडा र फलामे डण्डी मात्र नेपाली भूमिमा जोडिएका । मैले नेपाली पत्रकारितालाइ मानें । नमानेर सुखै छैन सबैले मानेपछि । गणेशलाई दूध खुवाउने पनि नेपाली पत्रकारिता । ऋतिक रोसन काण्ड गराउने पनि नेपाली पत्रकारिता । सुँगुरबाट मान्छे जन्माइदिने पनि नेपाली पत्रकारिता । धन्य हो प्रभु । के आविश्कार हो ? के नक्कल हो ? के जोगाड हो र के कुरा जीनको खराबी हो भनेर थाहा नपाउने पत्रकारिताको बारेमा धेरै के चर्चा गर्नु ?

चन्द्रमामा पुग्ने निललाई पहिलो भन्न सकिन्छ । बिजुलीबाट बल्ब बाल्ने अमेरिकी थोमस अल्भा एडिसनलाई पहिलो बैज्ञानिक भन्न सकिन्छ । उनले बत्ती बालेको १३३ वर्ष पछि पनि नेपाली पत्रकारिताले फलानो नेपाली बैज्ञानिकले पहिलो पटक गोबर र आलुबाट बिजुली बालेर झलमल्ल पारे भनेर लेखिरहन्छ । गोबारबाट होस कि, पानीबाट होस कि, सोलारबाट होस कि बल्बमा बत्ती बल्ने सिद्धान्त एउटै हो । माध्यम मात्र फरक हो । एडिसनका सन्तानले प्रथम नेपाली बैज्ञानिकले बत्ती बाल्ने माध्यम पत्ता लगाएको थाहा पाएनछन कि के हो कुन्नी नत्र नेपालमै अनिभन्दन गर्न आइपुग्नु पर्ने ।

नेपालमा सबै कुरा गर्ने सबै पहिलो नेपाली । म पनि यस्तो नाम राख्ने पहिलो नेपाली किन हुन नसक्ने ? नेपालमा बिमान कसरी बन्यो र नेपाली पत्रकारिताले कसरी त्यसलाई आकाशमा उडायो भनेर थाहा पाएका भए राइट बद्रर्सको हड्डी चिहानबाट १० हर्स पाउरको क्षमतामा हाँस्दो हो । राइट ब्रदर्शले १७ डिसेम्बर १९०३ मा जहाज परिक्षण गरेको १०९ वर्ष पछि नेपालमा पहिलो विमानलाई नेपाली पत्रकारिताले उडायो । जहाज उडेकै हो मेरै आँखाले देखेको ।

बजारमा पाइने पाटपुर्जा जोडेर कसैले केही जोगाड गर्यो भने हामी त्यसलाई आविश्कार भनिदिन्छौं । र पत्रकारिताले त्यसलाई पहिलो बैज्ञानिकको लालमोहर लाएपछि कसैले हैन भनेर सुख । हो भनेपछि हो हो । पल्सर बाइकको इन्जिनबाट खेतमा पानी तान्ने पम्म बनाउने पनि हाम्रो पत्रकारितमा बैज्ञानिक हो । चौरास्ताबाट घडीका पाटपुर्जा किनेर ल्याएर हरेक घण्टामा कराउने घडी बनाउने पनि हाम्रा लागि पहिलो बैज्ञानिक हो । पत्रकारिताले हो हल्ला गरिदिन्छ अनि हामी हल्लाको पछि लाग्छौं ।

हल्लाको एउटा उदाहरण : मेरी हजुरआमाले भन्नु हुन्थ्यो (जिल्ला र ठाउँको नाम नभनम किनकी पहिलो कुरा धर्ममा विश्वास नगरेको ठहर्छ । दोस्रो त्यहाँका पुजारी उपल्लो भनिने जातका होइनन । भोलि दंगा भडकियो भने न तपाई, न म न जिरेखुर्सानीकार राजारामले त्यो ब्योहोर्छन् । अहिलेलाई यति नै काफी ।) फलना ठाउँका माछाले सुनका टीका लगाएका छन् । ती भगवानका स्वरुप हुन रे । पुजारीले भनेका । अनि ती माछालाई धर्मात्मीले मात्र देख्छन रे । माछालाई भगवान मानेर पंचबली दिइन्छ । त्यहाँका माछा मरे भने पुजारीले १३ दिन क्रिया गर्छन् । अहिले पो थाहा भयो त्यो सुनको टीका लगाउने माछा गोल्डन ब्रिम रहेछ । त्यसको नि धारमा सुनौलो रंगको धर्को हुन्छ (नपत्याए फोटो हेर्नुस) । माछालाई भगवान भनेर दुनियाँले भेटी चढाउने र बली चढाइएको पशुको टाउको बेच्न पाएपछि पुजरीले किन नगरुन १३ दिन क्रिया । न भ्याट लाग्ने । न राजस्वका मान्छे चेकिङमा आउने, न नेपाल बन्द कै चिन्ता, न लगानी गर्नुपर्ने ? न घाटाको चिन्ता । राँगाको टाउँका बेच्यो पैसै सोहोर्यो ।  खसीका टाउका बेच्यो पैसै सोहोर्यो । धन्य नेपाली पत्रकारिताले यो एक्सक्लुसिभ समाचार पाएको छैन् । आशा गरौ यो लेखपछि सुन टिके माछा टिभीका पर्दामा छाउँनेछ चौबिसै घण्टा लाइभ प्रसारणमा ।

गुमनाम द्धितियको काम, कर्तब्य र अधिकार

गुमनाम भनेको गुमनामै हो । ऊ कहाँ खान्छ, कहाँ बस्छ त्यता पट्टी नजाउँ । अहिले उसको काम भनेको विदेशमा औसत नेपालीले विदेशमा जे गर्छ त्यही गर्ने हो । उसको अफिसमा एउटा पानीको धारो, डिप फ्रिज, साबुन, भूई सफा गर्ने केमिकल लगायतका सामग्री छन् । अफिसमा कुर्सी छैन् । मैले आफ्नो कार्यस्थललाई किन अफिस भने भने नेपालीले थाइल्याण्ड काटेपछि प्लेन भित्र गफ दिदै भन्ने गर्छन् “विदेशमा काम सानो ठूलो हुन्न । काम भनेको काम हो । ” काम भनेको काम हो भने काम गर्ने ठाउँ पनि मेरो लागि अफिस हो लौ जा कुर्सी नभएर हुन्छ र । आँ गर्दा अलंकार थापा पाउने र भट्टिी पसलमा बसेर चीन अमेरिकाको विश्लेषण गर्ने सक्ने नेपालीलाई धेरै कुरा भन्दा आफै मूर्ख भइन्छ । भनिन्छ, एक चित्रले हजार शब्द बर्णन गर्छ । मेरो अफिसले लाख बर्णन गरोस भनेर फोटो नै लेखमा हालिदिएको छु ।

गुमनामको दिनचर्या दूध पोख्ने कामबाट शुरु हुन्छ । किनकी ऊ एउटा होटलमा काम गर्छ । ग्राहक कहाँ चियाको कपसँगै जाने दूध अधिकांश समय त्यतिकै फर्किएर आउँछ । फर्किएर आएको चोखो दूध घिप्लिक्क पोख्नु पर्ने । फेरि ग्राहकलाई दिन नमिल्ने पश्चिमी नियम अनुसार । दूध पोख्नु पर्द गुमनामले बाआमालाई हरेक पल संझन्छ । एक तुर्को दूधका लागि भैसी पाल । घाँस काट । बारीमा घाँस नभएको बेला छिमेकीको बारीमा पस । अनि भैसीको चित्त बुझाउ । भैसीको चित्त बुझे दूध पाइयो । नभए यतिकै । यता म बाऊ आमालाई संझदै दिनदिनै दूध फाल्नु पर्ने । उता बाउआमाले दूध खान दिनभर पसिना चुहाउनु पर्ने । पोख्नु पर्ने दूध न खाएर सकिने, न नेपाल पठाउन मिल्ने । मन अमिलो बनाएर पोख्नुपर्ने । प्रयोगशालामा हाइड्रोजनको २ र अक्सिजको १ भाग मिसाएर एक भाग मिसाएर पानी बनाएको थाहा छ । तर अहिलेसम्म मलाई मेसिनमा दाना, पानी र घाँस हालेर दूध निकालेको थाहा छैन । त्यसैले मन कुँडिएको हो । प्रकृतिले दिएको कुरालाई नष्ट पार्दा चित्त दुखेको मात्र हो । मेरा गाउँमा भैसी बाहेक अरु नपाल्ने हुनाले कुरो भैसीको मात्र छ ।

भैसी पालेर दूध खान सजिलो छैन् । हरेक दिनको टण्टा त छँदै छ । भैसी यतिकै ब्याउँदैन, राँगो लगाउन लैजानु पर्यो । बधुँवा भैसी र्बुकुसी मारेर राँगो खोज्न जाने भो । मकैबारी, धान बियाड उसलाई के मतलब । ‘ए फलानो मुर्दार, तँ जिम्दै छस कि मरिस । तेरा छौडाले धान बियाड कुल्चेर सत्यानास भो’– भैसी बुर्कुसी मार्दा आउने गाली सुनेको छु । मान्छे अगाडि देखिएन भने “तलाई हरियो बाँसले बाँध्नु परेको ” भनेको मैले धेरै पटक सुनेको छु । एक तुर्की दूधका लागि जे जे ले मन लाग्छ त्यँही त्यँहीले बाँध भनेर मनमनै भन्नु पर्ने अवस्था ।

तर, अलेच मेरा गाउँमा हरिया बाँसले बाँध्नु परेको भन्न छाडे । गालीमा पनि आधुनिकीकरण भो । अब ए फलाना तेरा नाममा जेरीपुरी खानै परेको हो भन्न थालेका छन् । कुरा के हो भने गाउँको घाट नजिक एक जना समाजमा उपल्ला जात भनेर चिनिएका मानिसको पसल छ । पसलमा जेरी पुरी पाइन्छ । मलामीले अरु केही खान नमिल्ने हुनाले घाट जानेलाई जेरीपुरी अर्डर गरिन्छ । होटलको विशेषता के हो भने मलामी होटलमा भएका बेला अरु कोही बस्न पाउँदैन र पेटभर थपी थपी खान पाउँछ । तर, मूल्य चाँही नुन बिनाको चर्को । अब थापा पाउनु भो नि जेरीपुरीको कुरा । होटलको ठेगाना लेखम भने ती जेरीपुरी पकाउने दाईका छोराछोरी अहिले पश्चिमी संसारमा छन् । नेपाल प्लसको पाठक प्रतिक्रियामा मलाई सत्तो सराप गरे भने के गर्ने ? कुरा तपाई हामी बिच मात्रै गुपचुप है ? जेरीपुरी दाईलाई अचेल अर्डर गर्न पर्दैन मलामी गनेरै ब्यवस्था गर्छन ।  दायाँ बायाँ अरुका पसल नभएपछि टेण्डर उनैलाई परेको छ । धन्य त्यहाँ राजनीतिक दलका कार्यकर्ता हस्तक्षेप गर्न पुगेका छैनन् ।

कुरा मसानघाटबाट ‘मदर एण्ड फादर’ मा ल्याएर जोड्छु । दूध पोख्ने बेला म बाउआमालाई संझन्छु । हुन त मेरो बिचारमा बाऊ आमालाई संझन कुनै दिन चाहिन्न । सबै दिन विशेष हुन बाबुआमाका लागि छोराछोरीको दृष्टिकोणबाट हेर्दा । मान्छेले आफ्नो मर्जी अनुसार बाऊ आमाको मुख हेर्ने दिन, प्रेमी दिवस, नाक कोट्याउने, हात धुने जस्ता नानाथरीका दिन बनाएका छन् । जन्म दिएर बाबुआमाले समुद्र रुपी संसारमा हामीलाई पठाईदिए । छाल गनेर खाने की, गहिराई पुगेर मोती टिप्ने की, माछा मारेर जीवन चलाउने कि ? वा डुबेर मर्ने त्यो हाम्रै हातमा छ । जन्म दिनेलाई जति सम्मान र श्रद्धा गरेपनि पुग्दैन् । दुनियाँको अगाडि आज माता औसीं आमालाई फोन गरे भनेर स्वाङ पार्न म जान्दिन् र त्यसो पनि गर्दिन् । बाँचुञ्जेल बा आमालाई राम्ररी भात खान पनि नदिने र मरेपछि बाउआमाको नाउँमा भातको डल्लो बटारेर दोबाटोमा राख्ने धेरै देखेको छु मैले । पिण्ड सेलाउन जाँदा बिरालोले बाटो काट्यो पितृ रिसाए कि क्या हो भन्ने पनि तिनै प्रवृति हुन् ।

हुन पनि हो , बिरालोले बाटो काट्दा बाबुआमाले छोराले पृथ्वीबाट डेलिभरी गरेर पठाएको कोशेली नपाउने हुन कि ? पाएनन भने खर्च बेकार भो । बिराला पनि कस्ता तिनै बिरालाले विदेशीलाई बाटो काट्दा केही नहुने तर नेपालीलाई साइत बिग्रने । नेपालका बिरालै त्यस्ता, आखिर ‘मेड इन नेपाल’ न हुन. । तेरो साइत के भयो भने बिग्रन्छ भनेर कसैले सोध्यो भने म त एकाबिहानै हवाईजहाज देखे भने साइत बिग्रन्छ भन्छु । मैले काम गर्ने ठाउँ नजिकै एअरपोर्ट छ । पर्यटकिय स्थल भएकाले जहाजका सबै जसो मान्छे होटल तिर आउँछन । मेरो भागमा पनि पर्दो हो ५ प्रतिशत । जति धेरै मान्छे, उति धेरै काम । त्यसैले बिहानै जहाज देख्यो कि मेरो साइत खराब रहेछ भनेर बुझ्छु । हामी नेपालीको साइत धेरै कुराले खराब पार्छ । नातिले हजुरबा कहाँ जानु हुन्छ भन्दा साइत बिग्रने तर खलासीले काँ जाने हो बाजे भन्दा साइत सप्रिएर मन्त्री क्वाटरमा मन्त्री भेटिने र काम फत्ते हुने । नेपालीको साइत पनि बुझिनसक्नुको छ ।

जहाजको कुरा स्थगित गरेर दूधको कहानीबाट जोडिएको कुरा अब बाऊ आमाको मुख हेर्ने दिन तिर मोड्छु म । मेरा एकजना साथी जो नेपाल छाडे पछि नेपाल गएका छैनन । र बाबुआमालाई सुको पठाएका छैनन् । तिनले केही दिन अघि फेसबुकमा कतैबाट कपी गरेर यस्तो टाँसेछन –‘ यदि तपाईको गर्दा तपाईको बाबुआमाको आँखामा आँशु आयो भने त्यो भन्दा ठूलो पाप अरु केही हुन्न र त्यसको जिम्मेवारी तपाई हो ।’ यस्तै के के थियो कुन्नि मैले बिर्सिएँ पुरै वाक्य । त्यसलाई मैले ‘जोक अफ द डे ‘ ठानेर हाँसे ।

कुरो फेरि दूधमै आयो । दिनहुँ दूध फाल्नु पर्ने हुनाले मेरो मन चसस्क भयो । एउटा जुक्ती निकाले । ए साउ, पानी खाम न भन्यो । साउले बोत्तल दिन्छ, पानी खायो अनि त्यसैमा दूध राखेर डिप फ्रिजमा राख्यो । जमेर हिउँ बन्छ दूध, घर ल्यायो अनि तताएर खायो ।

एक दिन डिप फ्रिजमा राखेको दूध घर ल्याउन भुलें । अर्को दिन बिहानै चेकिङमा फुड एण्ड हाइजिनको इन्जिनियरले म पुग्नु अघि नै फेला पारिन डिप फ्रिजमा दूध । म पुगेपछि सोधखोज भयो । कारण थियो, बगेत (लामो खाले फ्रेञ्च पाउरोटी) राख्ने फ्रिजमा मैले दूध राखेको थिएँ । नियम अनुसार यसरी राख्न पाइँदैन । उनले मलाई सोधिन, एकछिन घोरिएर मैले भने ‘यो फोहोर फाल्ने बाल्टिनमा दूध फाल्दा बाल्टिमा रहेको प्लाष्टिकबाट दूध रसायर बाल्टिन फोहोर भो । यही कारणले किरा निकै आउन थाले । दूध जमाएर फालेपछि फोहोर उठाउने मान्छे नआउञ्जेल दूध पग्लन समय लाग्छ । न किराको डर न दूध रसाउने चिन्ता । मैले यसरी नै जमाएर दूध फाल्ने गरेको छु ।’ इन्जिनियरले बुढी औलो ठड्याएर थम्प अप हानिन् भनिन–‘यो फ्रिजमा होइन दूग्धजन्य पदार्थ राख्ने फ्रिजमा राख्नु ।’ नेपाली बुद्धिले काम गर्यो । मैले पनि आफैलाई थम्प अप हानें मनमनै ।

कुरो फेरि मोड्न मन लाग्यो । मनमा गुम्सिएर रहेका गन्थन मन्थन लेखेको हुँ । तपाईलाई लेखाई कस्तो लाग्यो कुन्नि । प्रतिक्रिया जनाउनु होला । सिक्ने प्रक्रियामै छु । म बागबजारको बैद्य जस्तो होइन जो सबै कुरामा पारंगत छ । उसले सेतो दुबी, चायाँ, सेतो पानी बग्ने, गानो गोला, प्रेसर, डायबिटिज, छारेरोग, यौन दुर्बलता, सबै कुराको उपचार गर्छ । कमजोरी औल्याएर प्रतिक्रिया जनाउनु भयो भने फेरि लेखम्ला । लेखेपछि समयको पनि सदुपयोग हुनु पर्छ, कि मनमा छुनु पर्छ कि रमाइलो हुनु पर्छ नत्र किन लेख्ने । मेरो लेखबाट तपाईले रस नै पाउनु भएन भने मेरो किबोर्ड थोत्रिने मात्र होइन, मैले तपाईको समयको पनि हिसाब चुक्ता गर्नुपर्छ । लेख पढुञ्जेल तपाईले छोराछोरीलाई होमवर्क सिकाउन सक्नु हुन्थ्यो, बुढीका आँखा छलेर डेटिङ जानु हुँदो हो, कोठामा साथी नहुँदा पोर्नो साइट हेर्नु हुँदो हो वा मेसो मिले यौन सम्पर्क गर्नु हुँदो हो । यी सबै कुरा खोसेर मैले तपाईलाई चिरिप्प पार्ने गरी केही मसला दिन सकिन भने मैले किन लेख्ने ? नेपाल प्लसका साऊ बालाई पनि लेख र फोटो साइटमा ठोक ठाक पार्न आधा घण्टा लाग्दो हो, त्यो समय पनि किन लिइदिउँ म ? मैले पनि सुको पैसो पाउने होइन, त्यसैमाथि पनि तपाईलाई मन परेन भने किन लेख्ने ? रातो राम्रो गुलियो मीठो भन्छन, त्यसैले डिस लाइकको रातो बटन थिप्दै तपाईलाई मन नपरेका कुरा लेख्नुस, अनुभब साटनुस, पचाउन सकिने तरिकाले गाली पनि गर्नुस । अब अर्को लेख लेख्ने कि नलेख्ने तपाईकै प्रतिक्रियामा भर पर्छ । काम गरे गर्छ नभए साइड इफेक्ट हुँदैन भनेर बैद्यबाले बेच्ने आर्युबेदिक औषधी जस्तो लेख भयो भने किन लेख्ने ? आँचे, हो कि हैन तपाई नै भन्नुस न ।

अन्त्यमाः यस्तो खालको लेख लाग्न लागेको छ भनेर थाहा पाएपछि एक महिना अघि मेरो नजिकको साथीले १ हजारलाई एसएमएस गर्यो । त्यसको भोलिपल्टै उसलाई जापानको भिसा लाग्यो । अर्को साथीले २ हजार एसएमएस गर्यो । एसएमएस सकिनासाथ उसको बेल्जियमा केस पोजेटिभ यो । अर्कोले ५ हजार कार्ड छपाएर यस्तो लेख आउँदैछ भनेर सडकमै बाड्यो उसलाई अमेरिकी डिभी पर्यो । अर्कोले यो लेख्ने को रहेछ, को को रहेछन् यी डोकोमा दूध थाप्ने भाग्यमानीहरु भनेर अनुसन्धान गर्ने बिचार साथीलाई सुनाएछ, पुरा कुरा पनि भन्न नपाई ऊ ठाउँको ठाउँ ठहरै । मैले भन्या होइन यो कुरा पशुपतिमा निस्केको सर्पले पुजारीलाई भनेको रे । घुम्दै फिर्दै यो कुरा मै कहाँ आयो र मैले नेपाल प्लसमा पठाएँ । तपाई के गर्नुहुन्छ, आफै बिचार गर्नुस । मेरो काम त भनिदिने मात्रै हो ।

साँच्च्किै अन्त्यमा : नेताले जस्तो भाषण सकिए पछि पनि मलाई अलिकति थप्न मन लाग्यो । भूपि शेरचनले भने जस्तै हल्लै हल्लाको पछि लाग्ने हामी नेपालीले जहाँ गएपनि हल्लाको पछि लाग्न छाडेका छैनौं । राजनीति त हाम्रो नशा नशामा छ । गान्धी, लुथर र मण्डेलाको रगतमा बरु के राजनीति थियो होला । हल्लाको पछि लाग्ने र राजनीति त हाम्रो टेडमार्क नै हो । एकजना दाइले भनेको संझन्छु । स्कूल पढ्दा एकजना साथीले उहाँलाई भनेछ, ‘नेपाल र भारत बाहेक देश नै छैन् ।’ उहाँ भन्नु हुँदो रैछ, ‘अमेरिका, बेलायत, जर्मनी, फ्रान्स लगायतका देश छन् ।’ छ छैन भन्ने कुरा मुखमा मात्र नअडिएर हात हालाहाल सम्म भएछ । दोहारो भीडन्तमा साथीले दाईको सर्टको बाहुला च्यातिदिएछ । साथी बिच बोलचाल भएन कुरा यत्तिकैमा खत्तम । वर्षौ पछि दुईको काठमाडौको एक अस्पतालमा भेट भएछ । नेपाल र भारत बाहेक देशै छैन भन्ने साथीका लोग्ने स्वास्नी जर्मनी आएर ५ वर्ष बसेर नातीलाई पुग्ने सम्म गरी कमाएर गएछन् ।  र पोखरामा ब्यापार संचालन गर्दा रहेछन् । अरु देश छन भन्ने दाई बागबजारको बागबजारमै ।

तपाइँको प्रतिक्रिया