तिजको तरङ्ग
• ससाङ लामा / अमेरिका
-गरिब नातेदार जस्तो किन दैलो छेउ बसेकी ?
यता आइज, सोफा माथि बस !
आमाको कुरालाई नसुनेझैँ शर्मिला घोप्टेर के के सोचिरहेकी थिइन । संकोच ,द्विधा र लघुताभासले थिचिएर तिनको बोलती नै बन्द भएको थियो । वास्तवमा तिनी आज माइती रहरले नभएर करले आएकी थिइन । छरछिमेकी र समाजको डरले आएकी थिइन । सानी छोरीलाई रातो लुगा लगाइ दिएपनि आफु घुर्मैलो सारीमा थिइन । तिनको मुहारमा तिजको उमंग, खुशी, उल्लास केही थिएन । आमाको मनस्थिती देखेर छोरीपनि अरुहरुसँग घुलमिल गर्न अनकनाइरहेकी थिइन् ।
जेठि भाउज्यु, माइली भाउज्यु, ठुल्दिदी, दुइ बहिनिहरु, आमा र घरका बच्चा-बच्चीहरु सबै नै तिजको अवसरमा रातो लुगामा ठाँटिएका थिए । बुवा समेत रातो स्वीटरमा हुनुहुन्थ्यो । माइती घरकाहरु कसैसँग तिनिसँग भलाकुसारी गर्ने समय थिएन । यो त्यही घर थियो जहाँ बाबु आमालाई दङग्याएर तिनी हुर्केकी थिईन । विवाह पश्चात अनेकानेक सामाजिक र आर्थिक कारणले गर्दा तिनको कमजोर मनोबललाई झन कमजोर बनाइदियो । आजपनि ठुल्दिदी र तिनीसँगै माइती घर पुगेका थिए । म्यान्पावरे भेनाज्युले हाँकेको टोयटा मोटरमा ठुल्दिदी आएकी थिइन भने तिनलाई चाँहीं कलेजका लेक्चरर लोग्नेले भटभटेमा पुर्याएका थिए । संयोग पनि कस्तो ! दुवै सँगै पुगेका थिए । हिनताबोधले शर्मिलाको मुटुनै निचोरिएको थियो । पारिवारीक जमघटका अवसरमा पटक पटक तिनको स्वाभिमान थाकेको थियो । गिरेको थियो ।
– हन, यो त अझै दैलो छेउमै बसिरहेकी रहिछे ! लुगा पनि कस्तो लगाएकी ! म सँग पोहोर ज्वाँईंले दुबहीबाट ल्याउनु भएको एउटा रातो सारी छ, त्यो लाउँछेस ?
शर्मिला केही बोल्दिन र खुट्टाको बुढी औलाको नङले भुइँ कोतर्दै बस्छे ।
-यो शर्मिलेलाई के भएकी होला ? आफ्नो घरभरी कामै काम छ भन्दै फत्फताउँदै आमा हिँडिन् ।
माइती घरमा जम्मा भएका चेलीबेटिहरुका माझ, अझ त्यत्रो उल्लासमय होहल्ला र नाचगानको माहौलमा पनि शर्मिला एक्ली महसुस गरिरहेकी थिइन । माइती घर तिनलाई बिझाइरहेको थियो । जाउँ कि बसुँ भै किंकर्तब्यबिमुढ भएकी थिइन । कुनामा बसेका पिताजी अघिदेखि छोरीको मनोदशा नियाल्दै थिए । बिस्तारै उठेर छोरीको छेउ गइ छोरीको हात समातेर बाहिर लिएर गए । शर्मिलाले आफ्नी छोरीलाई पनि तान्दै बाहिर लगिन् । बाबुले छोरीको मनको कुरो बुझे र मुलबाटोसम्म आइ आमा छोरीलाई माइक्रोमा चढाउनु अघि नातीनिको हातमा हजार रुपया राखिदिए । र भने “म भोली तँसँग कुरा गर्न आउँछु । ”
माइती घरमा जस्तै माइक्रो भित्र पनि तिजले गर्दा सबै राताम्मे थिए । काँठतिरका जस्ता देखिने आईमाईहरु तिजको गीत गाउँदै थिए । सिटबाट उठेर नाच्दै थिए । सारा दु:ख पिर, डोको नाम्लो र मेलापात बिर्सेर तिजमा रम्दै थिए । शर्मिला एकटक लगाएर ति महिलाहरुलाई हेर्दै मनमा अनेक कुरा खेलाउन थालिन् । तिनी भन्दा कता हो कता बढी दु:ख खेपिरहेका ति महिलाहरु यसरी रमाउन सक्छिन भने म मात्र के भएकी ? नारीहरुको यत्रो ठुलो चाडमा किन रमाउन नसकेकी ? किन म भित्र यतिबिधी इर्ष्या, डाह र जलन ! मैले जीवन जिउनै नजानेको हो कि ? मनभित्र यस्तै अनेकौँ तर्कना खेलाउँदै तिनी घर पुगिन ।
निलो आकाशमुनी सधैं लोडशेडिङ भैरहने काठमाडौँ खाल्डो आज झलमल्ल थियो । घाम डुबिसके पनि घामको अस्तित्व हिमालको टुप्पोमा सुनौलो रङ्गमा अझै देखिँदै थियो । तिजको खुशी घरभित्र मात्र सिमित नभै सडकमा पोखिएको थियो । छरपष्टिएको थियो । घरको छतबाट ओर्लेर शर्मिला सिधै बेडरुममा गई दराजबाट रातो सारी निकालिन । सारी लगाउँदै तिजको गीत गुनगुनाउन थालिन । टि भिमा तिजको नाचगान देखाउँदै थियो । तिनी पनि छम छम नाच्न थालिन । कतिबेरदेखी श्रीमान दैलोमा उभिएर तिनको नाच हेर्दै थियो भन्ने कुरो त पत्तै पाइन । ताली बजेपछी बल्ल श्रीमानलाई देखिन ।
‘ल तिमीलाई आज एकदमै खुशीको खबर सुनाउंछु, फेरी एकचोटी नाच,अनि मात्र सुनाउंछु । ‘
‘छिटो सुनाउनु न ‘ भन्दै लोग्नेसंग टाँसिन पुगिन ।
‘हाम्रो बिभागले बष्टन युनिभर्सिटिबाट प्राप्त गरेको पि एच डि डिग्रिको छात्रब्रितिमा थुप्रै आवेदकहरुमध्य बाट युनिभर्सिटिले मेरो नाम अनुमोदन गरेको छ् | ‘
‘उसो भए हामी अमेरिका जाने होइन त’ भन्दै छोरीकै अगाडि लोग्नेलाइ गम्लङ्ग अँगालो हालेर ओठमै म्वाइ खाइन । आमा छोरी धेरैबेरसम्म नाचे । यो सुसमाचार सुनाउन भोली बिहानै माइती जाने निर्णय गरिन । त्यो पनि रातो सारीमा…….






