पत्रकारिताले हार्यो, राजनीतिले जित्यो (गुमनाम डायरी)
● गुमनाम सापकोटा
त्यो अली उकालो चढे जस्तो भयो । स्विजरल्याण्ड छोडे पछी फराकिलो बाटोको छेउ छाउमा देखिने फ्रान्सको जर्जर भूमी, मात्तिएको साँढे जस्ता सुपर मार्केटका फ्रान्सेली केटीहरु । एउटीले सोधी कहाँ बाट आएको ? मैले जवाफ फर्काएँ – हामी जुम्ली हौं । केटी वाल्ल परी, हाम्रो टोली मुर्छा परेर हाँस्यो ।
तिख्खर सोझो बाटो, वरिपरी रातो माटोको जमीनमा झाडीहरु र भर्खरै फुल्दै गरेका मसिना बयरका पोथ्रा । एक किसिमले त्रिवेणीको पश्चिमपट्टी हुइँकिदा जस्तो । घाम अस्ताउनै लाग्दा हामी डेढ घण्टाको भूमिगत बाटो छिचोलेर पेरिसको छेउपट्टी फुत्त निस्कियौं । पेरिसलाई सेन नदिले बिचमै चिरेको छ । उहिल्यै पानी भन्दा रगत बढी बग्थ्यो भन्छन यो नदिमा । फिलिबर्ट देलोर्मे र ज्याक्स अन्द्रोउत केर्केउ जस्ता योजनाकारको यो शहर कसरी रगतमा धुमिल भयो । “त्यसैले अहिले पनि सेन नदी संङ्लो भएको छैन” यसै भन्छे मार्ली । आइफेल टावर मुन्तिर पिकासो र दा भिन्सीका नक्कली चित्र बेच्ने मार्लीले सुनाइ “माथि कोन्कार्डेमा मान्छेका घाँटी ठुन्क्याएर खुकुरी पखाल्न सेनमा आउथे रे कती । तपाईंले सुन्नु भा’को छ अल्बर्ट आन्द्रेका कती चित्रको रातो रंङ सेनको पानीको हो । “मलाई मेरो गुरुले भनेका आन्द्रेले आफ्ना चित्रमा सेनको पानी रातो रंङको रुपमा प्रयोग गर्थे रे” उसले भनी र चित्रको मुल्य लगाइ ।
हामीले चित्र किनेनौं, दा भिन्सीको एउटा चित्र चालिस लाखमा बिक्छ उसले चलिस युरो मात्र भनी । पत्रकार महासंघ युरोप शाखाको अधिवेशन छोप्न हुँइकिएका हामी, जुरिख देखी पेरिस सम्मको मोटरको थकान । पेरिसको कुन्नी कता हो ददी सापकोटाको बसाइ, हामीलाई खुरुक्क नेभिगेसनले लाग्यो । चुल्होमा सकी नसकी खान्की बनाउँदै पत्रकार अनुराधा पौडेल, उतापट्टिको कोठामा पत्रकार महासंघका अध्यक्ष शिव गाउँले बेलायतका पत्रकार शशी पौडेल, भागीरथ योगी, लक्ष्मण देवकोटा, चिरन शर्मा, गजबको जमघट । हामीलाई नै कुरेर बसे जस्ता ।
कती बर्ष पछी भेटिएका हुन अझै ददीजी र लक्ष्मण जी । राता र पहेंला बोतलको पर्खाइ, हामीले पिउनु पियौं, आँखा सुन्निए तै पनि रातभरी पियौं । काठमाण्डौको त्यो अतित एकपटक हामी सबै मिलेर बाँच्यौ । बाँच्नु र मर्नु सँग रक्सिको खास तालमेल हुँदैन । पिउँदै नपिउनेहरु बाँचीरहने र पिउनेहरु मरिरहने होइन । सबै मर्छन । पिउने पनि मर्छन । नपिउने पनि मर्छन । तर हामी रात भरी बाँच्यौ । यसरी बाँच्यौं शायद त्यसरी कहिल्यै बाँचिएकै थिएन ।
बिहान घरबाट ओर्लिदा सबैको टाउको चर्केको थियो, मसिना गल्लीहरुमा पल्टेका टिनका टोक्राहरुलाई लात्तिले मिल्क्याउँदै सबै अधिवेशन गर्न दुगुर्यौ । अधिवेशन त के भेला थियो त्यो, युरोपमा बस्ने पत्रकारहरु बिच भेटघाटको मेलो । तर दिउँसोसम्म पुग्दा भेलामा पुरै काठमाण्डौँलाई बिर्साउने खालको तनाब भयो । कती पत्रकार थिए कती अर्कै थिए । धेरैले पत्रकारिता भन्दा बढी राजनीति जाँन्दथे । मैले त्यही सिके बिदेशको राजनिती । राजनीति गर्नेहरु पनि कती पक्का र इमान्दार तिनका पार्टिहरुले भनेको काट्नै नहुने । आखिरमा पत्रकारिताले हार्यो, राजनीतिले जित्यो ।
‘त्यो नेपाल’ जस्तो मिहिन किताब लेखेर बिदेशमा बस्ने पत्रकारका बिचमा छुट्टै पहिचान बनाएका ददी सापकोटा लुसुक्क पर्नुपर्यो । हुन त महेश थापा आए, कसरी संस्था चलाउँछन तिनको कामले बताउने छ । तर मलाई लाग्यो तिनले पनि हारे । जो जो समितीमा आए ति सबैले हारे । पत्रकारले नै महेश थापालाई त्यो गरिमा सुम्पिन पाएको भए राम्रो हुने थियो । अर्कैले उनलाई पदमा पुर्याए । तैपनि उनी आफ्नो पेसा प्रती जिम्मेवार हुनेछन भन्ने हामी सबैले आशा गर्यौ ।
अधिवेशन सकिँदा रात परिसकेको थियो, शहरको बिचमा आइफेल टावर झिलिली देखियो । दिनभरिको तनाब एकै मिनेटमा सकियो । पेरिस दुताबासको रक्सिले अली अली घाँटी भिजाएर निस्किँदा रातिको एघार बज्यो । शहर तारानाथ शर्माको निबन्ध जस्तै रंङै रंङमा मुस्कुराएको देखियो, एक पटक कसेर अंगालो मारौं जस्तो । सिलिक्क परेका चौडा बाटहरु छेउछाउमा कास्तानियनका मसिना पोथरा अनी माथि बाट छरिएका रंगी बिरंगी बत्ती । मलाई त सेन नदीमै ह्वाम्म हामफालेर मरौ जस्तो भो । कम से कम यो सुन्दरतामा मर्नु पनि आँफैमा एउटा उपलब्धी हुने छ । अली पर झलझली बलेको देखियो आइफेल टावर, जेन पाउलको चित्र जस्तो उज्यालो । हामीले रातभरी आइफेल टावरको वरी परी घुमेर कती फोटो खिचे होउँला हामीलाई नै थाहा भएन । आइफेल टावर निराजन श्रेष्ठको क्यामरामा पत्र पत्र गरेर अल्झियो, हाम्रो मनमा पनि त्यसै गरी टाँसियो ।
बिहानको चार बजेको हुँदो हो हामीले पेरिसलाई अन्तिम पटक हात हल्लाएर जेनेभा तिर ओरालियौं । कसैलाई जान्छौं पनि भनेनौं । फेरी आउँछौं पनि भनेनौं । हिजो दिनभरीको भिडन्त आइफेलको मुन्तिर बिसाएर हामी अचम्म सँग बतासियौं । पेरिस छिचोली सक्दा बल्ल कुखुरो बासे होला, पत्रकार हुनुको एउटा नमिठो अनुभब बटुलेर ओरालिएँ म । लियों शहर पुग्दा अल्पाइनको माथिल्लो टाकुरो बाट घामको पहिलो किरण देखियो ।
(नागरिक दैनिकमा आजै प्रकाशित लेख)






